ईमानको स्तम्भ

ईमानको स्तम्भ

ईमानको स्तम्भ

ईमान (आस्था) को छः स्तम्भ छन्, हरेक मोमिन (भक्त) ले त्यसमा ईमान (आस्था) राख्नु जरुरी छ । ति यसप्रकारका छन् । (१) अल्लाह माथि आस्था राख्नु (२) अल्लाहको फरिष्ताहरु माथि आस्था राख्नु (३) अल्लाहको किताबहरु माथि आस्था राख्नु (४) अल्लाहको रसूलहरु माथि आस्था राख्नु (५) कियामत (महाप्रलय) माथि आस्था राख्नु (६) भाग्यमाथि आस्था राख्नु चाहे त्यो राम्रो होस् या नराम्रो होस् अल्लाहको तर्फबाट नै हुन्छ । (हदीस- सही मुस्लिम)

(१) अल्लाह माथि आस्था राख्नुः-  अल्लाह माथि आस्था राख्नुको अर्थ हो अल्लाहको अस्तित्वलाई सत्य मान्नु र अल्लाहको हकमा पूरा आस्था वा विश्वास राख्नु हो, अल्लाहको सम्पूर्ण विशेषताहरुलाई केवल अल्लाहको साथ खास मान्नु र अल्लाहको जति नाम वा विशेषतामा एउटै र एक मान्नु ।

(२) अल्लाहको फरिष्तामाथि आस्था राख्नुः-  फरिष्ताहरु माथि आस्था राख्नुको अर्थ हो अल्लाहले फरिश्तालाई प्रकाशबाट सृष्टी गर्नु भएको हो । फरिश्ता हामीहरुबाट अदृष्य छन् तर उनिहरुले मानवरुप धारण पनि गर्न सक्छन् । उनीहरु अल्लाहको हुकुमको पालना गर्दछन् र अल्लाहको भक्ति गर्नु उनीहरुको कर्तव्य हो । प्रमुख फरिश्ताहरुको नाम यसप्रकारछ । हज़रत जिबरईल,   हज़रत इस्राफ़ील,   हज़रत मीकाईल    हज़रत इज़्राईल

यी बाहेक पनि अरु धेरै फरिश्ताहरु छन् जस्तै, अल्लाहको अर्श (कुर्सी) उठाउनेवाला फरिश्ता, रिज़वाने जन्नत, जन्नती सेवक, नर्क (जहन्नम) का फरिश्ता, किरामन कातिबीन, सुरक्षा गर्नेवाला फरिश्ता, भाग्य लेख्नेवाला फरिश्ता, पहाडको निरक्षण गर्ने फरिश्ता, दुवा गर्नेवाला फरिश्ता, मुन्कर नकीर, (जसले मानवको मृत्यु भएर दफन गरी मलामी चालिस कदम पर पुगेपछि चिहानमा तीन प्रश्न शोध्नेछन् (क) तिम्रो ईश्वर को हो ? (ख) तिम्रो धर्म के हो ? (ग) तिम्रो रसूल को हो ? ) यी बाहेक अरु पनि असंख्य फरिश्ताहरु छन् ।

(३) अल्लाहको किताबहरु माथि आस्था राख्नुः- जसरी अल्लाहका सम्पूर्ण रसूल तथा नबीहरुमाथि आस्था राखिन्छ त्यस्तै अल्लाहका सम्पूर्ण आकाशिय किताबहरु माथि आस्था राख्नु पर्दछ जुन मानवको लागि मार्गदर्शन गर्न समयानुकुल अल्लाहका फरिश्ता जिब्रइलको माध्यमबाट खास खास रसूलहरुमाथि अवतरित गरिन्थ्यो । जुन सत्य र अल्लाहको वाणीमा आधारित थियो । केही प्रशिद्ध आकाशिय किताब यसप्रकारछः- (क) तौरात (ख) ज़बूर (ग) इन्जील र  (घ) कुरआन मजीद हो ।

(क) तौरातः- हज़रत मूसा अलैहिस्सलाममा अवतरित किताबको नाम तौरात हो । यो किताब जुनबेला अवतरित भएको थियो त तत्वदर्शित र दिव्यज्ञानले भरिपूर्ण थियो तर पछि त्यस धर्मका अनुयायीहरुले त्यसमा केही फेर बदल गरिदिए जसले गर्दा अल्लाहले त्यो किताबलाई निस्कृय गरी अर्को किताब अवतरण गर्नु भयो । अब त्यो किताब हज़रत मूसा अलैहिस्सलाम माथि अवतरित किताब हो भनेर आस्था राख्ने तर मुस्लिमहरुले त्यो किताबको धार्मिक आदेशपालन गर्नु अनिवार्य छैन। धार्मिक आदेश पालन कुरआनको मात्र गर्नुपर्छ।

(ख) ज़बुरः- हज़रत दाऊद अलैहिस्सलाम समक्ष अवतरित आकाशिय धार्मिक किताबको नाम ज़बूर हो । यो किताब पनि हज़रत दाऊद अलैहिस्सलामको निधन पछि त्यो धार्मिक किताबको आदेश समाप्त भयो । र तौरात जस्तै अब यस किताब पनि ईश्वरीय किताब हो भनेर ईमान(आस्था) राख्न जरुरी छ तर यस किताबको धर्मउपदेशलाई मान्नु आवश्यक छैन ।

(ग) इन्जीलः- हज़रत ईसा अलैहिस्सलाम समक्ष जुन ईशवाणी अवतरित भएको थियो त्यो किताबको नाम इन्जील हो । यो किताब पनि तौरात र ज़बुर जस्तै हज़रत ईसा अलैहिस्सलाम पछि निस्क्रिय भयो अब अल्लाहको तर्फबाट अवतरित किताब हो भनेर आस्था राख्ने तर आदेशपालन गर्नु अनिवार्य छैन।

(घ) कुरआन मजीदः-  अल्लाहको आखिरी नबी हज़रत मुहम्मद सल्लल्लाहु अलैही व सल्लममाथि जुन किताब अवतरण भयो त्यसको नाम कुरआन मजीद हो । अल्लाह तआलाको आखिरी किताब हो । यसको अक्षर अक्षर सुरक्षित छ र महाप्रलयसम्म सुरक्षित रहन्छ यसमा कण बराबर पनि शंका छैन । यो अल्लाहको वाणी हो र हम्मेशा देखि थियो र हम्मेशा रहन्छ । यो मानवको वाणी होइन ।

केही धार्मिक किताबः- यि चर्चित किताब वाहेक केही स-साना धार्मिक पुस्तक पनि अवतरित भएका छन् । जस्तै, सहुफे इबराहीम, इबराहीम अलैहिस्सलाम र सहुफे मूसा यो मूसा अलैहिस्सलाम समक्ष अवतरण भएको थियो । तर कुरआन मजीद बाहेक अन्य सबै किताबहरु अल्लाहको तर्फबाट अमान्य भैसकेका छन्, यसैले यस संसार रहेसम्म संसारका मानिसहरुको मार्गदर्शनका लागि कामयाबी र सफलता प्राप्त गर्न केवल एक आखिरी आकाशिय किताब कियामत (महाप्रलय) सम्म बाँकी रहनेछ जसको नाम कुरआन मजीद हो ।

(४) अल्लाहको रसूलमा ईमान(आस्था) राख्नुः- रसूल अल्लाहको त्यो पवित्र भक्त हुन जसमाथि अल्लाहको ईशवाणी हज़रत जिब्रिलको माध्यमले रसूल समक्ष अवतरण हुन्थ्यो । रसूलहरुले त्यही ईशवाणीद्वारा मानव समूदाय समक्ष सन्देश पुर्याउने काम गर्दथे । हरेक समूदायमा त्यही समूदायबाट अल्लाह तआला रसूल चुन्नु हुन्थ्यो । सबै भन्दा पहिलो नबी आदम अलैहिस्सलाम हुनुहुन्छ र सबैभन्दा आखिरी नबी मुहम्मद सल्लल्लाहु अलैही वसल्लम हुनुहुन्छ । जे जति नबीहरुको कुरआन मजीद र सही हदीसमा मिल्दछ तिनीहरु सबैमा ईमान (आस्था) राख्नु पर्दछ । अन्यथा त्यो व्यक्ति इस्लामको परिधी (घेरा) बाट बाहिर जान्छ ।

(५) आखिरत (महाप्रलय) को दिनमा ईमान (आस्था) राख्नुः- यस संसार एक दिन यस्तो हुनेछ जुन दिन शंख फुकिनेछ तब यो सम्पूर्ण संसार विनाश हुनेछ र फेरि अल्लाहको हुकुमले एक नयाँ संसार बन्नेछ । मृत्यु भैसकेकाहरु सबैलाई जीवित बनाइन्छ । हश्वको मैदानमा जम्मा गरिनेछ, जहाँ अल्लाहको सिवाय कुनै छाँया हुने छैन, मानवहरुले यस संसारमा जे-जस्तो कर्म गर्दछन् त्यसलाई न्यायको तराजुमा जोखिनेछ । हरेकलाई कर्म-पत्र बाँडिनेछ, जसको कर्म-पत्र भारी हुनेछ ऊ स्वर्ग जान पाउनेछ भने जसको कर्म-पत्र हल्का हुनेछ उसको वासस्थान नर्क हुनेछ । स्वर्गवासीले अल्लाहको दर्शन गर्न पाउनेछन् । मुहम्मद सल्लल्लाहु अलैही वसल्लमको समूदाय जुन एक अल्लाहलाई मान्नेवालालाई अल्लाहको आज्ञानुसार रसूलुल्लाह सल्लल्लाहु अलैही व सल्लमको सिफारिस हासिल हुनेछ ।

(६) भाग्यमा ईमान(आस्था) राख्नुः-  भाग्य अल्लाह तआलाको त्यो ज्ञानको नाम हो त्यही अनुसार अल्लाह तआलाले सम्पूर्ण ब्रह्माण्ड र प्राणीहरुलाई सही ढंग सृष्टि गर्नु भएको छ । ब्राह्माण्डमा घटित हुनेवाला सबै घटनाहरु या अवस्थालाई ठीक-ठीक अन्दाज गरी लौहे महफुज़(ईश्वरको साथ सुरक्षित भाग्य अंकित पुस्तक) मा लेखिएको छ । अब संसारमा जे-जस्तो हुन्छ, त्यसमा कण बराबर पनि फरक हुँदैन । अवस्था, रुप आकार, न समय, न ठाउँ वा परिणाम यी सबै काम अल्लाहको पूर्ण ज्ञान अनुसार हुँदै गइरहेको छ किनकि अल्लाह तआलाको ज्ञान सम्पूर्ण ब्रह्माण्ड भन्दा धेरै विस्तृत र सबैमा प्रभावशाली छ र उसको अन्दाजमा कुनै किसीमको भूल हुने सम्भावना छैन, जे जति भयो, जे जति भैरहेकोछ र जे जति हुनेवाला छ, चाहे पाप होस् या परोपकार त्यो सबै अल्लाहको ज्ञान अनुसार भएको हो । यसैको नाम भाग्य हो । यस सम्बन्धमा अल्लाह तआलाको वाणी यस्तो छः बेशक हामीले हरेक चीजलाई अन्दाज़बाट बनायौं । (सुरः कमर, आयत नं. ४९)

फेरि अर्को ठाउँमा भनिएकोछः त्यसलाई ठीक क्रममा व्यवस्थित गर्नु भयो (सुरः फुर्कान, आयत नं. २)

फेरि अर्को ठाउँमा भनिएकोछः जुनसुकै दुःख संकट धर्तिमा आउँछ या तिमीमाथि त्यसलाई मैले पठाउनु भन्दा पहिला एउटा किताबमा अंकित हुन्छ  । यो काम अल्लाहको निम्ति सजिलो छ ।(सुरः हदीद, आयत नं. २२)

रसूलुल्लह सल्लल्लाहु अलैहि व सल्लम हज़रत अब्दुल्लाह बिन अब्बास रज़ियल्लाहु अन्हुसँग भन्नु हुन्छः “जानी राख कि सबै मिलेर पनि तिमीलाई सामान्य लाभ दिन चाहे पनि सक्दैनौं जति अल्लाह तआलाले लेखिदिएकोछ र यदि उनिहरुले तिमीलाई सबै मिलेर नोक्सान पुर्याउन चाहे पनि  सक्दैनन् जति अल्लाह तआलाले लेखिदिएको छ । कलम उठायो कि लेखिएको कपी सुक्यो” ।(तिर्मिज़ी)

अल्लाहको लेखेको भाग्यमा खुशी रहनु हर आस्थावानहरुको ईमानी कर्तव्य हो । सबै अल्लाहको तर्फबाट मानेर जीवनको उतार चढ़ाबमा धैर्यता वा बलियोसँग अल्लाहको आज्ञापालनमा कायम रहनु नै आस्थावान जिन्दगीको सबैभन्दा ठूलो कामयाबी हो । यी छ स्तम्भलाई खुब ध्यान दिएर त्यसलाई आत्मासात मान्नु, यसलाई हृदयमा ठाउँ दिनु र जीवनको अन्तिम अवस्थासम्म यसमा ईमान वा आस्था या विश्वास राख्नु जरुरी छ । यस मध्ये कुनै एक स्तम्भमा पनि अलिकती पनि शंका गर्नु कुफ्र(अस्वीकार) गर्नु हो । यस मध्ये कुनै एक स्तम्भ नमान्ने इस्लामको परिधीबाट बाहिरिन्छ ।

स्रोतः तालिमुल इस्लाम

लेखक- मुख़तार अहमद नदवी, अद्दारुस्सलफ़िया, बम्बई

 अनुवादकः- मुहम्मद इब्राहीम खरेल

Related Post