New Muslims APP

अन्तराष्ट्रिय महिला दिवस

आमाको ममता

आमाको ममता

अन्तराष्ट्रिय महिला दिवसः नारी प्रति सम्मान गर्ने र नारीलाई सम्झने दिन हो। यो दिवस विश्वका धेरै देशहरूमा अलग अलग दिनमा आ-आफ्नो परम्परा अनुसार मनाइने गरिन्छ। नेपालमा यो दिवस मातातीर्थ औंसीको दिनमा मनाइन्छ। तर समाजमा नारी प्रति गरिने व्यवहारले त हामी भित्र केही विवेक छैन भन्ने महशुस हुन्छ किनकि आज तपाई हामी देख्छौ साठी वर्ष या सत्तरी वर्षकी हजुरआमाहरु पनि बलात्कृत भएको समचारमा सुन्नमा आएको छ। के यही हो त नारी माथि गरिने सद् व्यवहार ? के यही हो त नारीको इज्जत र सम्मान ? मानवमा अब मानवियता भन्ने हराई सकेको जस्तो लाग्छ ।

नेपाली समाजको परम्परा र प्रवृतिलाई हेर्दा जबसम्म अधिकांश नेपाली पुरुषहरुमा महिलाहरु पनि उनीहरु समानकै प्राणी हुन् भन्ने चेतना विकसित हुँदैन तबसम्म महिलाहरुको विद्यमान स्थितिमा त्यति सहजै परिवर्तन आउने आशा राख्न सकिंदैन। महिलाहरुप्रति नेपाली पुरुषहरुले जसरी व्यवहार गर्छन्, त्यसबाट उनीहरुलाई वास्तवमा लाज लाग्नुपर्ने हो।

गाउँका महिलाहरुको त कुरै नगरौं। तिनको स्थिति कति दयनीय छ भन्ने कुरो गाउँ देखेकाहरुले मात्र महसुस गर्न सक्छन्। बिहान चार-पाँच बजे उठेर गाई-गोठ गर्नेदेखि दिनभरि घाँसपात र खेतवारी हेर्ने र साँझ-बिहान भान्छाको बस्दोबस्त गर्ने सबै जिम्मा महिलाहरुकै हुन्छ। पुरुषहरुले दिनमा आठ-दश घण्टा काम गरेका हुन्छन्। त्यसका साथमा जाँड खाएको श्रीमानको कुटाई सहनेदेखि लिएर थाकेर चुर भएको शरिर श्रीमानले चाहेको बेला उसको यौन तृप्तिका लागि सुम्पिदिनु पनि ती महिलाहरुको दायित्व र कर्तव्यभित्रै पर्दछ। अनि नेपालको परिप्रेक्ष्यमा शिक्षित र सम्पन्न भनिएका काठमाडौं र अन्य कतिपय ठाउँहरुको स्थिति पनि गाउँको भन्दा अलिकति मात्र भिन्न छ। उदाहरणका लागि हामी आ-आफ्नै घरटोलका कुरा गरौं र एकपल्ट श्रीमान् र श्रीमतीहरुका बिहानदेखिका दिनचर्यालाई विचार गरौं। श्रीमतीहरु बिहान पाँच बजे उठ्छन्, घर धन्दा सुरु गर्छन्, सिरानीमैँ चिया सुर्काउने बानी भएका घरका सारा लोग्ने मानिसहरुको विछ्यौनामैँ चिया पुर्याउँछन्, घरका केटाकेटीलाई खुवाई पियाई विद्यालय पठाउँछन्, त्यसपछि टोलमा एक चक्कर राजनीतिक गफ छाँटेर कार्यालय जान घर फर्किएका श्रीमानलाई भान्छा तयार पार्छन्। श्रीमान् कार्यालय गएपछि दिनभर भ्याई नभ्याई गर्नुपर्ने अनेक कामहरुको त कुनै लेखाजोखा नै हुँदैन। अनि श्रीमानहरु चाहिँ बेलुका कर्यालयबाट फर्किएपछि घरमा तयार खाजा हसुरेर कि त टोलमा पुन: राजनीति छाँट्न, कि त नानाथरिका गफ मार्न र तास खेल्ल सवारी भईसकेका हुन्छन्। घरकी श्रीमती भने पतिका लागि बेलुकाको भुजा तयार पारेर प्रतीक्षा गरिरहेकी हुन्छिन्। आफूलाई जान्ने सुन्ने सम्झिने, समानता र स्वतन्त्रताका भाषण छाँट्ने यस्ता कपट भद्र सहरी पुरुषहरुले न खाना पकाउनु हुन्छ, न भाँडा माझ्नु हुन्छ, न कुचो लगाउनु हुन्छ, न करेसाबारीमा साग रोप्नु हुन्छ। दिनमा आठदश घण्टा काम गरेर तलब भित्र्याई दिएको नाममा उनीहरुले बाँकी समय आफ्नो मर्जी अनुसार जे गरे पनि हुन्छ। श्रीमती पनि तलब भित्र्याउने नै रहिछन् भने पनि उनले तलब भित्र्याईकन बिहान-बेलुकी घरका सारा काम गर्नुपर्छ तर श्रीमानलाई चाहिं त्यसो नगर्न छुट छ। श्रीमानले चाहनुपर्छ र श्रीमतीले दिनुपर्छ। श्रीमतीले सकभर चाहना गर्नै हुँदैन, चाहना गरेपनि सीमित कुरा मात्र चाहना गर्नुपर्छ।

त्यस्तो परिवेशमा हुर्किएका हामी जस्ता युवाहरुको मानसिकता पनि झण्डै झण्डै त्यस्तै छ। दिनभरी हल्लिएर बेलुका घर पुग्दा खाना तयार भइरहेको हुनुपर्छ हामीलाई। कतिसम्म भने घरका आइमाईहरु बिरामी भए भने खाना पकाउने ढङ्गसम्म कुनै पुरुषमा हुँदैन। तर विडम्बनाको कुरो के भने पुरुष र महिलाबीचको त्यो अत्यन्त अन्यायपूर्ण, अमानवीय र अस्वाभाविक परम्परालाई पुरुषले मात्र होइन महिलाहरु स्वयंले समेत सहजरुपमा स्वीकार गरेको पार्इन्छ। “मेरो श्रीमानले त घरको सिन्कासम्म भाँच्नु भएको छैन” भनेर गर्व गर्ने कयौं शिक्षित महिलाहरु भेटेको छु मैले। यो न त पुरुषहरुका लागि नाक फुलाएर गमक्क पर्ने टिप्पणी हो न महिलाहरुले घमण्ड गर्ने विषय हो। हामी अधिकाँश नेपाली पुरुषहरु वास्तवमा पूर्णत: महिलाहरुमा आश्रित परजिवी हौं र हामी महिलाहरुलाई चुसेर बाँचेका छौं। धेरै रक्सी पिएर पिट्नेहरुले प्रत्यक्ष चुस्छन्, हामी जस्ता सभ्य भनाउँदाहरु माया गरीगरी चुस्छौं, माया गरीगरी दासझैं दलाउँछौ र मौका पर्दा गाथा गाएर उनीहरूलाई फुरुङ्ग पारिदिन्छौं। अनि हामी हाम्रो सामाजिक संरचनाको बचाउ गर्छौ। श्रीमतीले घर हेर्ने, श्रीमानले बाहिर हेर्ने कति राम्रो व्यवस्था भनेर। अधिकांश स्थितिमा त्यस सोचाइलाई कोही पनि महिलाले चुनौती दिंदैनन् किनभने उनीहरुलाई त्यो अन्याय हो भन्ने थाहै छैन। उनीहरुलाई केवल श्रीमानको सेवा गर्नुपर्छ भन्ने थाहा छ, पतिमाथि पत्नीले गरेको दया जस्तै पत्नीमाथि पतिले दया गरे समान्ता हुनसक्छ। पुरुषहरुका लागि भने महिलाहरुमा त्यस धारणाको विकास नहुनुमै फाइदा ठान्दछन्। उनीहरुले त्यसो गरे भने पुरुषहरुले पुरुष हुनुको ठाँट गुमेको महसुस गर्नेछन्।

श्रीमतीलाई घरायसी काममा सघाउँदा छरछिमेक, नातागोताबाट जोइटिङ्ग्रेको उपाधि पाइएला भनेर पुरुषहरु त्रस्त हुन्छन्। जबसम्म यो प्रबृत्त गलत हो भन्ने चेतना पुरुषहरुमा पलाउँदैन, जबसम्म महिला अधिकारको प्रश्नको उत्तर हाम्रा आफ्नै घरपरिवारभित्र खोज्न थालिंदैन, महिला आयोग गठन हुँदैन या महिलालाई अंशको कानुनी अधिकार दिंदैमा नेपाली महिलाहरुले खप्नुपर्ने अन्यायमा खासै परिवर्तन आउँदैन। महिलाहित चाहने सबै पुरुषहरुले यो बुझ्न जरुरी छ।

अब हामी इस्लामिक दृष्टिकोणले हेरौं, नारीको मान र मर्यादा कसरी गर्नुपर्छ।

नारी आमाको रुपमाः- मानवलाई ईश्वर पछि सबै भन्दा धेरै अधिकार आमाको हो जसलाई इस्लामले विभिन्न तरिकाले प्रमाणीत गरेको छ र मानव जीवनमा सबैभन्दा महत्वपूर्ण समयको याद दिलाउँदै भनिएको छ- र हामीले मानवलाई उसको आमा बुबाको सम्बन्धमा आज्ञा दिएका छौ कि आमाले तिमीलाई नौ महिनासम्म गर्भमा कष्ट खप्दै राख्नुभयोफेरि दुईवर्षसम्म उसलाई दुध छुटाउन लाग्यो यसैले तिमी मेरो र तिम्री आमा बुबाको कृतज्ञता व्यक्त गरमै तर्फ फर्केर आउनु पर्छ ।(सूरः लुकमान, आयत नं. 14)

अबू हुरैरा (रज़ी अल्लाहु अन्हु) वर्णन गर्नु हुन्छ, प्रिय नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो: एउटा मान्छे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) भएको ठाउँमा आउनु भयो र भन्नुभयो: ऐ अल्लाहको रसूल ! मेरो लागि राम्रो व्यवहार तथा खूब सेवाको ह़क़दार को हो ? तब मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले उत्तर दिनुभयोतिम्री आमाउसले भन्यो फेरि को हो ? मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले उत्तर दिनुभयो, तिम्री आमाउसले भन्यो फेरी को हो ? मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले उत्तर दिनुभयो, तिम्री आमाउसले भन्यो फेरी को हो ? मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले उत्तर दिए फेरी तिम्रो बुबा हो 

नारी पत्नीको रुपमाः- यदि उनको एउटा नराम्रो बानी छ भने पनि उसलाई आफ्नो साथ राख किनकि अल्लाहले उसलाई अर्को धेरै राम्रो बानी प्रदान गरेको हुन्छ।

अल्लाह तआलाको कथन छ- उनको साथ राम्रो ढंगसँग रहनुसहनु यदि तिमीलाई उनको एउटा गुण मन पर्दैन भने हुनसक्छ कि अर्को गुण तिमीलाई मन पर्न सक्छ र अल्लाहले उनमा धेरै गुण राखेको हुन्छ ” (सूरः निसा, 19)

प्रिय नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले मानवलाई आज्ञा दिनुभयो कि ऊ आफ्नो पत्नीसँग राम्रो व्यवहार गरुन, रसूल भन्नुहुन्छ- तिमीहरु मध्ये सबै भन्दा असल व्यक्ति त्यो हो जो आफ्नो पत्नीसँग राम्रो व्यवहार गर्छ र म आफ्नो पत्निहरुसँग राम्रो व्यवहार गर्छु।

र भन्नुभयो- “ संसारमा एक राम्रो चीज छ र संसारको सबैभन्दा राम्रो चीज हो असल चरित्रको महिला हो ” (सही मुस्लिम, हदीसको स्लोक नं. १४६७)

नारी छोरीको रुपमाः- यसै गरी छोरीको रुपमा स्त्रीलाई आदर-सम्मान दिएको छ र उसको पालनपोषण र शिक्षा-दिक्षाको राम्रो व्यवस्था गर्न आज्ञा दिएको छ। प्रिय नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले मनिसलाई छोरीलाई असल चरित्रमा लाग्न उत्प्रेरणा दिनुहुन्थ्यो र भन्नुहुन्थ्यो जसले दुईवटी छोरीलाई राम्रोसँग पालन पोष गर्छ यहाँसम्म कि उनिहरु दुवैजना जवान हुन्जेलसम्म त म र त्यो व्यक्ति महाप्रलयको दिन साथ हुनेछौ ” ( सही मुस्लिम, हदीस न, २६३१)

कति भाग्यमानी होला त्यो व्यक्ति जसलाई प्रिय नबी (सल्लल्लाहु अलैहि वसल्लम) को साथ मिल्ने छ, र जसलाई प्रिय नबी (सल्लल्लाहु अलैहि वसल्लम) को साथ मिल्नेछ ऊ निश्चित रुपमा जन्नत (स्वर्ग) मा जानेछ । र प्रिय नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयोजसको साथ बालिका छोरी छ र उसले ती बालिकाको साथ राम्रो व्यवहार तथा पालन पोषन गर्यो त यि बालिका नै उसको लागि जहन्नम (नरक) बाट मुक्तिको कारण बन्नेछ ” ( सही मुस्लिम, हदीस न, २६२९)

नारी बहिनीको रुपमाः- प्रिय रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को भनाई छ। जोसँग तीन छोरी या तीन बहिनी छ र उसले उनिहरुको साथ राम्रो व्यवहार तथा पालन पोषण गर्यो त यो निश्चित रुपमा जन्नत  (स्वर्ग) मा प्रवेश गर्छ ” ( मुस्नद अहमद, ४३/३)

नारी विधुवा महिलाको रुपमाः उनको रेख देख गर्नु पर्छ, उसको जीवनयापनको लागि आर्थिक सहायता गर्नुपर्छ तर बिना कुनै संसारिक लोभ, लालच र शारीरिक आशक्त नभई।यस सहायताको बदला अल्लाहको नजिकता प्राप्त गर्ने लक्ष्य हुनुपर्छ, जस्तो कि प्रिय रसूल अबू हुरैरा (रज़ी अल्लाहु अन्हु) वर्णन गर्नुहुन्छ- (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ:- जसले विदुवा र गरीबमा रूपैया खर्च गर्छ र उनिहरुको रेखदेख गर्छ त्यो व्यक्ति अल्लाहले बाटोमा दिलोज्यानसँग लगि रहने जस्तै हो र (एक अर्को हदिसमा उल्लेख छ) संधै नमाज पढने र संधै रोजा राख्नेवाला जत्तिकै बराबर पुण्य मिल्छ। (सह़ी बुखारीः ह़दीस संख्यां- 6007)

नारी सानीआमाको रुपमाः- सानीआमा (आमाको बहिन) को रुपमा आदर सम्मान गर्न आदेश दिएको छ । यस सम्बन्धमा बरा बिन आजिब (रज़ी अल्लाहु अन्हु) वर्णन गर्नुहुन्छ कि नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो- सानीआमाको स्थान आमाको स्थान झैं हुन्छ। (सह़ी बुखारीः ह़दीस संख्यां- 4251)

यो उदाहरणबाट प्रामाणित हुन्छ कि इस्लामले नारीलाई धेरै नै अधिकार दिएको छ र आदर- सम्मान गरेको छ।

स्रोतः- इस्लाममा नारी

लेखकः-हिफजुर्रहमान(एम.एस्सी अध्ययन)

Related Post