शव्वाल को 6 रोज़ाको महत्व

शव्वाल

शव्वालको रोज़ाको महत्व

रमज़ानको रोजा समाप्त भएपछि शव्वाल एक तारिखमा ईद उल फित्र अर्थात ईद पर्व मनाइन्छ । ईद उल फित्रको पर्व सकिएपछि 2 शव्वाल देखि 6 रोज़ा राख्न शुरू गरिन्छ । शव्वालको 6 रोजा राख्दा 2 महिनासम्म लगातार रोजा राखेको पुण्य मिल्छ। त्यो कसरी भने हरेक रोजाको दश पुण्य मिल्छ। त्यसकारण हामीले 6 दिन रोजा राख्दा 60 दिनसम्म लगातार रोजा राखेको पुण्य मिल्छ र रमदानमा तिस दिन रोजा राख्दा 300 दिन रोजा राखेको पुण्य मिल्छ र शव्वालको 6 रोजाले साठी दिन रोजा राखेको पुण्य मिल्छ यसरी जम्मा 360 दिन रोजा राखेको पुण्य मिल्छ । अरबी पात्रो अनुसार वर्षमा 360 दिनको गणना गरिन्छ । मानौ कुनै मानिसले रमदानमा तिस दिन रोजा राख्यो र शव्वालमा 6 दिन रोजा राख्यो भने उसले वर्ष भरीनै रोजा राखेको पुण्य मिल्ने हदिसबाट प्रमाणित हुन्छ।

रमज़ान समाप्त हुनासाथ शैतानहरुलाई बन्धनबाट मुक्त गरिन्छ । जब भोको सिंहले कुनै शिकार पायो भने कसरी झम्टिन्छ मुस्लिमहरु माथि शैतानले पनि त्यसरी नै उग्ररुपमा आक्रमण गर्न थाल्छ, तर अल्लाहको असल भक्तमाथि उसको कुनै तागत चल्दैन, किनकि ऊ हर हालतमा अल्लाहसँग आफ्नो सम्बन्ध जोडिरहेको हुन्छ । शव्वालको 6 रोज़ाको बारेमा  संक्षेपमा तल बर्णन गरिएको छ ।

शव्वालको रोज़ाको महत्व

(1) रमज़ानमा जो पुण्य र ईमानको वातावरण बन्छ त्यसको प्रभाव रमज़ानको पछि पनि बाक़ी राख्नको लागि अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले शव्वालको महिनामा 6 रोज़ा राख्न सुझाब दिनु भएको छ । हज़रत अबू अय्यूब अन्सारी रज़ियल्लाहु अन्हुबाट बर्णन गरिएको छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः

من صام رمضان ثم أتبعه ستا من شوال كان كصيام الدهر ( رواه مسلم)

“जसले रमज़ानको रोज़ा राख्यो त्यसपछि शव्वालको 6 रोज़ा राख्यो भने मानौ उसले हमेशा रोज़ा राख्यो” ( सहीह मुस्लिम)

(2) शव्वालको यो 6 रोज़ा यस कुराको लागि प्रमाण छ कि अल्लाहको असल भक्त रमज़ानमा पुण्य गर्ने शुभ अवसर मिलेकोमा उसको आज्ञाकारीमा लागि रहन्छ, उसलाई पुण्यसँग प्रेम हुन थाल्छ र ऊ हरेक समय पुण्यको मार्गमा हिड्नको लागि तयार रहन्छ, त्यसैगरी पुण्यको शुभ अवसरको धन्यवादको लागि उ शव्वालको 6 रोज़ा राख्दछ । ईदको दिन भक्तलाई रमज़ानको रोज़ाको इनाम मिल्दछ तब धन्यवादको लागि भक्त शव्वालको 6 रोज़ा राख्दछ यसैले अल्लाह तआलाले भन्नुभयोः

وَلِتُكْمِلُوا الْعِدَّةَ وَلِتُكَبِّرُوا اللَّهَ عَلَى مَا هَدَاكُمْ وَلَعَلَّكُمْ تَشْكُرُونَ (البقرة:  185

अर्थः “र, उनले जुन सिधामार्ग तिमीहरुलाई देखाएका छन् त्यसका लागि अल्लाहको स्तुति गर। आशा छ की तिमी कृतज्ञ बन्ने छौ।”

सलफ़ सालहीनको सम्बन्धमा आउँछ कि जब उनलाई रातमा जागेर क़्याम गर्नलाई अवसर मिल्छ भने दिनमा धन्यवादको लागि रोज़ा राख्दथे।

(3) रमज़ान भन्दा पहिले शाबान र रमज़ान पछि शव्वालको रोज़ा वास्तवमा फर्ज़ नमाज़ भन्दा पहिले र पछिको सुन्नत नमाजहरु जस्तै हो । जसरी नमाज़ भन्दा पहिले र पछिको सुन्नतलाई पुरा गरेको कारण फर्जमा हुन सक्ने कमी पुरा हुनेछ त्यसैगरी शव्वालको रोज़ा राख्नाले रमज़ानको रोज़ामा जे जति कमी भएको थियो उसलाई अल्लाह तआला आफ्नो दयाबाट टाढा गरिनेछ ।

(4) रमज़ान पछिको शव्वालको रोज़ाको पाबन्दी यस कुराको प्रमाण हो कि रमज़ानको रोज़ा स्वीकार गरिएको हो किनकि अल्लाह तआला जब भक्तको पुण्य स्वीकार गरिन्छ तब त्यसपछि उसलाई पुण्यकार्य गर्ने शुभ अवसर मिल्दछ, यसप्रकार जसले पुण्य काम गर्यो फेरी त्यो पुण्य कार्यलाई जारी राख्यो भने यही पहिचान हो कि उसको पुण्य स्वीकार भएको प्रमाण ।

शव्वालको 6 रोज़ा सम्बन्धि केही समश्याहरुको जानकारी

(1) जो माथि रमज़ानको रोज़ालाई पुरा गर्न अनिवार्ज हुन्छ के उसले शव्वालको 6 रोज़ा राख्न सक्छ ?

रमज़ानमा कुनै सही कारणले जसको रोज़ा छुट्न गयो, उसको लागि उत्तम र श्रेष्ठ यही हो कि उसले पहिले रमज़ानको रोज़ालाई पुरा गरोस् अनि शव्वालको रोज़ा राखोस्, किनकि रमज़ानको रोज़ा अनिवार्य हो । तर शव्वालको रोज़ा सुन्नत हो र अनिवार्यलाई छोडेर सुन्नतलाई पुरा गर्न लाग्नु उचित होइन। तर त्यसको बावजूद यदि कोही मानिस पहिले शव्वालको रोज़ा राख्न चाहन्छ भने राख्न सक्छ, त्यसपछि रमज़ानमा छुटेको रोज़ाहरुलाई पुरा गर्न जाइज छ र की इस्लामी विद्वानहरुले यसको छुट दिएको छ ।

(2) के शव्वालको रोज़ामा तर्तीब जरूरी छ ?

हदीसमा من شوال अर्थात् “शव्वालबाट” को शब्द आएको छ यसैले शव्वालको महिनामा यो 6 रोज़ा कहिले पनि राख्न सक्छ, यसको लागि तर्तीब ज़रूरी छैन, ईदको दोश्रो दिनबाट शव्वालको महीना समाप्त हुने बेलासम्म कहिले पनि यो रोज़ा राख्न सकिन्छ । एक साथ कोही राख्न चाहन्छ भने एक साथ पनि राख्न सक्छ र यदि कोही विभिन्न दिनमा ग्याप गरेर राख्न चाहन्छ भने यसको पनि अनुमति छ।

(3) यदि कसैले शव्वालको रोज़ा शव्वालको अन्तमा शुरू गर्यो र पुरा गर्नु भन्दा पहिले बीमार भयो भने उसले के गर्नु पर्छ ?

यदि कसैले शव्वालको रोज़ा अन्तमा राख्न शुरू गर्यो र उसले त्यो पूरा नगरी पहिले बीमार भयो भने यस्तो व्यक्तिमाथि शव्वालको पछि त्यो बाँकी रोज़ालाई पुरा गर्नु पर्दैन, उसलाई उसको नियतको पुण्य पनि मिल्दछ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः

إذا مرض العبد أو سافر كتب له مثل ما كان يعمل مقيما صحيحا  ( رواه البخاري)

” जब कुनै भक्त बीमार भयो भने अथवा यात्रामा छ भने उसले आफु घरमा र स्वास्थ्यको स्थितिमा जुन ( पुण्य) को काम गर्दछ त्यो सबै उसको लागि लेखिनेछ।”

 

 

लेखकः सफात आलम मुहम्मद जुबैत (तैमी)

स्रोतः http://cutt.us/MObk3

 

Related Post