New Muslims APP

नमाजमा गरिने गल्ति

नमाजमा गरिने केही गल्तिहरु

नमाज

1. इमामको पछि नमाजीहरुले ठूलो स्वरमा पढ्नुः- केही व्यक्ति समूहको साथ नमाजमा ठूलो ठूलो स्वरमा नमाज पढेर अरु नमाजीहरुलाई समस्यामा पार्दछन्। इमामको पछि त्यही सूराः जोर-जोरसँग पढन शुरू गर्दछन् मानौ त्यसले यो विश्वास दिलाउन चाहन्छ कि उसले त्यसलाई कण्ठ गरेको छ। तर नबी सल्ल. ले भन्नु भएको छ” सुन ! तिमीहरु मध्ये हरेक व्यक्ति एक नमाजी आफ्नो पालनकर्तासँग कुरा गरी रहेका हुन्छ। अतः बिल्कुलै  अरुलाई कष्ट नदिनु, न कोही कसैको सामने आफ्नो स्वरलाई ठूलो गर्नु।” (अबू-दाऊद)                                             

2. नमाजको समयमा हलचल नगर्नुः- केही नमाज पढ्ने व्यक्ति आफ्नो नमाजमा श्रद्धाको बिल्कुलै ख्याल राख्दैनन् र नमाजमा विभिन्न प्रकारको हलचल गर्ने गर्दछन्। कुनै हातको घड़ीमा हेर्दछ, कोही दाढ़ीलाई हातले चलाई रहन्छन्, कोही कपडाबाट माटो झारी रहेका हुन्छन्, कोही नाकमा औंलाले चलाई रहन्छन्, त कोही पीठमा कन्याई रहेका हुन्छन् इत्यादी। लाग्दैन कि तिनीहरु आफ्नो मालिक र संसारको सृष्टिकर्ताको सामने उभिएका छन् । तपाई आफै सोच्नुहोस् कि तिनीहरु मध्ये यदि कोही कुनै राजाको सामने उभिएका हुन्छन् भने यस्तो किसीमको छटपट गर्थ्यौ त ? कदापि गर्दैनथ्यौ, तब फेरी आफ्नो मालिकको सामने यस्तो किन गर्छौ त ?

3. इमामले पाठ गरेको कुरआनको आयतलाई नबुझी रुनु या चिच्याउनुः- नमाजमा कुनै आयत नर्कको यातना र परलोकसँग सम्बन्धित हुन्छ, ति कुरा सुनेर कुनै व्यक्तिको हृदय पग्लिन जान्छ र आँखाबाट आँशु बहन लग्दछ, हुन त यसलाई बुझेर अल्लाहसँग डराउनु राम्रो कुरा हो, तर कोही व्यक्ति हरेक नमाजमा रुने र चिच्याउने गर्दछन् त्यो राम्रो होइन । हुनसक्छ त्यो आयत स्वर्ग र नर्कबाट सम्बन्धित किन नहोस् तर उनिहरुले बुझेको हुँदैन, तैपनि रुने गर्दछन् । यसरी रुँदा अरुको नमाजमा बाधा हुन्छ । 

4. अपवित्र कपडा र डरलाग्दो रुपमा मस्जिदमा जानु:- निर्धनताको कारणबाट पुरानो कपडा लगाउनु कुनै गलत होइन, तर सफा हुनुपर्छ । कति निर्धन पुरानो कपडा भएपनि धोएर सफा सुघर गरि लगाएर मस्जिद जान्छन् तर कति यस्ता धनाढ्य र सम्पन्न परिवार छन् तिनीहरु बाजारमा जान्छन् त खुब सजिएर जान्छन् तर मस्जिद जाँदा भिख माग्ने जस्ता र भयानक कुरुप बनेका हुन्छन् वास्तवमा यस्तो गर्नु बिल्कुल सही होइन।

5. नमाजीको अगाडिबाट नहिंड्नुः- कोही नमाजी आफ्नो नमाज समाप्त हुना साथ मस्जिदबाट बाहिर निक्लनलाई कोशिश गर्दछन् र उनिहरुले अरु नमाजीको बिल्कुलै मतलब गर्दैनन्, जसले आफ्नो छूटेको नमाज पढिरहेका हुन्छन्। यदि उनिहरुलाई यसको पापको ज्ञान हुने हो भने त कदापि यस्तो गल्ति गर्दैनथे । यस अवस्थामा नमाजीको नमाज समाप्त हुने समयसम्म प्रतीक्षा गर्नुपर्छ। नबी सल्ल. ले भन्नुभयो “यदि नमाजीको सामनेबाट हिंडनेवालाले यो जान्नु पर्छ कि त्यसमा उसलाई के पाप हुन्छ त ? उसलाई चालीस (वर्ष) सम्म उभिएर प्रतीक्षामा रहनु उसको लागि उत्तम हो।”  (सहीह बुख़ारी)

6. नमाजको समयमा माथि हेर्नुः- नबी सल्ल. ले यस कुराबाट मनाही गर्नु भएको छ कि नमाजी नमाजको स्थितिमा आफ्नो आँखा आकाश तिर नउठाउन, र नगर्न कडा निर्देशन दिंदै नबी सल्ल.ले भन्नुभयो, यस्तो गर्नेवालाको आँखा निकाल्दिनु ।(मुस्नद अहमद)

वहाँले यो कुरा पनि स्पष्ट गरिदिनुभयो कि नमाजमा उभिएको समयमा हरेक व्यक्तिले उसको दृष्टि सज्दाको स्थानमा हेरिरहनु पर्छ। जबकि कोही नमाजी नमाजमा कहिले छत तिर हेरि रहेको हुन्छ मानौ अल्लाहलाई हेरि रहेका छन् त कोही व्यक्ति दायाँ, बायाँ हेरि रहेका हुन्छन्।

7. लामो स्वर तानेर आमीन भन्नुः- जहरी नमाजमा ठूलो आवाजले आमीन भन्नु अल्लाहको रसूल सल्ल. को सुन्नत हो किनकि फरिश्ता पनि यसमा आमीन भन्दछन् र जसमा हामीले भनेको आमीन शब्द फरिश्ता भनेको आमीनसँग मिल्यो भने उसको पाप क्षमा गरिन्छ । यसैले यस्तो हुनुपर्छ कि आमीन एकै साथ भन्नुपर्छ र ठूलो स्वरमा किनकि सुन्न सकियोस्। तर यस्तो देखिन्छ कि कोही व्यक्ति बिल्कुल आमीन भन्दैनन् भने कुनै व्यक्ति धेरै लामो स्वर तानेर “आमीन” भन्दछन् सबै व्यक्ति आमीन भनिसकेका हुन्छन् । जसले गर्दा अरु नमाजीहरुलाई कठिन हुन जान्छ ।

8. कम्बर भन्दा तल अथवा गर्दनको नजिक हात बाँध्नुः- नमाजमा हात बाँध्ने सम्बन्धमा सबै भन्दा सही तरिका यो हो कि दायाँ हात बायाँ हातमाथि नाभि भन्दा माथि र छाती भन्दा तल हुनुपर्छ । हल्ब बिन ताई रजि. बयान गर्नु हुन्छ । कि “मैंने नबी सल्ल. ले नमाज पढ्दा देखेको थिए, वहाँले हातलाई छातीमा सोझी बाँध्नु भएको थियो।” (मुस्नद अहमद)

तर कोही व्यक्तिले यसको विपरित नाभि भन्दा तल हात बाँधेका थिए। त कोही व्यक्तिले घाँटीको बिल्कुल नजिक हात बाँधेका थिए । यस परिस्थितिमा वहाँ स्वंय उनिहरुको यो कठिनाईको अनुभव गर्नु हुन्थ्यो ।

9. दिसा र पिशाबले चापेको बेला दिसा र पिशाबलाई रोकेर नमाज़ नपढ्नुः- एउटै वजूबाट धेरै नमाज पढन चाहने कोही व्यक्ति कहिले कहिले पिशाब या दिशा रोकेर पनि नमाज पढ्न लाग्दछन् । तर अल्लाहको रसूल सल्ल. ले पिशाब या दिशा रोकर नमाज पढनलाई मनाही गर्नु भएकोछ। यदि कसैलाई यस्तो अवस्था भएमा नमाज पढ्नेहरु नमाज़ पढ्न शुरु गरेका भएपनि उसलाई शौचालय जानलाई आवश्यकता पर्यो भने पहिले शौचालय गएर दिशा, पिसाब गर्नु पर्छ। नबी सल्ल. को भनाई छ, “यहाँसम्म कि यदि खाना तयार छ भने त्यस बखत नमाज न पढेर खाना खानु अनि नमाज पढ्न जानु । तर दिसा, पिशाबले चापेको छ भने पहिले दिसा पिशाब गर्नु अनि नमाज़ पढ्नु”। (मुस्लिम)

यसैले अल्लाहको रसूल सल्ल. को आदेशको विरूद्ध गर्नुको सट्टा पहिले शौचालयबाट निस्कनु फेरी नमाज शुरू गर्नु किनकि पूर्ण श्रद्धासँग नमाज पढ्न सकियोस्।

10. नमाजको लाइनलाई सिधा गर्नुः- सामान्य रूपमा यो देखिन्छ कि नमाजीहरु नमाजमा लाइन सिधा गर्नलाई ज्यादा ध्यान दिंदैनन् तर कतै-कतै बीचमा खाली ठाउँ छोडेर उभिएका हुन्छन् तर यो तरीका प्रिय नबी सल्ल. को नमाजको तरीकाको विपरीत हो । नबी सल्ल. ले भन्नु भएको छ ” लाइन ठीक गर, काँध बराबर गर, बीचमा खाली ठाँउ छ भने सो स्थानलाई खाली रहन नदेऊ, आफ्नो भाईको लागि नम्र बन र शैतानको लागि खालि ठाउँ नछोड। जो व्यक्ति लाइनलाई मिलाउँछ अल्लाहले उसलाई उसको आफन्तसँग मिलाउनु हुन्छ र जो व्यक्तिले लाइनलाई मिलाउँदैन अल्लाह उसलाई उसको परिवारबाट विछोड गराउनु हुन्छ ।” (अबू दाऊद)

11.एक मस्जिदमा एकै समय दुईवटा जमाअतमा नमाज पढ्नु हुँदैनः- मस्जिदमा जति  उपस्थित व्यक्तिहरु हुन्छन् उनिहरु एक इमामको पछाडि नमाज पुरा गर्नु पर्दछ, यसलाई जमाअत भन्दछन्। तर कहिले काही यस्तो देखिन्छ पहिलो समूहले नमाज समाप्त गर्ना साथ दोश्रो समूह एकै मस्जिदमा एकै समयमा कायम गर्दछन् र यो कहिले त इमामको गल्तिको कारण हुन जान्छ कि इमानको आवाज सानो हुने हुनाले थाहा नपाएर दोश्रो समूह नमाजमा खडा हुन्छन् र कहिले मुक़तदीको गल्तिको कारण यस्तो हुन्छ त कहिले हतार-हतारमा भित्र प्रवेश गरेर नमाज पढ्न थाल्छन् यस कुरामा ध्यान दिंदैनन् कि नमाजी जमाअतमा खडा छन् भन्ने ।

12.रुकूअमा कमर र घुँडा सीधा नगर्दा- कुनै नमाजी रुकूअको अवस्थामा या त टाउकोलाई तल झुकाएर राख्छन् या टाउकोलाई धेरै ऊँचा राख्दछन्, यि दुवै तरिका गलत हो। वास्तवमा टाउकोलाई न ज़्यादै झुकाउनु र न ज़्यादै उठाएर राख्नु, सही यो हो कि कमर र टाउको दुवै बराबर हुनुपर्छ । यदि त्यसमा पानी हालियो भने पानी रोकियोस् । नबी सल्ल. को भनाई छः “एक व्यक्ति साठी वर्षसम्म नमाज पढ्दछ तर उसको एक नमाज पनि स्वीकार हुँदैन, यसकारण कि कहिले रुकूअ ठीक गर्छ त सज्दा सही हुँदैन र यदि सज्दा ठीक गर्छ त रुकूअ सही गर्दैन।” (अत्तरगीब वत्तरहीब)

13. घुँडामा हात राख्नुको सट्टा तिघ्रामा वा घुँडा मुनि राख्नुः- कुनै नमाजी रुकूअको स्थितिमा आफ्नो दुवै हात घुँडामा राख्नको सट्टा तिघ्रामा राख्दछन् जबकि कसैले दुवै हात घुँडा भन्दा तल राख्दछन्, यस्तो गर्नु गलत हो। सही तरीका यो हो कि रुकूअको स्थितीमा कमरलाई बिल्कुल सीधा राख्नु पर्छ र दुवै हत्केलाले घुँडामा समाउनु पर्छ ।

14. सज्दाको स्थितिमा कुहिनोलाई जमीनमा टेकाउनु या हातलाई सीधा राख्नुः- सज्दामा केही व्यक्ति कुहिनोलाई जमीनमा टेकाउँछन् तर नबी सल्ल. ले यस तरीकालाई कुकुरको उपासनाको उदाहरण दिंदै भन्नुभयो, “कोही आफ्नो पाखुरालाई कुकुरको समान जमीनमा न फैलाउनु”।(बुखारी, मुस्लिम)

फेरी कोही व्यक्ति आफ्नो हातलाई मोडेर बिल्कुल ठाडो राख्दछन्। सही तरीका यो हो कि हात जमीनमा राखियोस् हातको औंला मिलेको हुनुपर्छ र किबलाको तर्फ हुनुपर्छ र कुहिनो जमीनबाट उठेको हुनुपर्छ। यसै गरी पैतालाको औला पनि क़िबला तर्फ हुनुपर्छ ।

15. सलाम गर्नासाथ ठुलो-ठुलो स्वरमा कुरा गर्न थाल्नुः- कोही नमाजीहरु सलाम गरिसकेपछि कुरा गर्न थाल्दछन्, हाँस्न थाल्छन्, यो भूल्छन् कि म मस्जिदमा छु यहाँ कुरा गर्नु हुँदैन भनेर । मानौ उनिहरु आफूलाई कुनै चिया पसलमा बसेका आभाष हुन्छ होला । तर त्यस समय कयौं नमाजीहरु आफ्नो नमाज पूरा गरि रहेका हुन्छन्, कति सुन्नत पढि रहेका हुन्छन् । यदि कोही कुरआन पाठ गरिरहेका हुन्छन् । यस्तो स्थितिमा  कुरा नगर्नु भन्दा चित्त दुखाउँछन् ।

16. नियतलाई बोलीबाट पुरा गर्नुः- कोही व्यक्ति समूहको नमाजमा ढिलो गरेर आउँछन् र ठूलो आवाजले तकबीर भन्दै नमाजमा प्रवेश गर्दछन्, तर केही व्यक्ति नियतको शब्दलाई पनि ठूलो आवाज़बाट बोल्दछन्,  ”अल्लाहु अकबर” भन्नु या नियतको शब्द बोलीबाट बोल्नु प्यारो नबी सल्ल. बाट प्रमाणित छैन र यसैले पनि नियत भनेको दिलको संकल्पको नाम हो अतः बोलीबाट नियतको शब्द बोल्नु आवश्यकता छैन। अल्लामा इब्ने तैमिया रहि. भन्नुहुन्छ:” बोलेर संकल्प गर्नु शास्त्र र बुद्धि दुवैको विपरीत हो, शास्त्रको विपरीत हो । यसैले यो नयाँ नियम हो र बुद्धिको विपरीत हो यसैले यसको उदाहरण यस्तो हुन्छ जस्तै कोही खाना खान चाहन्छ त उसले भन्दछ कि “म खाना खान्छु भनेर बोल्ने गर्दछ, आफ्नो हातलाई यस भाँडामा राख्छु किनकि म यसबाट एक गाँस लिन्छु, फेरी यसलाई मुखमा हाल्छु, फेरी उसलाई चपाउँछु, अतः यसलाई निल्छु किनकि म सन्तुष्ट हुन सक्छु। कोही बुद्धिमान यस प्रकारको शब्द बोल्दैन किनकि संकल्प गर्नेवालालाई यस बारेमा पूरा ज्ञान छ। जब मानिसलाई थाहा हुन्छ कि ऊ के गरि रहेको छ त पक्का कुरा यो हो कि उसले यस कामको संकल्प पनि जरूरी गरिएको हुन्छ।” ( फतावा इब्ने तैमिया 1/232) ” म इमामको पछि चार रकअत ज़ुहरको नमाज़ पुरा गर्नलाई संकल्प गर्दछु, मोहडा मेरो क़िबलाको तर्फ गर्छु, अल्लाहु अकबर” यस्तो भन्नु गलत हो ।

17. प्याज़ अथवा लसुन खाएर मस्जिद जानु र डकार लिई रहनुः यदि सबै नमाजी नभए पनि धेरै व्यक्ति यो जान्दछन् कि अल्लाहको रसूल सल्ल. ले प्याज या लसुन आदि खाएर मस्जिद आउनबाट मनाही गरिएको छ किनकि उसको मुखबाट निस्कने गन्धबाट फरिश्ता र मानवलाई कष्ट पुर्याउने कारण नबनोस्। (मुस्लिम)

यसको बावजूद तपाई कति व्यक्तिलाई देख्नुहुन्छ कि उनिहरु मस्जिदमा डकारेर आफ्नो मुखको दुर्गन्धबाट अरुलाई कष्ट पुर्याएका हुन्छन्।

18. नमाजमा इमामको अनुसरण गर्नुपर्छः- जब समूहको साथ नमाज पुरा गरि रहेको छ भने त न त इमाम भन्दा अगाडि कुनै रुकु गर्नु हुन्छ या सज्दा । तर कोही मानिस इमाम सज्दाबाट उठ्दा पनि उ सज्दामा नै हुन्छन् यो गलत हो, फेरी इमाम रुकूअमा जाँदा पनि उ अहिलेसम्म उभिएकै हुन्छ र यो तरीका अल्लाहको नबी सल्ल. को आदेशको विपरीत हो जसमा उल्लेखित छ “इमाम यसैले बनाइएको हो कि उसको अनुसरण गरुन”।सही तरीका यो हो इमामको साथ रुकूअ, सज्दा र कियाम गर्नुपर्छ किनकि वास्तवमा समूहको नमाज़ भन्न सकियोस् । नफली नमाजमा चाहे लामो रुकूअ गरोस् या लामो सज्दा गरोस् सोही अनुसार गर्नुपर्छ ।

19. जुमाको खुत्बाको समयमा कुरा गर्नेः- जुमाको दिन मस्जिदमा बसेर इमामको ख़ुत्बा(भाषण) सुन्नु पर्छ जुन नमाजको एक भाग हो, तर देखिन्छ कि अज्ञानताको कारण केही व्यक्ति ढिलो गरेर आउनेवालालाई सलाम गर्दछन् त कुनै व्यक्ति बच्चालाई सम्झाउन थाल्छन्, त कोही खुत्बा दिने व्यक्तिको कुराको टिप्पणी गर्दछन्, मानौ उनिहरु मस्जिदमा होइन कतै सिनेमा हलमा छन् भन्ने आभाष हुन्छ ।

20. नमाजमा हाई गर्नुः- हाई गर्नुको मतलब नमाजी थकित र आलस्य छन् भन्ने बुझिन्छ, यसको कारण जे भए पनि हामीहरु मध्यबाट हरेक व्यक्ति कुनै विद्वानसँग भेंट गर्ने समय यस्तो गर्दैनौं । तर अल्लाहको भक्ति गर्ने समयमा झन यसको ज्यादै नै ख्याल राख्नुपर्छ किनकि नमाजी नमाजमा आफ्नो ईश्वरसँग कुरा गरि रहेको हुन्छ । नबी सल्ल. ले भन्नुभयो “जब नमाजको बीचमा कसैलाई हाई आयो भने सम्भवतः त्यसलाई रोक्नु पर्छ, किनकि हाईद्वारा शैतान भित्र प्रवेश गर्दछ।” (मुस्लिम,बुखारी)

र जब शैतान नमाजीको भित्र प्रवेश गर्यो भने फेरी नमाजमा पुण्य हुँदैन, त्यसै गरि हाई गर्नेवालामा शैतान हाँस्दछ, यसैले जति सकिन्छ सम्भव भएसम्म नमाजमा हाई गर्नलाई रोक्ने प्रयास गर्नुपर्छ।

21. मुक़तदीलाई उभिने स्थानको अज्ञानता हुनुः- पहिलो लाइन पूरा भएपछि मस्जिदमा आउनेवाला व्यक्तिहरु जब दोश्रो अथवा तेश्रो लाइन बनाउन लाग्दछन् त सबैभन्दा ठूलो समस्या यो हुन्छ कहा उभिनु पर्ने हो भनेर अलमलमा पर्छन् त कोही दाहिने तिर उभिनु हदिसको आधारमा उत्तम मानेर इमामको दाहिने तिर उभिने प्रयास गर्छन त कोही बायाँ तर्फ उभिन जान्छन् किनकि त्यस तर्फ पंखा चलेको छ भनेर, भने कोही बीचमा खाली ठाँउ छोडेर बस्ने गर्दछन् । तर सही तरीका यो हो कि इमामको पछाडि नयाँ लाइन बनाउनु चाहे इमाम जहाँ पनि उभिएको होस् ।

22. इमामको पछाडि सूरः फातिहालाई जोर-जोरले पढ्नुः- इमानको पछि जहरी नमाजमा सूरः फातिहा पढ्नु जरुरी छ तर इमामको साथ जोर-जोरसँग पढनु उचित होइन जसको कारण अरु नमाजीहरुलाई समश्या उत्पन्न हुन्छ । यसैले जो व्यक्ति समूहको नमाजमा सूरः फातिहा पढ्छन् भने उनिहरुले सानो आवाजमा पढोस् किनकि उनको साथ नमाजमा उभिएका अरु नमाजीलाई अप्ठ्यारो नहोस्।

हाम्रो उदेश्य हो नमाजमा गरिने केही गल्ति र कमि कमजोरीमा सुधार गर्न सकियोस् र हाम्रो नमाजहरु प्रिय नबी सल्ल. को नमाज जस्तै हुन सकोस् । जस्तै, सही हदीसमा लेखिएको छतिमी यस्तै नमाज पढ जुन तरिकाले मैले पढेको देख्छौ

 

स्रोतः- http://ipcblogger.net/ibrahim/?cat=21027

संकलनः- मुहम्मद इब्राहीम खरेल

Related Post