New Muslims APP

मुहर्रम र आशूराको महत्व तथा ब्रत

मुहर्रम र आशूराको महत्व तथा ब्रत

मुहर्रम र आशूराको महत्व तथा ब्रत

मुहर्रम महिना अरबी महिनाहरुमध्ये पहिलो महिना हो, यसको महत्व यसबाट पनि प्रष्ट हुन्छ कि यसलाई अरबी भाषामा “शहरुल्लाहिल मुहर्रम” अल्लाहको महिना भनिन्छ। मुहर्रमको महिना यति महत्वपूर्ण हुनको साथ-साथै प्रतिष्ठितवाला महिनाहरु मध्ये पनि एउटा हो। इस्लामी सिद्धान्त बमोजिम जुल्कअदा, जुल्हिज्जा, मुहर्रम र रजब प्रतिष्ठितवाला महिना हुन्।

प्रतिष्ठितवाला महिनाको तात्पर्य

वास्तवमा इस्लाम धर्ममा पाप-अपराध र अन्याय-अत्यचार गर्नबाट जहिले पनि मनाहि गरिएको छ। तर यी प्रतिष्ठितवाला-आदर-सम्मानजनक-महिनाहरुमा पाप-अपराध गर्नु अझ ठूलो पाप हो। यसको आदर-सम्मान गर्नालाई नै यी महिनामा युद्धका लागि पहल गर्नबाट पनि मनाही गरिएको छ। जे जस्तो कारण भएपनि यो स्पष्ट छ कि हज्ज जुल्हिज्जाको महिनामा गरिन्छ। यसर्थ हज्जमा बरु हज्ज भन्दा पहिला र पछि शान्तिको कति आवशयकता हुन्छ ॽ यो अवगत नै होला। मानिसहरु संसारको कुना-काँप्चाबाट हज्ज गर्नका लागि मक्का पुगेर शान्तिपूर्ण रुपमा इस्लामको यस स्तम्भलाई इस्लामी सिद्धान्त बमोजिम पूरा गर्न चाहन्छन्। अनि जुल्कअदाको महिना जुल्हिज्जा भन्दा पहिला र मुहर्रम जुल्हिज्जा पछिको महिनालाई भनिन्छ। यसर्थ पनि यिनको आदर-सम्मान गर्नु अत्यन्तै आवशयक छ। यसै प्रकार रजबको महिनाको आदर-सम्मानको आदेश हुनाले त्यसमा पनि पाप-अपराध गर्नलाई ठूलो पाप घोषित गरिएको छ। जस्तै अल्लाहले पवित्र कुरआनमा भन्नुभएको छ :

إِنَّ عِدَّةَ الشُّهُورِ عِندَ اللهِ اثْنَا عَشَرَ شَهْراً فِي كِتَابِ اللهِ يَوْمَ خَلَقَ السَّمَاوَات وَالأَرْضَ مِنْهَا أَرْبَعَةٌ حُرُمٌ ذَلِكَ الدِّينُ الْقَيِّمُ فَلاَ تَظْلِمُواْ فِيهِنَّ أَنفُسَكُمْ [سورة التوبة :३६]

अल्लाह कहाँ महिनाको गणना त्यसै दिनदेखि बाह्र रहेको छ,जुन दिन उहाँले आकाशहरु तथा पृथ्वीको सृजना गरे। अनि त्यसमध्ये चार वटा महिना आदर-सम्मानका छन्। यो सोझो धर्म हो,यसर्थ तिमीहरु खास गरि यस महिनामा आफूमाथि अत्याचार नगर। (सूरह तौबा / ३६

हदीसमा छः साल बाह्र महिनाको हुन्छ, जसमा चार हुर्मतवाला(आदर-सम्मानका) महिना हुन्। तीन महिनाहरु यसप्रकारका छन्, जुल्काअदा ,जुल्हिज्जा र मुहर्रम निरन्तर एकअर्का पछि आउँछन् र चौथो महिना मुजरको रजब हो, जुन जुमादा र शाबानको बीचमा पर्दछ।  (हदीसको संग्रह: बुखारी)

हदीसमा रजबलाई मुजरको रजब भन्नको कारण यो हो कि मुजर समुदायका मानिसहरु उक्त महिनाको अत्यधिक आदर-सम्मान गर्थे।

मुहर्रममा ब्रत

एउटा हदीसमा छः रमजान महिनाको ब्रतपछि मुहर्रम महिनामा ब्रत बस्नु सबैभन्दा श्रेष्ठ हो र अनिवार्य(फर्ज) नमाजपछि सर्वश्रेष्ठ नमाज़ रातको नमाज़ हो। (हदीसको संग्रहःमुस्लिम)

उक्त हदीसमा मुहर्रम महिनामा अत्यधिक ब्रत बस्नका लागि प्रोत्साहित गरिएको छ। यसर्थ यसमा ब्रत बस्नु अत्यन्तै पुण्यको काम हो। खासगरि आशूराको ब्रत अर्थात् मुहर्रमको १० तारिकको ब्रत, तर १० तारिकको ब्रत बस्नप्रति यति ध्यानाकर्षण गराउनको कारण के हो ॽ सर्वप्रथम कुरो यो हो कि मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमले यसको ब्रत बस्नुभयो र आफ्ना सहाबीहरुलाई पनि ब्रत बस्न आदेश दिनुभयो। साथै मुहर्रमको १० तारिक ऐतिहासिक रुपमा एउटा ठूलो घट्नासँग सम्बन्ध राख्दछ जसलाई कहिले पनि बिर्सन सकिंदैन। त्यस कारणले पनि यो दिनमा ब्रत बसिन्छ जसको पुष्टि मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमले आफै गर्नुभएको छ।

जस्तै इब्ने अब्बास रज़ियल्लाहु अन्हुमाले भन्नुभएको छः अल्लाहका सन्देष्टा (मुहम्मद) सल्लल्लाहु अलैहि व सल्लम (मक्काबाट प्रवास गरी) जब मदीना जानु भयो, उहाँले यहूदीहरुलाई आशूराको दिनको ब्रत राखेको देखे । अनि नबी सल्लल्लाहु अलैहि व सल्लमले उनीहरुसित सोध्नुभयोः “तपाईंहरु आज किन ब्रत बस्नु हुनुहुन्छ ? ”उनले भने: यो एक महान दिन हो, यसै दिन अल्लाह तआलाले बनी इस्राईल र मुसा अलैहिस्सलामलाई उनको शत्रुहरुबाट मुक्ति प्रदान गरेका थिए, फिरऔन र उसको समूदायलाई(समुद्रमा) डुबाई दिएका थिए। त्यसपछि मूसा अलैहिस्सलामले कृतज्ञता प्रकट गर्दै यस दिनमा ब्रत बस्नुभएको थियो, यसर्थ हामीले पनि यस दिनको ब्रत बस्छौ । नबी सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः  “म मूसाको अनुसरण गर्नलाई तिमी भन्दा धेरै योग्य छु ।  अनि नबी सल्लल्लाहु अलैहि व सल्लमले त्यस दिन ब्रत बस्नुभयो र सहाबीहरुलाई पनि ब्रत बस्न आदेश दिनुभयो।” (हदीसको संग्रहः बुखारी र मुस्लिम)

आशूराको ब्रतका लाभहरु

मुहर्रमको ब्रत बस्नाले पहिलेको एक बर्षको साना-तिना पापहरु क्षमा गरिन्छ, जस्तै हदीसमा छः “यसले एक बर्ष पहिलेको साना-तिना पापहरुलाई समाप्त पार्छ।” (हदीसको संग्रहःमुस्लिम)

शैखुल इस्लाम इब्ने तैमिया रहिमहुल्लाहले भन्नुभएको छ: “पवित्रता, नमाज़, तथा रमज़ानको ब्रत, अरफा र आशूराको ब्रतहरुको प्रायश्चित मात्र स-साना पापहरुको लागि हो।”(अल फतावा अल कुब्रा, भागः ५)

आशूराको ब्रत बस्दा साथमा ९ वा ११ तारिकको पनि ब्रत बस्नुपर्छ, किनभने जब मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमलाई अहले किताब (आकाशीय ग्रन्थवालाहरु) ले बस्दै आएको ब्रतमा तिनीहरुको ब्रत भन्दा केही फरक पारी ब्रत बस्न आदेश दिनुभयो र उहाँले आशूराको ब्रत बस्नको सँगै १० तारिक भन्दा एक दिन पहिला वा पछि ब्रत बस्न आदेश गर्नु भयो।

जस्तै मुस्नद अहमद भाग १ पृष्ठ २४१ मा छ। यसलाई आदर्णिय अल्बानी रहेमहुल्लाहले जईफ अर्थात् निम्न स्तरको भन्नुभएको छ। (जईफुल जामेअ ३५०६)

र सही मुस्लिमको एउटा हदीस बमोजिम मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभएको छः “यदि अल्लाहले चाहनुभयो भने आगामी साल हामी ९ मुहर्रममा पनि ब्रत बस्नेछौं।” (हदीसको संग्रहःमुस्लिम)

आदर्णिय इब्ने अब्बास रजीयल्लाहु अन्हुमाले भन्नुभएको छः “तर आगामी साल आउनुभन्दा पहिला नै उहाँको देहान्त भयो।”( (हदीसको संग्रहः मुस्लिम)

आदर्णिय इब्ने कैयिम र इब्ने हजर रहेमहुमुल्लाहले आशूराको ब्रतलाई तीन भागमा विभाजित गरेका छन्,सबै भन्दा तल्लो श्रेणी मात्र मुहर्रमको १० तारिकमा ब्रत बस्नु, त्यस भन्दा माथिल्लो श्रेणी मुहर्रमको ९ र १० तारिकमा ब्रत बस्नु र त्यो भन्दा उत्तम श्रेणी ९ ,१० र ११ तारिकमा ब्रत बस्नु, किनभने यो महिनामा जति ब्रत बसिन्छ त्यति नै बढी पुण्य प्राप्त हुनेछ। (जादुल मआद भागः २, पृष्ठः ७२, फत्हुल बारी भागः २ पृष्ठः २८९)

अल्लाहले हामी सबैलाई यसमा बढी भन्दा बढी ब्रत बस्न क्षमता प्रदान गरुन र धर्मको नाममा गरिने प्रत्येक प्रकारका बिद्अत(धर्ममा नयाँ आविष्कार) र पापबाट हामीलाई सुरक्षित राखुन्। आमीन ।

लेखकः करमुल्लाह अब्दुरउफ मदनी

Related Post