कियामतको निशानी

कियामत (महाप्रलय) को निशानीहरु

दस निशानी यि हुन: (1) धुँआ निस्किनु (2) मसिह दज्जालको उत्पती हुनु, (3) ईसा बिन मरियम अवतरित हुनुहुन्छ, (4) याजूज माजूज आउनु, (5) मानवसंग कुरा गर्ने जनावर (दाब्बा) चौपाय निक्लनु, (6) सूर्य पश्चिमबाट निक्लनु (7, 8, 9 ) धरती तीन ठाउँमा फाटिने छ, (पूर्व. पश्चिम र अरबदिप) , (10) अन्तमा यमनबाट आगो……

जब अल्लाह तआलाले यस संसारको सृष्टी गर्नु भयो र फरिश्ता, मानव जिन्न, पशु पंक्षि रुख विरुवा, वनस्पती, ग्रह नक्षत्र, यावात चिजहरुलाई एक घडी जसरी चल्दछ ठिक त्यसैगरी चलाउनु भएको छ साथै मानव तथा जिन्नलाई यस संसारमा जीवन यात्रा कसरी बिताउने र मोक्ष प्राप्ति गराउने । यि सबै योजना अनुरुप वहाँको असिम दया तथा कृपाले विभिन्न युगमा ईशग्रन्थ र ईशदूतहरु पनि पठाउनु भएको थियो । जसको उदेश्य हो मानव तथा जिन्नलाई गलतबाटोबाट रोक्नु र  अन्तमा जन्नत (स्वर्ग) प्रदान गर्नु । तर पनि दिनानुदिन पापहरु वृद्धि भैरहेका छन् । तिनै पापी तथा अपराधीहरुलाई सजायको लागि एक दिन तय गरिएको छ जुन दिन यो संसारमा महाप्रलय हुनेछ । जुन दिन अल्लाहले यो संसार ध्वस्त गराउनु हुन्छ त्यसै दिनलाई कियामत (महाप्रलय) भनिन्छ । कियामत आउनु पूर्व केही साना तथा ठूला निशानीहरु प्रकट हुनेछन् । यसै सम्बन्धमा तपाईहरुको जानकारीको लागि कुरआन र हदीसको प्रमाणहरु बमोजिम पेश गर्नेछु जुन अल्लाहको अन्तिम नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले सहाबाहरुलाई बताउनु भएको थियो ।

कियामतको निशानीहरुको विषयमा कियामत आउनु भन्दा पहिले घट्ने घटनाले कियामतको  आगमनको नजिक हुने पत्ता लाग्दछ । ती निशानीहरुलाई दुई भागमा बाँडिएको छ।

(क) सानो निशानी (ख) ठूलो निशानी

(क) सानो निशानी– कियामत आउनु भन्दा धेरै पहिले देखि घट्ने छ त्यस मध्य कुनै निशानी प्रकट भैसक्यो र केही प्रकट भैरहेको छ, कुनै निशानी हालसम्म अस्तित्वमा आएको छैन, तर ती निशानीहरु प्रकट हुनेछन् जस्तैः-  पैगम्बर मुहम्मद सल्लल्लाहु अलैहि वसल्ल्मले यसको सूचना दिंदै भन्नु भएकोछ । कियामतको सानो निशानीहरु धेरै छन् र यस सम्बन्धमा सही हदीसमा बयान गरिएको छ । जसको बयान तल गर्नेछु । खासगरी सही तरीकाले क्रमिक रुपमा दिन नसके पनि निम्न लेखकहरुको ती किताबको माध्यमले तपाईहरुले क्रमिक रुपमा हेर्न सक्नु हुन्छ । ति मध्ये शैख उमर सुलैमान अल-अश्क़रको किताब अलक़ियामतुस्सुग्रा र शैख यूसुफ अल-वाबिलको किताब अश्रातुस्साअह“बाट  हुन् ।

कियामतको सानो निशानीहरु

१.    नबी सल्लल्लाहु अलैहि वसल्लमको ईश्दूतत्व( सन्देष्टा हुनु ।)

२.    मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको देहान्त हुनु ।

३.     बैतुल मक्दिसमाथि विजय।

४.    फिलिस्तीनको “अम्वास” नामक नगरमा हैजा (महामारी) आउनु ।

५.    धनको मोहमा (लोभ) पर्नु  र दान वा सहयोग गर्न रुची नदेखाउनु ।

६.    उपद्रव प्रकट हुनु- उनीहरु मध्यबाट इस्लामको प्रारंभिक युगमा उत्पन्न हुनेवाला उपद्रव हो : उसमान रज़ियल्लाहु अन्हुको हत्या, जमल र सिफ्फीनको लड़ाई, खवारिजको प्रकट हुनु, हर्राको लड़ाई र क़ुरआनलाई मानव निर्मित वाणी भन्ने उपद्रव(फित्ना) ।

७.    नबी (ईश्दूत) भएको दावी गर्नेहरु प्रकट हुनु, नुबुव्वत (ईश्दूतत्व) को दावेदार गर्नेहरु मध्ये “मुसैलमा कज़्ज़ाब” र “अस्वद अंसी” हुन् ।

८.    हिजाज (मक्का र मदीनाको क्षेत्रलाई हिजाज़ भनिन्छ) भन्ने ठाउँबाट आगोको ज्वाला प्रकट भएको थियो, र यो आगो सातौं शताब्दी हिज्री बर्ष ६५४ मा प्रकट भएको थियो, र यो एउटा ठूलो आगो थियो, यो आगो निस्किएको त्यससमयका प्रत्यक्षदर्शीहरुले जो देखेका थिए त्यस निशानीको बारेमा पछिका धार्मिक विद्वान इमाम न-ववीलाई बताएका थिए र उनले त्यस भनाईलाई उद्घृत गर्दै लेख्नु भएको छ जुन भनाई यस्तो थियो: “हाम्रो जमानामा हिज्री ६५४ मा मदीनामा एक पटक ठूलो आगो निस्केको थियो त्यो ठाउँ मदीनाको पूर्व पटी हर्राको पछाडि भागमा पर्दछ, यो घटना शाम (सीरिया) र अन्य सबै नगरहरुमा प्रायः मानिसहरुलाई जानकारी थियो” ।

९. अमानत (अरुलाई आफुले राख्न दिएको चीजहरु/नासो) आफैले लिनेछन्, र अमानत फिर्ता गर्ने छैनन् ।

१०. ज्ञानीहरु पलायन भई, अज्ञानीहरु वृद्धि हुनेछन्, (सहीह बुखारी र सहीह मुस्लिम)

११. व्यभिचार (बलात्कार) मा वृद्धि हुनेछ र  व्यभिचार धेरै प्रचलित हुनेछ।

१२. व्याजको कारोबारमा वृद्धि हुनेछ ।

१३. गायन र संगीत उपकरणको विकाश हुनेछ ।

१४. मदिरा पीउनेहरुको संख्यामा वृद्धि हुनेछ  ।

१५. बाख्रालाई चराउनेवालाको भावनामा घमण्डको विकाश हुनेछ ।

१६. दासीले आफुलाई मालिक ठान्नेछन्, जस्तै सहीह बुखारी एवं मुस्लिममा यो प्रमाणित हुन्छ यस हदीसको अर्थको बारेमा विद्वानहरुको धेरै भनाई छ, हाफिज़ इब्ने हजरले यस अर्थलाई यसरी बताउनु भएको छ: सन्तानले माता-पिताको आज्ञा उलंघन गर्नेछन्, यहाँसम्म कि छोराले आफ्नो आमासँग यसप्रकार व्यवहार गर्दछ जसरी मालिकले आफ्नो दासीसँग अपमान र गाली गलौजको साथ व्यवहार गर्दछ ।

१७.  हत्या  हिंसामा वृद्धि हुनेछ ।

१८.  भूकम्पहरु धेरै आउनेछन्

१९. मानिसहरुको संख्या कम हुनेछ ।

२०. कपडा पहिरिए पनि नाङ्गो देखिनेवाली महिलाहरु वृद्धि हुनेछन् ।

२१.  मोमिन (भक्त) को सपनाहरु साँचो हुनेछ।

२२. झूठी गवाही दिनेहरुको बहुल्यता हुनु र साँचो गवाहीलाई मान्यता नदिनु ।

२३. महिलाहरुको संख्यामा ज्यादै वृद्धि हुनेछ ।

२४. अरबको धर्ती चरण (हरियाली) मा परिणत हुनेछन् र नदीहरु बग्नेछन् ।

२५. फरात नदीमा सुनको पहाड प्रकट हुनेछ ।

२६. चिरफार गरी खाने जनावर, रुख, बोट विरुवाले मनुष्यसँग कुराकानी गर्नेछ ।

२७. रूमीको संख्यामा वृद्धि हुनु र उनीहरुले मुसलमानहरुसँग लडाई गर्नेछन्।

२८.  कुस्तुनतुनियामाथि विजय हुनु ।

ठूलो निसानी

यी यस्तो निशानीहरु क़ियामत हुने भन्दा केही समय पहिले प्रकट हुनेछन् जसको कारण क़ियामत(महाप्रलय)छिट्टै हुनेछ भन्ने कुरा पत्ता लाग्छ । कियामतको ठूलो निशानीहरु यसप्रकारका छन् जुन हुज़ैफा बिन उसैदको हदीसमा उल्लेख छ र ति दस निशानी यि हुन: (1) धुँआ निस्किनु (2) मसिह दज्जालको उत्पती हुनु, (3) ईसा बिन मरियम अवतरित हुनुहुन्छ, (4) याजूज माजूज आउनु,  (5) मानवसंग कुरा गर्ने जनावर (दाब्बा) चौपाय निक्लनु, (6) सूर्य पश्चिमबाट निक्लनु  (7, 8, 9 ) धरती तीन ठाउँमा फाटिने छ, (पूर्व. पश्चिम र अरबदिप) ,

(10) अन्तमा यमनबाट आगो निक्लनु जुन आगोले मानिसलाई मह्शर (क़ियामतको दिन एकत्र हुने स्थान) तर्फ हाँकेर लैजानेछ ।(मुस्लिम हदीस नं. 2901)

यो निशानीहरु एक पछि अर्को प्रकट हुनेछन्,

शैख मुहम्मद बिन सालेह अल-उसैमीन रहिमहुल्लाहसँग प्रश्न गरिएको थियो: के कियामतको ठूलो निशानीहरु क्रमानुसार प्रकट हुन्छ त ? उहाँले जवाफ दिनुभयो: “कियामतको ठूलो निशानी केही त क्रमबद्ध हुने ज्ञात हुन्छ भने, केही क्रमबद्ध छैन तर उनको भनाई अनुसार क्रमको बारेमा कुनै ज्ञान छैन, तर जुन निशानी क्रमबद्ध छन् त्यसमध्ये ईसा बिन मरियमको अवतरण, याजूज माजूज निक्लनु, र दज्जाल हो । किनकि पहिले दज्जाल पठाइन्छ , फेरि ईसा बिन मर्यम अवतरण हुनु हुन्छ र उसको हत्या गर्नु हुन्छ, फेरि याजूज माजूज निक्लनेछन्।

सफ्फारीनी रहिमहुल्लाहले आफ्नो आस्थाको किताबमा यी निशानीलाई क्रमबद्ध गरेका छन्, तर यस क्रमको बारेमा केहीमा त मन सन्तुष्ट हुन्छ र केहीमा यस्तो छैन, यस क्रम हाम्रो लागि महत्व मानिंदैन, हाम्रो लागि केवल यो महत्वपूर्ण हो कि क़ियामतको केही निशानीहरु, जब यि प्रकट हुन्छ त क़ियामत नजिक आई सकेको हुनेछ, र अल्लाह तआलाले क़ियामतको केही निशानीहरु यसैले निर्धारित गरिएको छ; किनकि यो एक महत्वपूर्ण घटना हो जुन घटना घटित हुनु अगावै मानवलाई चेतावनी दिनु अति आवश्यकता छ”। मज्मूउल फतावा (2/प्रश्न संख्या : 137) र अल्लाह नै सर्वश्रेष्ठ ज्ञाता हुनुहुन्छ।

Source: http://islamqa.info/hi/78329

इस्लाम प्रश्न और उत्तर

अनुवादकः- मुहम्मद इब्राहीम खरेल

Related Post