कुरआन एक दार्शनिक सिद्धान्त हो

कुरआन

कुरआनको एक दार्शनिक सिद्धान्त हो

कुरआन एक दार्शनिक सिद्धान्त हो यसैले हामीलाई साहित्यको चमत्कार देखाउँछ र त्यसमा मानिसकालागि नियम र कानून दिएका छन्, त्यसमा जीवनको रहस्य तथा भित्री अर्थहरुमा पनि प्रकाश पारिएको छ।  यसमा विचारशील व्यक्तिहरुको घरी-घरी प्रशंसा गरिएको छ। कुरआन मानिसलाई यस्तो दृष्टि प्रदान गर्न चाहन्छ कि ऊ संधै जीवनको वास्तविक लक्ष्यलाई आफ्नो अगाडी राखोस् । कुरआनले मानिसहरुलाई जीवनको पूर्ण तथा वास्तविक अर्थको ज्ञान दिन्छ । यसले वास्तविकतासम्म पुग्ने बाटो खोल्छ । एउटा असभ्य व्यक्ति त्यहाँसम्म मात्र सोच्न सक्दछ जहाँसम्म उसको तत्कालिन हानी लाभको सम्बन्ध हुन्छ । ऊ जीवनको प्रत्येक अनुभव तथा भावलाई अलग गरेर हेर्दछ । ऊ तिनीहरुलाई एकसाथ विचारमा ल्याउँदैनन् । त्यसैले जीवनको वास्तविक लाभ-हानीको उसलाई ज्ञान हुँदैन । ऊ आफ्नो व्यक्तिगत तथा सामूहिक समस्याहरुको अगाडि बढेर सोच्नमा असमर्थ रहन्छ।

          मानिसको सच्चा रुप के हो ? त्यसमा मानिसको वास्तविक स्थान के छ ? आदी जस्ता जीवन सम्बन्धी केही आधारभूत प्रश्नहरुको उत्तर दिनु दर्शनको काम हो र अनुभवहरुको आन्तरिक अर्थको खोजी त्यसको परम लक्ष हो, जुन विचारले सबै सिमाहरु पार गर्दै अन्तिम अर्थसम्म पुग्ने कुनै उद्देश्य लिएको हुँदैन, वास्तवमा त्यसलाई दार्शनिक विचार भन्न सकिंदैन । अनुभवहरुको पारस्पारिक विरोधि हटाउनु तथा तिनीहरुमा अनुरुपता एवं अनुकुलता स्थापित गर्नु दर्शनको मुख्य कार्य हो । विज्ञानले जगत तथा जीवनका विभिन्न क्षेत्रहरुमा एक विशेष सुसंगठित ज्ञानको प्रतिपादन गर्दछ । विज्ञान प्रस्तुत वस्तुहरु तथा घटनाहरुको वर्णन मात्र हो । त्यसको व्याख्या गर्नु दर्शनको काम हो। दर्शनले सम्पूर्ण संसारको एक सामूहिक संगठित ज्ञान प्रदान गर्दछ, जसबाट मानिसलाई जीवनको वास्तविक सफलता वा विफलताको अर्थ थाहा हुन्छ ।

        कुरआनको दृष्टिबाट वास्तविकताको बारेमा प्राप्त गर्ने दार्शनिक रीति त्यो होइन जसलाई साधरणतयाः दार्शनिकहरु(Philosophers) अपनाउँछन् । कुरआनको आफ्नै एउटा दार्शनिक सिद्धान्त तथा व्यवस्था छ । मानिसहरु पथभ्रष्ट हुनको मूल कारण उसले अनुभवको भरमा मात्र काम लिनु हो भनि कुरआन भन्दछ । मानिसहरु अड्कल र अनुमानलाई नै सत्यको खोजीमा एक मात्र साधन सम्झिन्छन् । फेरी अड्कल र अनुमानले वास्तविकता प्रति जुन विचारहरु उनीहरु निर्धारण गर्दछन्, त्यसको अगाडि हठधर्मी तथा पक्षपातको कारण उनीहरु कसैलाई सुन्दैनन्। वास्तवमा उनीहरुसँग काल्पनिक कुराहरु तथा अनुमानहरु बाहेक अरु केही हुँदैन ।

         कुरआनको भनाई छ कि वास्तविकताको ज्ञान प्राप्त गर्ने सही तरिका के हो कि हामी हरेक प्रकारका पक्षपात रहित स्वतन्त्रतापूर्वक ती पैगम्बरको बयान सुनौ जसले किटान गरेका छन् कि उनीहरु कुनै कुरा अड्कल एवं अनुमानबाट गर्दैनन् । उनीहरुको कुनै कुरा काल्पनिक हुँदैन किनकि उनीहरु जे जसो भन्छन् त्यो उनीहरुलाई अल्लाहले उनीहरुलाई प्रदान गरेको ज्ञानमा आधारित हुन्छ। नबीहरुको बयान सुनेपछि हामी यो रहस्यमय जगतमा दृष्टि पुर्याऔं र यसमा पाइने सुक्ष्म संकेतहरुलाई व्यवस्थित क्रममा ल्याऔं र त्यसबाट परिणाम निकालेर यो हेरौं कि यो प्रत्यक्षको पछाडि रहेको जुन वास्तविकताको सूचना पैगम्बर दिन्छन् यस परिपेक्षमा त्यसको लक्षण तथा त्यसको संकेत गर्ने चिन्ह पाइन्छन् कि पाइदैनन् । यदि यसको संकेत गर्ने चिन्ह पाइन्छन् भने यो जगत त्यसको यथार्थ हुनुको साक्षी हुन्छ र त्यसबाट ती सम्पूर्ण समस्याको समाधान हुन्छ, जसको यस मौलिक तथा वास्तविक समस्याबाट टाढा वा नजिकको कुनै सम्बन्ध हुन्छ । त्यसमाथि कुनै आक्षेप (दोषारोपण) हुन सक्दैन र त्यसको विरुद्ध कुनै एउटा प्रमाण प्रस्तुत गर्न सकिंदैन भने फेरी पैगम्बरलाई झुटो साबित गर्ने कुनै कारण छैन । तर उनीहरुले दिएको सूचनालाई मान्नु नै तर्कयुक्त एवं न्याय संगत कुरा हुन्छ। कुरआनमा विभिन्न स्थानहरुमा जगतमा पाइने सुक्ष्म संकेतहरुलाई व्यवस्थित क्रममा राखेर त्यसबाट निष्कर्ष निकालेर वास्तविकतालाई प्रकाशमा ल्याइएको छ ।

स्रोतः कुरआन संक्षिप्त परिचय (पुस्तकबाट साभार लेखिएको छ)

लेखक- अबू सलीम मोहम्मद अब्दुल हई

अनुवादकः इरफान पोखरेल

Related Post