अन्तर्राष्ट्रीय प्रेस स्वतन्त्रता दिवस

 प्रेस स्वतन्त्रता

अन्तर्राष्ट्रीय प्रेस स्वतन्त्रता दिवस

सन् १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गरेपछि प्रत्येक वर्ष युनेस्कोको आहृवानमा प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो । यो दिवस यस वर्ष दिगो विकास लक्ष्य हासिल गर्न स्वतन्त्र र गुणस्तरीय मिडियाको विकासलाई केन्द्रित गरी अभिव्यक्ति स्वतन्त्रता, सबैका लागि न्याय, कानुनको शासन, शान्ति र समावेशिताबीचको सम्बन्धलाई उजागर गरी मनाइँदैछ ।

एक वर्षको अवधिमा प्रेस स्वतन्त्रता हननका ७० वटा घटना भएका छन् । नेपाल पत्रकार महासंघ सञ्चार अनुगमन इकाईमा दर्ता भएका घटनाहरूमा सबैभन्दा बढी पत्रकारमाथिको दुर्व्यवहारका १६ वटा घटना भएको देखाइएको छ । यसवीचमा पत्रकार पक्राउका घटना ११ वटा भएका छन् । पत्रकारमाथिको आक्रमणका पनि ११ वटै घटना भएका छन् । त्यसैगरी पत्रकारमाथि धम्कीका ७ वटा घटना भएका छन् भने सञ्चार क्षेत्रमा कृयाशील संघसंस्थामा तालाबन्दी तथा कब्जाका ७ वटा घटना भएका छन् ।

केही समय सञ्चार माध्यमको प्रकाशन प्रसारण बन्द गराइएका ४ वटा, अवरोधको १ वटा, सञ्चारगृहमा आक्रमणका २ वटा र सञ्चारमाध्यमाथि धम्कीको १ वटा घटना रेकर्ड भएका छन् । त्यस्तै पत्रकारको साधनमाथि आक्रमणका २ वटा घटना भएका छन् भने ६ जना पत्रकारलाई समाचार संकलनका क्रममा प्रहरीले केही समय नियन्त्रणमा लिएको थियो । केही सञ्चारमाध्यमबाट पत्रकारलाई निस्काशन गरिएका घटना पनि महासंघको अभिलेखमा दर्ता भएका छन् । त्यसैगरी नीतिगत अवरोधमा यो वर्ष सरकारले जारी गरेको अनलाइन निर्देशिका रहेको महासंघले उल्लेख गरेको छ । गत वर्ष प्रेस स्वतन्त्रता हननका १३९ घटनाको अनुपातमा संख्यात्मक हिसावले हेर्दा यो वर्ष पत्रकार तथा सञ्चार क्षेत्रमा केही सुरक्षित देखिन्छ । यद्यपि प्रवृत्तिगत आधारमा भने प्रेस स्वतन्त्रता हननका साथै दण्डहीनता र सेल्फसेन्सरसीप कायमै रहेको महासंघले जनाएको छ ।

राष्ट्रिय आमसञ्चार नीति, २०७३ जारी हुनु यस अवधिमा प्रेसको विकासका लागि महत्वपूर्ण उपलब्धी बन्न पुगेको छ । यो वर्ष आजैको दिन नेपाल पत्रकार महासंघको २५औं महाधिवेशन प्रारम्भ गर्ने पूर्व तयारी रहे पनि स्थानीय तहको निर्वाचनको कारण केही समय पछाडि धकेलिन पुगेको छ । यद्यपि महासंघले आजैको दिनलाई महाधिवेशनको प्रारम्भ दिनको रूपमा लिई प्रेस स्वतन्त्रताका साथै पत्रकारको भौतिक तथा पेशागत सुरक्षा र पत्रकारिताका व्यावसायिक मुद्दामाथि देशैभर बहसको प्रारम्भ गरेको छ । यस बहसमा सहभागी हुन महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले सम्पूर्ण पत्रकारहरुमा अपील गरेका छन् । ‘महासंघका सवै शाखा तथा एशोसियट संस्थाहरूलाई त्यसको निम्ति कार्यक्रम आयोजना गरी वातावरण बनाउन आग्रह गर्दछु ।’ अध्यक्ष विष्टले भने । प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा हैन, यो समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय हो भन्दै अध्यक्ष विष्टले विज्ञप्तीमार्फत भनेका छन् ।

नेपालमा संवैधानिक दृष्टिले तुलनात्मकरूपमा अहिले प्रेस स्वतन्त्रताको संरक्षण गरिए पनि व्यवहारमा त्यस अनुरूप वातावरण बन्न सकेको छैन ।’एकातिर प्रेस आफै पनि मर्यादित हुन जरूरी छ भने राज्यले पनि स्वनियमको माध्यमबाट यसलाई संरक्षण, संवर्धन एबं विकासका निम्ति नीतिगत, कानुनी र संरचनागत क्षेत्रमा थुप्रै काम गर्न बाँकी छ । नेपाल पत्रकार महासंघले बुधबार दिउँसो प्रेस स्वतन्त्रता प्रतिवेदन सार्वजनिक तथा छलफल कार्यक्रमको आयोजना गरेको छ । महासंघका शाखाहरुले पनि देशभर विविध कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, विश्वभर र आफ्नो  देशभित्रको प्रेस स्वतन्त्रताको समग्र अवस्थाको समीक्षा, प्रेस स्वतन्त्रता हननका घटनाको सार्वजनिकीकरण र स्वतन्त्रताको प्रतिरक्षा एबं पत्रकारिता पेशा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरूप्रति श्रद्धा व्यक्त गर्ने यो दिनको विशेष महत्व छ ।

 

Related Post