New Muslims APP

अल्लाह को हुन ?

अल्लाह को हुनुहुन्छ ?

अल्लाह तआलाको कथन छः “अल्लाह जस्तो कोही छैन र अल्लाह तआला सुन्नु हुन्छ र देख्नु हुन्छ ।” ( सूरः शूराः ४२)

हाम्रो मनमा यो प्रश्न बारम्बार उब्जीन्छ अल्लाह को  हुन ?  उहाँको गुणहरु के कस्ता छन् ? र वहाँ कहाँ  छन् ? आदी इत्यादी ।

अल्लाहको शब्द मनमा आउनासाथ एक  महान महिमाको कल्पना मनमा उत्पन्न हुन्छ जो हर वस्तुको स्वामी र सृष्टिकर्ता हुन। उनले नै हरेक वस्तुलाई एक्लै सृष्टि गरेका हुन,  सम्पूर्ण संसारलाई चलाउनेवाला उनी नै हुन, धर्ती र आकाशको हरेक चीज उसको आज्ञाको पालन गर्दछन्, उनी आफ्नो सम्पूर्ण विशेषताहरु र गूणहरुमा पूर्ण छन्, उनलाई खानपीन गर्ने आवश्यकता पर्दैन, अनि, विवाह, वंश तथा सन्तानको जरूरत पर्दैन …केवल उनको अस्तित्व उपासनाको योग्य छ ।

अल्लाह तआलाको अस्तित्व नै केवल त्यो अस्तित्व हो जो सबै गूणहरु र विशेषताहरुमा पूर्ण छ । अल्लाह तआलाका केही महत्वपूर्ण विशेषता पवित्र कुरआनका यी आयतहरुमा यसप्रकार उल्लेख गरिएका छन् ।

“(ऐ नबी) भनिदेउ ! उनी अल्लाह एक्ला छन्, अल्लाह निरपेक्ष छन्  । उनको कोही सन्तान छैन,, न उनी कसैका सन्तान हुन ।  अनि, कोही उनको समकक्ष पनि छैन।” ( सूरः अल-इख्लास, आयत १, २, ३, ४)

र क़ुरआनको अर्को स्थानमा अल्लाहले आफ्नो यो विशेषताको बर्णन यसप्रकार गर्नु भएको छ

र, निश्चय नै अल्लाह सर्वोच्च तथा महान छन् ।’’ ( सूरः अल- हजः ६२)

अल्लाह तआला आफ्नो विशेषताहरु र गुणहरुमा पूर्ण हुनुहुन्छ र अल्लाह हरेक कमी र कमजोरीबाट पवित्र छन्।
अल्लाह तआलाका केही महत्वपूर्ण विशेषताहरुको वर्णन कुरआनका यी आयतमा गरिएको छः

“अल्लाह- उनीबाहेक कोही उपास्य छैन, जीवन्त एवंम चिरस्थाही छन्। उनलाई न उंघ लाग्छ, न निन्द्रा नै। आकाशहरु तथा पृथ्वीका सम्पूर्ण वस्तुहरु उनैका हुन्। को  छ जसले उनीकहां उनको अनुमति बिना सिफारिश गर्न सक्ने ? उनी तिनीहरुका अगाडि र पछाडीका सबै कुरा जान्दछन्, र, तिनीहरुले अल्लाहको ज्ञानको कुनै पनि अंश अल्लाहले नचाहेसम्म प्राप्त गर्न सक्दैनन्। उसको प्रभुत्व (कुर्सी) आकाशहरु तथा पृथ्वीमाथि छ । तिनीहरुको संरक्षणले उनलाई थकित तुल्याउँदैन र उनी उच्च र महान् छन्।” ( सूरः अल- बकराः २५५)

अल्लाह तआला नै एक्लै संसार र यसमा भएको हरेक वस्तुको मालिक र स्वामी हुनु,  उनले नै सम्पूर्ण वस्तुको रचना गरेका हुन,  उनले नै सबैलाई जीविका दिन्छन्, उनले नै सबैलाई मृत्यु दिन्छन्, वहाँ नै सबैलाई जीवित पार्छन् । यिनै उपकारलाई याद दिलाउँदै अल्लाह तआलाले कुरआनमा भन्नु भयोः आकाशहरु र पृथ्वी र यी दुवैबीचका सम्पूर्ण चीजहरुका पालनकर्ताको तर्फबाट यदि तिमीहरु वास्तवमा आस्था राख्दछौ भने,  (दुखान, आयत- ७ )

उनीबाहेक अरु कोही पूज्य छैन। उनी नै जीवन प्रदान गर्छन् र मृत्यु दिन्छन्। उनी नै तिमीहरुका पालनकर्ता हुन् र तिम्रा बितेका पूर्वजहरुका पनि ।  (दुखान, आयत- ८)

त्यसैगरी अल्लाह तआलालाई उनका नामहरु र विशेषताहरुमा एक मान्नुपर्छ, अल्लाहका गुणहरु र विशेषताहरु तथा नामहरुमा कोही उसको भागीदार छैन। यी विशेषताहरु र गुणहरुलाई त्यस्तै मान जस्तै  अल्लाहले उसको आफ्नो लागि बताएका छन् । या अल्लाहको नबी (अलैहिस्सलातु वस्सलाम) ले उस विशेषताको बारेमा जानकारी गराउनु भएको छ र यी विशेषता र गुणहरुको बयान त्यसरी नगर्नु जसरी अल्लाह र उहाँका सन्देष्टाले वर्णन गरेका छैनन्। पवित्र कुरआनमा अल्लाह तआलाको कथन छः अल्लाह जस्तो अरु कोही छैन र उनी सर्वश्रोता एवं सर्वद्रष्टा छन् । ( सूरः शूराः११)

यसैले अल्लाहको विशेषता र गुणहरुलाई त्यसरी नै मान्नु जसरी अल्लाहले आफ्नो किताब पवित्र कुरआनमा भन्नु भएको छ या उहाँको नबी (अलैहिस्सलातु वस्सलाम) ले जानकारी  गराउनु भएको छ । उनको अर्थलाई परिवार्तन नगर्नु र  त्यसको अर्थलाई अस्वीकार नगर्नु, उनको  कैफियत (आकार) बयान नगर्नु, अर्को कुनै वस्तुसँग उसको उदाहरण नदिनु, तर यो भन्न सकिंन्छ अल्लाह तआला सुन्नु हुन्छ, देख्नु हुन्छ, जान्नु हुन्छ, शक्तिशाली हुनुहुन्छ जस्तै कि अल्लाहको शानको योग्य छ,  वहाँ आफ्नो विशेषतामा पूर्ण हुनुहुन्छ। उहाँमा कुनै प्रकारको कमी छैन। कोही  उहाँ जस्तो हुन सक्दैन, र न उहाँको विशेषतामा समान्ता हुन सक्छ।

त्यसैगरी ती सबै विशेषता र गुणहरुलाई अस्वीकार गर्नु, जुन अल्लाहले आफ्नो बारेमा अस्वीकार गरेको छन् या अल्लाहको नबी (अलैहिस्सलातु वस्सलाम) ले अल्लाहको बारेमा जुन विशेषतालाई अस्वीकार गरेका छन् जस्तैः कि अल्लाह तआलाको भनाई छः अल्लाह राम्रा नामहरु छन् र उनलाई उनकै नामबाट पुकार्ने गर अनि ती व्यक्तिहरुलाई छोडिदेऊ जो उसका नामहरुबाट दुष्टता देखाउँछन् । तिनीहरुले गर्ने गरेका कार्यको सजाय तिनीहरुले चाँढै नै पाउनेछन्।” (सूरः आराफ़ १८०)

अल्लाह तआलाको विशेषता दुई किसिमका हुन्छन् ।

(अल्लाह तआलाको व्यक्तिगत विशेषताः  अल्लाह तआला हमेशा देखि परिपूर्ण छ र हमेशा परिपूर्ण रहने छ,  उदाहरणको लागि, अल्लाहको ज्ञान, अल्लाह सुन्न सक्ने क्षमता, देख्न सक्ने क्षमता, अल्लाहको शक्ति, अल्लाहको हात, अल्लाहको अनुहार आदि र यी विशेषतालाई त्यसरी नै मान्नु जसरी अल्लाह तआलाको योग्य छ, न यी विशेषताहरुको अर्थलाई परिवर्तन गर्नु र न यी विशेषताहरुको अर्थलाई इन्कार गर्नु र न  यी विशेषताहरुको अर्को किसीमको वस्तुबाट समान्ता दिन सकिन्छ र न यी विशेषताहरुको अवस्था या हालत बयान  गर्न सकिंन्छ र न उसको कुनै विशेषताको आकार बयान गर्न सकिंन्छ कि अल्लाह तआलाको हाथ hatछ जस्तै उसको शानको योग्य छ ।

(अल्लाहको इच्छित विशेषताः   यो त्यो विशेषता हो जुन अल्लाहको इच्छा र चाहनामा निर्भर गर्दछ । यदि अल्लाह चाहनु हुन्छ त गर्नु हुन्छ र न चाहेमा गर्नु हुँदैन,  उदाहरणको लागि यदि अल्लाह तआला कुनै भक्तको राम्रो काममा प्रसन्न हुनुहुन्छ भने कुनै भक्तको गलत काममा अप्रसन्न हुनुहुन्छ,  कुनै भक्तको राम्रो कामबाट खुशी भएर उसलाई ज्यादै धनलाभ दिनु हुन्छ भने कसैको पुरस्कार पारलौकिक जीवनको लागि सुरक्षित गर्नु हुन्छ, जस्तो वहाँ चाहनु हुन्छ त्यस्तै गर्नु हुन्छ ।

यसैले केवल उहाँको पूजा र उपासना गर्नु । उहाँको पूजा तथा भक्तिमा कसैलाई भागीदार नबनाउनु । अल्लाह तआलाले मानिसलाई आफ्नो यो उपकार याद दिलाउँदै आदेश दिनु भएको छ कि जब सारा उपकार हाम्रो लागि छ भने पूजा अन्य कसैको किन गर्ने ?

“ हे मानव ! आफ्ना त्यस ‘रब’ को दासत्व स्वीकार गर जसले तिमी र तिमी भन्दा अघिका मानिसहरुको सृष्टि गरे । आशा छ कि तिमीहरु नरकबाट बन्न सक्नेछौ ।

(उनै हुन्) जसले तिम्रालागि पृथ्वीलाई ओच्छ्यान र आकाशलाई छाना बनाए र आकाशबाट पानी बर्षाए अनि त्यसबाट तिमीहरुको आहाराको निम्ति थरि-थरिका फलफुल सृष्टी गरे। अतः जानी-जानी कसैलाई अल्लाहको समकक्ष नबनाऊ (सूरः अल-बक़रा, आयत नं. २१- २२)

जुन भक्त आकाश एवं धरतीको मालिकलाई छोडेर मृतक मानव, रुख, विरुवा, ढुंगा र कमजोर वस्तुहरुलाई आफ्नो पूज्य बनाउँछन्, यस्तो मानिसको लक्षित गर्दै अल्लाहले उनलाई एक उदाहरणको माध्यमबाट सम्झाउनु भएको छः हे मानव हो ! एउटा उदाहरण बयान गरिन्छ,, त्यसलाई ध्यानपूर्वक सुन,अल्लाहलाई छोडी तिमीहरु जसलाई पुकार्दछौ, तिनीहरुले एउटा झिङ्गा समेत सृष्टि गर्न सक्दैनन्। चाहे त्यसकोनिम्ति तिनीहरु सबै एकजुट नै किन नहोऊन र, कुनै झिङ्गाले तिनीहरुको कुनै वस्तु खोसेर लगेमा तिमीहरुले त्यसबाट त्यो वस्तु  छुटाउन पनि सक्दैनन। सहायता माग्नेवाला पनि दुर्बल र  जोसित सहायता मागिन्छ त्यो पनि दुर्बल !(सूरः हज २२ आयत नं. ७३)

जब धर्ती र आकाशको हरेक चीजलाई अल्लाह तआलाले नै सृष्टि गर्छन् । यो सम्पूर्ण संसारलाई उनले नै जीविका दिन्छन्, सम्पूर्ण संसारमा उहाँ कै अधिकारमा चल्छ भने पूजा किन अरुको गर्ने यो त बिल्कुल विपरित बुद्धि हो । कोही आफु जस्तै या आफु भन्दा कमजोरको पुजा र उपासना गर्दछन्, जब कि उ जस्तै कमजोर छ । जब अल्लाहद्वारा सृजित चीजहरु कोही पनि उपासनाको सही हक्दार छैन भने ऊ उपासनाको हक्दार कसरी भयो ? जसले यो सारा चीजलाई सृष्टि गर्ने केवल अल्लाह तआला नै हुन जो हरेक कमी र दोषबाट पवित्र छन् ।

अल्लाह तआला कहाँ हुनुहुन्छ ?

अल्लाह तआला सातौं आकाश माथि आफ्नो अर्श (सिंहासन) माथि विराजमान छन् । जस्तैः पवित्र कुरआनमा अल्लाह तआलाको वाणी छः “उनै अति करूणामय हुन जो राजसिंहासनमा विराजमान छन् । (सूरहः ताहाः )

यही कारणले गर्दा हरेक मानव जब कठिनाई तथा संकटमा हुँदा उनको अनुहार आकाशतर्फ स्वत हेर्न पुग्दछन् र भन्दछन् ‘हे ईश्वर तिमी मलाई यस संकटबाट निकाली देऊ’ । तर जब ऊ खुशीयालीमा हुन्छ त उसलाई छोडेर विभिन्न मन्दिरमा धाउँछन्, यसले गर्दा उनले स्वयं आफैलाई अपमानित गर्दछन् ।

पृय पाठक ! हामीलाई यो जानकारी भयो कि हरेक मानवको हृदय यो स्वीकार गर्दछ कि ईश्वर माथि नै हुनुहुन्छ, तर पूर्खा देखिको चलन भन्ने भ्रमले गर्दा आफ्नो वास्तविक पालनकर्तालाई छोडेर निर्जिव वस्तुको भक्तिममा ग्रस्त रहन्छन्, जसले उसलाई न कोही लाभ मिल्छ न नोक्सान नै हुन्छ । अन्तमा हामी अल्लाहसँग दुआ गर्दछौं कि वहाँ हामी सबैलाई आफ्नो बारेमा सही ज्ञान प्रदान गरून ।

लेखकः- मुहम्मद शाहनवाज

सम्पादकः- करमुल्लाह मन्सुर (मदनी)

अनुवादकः- मुहम्मद इब्राहीम

Related Post