New Muslims APP

अल्लाहका नाम र विशेषताहरुमाथि आस्था राख्नु

अल्लाहका नाम र विशेषताहरुमाथि आस्था राख्नु भनेको अल्लाहले आफ्नो लागि जुन नाम र विशेषताहरु कुरआन वा हदीसमा प्रमाणित गर्नु भएको छ, ती कुराहरुमाथि जस्ताको तस्तै आस्था राख्नु।

अल्लाहकै लागि राम्रा नाम र परिपूर्ण विशेषताहरु छन्। उहाँको जस्तो नाम र विशेषता अरु कसैको हुनै सक्दैन। अल्लाहले भन्नु भएको छ… “उहाँ जस्तो अरु कोही छैन, उहाँ सर्वश्रोता र सर्वद्रष्टा हुन्।” (श्रोत- सूरह अश्-शूरा : ४२/११)

अल्लाह आफ्नो नाम र विशेषताहरुमा सम्पूर्ण सृष्टिको समानताबाट पवित्र र महान हुन्।

अल्लाहका केही नामहरु

अल्लाहले भन्नु भएको छ… “सम्पूर्ण प्रकारका प्रशंसाहरु अल्लाहकै निम्ति छन् जो सम्पूर्ण जगतका पालनकर्ता हुन्।” (श्रोत- सूरह फातिहा : १/२)

अल्लाहले भन्नु भएको छ… “उहाँ अत्यन्त करुणामय र परम दयालु हुन्।” (श्रोत- सूरह फातिहा : १/३)

अल्लाहले भन्नु भएको छ… “उहाँ जीवित र आत्मनिर्भर हुन्।” (श्रोत- सूरह अल्-बकरह : २/२५५)

अल्लाहले भन्नु भएको छ… “उहाँ प्रभुत्वशाली र तत्वदर्शी हुन्।” (श्रोत-सूरह लुक्मान : ३१/९)

अल्लाहले भन्नु भएको छ… “उहाँ सर्वश्रोता र सर्वद्रष्टा हुन्।” (श्रोत- सूरह अश्-शूरा : ४२/११)

अल्लाहका नाम र विशेषताहरुमाथि आस्थाका केही फाइदाहरु

१) अल्लाहको ज्ञान, जसले अल्लाहका नाम र विशेषताहरुमाथि जति विश्वास गर्छ, अल्लाहको बारेमा उसको ज्ञानमा त्यत्ति नै वृद्धि हुन्छ, ईमान र आस्था बलियो हुन्छ, मुटुभरि उहाँकै लागि माया र आदर हुन्छ।

२) अल्लाहका नाम र विशेषताद्वारा उहाँको प्रशंसा गर्नु, उहाँको प्रशंसा गर्ने सबैभन्दा उत्तम तरिका यही नै हो। अल्लाहले भन्नु भएको छ… “हे आस्थावानहरु हो ! अल्लाहलाई अत्याधिक स्मरण (प्रशंसा) गर।” (श्रोत- सूरह अल्-अह्जाब : ३३/ ४१)

३) अल्लाहका नाम र  विशेषताहरुद्वारा प्रार्थना गर्नु, अल्लाहले भन्नु भएको छ… “अल्लाहका राम्रा नामहरु छन् र उहाँलाई उहाँकै नामबाट पुकार्ने गर।” (श्रोत- सूरह अल्-आराफ :७/१८०) जस्तै– हे अन्नदाता ! हामीलाई रोजी देऊ, हे प्रायश्चित स्वीकार गर्नेवाला ! मेरो प्रायश्चितलाई स्वीकार गरि देऊ, हे करुणामय ! ममाथि कृपा गरि देऊ आदि।

अल्लाहमाथि ईमानका उच्च श्रेणीहरु

ईमानका श्रेणीहरु छन्। मुस्लिमको ईमान सुस्ती र पाप अनुसार कम हुन्छ र अल्लाहको ईबादत, भय र पुण्य अनुसार बढ्दछ।

ईमानको सर्वोच्च श्रेणीलाई एहसान (परोपकार) भनिन्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले यसको परिभाषा यसरी दिनु भएको छ… “अल्लाहको उपासना यसरी गर कि तिमी अल्लाहलाई हेरिरहेका छौ, यदि त्यो हुन सकेन भने अल्लाहले तिमीलाई हेरिरहनु भएको छ।” (श्रोत- बुखारी : ५०, मुस्लिम : ८)

याद राख ! अल्लाहले तिम्रो उभिनु, बस्नु, कुरा गर्नु, ख्याल ठट्टा गर्नु आदि सम्पूर्ण क्रियाकलापहरुलाई राम्ररी  हेरिरहनु भएको छ। त्यसैले उहाँको अवज्ञा गर्ने प्रयास नगर। डर, त्रास तथा निराशको दलदलमा जीविका निर्वाह नगर, किनकि उहाँको माया र कृपा तिम्रो साथमा छ। आफूलाई एक्लो कहिल्यै नठान, किनकि उहाँ तिमीदेखि एकदम नजिक हुनुहुन्छ। उहाँले तिम्रो प्रत्यक्ष अप्रत्यक्ष सबै क्रियाकलापहरुलाई हेरिरहनु भएको छ, जान्दा जान्दै पाप गर्नु बुद्धिमानी होला ! यदि तिमी बाटो बिराउछौ वा अन्जानमा गल्ती गर्छौ भने आफ्नो पापको प्रायश्चित गर, उहाँले तिमीलाई क्षमादान दिनु हुनेछ।

अल्लाहमाथि आस्थाका केही फाइदाहरु

१) अल्लाहले आफ्ना भक्तहरुलाई प्रत्येक नराम्रा कुराहरुबाट जोगाउनु हुन्छ, उनीहरुलाई कष्टबाट मुक्त गर्नुहुन्छ र शत्रुहरुको षड्यन्त्रबाट सुरक्षित राख्नुहुन्छ। अल्लाहले भन्नु भएको छ… “अल्लाह नै आस्थावान भक्तहरुका प्रतिकारक हुन्।” (श्रोत- सूरह अल्-हज्ज : २२/३८)

२) ईमानले नै सुखमय जीवन प्राप्त हुन्छ। अल्लाहले भन्नु भएको छ… “आस्थावान पुरुष र महिलामध्ये जसले सत्कर्म गर्छ, हामी उसलाई सुखमय जीवनयापन गराउने छौं।” (श्रोत- सूरह अन्-नहल : १६/९७)

३) ईमानले आत्मालाई अन्धविश्वास र अनावश्यक कुराहरूबाट पवित्र पार्छ। जो व्यक्ति वास्तवमा अल्लाहमाथि आस्था राख्दछ, उसका सम्पूर्ण मामिला अल्लाहसँग आवद्ध हुन्छ, किनभने उहाँ नै ब्रम्हाण्डका सृष्टिकर्ता र सत्य ईश्वर हुन्। यसले आस्थावानको मनोबललाई बलियो पार्छ, ऊ सृष्टिबाट भयभित हुँदैन, अन्धविश्वास र अनावश्यक कुराहरूबाट मुक्त हुन्छ।

४) ईमानको ठूलो प्रतिफल… अल्लाहको प्यारो भक्त बन्नु, स्वर्गमा आफ्नो स्थान सुरक्षित पार्नु, सधैं रहने वरदान र पूर्ण माया प्राप्त गर्नु हो।

 

स्रोतः न्यु मुस्लिम गाइड

 

Related Post