नमाजको सही तरिका

नमाजको सही तरिका – नमाज इस्लामका पाँच आधारहरूमध्ये दास्रो र अत्यन्तै महत्वपूर्ण आधार हो । यसको महत्व यसबाट पनि प्रमाणित हुन्छ कि अल्लाहको रसूलले भन्नुभएको छः नमाज छोड्नु कुफ्र हो । नमाज कसरी पढ्ने त ? भिडियो र तलको लेखबाट स्पष्ट हुनेछ, इन्शा अल्लाह ।
अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले आदेश दिनुभएको छः नमाज त्यस्तै गरी नै पढ जस्तो मैले पढेको देख्छौ । (बुखारीः २३१)
सर्वप्रथम त सम्पूर्ण मित्रहरूमा इस्लामहाउस परिवारको तर्फबाट सलाम टक्रयाउँछुः अस्सलामु अलैकुम व रहमतुल्लाहि व बराकातुह् । त्यसपछि तपार्इंहरूले वजूको भिडियोलार्इ हेरेर सबै साथीहरूमाझ पुर्याउनुभएकोमा सबैलार्इ धन्यावाद पनि। आशा छ यस भिडयोलार्इ पनि राम्रोसित हेरेर अन्य साथीहरूलार्इ पनि शेयर गर्नुको साथसाथै सुझाव सल्लाह पनि दिनुहुनेछ । भिडियोमा नमाजको तरिका जो बताइएको छ त्यसमा कसैको आपत्ति हुनसक्छ र उहाँहरूले कुनै खास जमाअतसित सम्बन्धित नमाज भन्नुहोला त्यस्तो कदापि होइन ।
मैले अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमको तरिका हदीसहरूबाट प्रमाणको साथ दिएको छु । यो तरिका अल्लाहको रसूलको तरिका हो जसको बारेमा सहाबाहरूले पुष्टि गरेका छन् ।

बेनमाजी (नमाज नपढ्नु) धेरै ठूलो गल्ती हो ।
१. ईमान र कुफ्रको बीचमा फरक गर्ने काम नमाज छोड्नु हो । (मुस्लिमः ८२१)
२. नमाज छोड्नु कुफ्र हो । (नसाईः १/२३१–२३२, इब्ने माजाः १०७९, तिर्मिजीः२६२६)
३. सहाबाहरुले अरू काम छोड्नुलार्इ कुफ्र सम्झदैनथे तर नमाज छोडनुलाई कुफ्र सम्झन्थे । (तिर्मिजीः २६२७, हाकिमः १/६–७)
४. नमाज छोड्नु अल्लाहको जिम्मेदारीबाट अलग हुनु हो । (इब्ने माजा ४०३४)
५. जसले अस्रको नमाज छोड्यो उसका सबै कर्महरु बर्बाद भए । (बुखारीः ५५२, मुस्लिमः ६२६)

फाइदाहरुः
१. पाँचवटै नमाजले एक नमाजदेखि अर्को नमाजसम्मको पापहरु मेटाइदिन्छन् त्यसैगरी एक जुमादेखि अर्को जुमासम्म पनि तर ठूला पापहरुबाट जोगिनुपर्ने शर्त छ । (मुस्लिमः २३३)
२. नदी किनारमा घर भएको मानिसले दिनमा पाँचपटक नुहाएर शरीरको सबै मयल सफा गरेझैं नमाजीको पाँचपटकको नमाजले पापहरु पनि मेटिन्छन् । (बुखारीः ५२८, मुस्लिमः ६६७)
३. इशाको नमाज जमाअतको साथमा पढ्नेले आधारातसम्म जाग्राम बसेर अल्लाहको उपासना गरे बराबर र फज्रको नमाज जमाअतको साथमा पढ्नेले बाँकी आधारातसम्म जाग्राम बसेर उपासना गरे बराबार पुण्य पाउँछन् । (मुस्लिमः ६५७)
४. नमाज पढ्न बोझ मान्नु या अल्छी मान्नु कपटी (मुनाफिक) हरुको निशानी हो । (बुखारीः ६७५, मुस्लिमः ६५१)
५. कयामतको दिन सबैभन्दा पहिले नमाजको हिसाब हुनेछ । (अबू दाऊदः ८६६, हाकिम १/३६२–३६३)
६. मस्जिद अल्लाहलाई सबैभन्दा मनपर्ने ठाउँ हो र बजार सबैभन्दा मन नपर्ने ठाउँ हो । (मुस्लिमः २७१) त्यसैले अल्लाहलार्इ मनपर्ने ठाउँ रोजौं ।
७. एक्लै नमाज पढ्नेको तुलनामा जमाअतको साथमा नमाज पढ्नाले २७ गुणा ज्यादा पुण्य मिल्छ । (बुखारीः ६४५, ६४९ र मुस्लिमः ६५०)

नमाज शुरु गर्नुभन्दा पहिलेः
१. जमाअतको साथमा नमाज पढ्दा पंक्ती (लाईन) लाई सही गर्नुपर्दछ, सीधा राख्नु पर्दछ, खुट्टाको गोलीगाँठो र काँधलाई एक अर्कासँग जोड्नु अनिवार्य छ । किनकि अल्लाहको रसूल (सल.) ले टाढा-टाढा भएर नमाज पढ्न सख्तीको साथ मनाही गर्नुभएको छ । (अबू दाऊदः ६६२, इब्ने हिब्बानः ३९६) तर आजकल मानिसहरु एक फूटभन्दा पनि टाढा भएर पढ्न चाहन्छन् । अल्लाहसँग डर नमाजीहरु हो कहीं अल्लाहले तिमीहरुको मनमा फुट नपारी दिऊन् ।
२. नमाजको लागि पनि नियत (संकल्प) जरुरी छ, किनकि सबै कर्महरु नियतमा आधारित हुन्छन् । (बुखारीः १, ५४, २५२९,……मुस्लिमः १९०७) नीयत (संकल्प) हृदयको काम हो मुखबाट बोल्ने काम होइन ।
नमाजको सही तरिका
१. तकबीरे तहरीमा (पहिलो तकबीर) मा दुबै हातलाई काँधको बराबर उठाउनु पर्छ । (बुखारीः ७३८)
२. हात उठाउँदा औंलाहरुलाई हल्का खुला राख्नुपर्छ, न त ज्यादा खोलियोस् न मिलाइयोस् । (अबू दाऊदः ७५३)
३. अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले दुबैहात काँधसम्म उठाउनु हुन्थ्यो । (बुखारीः ७३५, मुस्लिमः ३९०) ।
४. अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले दुबैहात (कहिलेकाहीं) कानसम्म उठाउनु हुन्थ्यो । (मुस्लिमः ३९१)

तर कानलाई छुनु या समात्नु प्रमाणित छैन ।
५. बायाँ हातमाथि दायाँहात राखेर छातीमा राख्नु (बाँध्नु) पर्छ । (इब्ने खुजैमाः १/२४३, ४७९, मुस्नद अहमदः ५/२२६), नसाईः ४९०,
६. पुरुष र महिलाको नमाजमा कुनै फरक छैन । किनकि अल्लाहको रसूल (सल्ल.) भन्नुभएको छः नमाज त्यसतै गरी नै पढ जस्तो मैले पढेको देख्छौ । (बुखारीः २३१)

अल्लाहको रसूलले पुरुषले यसरी र महिलाले यसरी पढ भनेर भन्नुभएको छैन । तर केही मानिसहरुले पुरुष र महिलाको नमाजको तरिका अलग–अलग बताउँछन्, यस्तो गर्नु गलत हो ।
७. दुआए सना (सूरह फातिहाभन्दा पहिले पढिने दुआ) “सुब्हानक अल्लाहुम्म व बिहम्दिक व तबारकस्मुक व तआला जद्दुक व ला इलाह गैरुक” (तिर्मिजीः २४३, अबू दाऊदः७७५–७७६)

अरु दुआ पनि पढन सकिन्छ जो हदीसहरुबाट प्रमाणित छन् ।
८. सूरह फातिहा पढ्नु नमाजमा अनिवार्य छ, सूरह फातिहा बिना नमाज हुँदैन । (बुखारीः ७५६, मुस्लिमः ३९४)
९. त्यसैगरी सूरह फातिहाको अनिवार्यताको बारेमा र सूरह फातिहाको बिना नमाज अधुरो हुने सम्बन्धमा अन्य हदीसहरु पनि छन् । जस्तैः अबू दाऊदः ८२३, ८२४, तिर्मिजीः ३११, इब्ने खुजैमाः १५८१, इब्ने हिब्बानः ४६०–४६१, मुस्लिमः ३९५, इब्ने हिब्बान ५/१५२, १६२, बैहकीः २/१६६,
१०. इमामले सूरह फातिहा जहरी (उच्च) आवाजमा पढेपछि वलद्द्दाल्लीन पछि आमीन भन्नु पर्दछ । (तिर्मिजीः २४८, अबू दाऊदः ९३२, बैहकीः २/५८, इब्ने खुजैमाः ५७१, इब्ने हिब्बानः ४६२, बुखारीः ७८०, मुस्लिमः ४१० र अन्य पनि हदीसहरुमा आमीनको प्रमाण मिल्छ ।
११. तकबीरे तहरीमा, रुकूअमा जाँदा, रुकूअबाट उठदा, तश्हहूद पछि तेस्रो रकअतको लागि उठेपछि रफअ यदैन (दुबै हात काँध या कानको बराबर उठाउने) गर्नुपर्छ । (बैहकीः २/७३, १/४१५–४१६, अबू दाऊदः ७४४, ७३०, ७३८, सहीह बुखारीः ७३५–७३६, ७३८, ७३९, ७७३, मुस्लिमः ३९०, ३९१, ४०१, तिर्मिजीः ३०४, इब्ने हिब्बानः ५/१८२, १८४, सहीह इब्ने खुजैमाः १/२९८, ५८८, दारे कुतनीः १/२९२, इब्ने माजाः ८६८ आदि ।
१२. रुकूअमा टाउको र पीठ बराबर राख्नुपर्छ । (मुस्लिमः ४९८),
१३. औंलाहरु खुला राख्ने (अबू दऊदः ७३१)
१४. दुबै हातहरुलाई सिधा राख्ने (कुहिनो टेढो नहोस्) र घुँडालाई बलियोसित समाउने । (अबू दाऊदः ७३१, ७३४, तिर्मिजीः २६०),
१५. रुकूअमा तीन पटक सुब्हान रब्बियल अजीम पढनुपर्छ । (मुस्लिमः ७७२) अरु पनि दुआहरु पढ्न सकिन्छ ।
१६. रुकूअबाट उठदा स्वयं इमाम या एक्लै समिअल्लाहु लिमन हमीद भन्ने (बुखारीः ७९६, मुस्लिमः ४७६)
१७. इमाम तथा मुक्तदीले रब्बना व लकल हम्द हम्दन् कसीरन तैय्यीबन् मुबारकन् फीहि पढ्ने । (बुखारीः १२६, ७९९)
१८. रब्बना व लकलहम्द हम्दन् …….लाई माथि बयान गरिएको भन्दा पनि धेरै बढाउन सकिन्छ । (मुस्लिमः ४७६, ४७७)
१९. सज्दामा जाँदा घुँडाले पहिले नटेकी हातले टेक्ने (शारीरिक समस्या नभएको खण्डमा) किनकि अल्लाहको रसूल (सल.) ले ऊँट बसेजस्तै गरेर सज्दामा जानबाट मनाही गर्नुभएको छ । (अबू दाऊदः ८४०)
२०. सज्दामा निधार र नाकले भुँइमा छुनुपर्छ । (बुखारीः ८१२, मुस्लिमः ४९०)
२१. सज्दामा निधार झैं नाकलाई पनि जमीनमा नछुवाएमा नमाज हुँदैन । (दारे कुतनी १/३४८)
२२. सज्दामा दुबै हातहरु काँधको बराबरीमा राख्नुपर्छ । (अबू दाऊदः ७३४, इब्ने खुजैमाः ६४०)
२३. सज्दामा कानको बराबर राख्नु पनि जायज छ । (अबू दाऊदः ७२६, इब्ने हिब्बानः ४८५)
२४. सज्दामा हातका औंलाहरु एक अर्कामा मिलाएर राख्नुपर्छ र किब्ला (काबा तिर) गर्नुपर्छ । (हाकिमः १/२२७, बैहकीः २/११२)
२५. दुबै हातहरु र घुँडाहरु जमीनमा टेकाउनु पर्छ । (अबू दाऊदः ८५९)
२६. सज्दा गर्दा दुबै खुट्टाका पाइतलाहरु उठेको हुनुपर्छ र खुट्टाका औंलाहरु किब्लातिर फर्केको हुनुपर्छ । (बुखारीः ८२८)
२७. दुबै कुर्कुच्चालाई मिलाउनु पर्छ । (बैहकीः २/११६, इब्ने खुजैमाः ६५४, हाकिमः १/२२८)
२८. सज्दामा छाती, पेट र साप्राहरु जमीनदेखि माथि हुनुपर्छ अनि पेट, छाती र तिघ्रा (पिंडौला) एक आपसमा अलग अलग राख्नुपर्छ अथवा मिलाउनु हुँदैन । (अबू दाऊदः ७३०, ७३४, तिर्मिजीः ३०४)
२९. सज्दामा कुहिनाहरुलाई जमीनमा टेकाउनु हुँदैन र कोखासित पनि मिलाउनु हुँदैन, बरु जमीनदेखि माथि, कोखाबाट अलग खुला राख्नुपर्छ । (बुखारीः २२८)
३०. हातका नारी (कलाइ) हरुलाई पनि जमीनमा नटेकाउने । (बुखारीः८२२, मुस्लिमः ४९३)
३१. सज्दामा सात हड्डीहरु (अंगहरु) ले भुँइमा छोएको हुनुपर्छ । (जस्तैः निधार (नाक पनि निधारसित जुडेको हुन्छ), दुबै हात, दुबै घुँडा, दुबै खुट्टाका पैतला) (बुखारीः ८१२, मुस्लिमः ४९०)
३२. अल्लाहको रसूल (सल.) ले सज्दामा दुबै हातका बाजु (पाखुरा) लाई कुकुरले झैं नबिछाउने भनि स्पष्ट आदेश दिनुभएको छ । (बुखारीः ८२२, मुस्लिमः ४९३)
३३. सज्दाको दुआः सुब्हान रब्बियल आला (मुस्लिमः ७७२)
३४. सुब्हान रब्बियल आला तीनपटक पढ्नु उत्तम (सज्दाको पूर्णता) हो । (तबरानी मज्मउज्जवाइद २/१२८)
३५. अर्को दुआः सुब्हान रब्बियल आला वबिहम्दिहि (अबू दाऊदः ८७०)
३६. रुकूअ र सज्दामा यी दुआ पनि पढ्नु उत्तम होः– सुब्हानक अल्लाहुम्म वबिहम्दिक अल्लाहुम्मग्फिरली (बुखारीः ७९४, ८१७ मुस्लिमः ४८४)
३७. सुब्हुन् कुद्दुसुन् रब्बुल् मलाईकति वर्रुह् । (मुस्लिमः ४८७)

नमाजको सही तरिका  (रसूल सल. को सुन्नतबाट )
३८. दुई सज्दा बीचको बैठक (जल्सा): सज्दबाट टाउको उठाएर बायाँ खुट्टालाई मोडेर बिछाइ, त्यसैमाथि बस्ने अनि सीधा हुने यहाँसम्म कि हड्डीहरु आफ्नो ठाउँमा आऊन् (धैर्यतापूर्वक बस्ने अर्को सज्दाको लागि हतार नगर्ने) । (अबू दाऊदः ७३०, तिर्मिजीः ३०४, इब्ने माजाः १०६०)
३९. दुर्इ सज्दा बीचको बैठकमा दायाँ खुट्टालाई खडा गर्ने । (बुखारीः ८२८)
४०. खुट्टाका औंलाहरु किब्लातिर गर्ने । (नसाईः ११५८)
४१. रसूलुल्लाह सल. को जल्सा सज्दाको बराबर (समय) को हुन्थ्यो । (बुखारीः ८२०, मुस्लिमः ४७१)
४२. अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लम कहिलेकाहीं त धेरै बेरसम्म बस्नु हुन्थ्यो, सहाबाहरुले सोंच्थे कि शायद अर्को सज्दा गर्न बिर्सनु भयो । (बुखारीः ८२१, मुस्लिमः ४७२, ४७३)

तर आजकल त मानिसहरु चराले चारा टिपे झैं सज्दा, जलसा र अर्को सज्दा गर्छन् । नमाजमा सज्दाको बीचको जल्सा फर्ज भए झैं धैर्यतासित बस्नु पनि फर्ज हो ।
४३. सज्दाको बीचको बैठक (जल्सा)को दुआः “अल्लाहुम्मग्फिर्ली वरहम्नी वआफिनी वह्दिनी वर्जुक्नी” (अबू दाऊदः ८५०, तिर्मिजीः २८४)
४४. या “रब्बिग्फिर्ली रब्बिग्फिर्ली“ (अबू दाऊदः ८७४, दारमीः १३२५, इब्ने माजाः ८९७, हाकिम १/२७१)
४५. जल्सा इस्तराहत (पहिलो रकअतको दुई सज्दा पुरा गरिसकेपछि दोस्रो रकअतको लागि उभिनुभन्दा पहिले एकछिनको बसाई) अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लम दोस्रो रकअतको लागि उभिनुभन्दा पहिले बायाँ खुट्टालाई बिछाएर एकछिन बस्नु हुन्थ्यो । (अबू दाऊदः ७३०, दारमीः १३५८, तिर्मिजीः ३०४)
४६. पहिलो रकअत पुरा गरेर उभिंदा बसेझैं तेस्रो रकअत पुरा गरेर उभिदा पनि बस्नुपर्छ । (बुखारीः ८२३)
४७. उभिंदा दुबै हातका पन्जालाई जमीनमा टेकेर उठनुपर्छ । (बुखारीः ८२४)
४८. दोस्रो रकअतको लागि उठेपछि दुआ इफ्तताह (सना) नपढी सूरह फातिहा पढ्ने । (मुस्लिमः ५९९)
४९. पहिलो रकअत झैं दोस्रो रकअत पनि पुरा गर्ने । दोस्रो रकअतको दुई सज्दा पछि तश्ह्हुदको लागि बस्ने । बस्ने तरिका दुई सज्दाको बीचको बसाई र जल्सा इस्तराहकै अनुसार हो । दायाँ हातलाई दायाँ घुँडा र बायाँ हातलाई बायाँ घुँडामाथि अथवा दुबै हातलार्इ दुबै साप्रामाथि राख्ने । (मुस्लिमः ५७९)
५०. तश्ह्हुदमा “अत्तहियात” दुआ पढने (बुखारी ८३१, ८३५, मुस्लिमः ४०२)

५१.तश्ह्हुद पढेर तेस्रो रकअतको लागि उभिने (मुस्नद अहमदः १/४५९)
५२. तश्ह्हुदमा दायाँ हातको सबाबा (चोर औंला) उठाउने या चलाउने सम्बन्धमाः औंलालाई उठाएर इशारा गरी दुआ माग्ने । (मुस्लिमः ८५०)
५३. बुढी औंला र माझी औंलालाई जोडेर रिङ आकार बनाई चोर औलाले इशारा गर्ने । (मुस्लिमः ५७९)
५४. दायाँ हातलाई मुठ्ठी पारेर चोर औंलाले किब्लातिर इशारा गर्ने (मुस्लिमः ५८०) तश्ह्हुदमा अत्तहियात पछि दरुद पढने । (अबू दाऊदः १४८१)
५५. दरुद पछि अरु दुआहरु पनि पढनु उत्तम हो । (अबू दाऊदः १४८१)
५६. दरुद पछिका दुआहरुः “अल्लाहुम्म इन्नी जलम्तु नफ्सी जुल्मन् कसीरन् वला यग्फिरुज्जुनूब इल्ला अन्त फग्फिर्ली मग्फिरतम् मिन् इन्दिक वर्रहम्नी इन्नक अन्तल् गफूर्रुहीम ।” (बुखारीः ८३४, मुस्लिमः २७०५)
५७. अर्को दुआः “अल्लाहुम्म इन्नी अऊजु बिक मिन् अजाबिन् जहन्नम, व मिन् अजाबिल् कब्र, व मिन् फित्नतिल् मह्या वल् ममात, व मिन् शर्रि फित्नतिल् मसीहि दज्जाल । (मुस्लिमः ५९०)
अन्य दुआहरु पनि पढ्न सकिन्छ, जो रसूलको सुन्नतबाट प्रमाणित छन् ।
दुई रकअतवाला नमाज भए उपरोक्त तरिकाले सबै दुआहरु पढेर सलाम फेर्ने । यदि तीन रकअतवाला नमाज भए अत्तहियात पढेपछि उठेर तेस्रो रकअतमा उपरोक्त तरिकाले सबै दुआहरु पढेर सलाम फेर्ने । चार रकअतवाला नमाज भए, तेस्रो रकअत पछि दोस्रो रकअतको लागि उठेझैं चौथो रकअतको लागि पनि उठेर चौथो रकअत पुरा गरी तश्ह्हुद पश्चातका सबै दुआहरु पढेर सलाम फेर्ने ।
५८. सलामको तरिकाः दायाँतिर अनुहार फर्काएर अस्सलामु अलैकुम व रहमतुल्लाह अनि बायाँ तिर अनुहार फर्काएर अस्सलामु अलैकुम व रहमतुल्लाह भन्ने । (अबू दाऊदः ९९६, तिर्मिजीः २९५)
५९. दायाँतिर अनुहार फर्काएर अस्सलामु अलैकुम व रहमतुल्लाहि बरकातुह् अनि बायाँ तिर अनुहार फर्काएर अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुह् पनि भन्न सकिन्छ । (अबू दाऊदः ९९७) नमाज समाप्त भयो ।
६०. ध्यान दिनुपर्ने कुराहरूः नमाजमा कयाम, रुकूअ, सज्दा, जलसा इस्तिराह, तशहहूद लगाएत नमाजका प्रत्येक रुक्नहरु (आधारभूत कामहरु) हतार-हतार नगर्ने । (बुखारीः ७९३, मुस्लिमः ३९७)
अल्लाहले हामी सबैलाई सुन्नत अनुसार नमाजको सही तरिका अनुसार पढ्ने तौफिक प्रदान गरुन् र हाम्रो नमाज स्वीकार गरुन् । आमीन …….

स्रोतः islamhouse.com

संकलनकर्ताः अहमद भण्डारी
श्रोतः नमाज ए नबवी लेखक डा. सैय्यद शफिकुर्रहमान

प्रस्तुतकर्ताः मुहम्मद इब्राहीम

Related Post