New Muslims APP

जुल्हिज्जा महिनाको प्रथम दशकको विशेषता

शुरु अल्लाहको नामबाट जो अत्यन्तै दयालु तथा अपार कृपालु हुनुहुन्छ ।

who-is-Allah
अरबी पात्रोको आधारमा अरबीको अन्तिम महिनालाई “जुल्हिज्जा” को महिना भनिन्छ । मानव समाजका लागि यस महिनाको प्रथम दशक निकै महत्तपूर्ण र अति लाभदायक हुन्छ । जसको महत्व दर्शाउँदै स्वयं अल्लाह तआलाले यसका दस दिनको कसम खानु भएको छ । पवित्र कुरआन तथा सही हदीसमा उक्त दशकको विशेष प्रसंशा गरिएको छ।

तर पश्चातापको कुरा कतिपय दाजुभाइ तथा दिदी-बहिनीहरुले यसको महत्वलाई नबुझीकन यसलाई पनि सामान्य दिन र दशक जस्तै बिताउँछन् । यस्तो शुभ अवसरमा हाम्रो हृदयमा न त कुनै उत्साह उत्पन्न हुन्छ र न हामी बढी पुण्य नै गर्न चाहन्छौं । हाम्रो मन-मस्तिष्कमा यो नै भावना उत्पन्न हुन्छ कि हामी कुनै साधारण महिना र दिनमा छौं । यसैले यसको महत्वलाई प्रष्ट पार्नका लागि देहायमा केही हदीसको नेपालीमा अनुवाद पाठक वर्गको सेवामा पेश गरिएको छ जसबाट सर्वसाधारणलाई लाभ हुनेछ भन्ने आशा गरेको छु।
(१)आदरणीय अब्दुल्लाह बिन(पुत्र) अब्बास रजीयल्लाहु अन्हुमा(अल्लाह उनी प्रति प्रसन्न रहुन्) ले भन्नुभएको छ, नबी सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः “यी दस दिनहरुमा पुण्य गर्नु जति अल्लाहको दृष्टिमा महत्वपूर्ण छ, त्यति अन्य दिनमा पुण्य गर्नलाई महत्व प्राप्त छैन । साहाबाले सोधे, के अल्लाहको मार्गमा युद्ध (जेहाद) गर्नु पनि यति महत्वपूर्ण छैन ? वहाँले उत्तर दिनुभयो, त्यो पनि छैन, मात्र यस्तो व्यक्ति बाहेक जो अल्लाहको मार्गमा आफ्नो माल र प्राण सहित निस्कियो अनि फेरि केहि लिएर फिर्ता भएन ।” (बुखारी)

आदर्णिय इब्ने हजर रहेमहुल्लाहले भन्नुभएको छ: “अन्य दिनमा गरिने कर्महरु “जुल्हिज्जा” को पहिलो दशकमा गरिएका कर्महरु जस्तै अल्लाहको नजिक उत्तम छैनन्”। (फत्हुल्बारी 2/459) उक्त हदीसको आधारमा “जुल्हिज्जा” को प्रथम दशक जस्तो अन्य कुनै दिनको ठूलो महत्व छैन । तर यसको कारण के हो ? यदि हामी गम्भिरतापूर्वक विचार गर्छौं भने हामीलाई आफै थाहा पाउन सक्छौं कि यसमा हज्ज , अरफाको ब्रत, नमाज र अन्य उपासनाहरु एकै चोटी एकत्रित हुन्छन् । जब कि अन्य दिन-दशक र महिनामा तिनको आशा पनि गर्न सकिंदैन ।
यहाँ एउटा अर्को प्रश्न आउँछ कि रमजानको अन्तिम दशकमा “कद्रको राति” हुन्छ। जसमा जागरण गरेर अल्लाहको उपासना गर्नु हजार महिनाको उपासना भन्दा उत्तम हो । यी दुबैमा यस प्रकार विद्धानहरुले फरक छुट्याएका छन् कि रातहरु मध्ये “कद्रको राति” र दिनहरुमध्ये “जुल्हिज्जा” को प्रथम दशक सर्वश्रेष्ठ छन् ।

यसमा गरिने केही शुभकर्महरु
एउटा सत्यवान मुस्लिमले सदैव आफ्नो बहुमूल्य समयलाई अल्लाहको भक्तिमा लगाउँछ । आफ्नो प्रत्येक कर्मबाट उहाँको प्रसन्नता प्राप्त गरेर उहाँको नजिक हुन चाहन्छ । अल्लाहले आफ्ना भक्तहरुको लागि केही यस्ता मौसम र दिनहरु निश्चित गर्नुभएको छ जसमा हामीहरु बढी भन्दा बढी पुण्य प्राप्त गर्न सक्छौं । ती मध्य नै “जुल्हिज्जा” को प्रथम दशक हो । जसको सम्बन्धमा तपाईहरुले उक्त हदीसलाई पढ्नुभयो । तल यस दशकमा गरिने शुभ कार्यहरुको संक्षिप्त उल्लेख गरिएको छ । तिनलाई पढ्नुहोस् र त्यस्तै कर्म पनि गर्नुहोस् ।
(१) हज्ज
यदी अल्लाहले तपाईलाई सम्पत्ति र स्वास्थ्य दिनुभएको छ भने जीवनमा एक पटक हज्ज गर्नु अनिवार्य हुन्छ। जसका लागि मानिसहरु संसारको कुना-काप्चाबाट यात्रा गरेर साउदी अरबको प्रसिद्ध शहर मक्कामा प्रत्येक वर्ष हज्जको अवसरमा उपस्थित हुन्छन् । किनकि यो नै दशकको ९ तारिकमा अ’र’फाको दिन आउँछ । जसमा प्रत्येक हाजीलाई अ’र’फाको मैदानमा अनिवार्य रुपमा पुग्नु नै पर्छ । बरु त्यसमा प्रवेश नगर्ने व्यक्तिको हज्ज नै हुँदैन। यसर्थ यदि अल्लाहले कसैलाई क्षमता दिनुभएको छ भने त्यसमाथि जीवनमा एक पटक हज्ज गर्नु अनिवार्य हुन्छ ।
हज्जमा जति प्रयत्न गर्नुपर्छ त्यो भन्दा धेरै पुण्य अल्लाहले असल हाजीलाई दिनुहुन्छ । जो चाहीँ अल्लाहको प्रसन्नता प्राप्त गर्नको लागि हज्ज गर्छन् र हरेक किसिमको पापबाट आफुलाई हज्जमा र त्यसपछि पनि पर राख्छन्। अर्को शब्दमा अल्लाहले जसको हज्ज स्वीकार गर्नु हुन्छ, त्यसको सट्टामा उसलाई स्वर्ग प्रदान गर्नु हुन्छ र उ एउटा शिशु जस्तो हुन्छ जसको कुनै पनि प्रकारको पाप हुँदैन ।
(२) नमाज
तपाईंहरुलाई राम्ररी थाहा छ कि प्रत्येक वयस्क, ज्ञानी, मुस्लिममाथि दैनिक रुपमा पाँच पटक नमाज पढ्नु अनिवार्य छ । यो मुसलमानहरुको परिचायक चिन्ह हो । जसको विशेषता र महत्व यस दशकमा अझ बढी हुन्छ। यसले गर्दा खासगरि यसमा अनिवार्य नमाजहरुको सँगसँगै रात-दिन नफ्ल नमाजलाई पनि बढी पढ्नु लोक र परलोक दुबैमा अति लाभदायक हुनेछ ।
(३) ब्रत
यस दशकमा ब्रतको पनि ठूलो महत्व छ । आदर्णिय हफ्सा रजीयल्लाहु अन्हाको कथन छ: “नबी सल्लल्लाहु अलैही व सल्लम चार प्रकारका वस्तुहरुलाई कहिले पनि छोड्दैनथे । मुहर्रम-अशुराको ब्रत, जुल्हिज्जाको १० ब्रत प्रत्येक महिनाको ३ ब्रत (१३, १४, १५ तारिकको ब्रत) र फज्र भन्दा अघिका दुई रकात सुन्नत” । (नसाई)
नसाई र अबूदाउदको अर्को वर्णन बमोजिम उहाँ जुल्हिज्जाको प्रथम दशकको ९ वटा ब्रत संधै बस्नु हुन्थ्यो ।

(४) अ’र’फाको ब्रत
जुल्हिज्जाको ९ तारिकको ब्रतलाई अ’र’फाको ब्रत भनिन्छ । यस सम्बन्धमा हदीसमा भनिएको छः
अरफाको व्रत बस्नाले एक बर्ष अघिको र एक बर्ष पछिको (स-साना) पापहरु क्षमा गरिनेछन्। तर हाजीहरुले अरफाको व्रत बस्नु पर्दैन । नबी सल्लल्लाहु अलैहि व सल्लमको कर्मबाट यो नै प्रमाणित छ ।
(५) कुर्बानी
“ईदुल्अज्हा” मुस्लिमहरुको पर्वहरुमध्ये एउटा निक्कै प्रशिद्ध र विश्व चर्चित पर्व हो । हाम्रो गाउँ-घरमा यो पर्व कुर्बानीको शुभ नामले प्राचीन कालदेखि प्रचलित छ । जसमा धनी व्यक्तिहरुले अल्लाहले उनीहरुलाई प्रदान गरेको धन-सम्पत्तिबाट प्रमाणित जनावरहरु किनेर कुर्बानी गर्छन् । पवित्र कुरआन र हदीसको प्रकाशमा कुर्बानी मात्र बाख्रा, खसी, वा उँट…लाई जबह गरेर मासु खाने परम्पराको नाम होइन । बरु यसले मानिसलाई यो शिक्षा दिन्छ कि एउटा सत्य-तथ्य मुस्लिमले आफ्नो जीवनको प्रत्येक क्षेत्रमा जे-जस्तो परिस्थिति हुँदा पनि अल्लाहको अगाडि आफुलाई समर्पित गर्छ ।
कुर्बानी गर्न इच्छुक व्यक्तिको लागि जुल्हिज्जको चन्द्रमा निस्केपछि “ईदुल्अज्हा” को नमाज नपढेसम्म आफ्नो शरीरमा उम्रने कपाल, केश, रौं र हात र खुट्टामा भएका नङलाई नकाट्नु पुण्यकारीमध्ये आउँछ ।
अवैध(हुर्रमत् वाला, वर्जित) महिना
इस्लाम धर्ममा जुल्कअदा, जुल्हिज्जा, मुहर्रम र रजबका महिनाहरुलाई अवैध (हुर्रमत वाला) महिना घोषित गरिएको छ । इस्लाम धर्ममा रक्तपात, काटमार, हत्या, हिंसा, अनावश्यक युद्धबाट जहिले पनि मनाही गरिएको छ । तर पनि यदि त्यस्तो कुनै परिस्थिति आइपरेमा सकेसम्म उक्त महिनाको आदर-सम्मान गर्दै तिनमा यस्तो केही नगर्नु नै पुण्यको काम हो । इस्लामी इतिहास पढ्दाखेरि थाहा पाइन्छ कि नास्तिक (काफिर) हरुले तिनमा यदि मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमका श्रद्धालु साथीहरुसँग युद्ध गर्न चाहन्थे भने उनीहरुले आफुलाई सकेसम्म यसमा युद्ध गर्नबाट जोगाउँथे । यसर्थ यिनमा र अन्य दिनमा प्रत्येक प्रकारको पापबाट जोगाउनु हाम्रो प्रमुख जिम्मेवारी हो ।
(६) तक्बीर
जुल्कअदाको महिना समाप्त भएपछि जुल्हिज्जाको महिना आरम्भ हुन्छ । अनि जुल्हिज्जाको चन्द्रमा निस्केपछि १३ तारिखको अस्रको नमाजसम्म तक्बीर भनिन्छ । जुन यसप्रकारका छन् ।
(१)“अल्लाहु अक्बर, अल्लाहु अक्बर, अल्लाहु अक्बर, लाइला’ह इल्लल्लाह, अल्लाहु अक्बर, अल्लाहु अक्बर व लिल्लाहिल्हम्द।”
अल्लाह सबै भन्दा महान हुनुहुन्छ, अल्लाह सबै भन्दा महान हुनुहुन्छ, अल्लाह सबै भन्दा महान हुनुहुन्छ, अल्लाह बाहेक कोही वास्तविक पूजनीय छैन, अल्लाह सबै भन्दा महान हुनुहुन्छ, अल्लाह सबै भन्दा महान हुनुहुन्छ र सम्पूर्ण प्रशंसा अल्लाह कै लागि छन् ।
(२)“अल्लाहु अक्बर, अल्लाहु अक्बर, अल्लाहु अक्बर, कबीरा” आदी ।
अल्लाह सबै भन्दा महान हुनुहुन्छ, अल्लाह सबै भन्दा महान हुनुहुन्छ, अल्लाह सबै भन्दा अति महान हुनुहुन्छ।

लेखकः- करमुल्लाह अब्दुर्रउफ मदनी
शिक्षकः- इस्लामी सांस्कृतिक केन्द्र
मुबारक अल्कबीर, कुवैत

Related Post