रमज़ान विशेष: रोजामा सहरी र इफ़्तारको लागि उपयुक्त खाना

रोज़ा

सहरी र इफ़्तारको लागि कस्तो खाना उपयुक्त हुन्छ ?

रमज़ान विशेष: रोजामा सहरी र इफ़्तारको लागि उपयुक्त खाना भन्ने सम्बन्धमा केही जानकारीको लागि यो लेख उपयुक्त हुने आशा राख्दै तपाईहरु समक्ष यो लेख पेश गरेको छु ।

इस्लामिक क्यालेन्डरको नवौं महिना विश्वभरका मुस्लिम समुदायले पूर्ण आस्था र विश्वासका साथ यस महिनालाई रोजा (व्रत) को माध्यमबाट आत्मा शुद्धिको प्रयाशमा तल्लिन रहन्छन्। इस्लाम धर्ममा आस्था राख्ने मानिसहरु अनिवार्य रुपमा रमजानको महिनामामा रोजा (भोको) बस्ने गर्दछन। सूर्योदय हुनुभन्दा करीब २ घन्टा पहिलादेखि खाने पिउने कार्यलाई पूर्णरुपमा रोकी सूर्यास्त नहुँदासम्म भोको बस्ने र अल्लाहको खुशीको लागि अल्लाहको आदेशलाई सक्दो पालना गर्ने प्रयाश गर्दछन।

इस्लाम धर्ममा विशेष महत्व राख्ने महिना रमजान शुरु भएसँगै विश्वभरका मुस्लिम समुदायले गत वर्षको तुलनामा यो वर्ष लामो अवधिको रोजा बसेका छन्।

चन्द्रमा वर्षको चक्रमा आधारित हिजरी सम्वतको नवौं महिनाको रुपमा रहेको रमजानमा पुरै एक महिना सूर्योदय पूर्वदेखि सूर्यास्तभित्रको अवधि भोकै बसिने प्रचलन मुस्लिम जगतमा रहँदै आएको छ।

सूर्य वर्षभन्दा १० वा ११ दिनले कम हुने हिजरी संवतको एकवर्ष ३५५ वा ५६ दिनको हुने गर्दछ। त्यसैले पनि इस्लाम धर्मका पर्वहरु प्रत्येक ऋतु र मौसममा आउने गर्दछन्।

यसपटकको ‘रोजा’ सबैभन्दा लामो डेनमार्कमा २१ घन्टाको छ भने सबैभन्दा कम अर्जेन्टिना र अस्ट्रेलियामा १० घन्टामा केही बढी रहेको छ।

नेपाल लगायत भारत पाकिस्तान बंगलादेशमा १५ देखि १६ घन्टाको बीचमा छ भने खाडीमा करीब साढे पन्ध्र घन्टाको बीचमा  रोजा रहेको छ।

इस्लाम धर्मको पाँच आधार स्तम्भ मध्ये एक रहेको रमजानको ‘रोजा’ अनिवार्य व्रत हो।

रोजा (व्रत) को बेला सूर्योदय पूर्व खाने पिउने क्रमलाई रोक्ने कार्यको समयलाई ‘सहरी’ भनिन्छ भने सूर्यास्तसँगै खाने कार्यको थालनी गर्ने समयलाई ‘इफ्तार’ भनिन्छ। यतिखेर दिन लामो र रात छोटो हुने हुँदा व्रतालुले १५ घन्टा भन्दा बढी आफुलाई पूर्णरुपमा भोको राख्ने गर्दछ। यस्तो बेला सामान्य रुपमा स्वास्थ्यको ख्याल राख्नु जरुरी हुन्छ।

स्वास्थ्यको हिसाबले सहरी र इफ्तारमा के खाने के नखाने भन्ने बारे ख्याल राख्नु जरुरी छ।

सहरीको लागि केहि यस्ता खुराक जसले हाम्रो स्वास्थ्यलाई पुरा दिन तन्दुरुस्त राख्न मद्दत गर्दछ

सहरीको लागि खासगरी ध्यान दिनुपर्ने महत्वपूर्ण पक्ष भनेको पचाउन कठिन हुने धेरै गरिष्ट खाना खानु हुँदैन । जस्तै रोटीका परिकारहरु, बिर्यानी अथवा धेरै तेल भएका खानाहरु। सहरीमा फलफुल जसमा अधिकतर केरा, स्याऊ, अनारजस्ता फलहरु खानु फलदायी हुन्छ। दुधमा मह मिलाएर खानु उपयुक्त हुन्छ। अन्नमा गहुँको सातु, साथै बदामको लेप र ब्राउन ब्रेड मिलाएर खान सकिन्छ। उमालेको अण्डापनि सहरीकोलागि राम्रो हुन्छ।

यी परिकारको प्रयोगले पाचन प्रक्रिया राम्रो हुन्छ र शरीरमा एकप्रकारको शक्ति प्रबाह गरी रहन्छ। सहरीको समयमा चिया धेरै पिउनु हुँदैन, किनकि यसमा धेरै मात्रामा क्याफिन हुन्छ जसले शरीरमा पानीको मात्रालाई गराई दिन्छ। सहरीको क्रममा धेरै पानी पिउनु राम्रो हुँदैन, समय बचाएर सहरीको समयमा थोरै थोरै गरेर पानी पिउनु उपयुक्त हुन्छ। खाने बित्तीकै सुत्नुपनि हानिकारक हुन्छ। तसर्थ सहरीको समय सकिने कम्तिमा एक घण्टा पहिला नै गरिष्ट (पचाउन कठिन) टाइपका खाना बन्द गर्नु उपयुक्त हुन्छ।

इफ्तारको बेला के खान उपयुक्त हुन्छ जसले हाम्रो शरीरलाई ताजापन दिन मद्दत गर्दछ-

इफ्तारा गर्दाको समय रोजा (व्रत) तोड्नलाई खजुर खानु सबैभन्दा उपयुक्त हुन्छ, जुन सुन्नतपनि हो। अत्याधिक चिसो पानी पिउनु हुन्न। शरीरमा भएको प्रोटिन र भिटामिनको कमीलाई पुरा गर्न फलफुल र सब्जीहरु खानु राम्रो हुन्छ। दिनभरीको भोक तिर्खाले हामीलाई सताई रहँदा हामी एकदमै हतारिएर खाने-पिउने गर्दछौं जुन ठिक होइन। त्यसैले खाने पिउने काम बिस्तारै बिस्तारै गर्नु पर्दछ। यसले कब्जियतको समस्याबाट जोगिन र शारीरिक चुस्तीलाई कायम राख्न मद्दों गर्दछ । यसको अलावा इफ्तारपछि हलुका व्यायाम गर्नु उत्तम हुन्छ जसले शरीरमा रक्तसंचार गर्न मद्दत गर्दछ। इफ्तारमा हलुका खाना खाएर घरदेखि मस्जिदसम्म पैदल जानु र नमाज़ पढ्नु उत्तम व्यायाम हुन्छ।

इफ्तारमा ध्यान दिनु पर्ने कुरा के हो भने धेरै मात्रामा हतारिएर र एकैचोटी खानु हुँदैन। यदि यसरी हामीले रोजाको बेला हाम्रो दैनिकी कायम गर्न सक्यौं भने इन्शाअल्लाह हाम्रो एक महिने रोजा स्वच्छ, सुन्दर र स्वस्थ रहनेछ।

नोटः यो लेखमा केही सच्याएर तयार पारेको छु । मेम नेपाललाई धन्यवाद दिन चाहन्छु । वहाँको प्रयाशलाई सलाम छ ।

साभारः http://www.memnepal.com/2016/06/335.html

 

Related Post