हामी सबैका पालनकर्ता अल्लाहले मानव जातिको मार्गदर्शनको लागि विभिन्न स्थान तथा युगमा करिब एक लाख चौबीस हजार सन्देष्टाहरु पठाए, सबै सन्देष्टाहरु सच्चा थिए र असल ईशभक्त थिए तर थिए मानव नै । उनीहरुमध्ये एउटा प्रतिष्ठित सन्देष्टा थिए ईसा मसीह (अ.) उनको बारेमा सूरह निसा, आयत १७१ मा अल्लाह तआलाले भन्नु भयो। “हे ग्रन्थबाहकहरु हो ! आफ्नो धर्ममा बाढाइचाढाइ नगर । अल्लाहबारे सत्य बाहेक अरू केही नभन । मर्यम पुत्र ईसा क्राइस्ट त मात्र अल्लाहका दूत र उनको वाणी हुन् जुन उनले मर्यमतर्फ पठाए र उनको तर्फबाट आएको एउटा आत्मा हुनुहुन्थ्यो । अतः तिमीहरु अल्लाह र उनका रसूल (दूत) हरु माथि आस्था राख । तीन (ईश्वरहरु) न भन । बरु (यस्ता कुराबाट) बच्ने गर, यो नै तिमीहरुको लागि उत्तम हुने छ । किन कि अल्लाह त एक मात्र हुन् । सबै प्रशंसा उनैको लागि हुन् । उनका कोही सन्तान छैनन र न उनी कसैका सन्तान हुन्। उनी पवित्र र महान छन् । धर्ती तथा आकाशका हरेक कुराहरु उनकै अधिनमा छन् र अल्लाह त संरक्षकका रूपमा प्रर्याप्त छन् । ”
यसरी इस्लाममा अल्लाहका दूत ईसा (अ.)को बारेमा विस्तृत रूपमा बयान गरिएको छ । अतः मुसलमान ती व्यक्तिहरु नै हुन् जो आफुलाई अल्लाहको इच्छा र आदेशमा समर्पित गर्छन् र अरू दूतहरु झैं ईसा (अ.) माथि पनि आस्था राख्छन् । ईसा (अ.) को बारेमा इस्लामको यो धारणा पनि छ कि उनी पिता बिना नै जन्मिनु भयो जब कि क्रिष्चियनहरु यस कुरालाई मान्दैनन्। ईसा (अ.) को बारेमा मुस्लिमहरुको यो पनि धारणा छ कि उनी अल्लाहको आदेशद्वारा मृतलाई जीवित पार्थे र जन्मजात अंन्धो र कुष्ट रोगीलाई स्वस्थ्य तुल्याउँथे। यी उनका चमत्कारहरु थिए।
कतिपय क्रिस्चियन दाजुभाइ र दिदीबहिनीहरु यो कुरा सुनेर आश्चर्य चकित भई अल्झिन्छन् कि कुरआनमा ईसा (अ.) को वर्णन नामको साथ पचीस पटक भएको छ जब कि मुहम्मद (सल्ल.) को वर्णन नामका साथ पाँच पटक मात्र गरिएको छ।
कुरआनमा ईसा (अ.) लाई अल्लाहको एउटा शक्तिशाली दूतको रूपमा वर्णन गरिएको छ र कुनै पनि मुसलमानको आस्था पूर्ण हुदैन जबसम्म ऊ ईसा (अ.) लाई अल्लाहको दूतको रूपमा स्वीकार गर्दैन ।
ईशदूत मुहम्मद (सल्ल.) को जीवनको बारेमा यो कुरा उल्लेखनीय छ कि उनले ईसा (अ.) माथि लगाइएको यस लान्छनालाई प्रष्ट पार्नु भयो कि ईसा (अ.) ले आफुलाई ईश्वर बताउनु भयो र अल्लाहको ईश्वरत्वमा आफुलाइ सहभागी बनाउनु भयो । अल्लाहका दूत मुहम्मद (सल्ल.) ले ईसा (अ.) लाई मसीह र अल्लाहका समर्पित दूतको रूपमा सम्मान गर्नु भयो । यो अल्लाहको दूत मुहम्मद (सल्ल.) नै हुन् जसले दूत ईसा (अ.)को बारेमा बताउनु भयो कि उनलाई सुली (क्रुस) मा टाँगेर मारी दिए । कुरआन यस कुरालाई पूर्ण रूपमा जोड दिएर बयान गर्दछ । कुरआन ईसा क्राइस्टको बारेमा स्पष्ट पार्छ कि उनले अल्लाहसँग गरिएको वाचालाई भंग गरेनन् बरु उनले अल्लाहको आदेशलाई पूर्ण रूपमा पुरा गरे । दूत मुहम्मद (सल्ल.) ले यस कुरालाई पनि स्पष्ट पारेर प्रमाण दिनु भयो कि ईसा त मात्र एउटा मनुष्य र अल्लाहका दूत थिए । उनको दायित्व मानवजातिलाई अल्लाहको मार्गतर्फ बोलाउनु र अह्वान गर्नु थियो । यस कार्यका लागि उनलाई विश्ष्टि शक्ति प्रदान गरिएको थियो ताकि उनी आफ्नो दायित्वलाई पुरा गर्न सकून् ।
इस्लामको एउटा ठूलो प्रचारक शेख अहमद दीदातले भन्नु भयो “क्रिष्चियनहरु ईश दूत ईसा (अ.) लाई सम्मान गर्नुको सट्टा उनलाई ईश्वर (अल्लाह) को सन्तान भन्ने गर्छन् जब कि मुसल्मानहरु ईसा (अ.) लाई अल्लाहको आदेशको पालना गर्दै ईसा (अ.) लाई अल्लाहका एउटा शक्तिशाली दूत भन्ने गर्छन्। दूत ईसा (अ.) एउटा शक्तिशाली मनुष्य हुनुहुन्थ्यो र कतिपय तवरले उनी महान हुनुहुन्थ्यो। तपाईँ र हामी जस्ता मानवलाई यो अधिकार छैन कि कसैलाई बिना प्रमाण ईश्वरत्वको दर्जामा पुर्याऔं । ईश्वरले जसलाई जुन दर्जामा राखेका छन् हामीलाई पनि उनलाई त्यसै दर्जामा राख्नु पर्छ। ”
यहाँ यो प्रश्न उठन सक्छ कि जब मुसलमान र ईसाई दुबै ईसा (अ.) लाई माया गर्छन र प्रतिष्ठित ठान्दछन् भने दुवै बीच कुन कुरामा मतभेद छ ? यस प्रश्नको उत्तर यो छ कि ईसाइहरु ईसा (अ.) लाई ईश्वरको रूपमा मान्छन तर मुस्लिमहरु उनलाई ईशदूतको रूपमा स्वीकार गर्छन् ।
ईसाईहरुको पवित्र ग्रन्थहरुको अध्ययनबाट यो स्पष्ट हुन्छ कि उनले कहिले पनि आफु ईश्वर हुन् भन्ने दाबी गरेनन् । र यस ग्रन्थहरुमा एउटा पनि वाक्य यस अर्थको छैन । इन्जिलमा ईसा (अ.) को इशदूतत्वबारे स्पष्ट रूपमा वर्णन छ । “र तिमीहरु जुन शब्दहरु सुन्दछौ ती मेरो होइनन् बरु त्यस सृष्टिकर्ताका शब्दहरु हुन् जसले मलाई पठाएका छन् (इन्जील यूहन्ना १४:२४)
इन्जीलमा यो कुरा पनि उल्लेख छ: “हे इसराईलका सन्तानहरु हो ! यी शब्दहरु सुन, अल्लाहले तिमीहरुमध्ये एक जना युसु नासरीलाई चयन गरेका छन् । उनी चमत्कार र निशानीहरु देखाउँछन् जुन अल्लाहले उनलाई प्रदान गरे र तिमीहरुलाई देखाए र तिमीहरु पनि आफै जान्ने छौ । ”
इन्जिल ईसाईहरुको तीन ईश्वरको धारणलाई पूर्ण रुपमा अस्वीकार गर्दछ । इन्जीलको मस्यौदा लेख्ने एक व्यक्तिले जब ईसा (अ.) संग सोधे कि ईश्वरको सब भन्दा ठूलो आदेश के छ ? दूत ईसा (अ.) ले त्यही कुरा दोहोर्याए जुन मुसा (अ.) ले भनेका थिए “ईश्वर हाम्रो ईश्वर एउटै छन् ।”(मुर्कुसः१२:२९)
वास्तवमा मूसा (अ.) ईसा (अ.) तथा मुहम्मद (स.) समेत जति पनि सन्देष्टाहरु आए सबैको शिक्षा एउटै थियो र छ “केवल एक ईश्वरको भक्ति गर्नु र उनीसँग कसैलाई साझेदार नबनाउनु । ”तर यस शिक्षालाई उनीहरुका पथभ्रष्ट अनुयायीहरुले आ–आफ्ना व्यक्तिगत स्वार्थका लागि आ–आफ्ना मन का कुरालाई त्यसमा छ्यासमिस पारे। बाइबलकै उदाहरण लिनुहोस् पचास वर्ष अधिको र अहिलेको बाइबलमा धेरै फरक पाउनु हुन्छ।
अतः कुरआनमा ईसा (अ.) लगायत सबै सन्देष्टाहरुले पेश गरेका वास्तविक शिक्षा, आस्था, कर्म तथा मार्ग सुरक्षित छन् । लोक तथा परलोक दुवैको सफलता यसैको पालनमा निर्भर छ।
ईसा (अ.) ले स्वयं केवल एक अल्लाहको भक्ति गरेका थिए र सबैलाई एक अल्लाह कै भक्तिको आदेश दिएका थिए।
पृय पाठकहरु ! अलि विचार गर्नुहोस्, एकेश्वारवादमा आधारित ईस्लामले दिएको शिक्षा कि अल्लाहको कोही साझेदारी छैन र ईसा अल्लाहका समर्पित भक्त हुनुहुन्थ्यो, सत्य कुरा हो वा चर्चद्वारा सिकाइने शिक्षा कि ईश्वर तीन छन्, पिता ईश्वर, पुत्र र पवित्र आत्मा ?
लेखक-जुल्फकार अली अलीग
मोबाइल नं. – 00977- 9842022123
ईमेलः abuobaid.alig@gmail.com