New Muslims APP

महान ईशवरीय ग्रन्थ कुरआन

कुरआन मजीद

नेपाली भाषामा अनुवादित कुरआन मजीद

कुरआन एउटा ईश्वरीय महान ग्रन्थ हो। यसका प्रत्येक शब्द अल्लाहको तर्फबाट अवतरित भएको हो। यसलाई अवतरण गर्नुको एउटा मात्र उद्देश्य मानवलाई सीधा र सच्चा मार्ग देखाउनु हो। अर्को शब्दमा यस किताबको विषयवस्तु नै मानव जाति हो। अल्लाहले एक विशेष उद्देश्य अनुरुप मानवलाई यस पृथ्वीमा बसाउनु भएको छ। मानवको सृष्टिपछि उनले उसलाई सोच्ने बुझ्ने तथा सही र गलतबीच निर्णय गर्ने शक्ति पनि प्रदान गरे। संसारमा जीवन यापनका लागि जुन किसिमका वस्तुको आवश्यक्ता थियो उनले ती सबैको उचित व्यवस्था मिलाए।

यसका साथ साथै मानव आत्माको शन्तिको लागि जुन अध्यात्मिक कुराको आवश्यक्ता थियो त्यसका लागि आफ्ना दूतहरुको सिलसिला कायम गरे र उनीहरुमाथि आफ्नो ग्रन्थ अवतरण गरे। साथै मानवलाई यस संसारमा एक प्रकारको स्वतन्त्रता प्रदान गरे जसको उद्देश्य मानवको परीक्षा मात्र हो कि ऊ आफ्नो चाहनाको अनुसण गरी पथभ्रष्ट हुन्छ र संसारमा विनाशको भागि बन्दै  नरकमा होमिने छ वा ईश्वरीय मार्गदर्शन अनुसार जीवन यापन गरी लोक र परलोक दुवैको सफलता प्राप्त गरी स्वर्गको भागीदार बन्छ।

अल्लाहका सन्देष्टाहरु प्रत्येक युग र जातिमा आएका छन्।

उदाहरण स्वरुप कुरआनको सूरह यूनुस, आयत-४७ मा छः र प्रत्येक समुदायको लागि एकजना रसूल रहेका थिए। अनि जब उनीहरु कहाँ रसूलको आगमन हुन्थ्यो तब तिनीहरुबीच न्यायका साथ निर्णय गरिन्थ्यो र तिनीहरुमाथि अन्याय गरिंदैनथ्यो।   

सूरह अर्-रअद, आयत-७ मा छः र काफिरहरु भन्दछन्- यस व्यक्तिमाथि उनका पालनकर्ताको तर्फबाट कुनै निसानी किन अवतरित  गरिएन ? (भनिदेऊ) तिमी केवल सचेतक हौ र प्रत्येक समूदायकोलागि एक जना मार्गदर्शक हुने गर्छ।

सूरह इब्राहीम, आयत-४ मा छः “र हामीले प्रत्येक रसूललाई उनीहरुको सूदायको भाषामा नै पठायौ ताकि उनीहरुले तिनीहरुलाई(ईश्वरिय आदेशहरु) स्पष्ट रुपमा बताउन सकून् । अनि अल्लाहले जसलाई चाहन्छन् पथभ्रष्ट र जसलाई चाहन्छन् सत्मार्ग देखाउँछन्। र उनी प्रभुत्वशाली तथा तत्वदर्शी छन्।”   

सूरह अर् रूम, आयत ४७ मा छः “अनि (हे मुहम्मद !) हामीले तिमी भन्दा पहिले रसूलहरुलाई तिनका समुदायतर्फ पठायौं, अनि तिनीहरु आफ्ना समुदायतर्फ स्पष्ट निशानीहरु लिएर आए अनि हामीले अपराधहरुबाट बदला लियौं र आस्थावानहरुको सहयोग गर्नु  हाम्रो लागि अनिवार्य छ।”   

सूरह फातिर, आयत २३ मा छः “तिमी त केवल एक सचेतक हौ।”

सूरह फातिर, आयत २४ मा छः “हामीले तिमीलाई सत्यकासाथ एक शुभ-सन्देशवहाक तथा सचेतको रुपमा पठाएका छौं। र, कुनै समुदाय छैन जसतर्फ सचेतक (सन्देष्टा) नपठाएको।”  

 सबै नबीहरुलाई एउटै शिक्षा दिइएको थियो र सबैको जीवन पद्धति पनि एउटै थियो अर्थात सबैले एक अल्लाहको भक्तिको अहवान मात्र गरे। र यसै सिलसिलाको अन्तिम कडीको रुपमा अन्तिम सन्देष्टा हजरत मुहम्मद सल्ल. (उनीमाथि अल्लाहको शन्ति होस) लाई पनि पठाइयो र उनीमाथि अवतरित गरिएको कुरआन वास्तवमा अल्लाहकोतर्फबाट सम्पूर्ण मानवजतिका लागि एउटा मार्गदर्शन हो । यो ग्रन्थ जम्मा ३० भागमा बाँडिएको छ र यसमा ठूलासाना गरी ११४ सूरहहरु छन् । यसको अवतरण अवधि कुल २३ वर्ष रहेको छ। जुन अल्लाहका दूत (फरिश्ता) जिबरईलले अल्लाहको तर्फबाट उनकै आदेशानुसार बेलाबेलामा पटक पटक लिएर आउनु भयो ।

यो कुरआन पनि अघिल्ला किताबहरु जस्तै हो तर यसको विशेषता के छ भने यो सम्पूर्ण मानवजातिका लागि हो र यसको सुरक्षाको ग्यारेन्टी स्वंयम अल्लाहले नै लिएका छन जसको वर्णन यसै भित्र सूरह हिज्र१५ आयत९ मा छः निस्सन्देह हामीले नै कुरआनलाई अवतरित गरेका हौ र हामी नै यसको सुरक्षा गर्छौ।

 अतः यस भित्र कुनै यस्तो किसिमको थपघट हुन सक्दैन जुन यस अघिको ग्रंथहरुमा भएको छ । अब संसार रहुञ्जेलसम्म यहि ग्रन्थ सम्पूर्ण मानवजातिको मार्गदर्शक तथा जीवन बिताउने संविधान हो ।

कुरआनका सूरह अम्बिया-२१ आयत १०७ मा छः “र, (हे मुहम्मद !) हामीले तिमीलाई सम्पूर्ण संसारवासीहरुकालागि दयालुता  बनाएर पठाएका छौं।”

पवित्र कुरआनको माथि उल्लेखित आयत अनुसार अन्तिम सन्देष्टा सम्पूर्ण मानव जातिका लागि संसार रहुञ्जेल दया (मार्गदर्शक) हुन ।

अन्तमा म यस कुरआनका केही आयतहरुका वर्णन गर्न सान्दार्भिक ठान्दछु ।

अलिफ लाम मीम, यो त्यो ग्रन्थ हो जसमा कुनै संदेह छैन् । यो ईशभय राख्नेहरुका लागि मार्गदर्शन हो । सूरह बकरह, आयत १,

रमजान त्यो महिना हो जसमा कुरआन अवतरित गरियो जुन मानिसहरुका लागि मार्गदर्शक हो ।सूरह बकरह, आयत १८५

निस्सन्देह यो कुरआन त्यो बाटो देखाउँछ जुन एकदमै सोझो छ र सत्कर्मी आस्थावानहरुलाई ठूलो प्रतिदानको  शुभसुचना दिन्छ ।सूरह, इसरा, आयत ९

यो कुरआन यस्तो छैन कि अल्लाह बाहेक अरु कसैबाट रचिएको होस । बरु यो त पुष्टि हो अघिल्ला ग्रन्थहरुको र किताबको विस्तार हो यसमा कुनै संदेह छैन । यो सम्पूर्ण जगतका पालनकर्ताको तर्फबाट हो ।सूरह यूनुस, आयत ३७

(हे सन्देष्टा !) जब तिमी कुरआन पढछौ भने धिक्कारिएको शैतानबाट अल्लाहको शरण माग । सूरह नहल, आयत ९८

के मानिसहरु कुरआनमा विचार गर्दैनन् ? यदि यो अल्लाह बाहेकको तर्फबाट आएको भए यिनीहरु यसमा धेरै विरोधाभाष पाउने थिए ।सूरह निसा, आयतः८२

यो ग्रन्थ जसलाई हामीले अवतरण गरेका छौं लाभदायक छ अतः तिमीहरु यसैको अनुसरण गर र इशभय राख ताकि तिमीहरुमाथि दया गरियोस।  सूरह अन्आम, आयत १५५

अलिफ लाम रा, यस किताबलाई हामीले यस उद्देश्यले अवतरण गरेका छौं कि तिमी यस द्वारा मानिसहरुलाई आफ्नो पालनकर्ताको आदेशानुसार अन्धकारहरुबाट निकालेर उज्यालो तर्फ ल्याऊ । प्रभुत्वशाली र अति प्रशांसनीय अल्लाहको बाटोतर्फ। सूरह इब्राहीम, आयत १

हामीले यस ग्रन्थलाई सत्यता साथ अवतरण गरेका छौं र सत्यता साथ यो अवतीर्ण पनि भएको छ । र हे मुहम्मद सल्ल.) हामीले तिमीलाई शुभसुचक र सचेतक मात्र बनाएर पठाएका छौं । सूरह इस्रा, आयत १०५

यो लाभदायक किताब हो जसलाई (हे मुहम्मद) हामीले तिमीतर्फ अवतरण गरेका र्छौ. ताकि मानिसहरु यसका आयतहरुमा चिन्तन मनन् गरून र बुद्धिमानीहरुले यसबाट उपदेश ग्रहण गरून सूरह साद, आयत २९

र हामी यस कुरआनका ती आयतहरु अवतरण र्छौ जुन आस्थावानहरुका लागि  उपचार तथा दया हो र यसले अत्यचारीहरुलाई घाटामा नै अभिबृद्धि गर्छ ।सूरह इस्रा, आयत ८२

निस्सन्देह हामीले यस कुरआनमा हरेक प्रकारका उदाहरण बयान गरिदिएका छौं तर अधिकतम मानिसहरुले यसलाई अस्वीकार नै गरे ।सूरह इस्रा, आयत ८९

र हामीले यस कुरआनमा हरेक प्रकारको उदाहरणहरु बयान गरिदिएका छौं ताकि मानिसहरु उपदेश ग्रहण गरून् । सूरह जुमर, आयत २७

यी ती प्रमाणहरु हुन् जुन अल्लाहले कुरआनमा बयान गरेका छन् ।

लेखक-  जुल्फकार अली अलीग

मोबाइल नं.- 00977-9842022123

ईमेलः [email protected]

Related Post