प्रार्थना (केही महत्वपूर्ण विधिहरू)

प्रार्थना (केही महत्वपूर्ण विधिहरू)

प्रार्थना (केही महत्वपूर्ण विधिहरू)

सम्पूर्ण प्रशंसा अल्लाहका लागि हो जुन सम्पूर्ण जगतको स्वामी हुनुहुन्छ, र शान्ति होस् अल्लाहको अन्तिम संदेष्टा मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम माथि र उहाँको घरवालाहरू र सम्पूर्ण साथीहरू माथि
प्रिय पाठकहरू ! यो विशाल संसारमा बस्ने सम्पूर्ण प्राणीहरू मध्ये उत्कृष्ट प्राणी मनुष्य हो, अल्लाहले मनुष्यलाई अफ्नो प्रतिनिधि बनाएर यस संसारमा पठाउनु भएको छ । ताकि मनुष्य त्यसको उपभोग गरोस्, र अल्लाहको कृतज्ञता प्रकट गरोस् ।

हामी सबैलाई थाहा छ यस संसारमा कुनै पनि मनुष्य यस्तो छैन जसले आज देखि मेरो सबै मनोकामना पूर्ण भयो र मलाई अरु केही चाहिंदैन । हामी सबैलाई अझ धेरै पाउने अभिलाषा हुन्छ, र हामी आफ्नो परम् दयालु पालनकर्तासित यो आशा राख्छौ, हाम्रो जीविका, धन सम्पत्ति, छोरा छोरी र स्वास्थ्यमा अझै वृद्धि गरिदिए झन् राम्रो हुन्थ्यो । धनि गरीब, असाहय सम्पन्न, ठूलो सानो, पुरूष महिला सबैलाई अझ धेरै सम्पन्नताको इच्छा हुन्छ । र यस्तो इच्छा गर्नुमा कुनै आपत्ति पनि छैन, र इस्लामी विधान अनुकूल पनि छ, किनकी अल्लाहले नै हामीलाई माग्ने आदेश दिनु भएछ, किनकि परलोकको साथ-साथै हामी संसारिक लाभ पनि प्राप्त गर्न सकौं र कुनै वस्तुलाई प्राप्त गर्न दुईवटा माध्यमहरू हुन्छ ।

१. त्यो चीज  प्राप्त गर्न प्रयास गर्नुपर्छ । मलाई यो चाहिन्छ भनेर त्यसलाई प्राप्त गर्न प्रयत्न गर्नु ।

२. अल्लाहले चाहेमा मात्र त्यो वस्तु प्राप्त हुनेछ, अल्लाहले न चाहेको खण्डमा जति प्रयास र प्रयत्न गरे पनि त्यो प्राप्त हुने छैन, तात्पर्य यो कि त्यो वस्तु प्राप्तिको लागि अल्लाहसित प्रार्थना गर्नु ।

अल्लाहको कथन छः “र तिम्रो पालनकर्ताको आदेश छ “तिमी मसित प्रार्थना गर, म तिम्रो प्रार्थाना स्वीकार गर्नेछु । जुन मानिसहरु मेरो उपासनाबाट घमण्डले अहंकार गर्छन्, अति सिघ्र नर्कमा तिरस्कृत भई प्रवेश गर्ने छन्।” (सूरः मोमिनः ६०)

र अर्को ठाउँमा अल्लाहको कथन छः “(हे पैगम्बर)  जब तपाईसित मेरा भक्तहरूले मेरो बारेमा प्रश्न गरे, तपाई तब भनि दिनुस कि म (अल्लाह) तिम्रो धेरै नजिक छु मलाई पुकार्ने प्रत्येक व्यक्ति जहिले पुकार्दछ म स्वीकार गर्दछु । तसर्थ तिमीहरुलाई पनि यो आवश्यकता छ कि मेरा आदेशलाई मान्नु र म माथि आस्था राख्नु ताकि सत्य बाटो पाउन सकुन्”। (सूरः बकर:१८६)

र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो “दुआ प्रार्थनाको मूल (तत्व) हो ” ।

प्रिय पाठकहरू ! प्रार्थना बिना सबै प्रयास विफल हुन जान्छ, र सम्पूर्ण संसारका सृष्टि एकजुट र एकमत भए पनि अल्लाहले न चाहेको खण्डमा एउटा कण पनि प्राप्त गर्न सक्दैन, यसै कारण म हाम्रा पाठकहरूलाई यो परामर्श दिन्छु कि उनीहरू अल्लाहसित प्रार्थना गरुन् र अभिमानी नबनुन्, अल्लाह अभिमानीलाई मनपराउँदैन ।

दुआ ( प्रार्थना) अस्वीकृत हुने केही मुख्य कारणहरूः 

१- अल्लाहसँग अरुलाई पनि प्रार्थनामा सहभागी गर्नु । २- हराम वस्तु प्राप्तिको प्रार्थना गर्नु ।

३- अनाहक कसैमाथि श्रापको प्रार्थना गर्नु । ४- अल्लाहको चाहनासँग प्रार्थनालाई संलग्न गर्नु अर्थात यस्तो भन्नु, यदि अल्लाहले चाहनु हुन्छ भने  दिनु हुन्छ ।

५- हृदय उपस्थित नभएको अवस्थामा प्रार्थना गर्नु ।( दुआ गर्दा हृदयलाई अल्लाहमा केन्द्रित गर्नु पर्छ)

६- वर्जित कार्यमा निरन्तरताले दिनाले वा हराम लुगा लगाई व हराम भोजन खाई प्रार्थना गर्नाले दुआ स्वीकार हुँदैन ।

७- मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को पद्धतिलाई छाडि अर्को तरिकाले प्रार्थना गर्नाले । आदि …….

प्रार्थना स्वीकार्यहुनुको केही मुख्य कारणहरूः

१- प्रार्थना गर्नु भन्दा अघि अल्लाहको गुणगान एवं प्रशंसा गर्नु । २- मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि दरूद पठाउनु । ३- प्रार्थना गर्नु भन्दा अघि दान गर्नु । ४- प्रार्थनामा अल्लाहको विशेषताहरूको माध्यमले दुआ गर्नु । ५- आफ्नो पापहरूको क्षमायाचना गर्नु । ६- अल्लाहले प्रदान गरेको अनुकम्पा माथि त्यसको आभार प्रकट गर्नु । ७- प्रार्थनाको समाप्ति मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि दरूद पाठ गर्नु । ८- पूर्ण निष्ठाको साथ प्रार्थना गर्नु ।

केही विशेष समयहरू जुनसमयहरूमा प्रार्थना स्वीकार हुने सम्भावना हुन्छः

१- रात्रीको तेस्रो प्रहारमा । २- अजान र इकामतको बीचको अवधिमा । ३- सज्दा (ढोग) को समय ।

४- वजू पश्चात । ५- नफिल नमाजमा विशेष गरी तशह्हुद र सज्दामा । ६- नमाज पश्चात ।

७- कुरआनलाई समाप्त गरेपछि । ८- यात्रामा ९- कष्टको समय । १०- जुमअःको दिन ।

११- रोजा खोल्ने समय । आदि ……

के अरबी भाषामा नै प्रार्थना गर्नुअनिवार्य छ ?

अल्लाह सर्वलौकिक र सबै भाषालाई सुन्ने र त्यसको उत्तर दिने सर्वगुण सम्पन्न हुनुहुन्छ । र यो उस महान शक्तिशालीको विशेषताहरू मध्ये एक हो, अर्थात अल्लाह सबै भाषामा प्रार्थनालाई सुन्नु हुन्छ र अल्लाहलाई गुहार्नेहरूलाई सहायता गर्नु हुन्छ, त्यसैले अरबी भाषामा प्रार्थना गर्नु अनिवार्य छैन, मनुष्य कुनै भाषामा पनि प्रार्थना गर्न सक्छ ।

प्रिय पाठकहरू ! मलाई आशा छ उपरोक्त वर्णन गरिएका महत्वपूर्ण विधिहरू तपाईको लागि लाभदायक होला । र हामी सबैलाई यो थाहा छ कि सबैलाई यस संसारमा कुनै न कुनै कष्ट अइ लाग्छ, अनि त्यो अफ्नो पूज्यसित प्रार्थना अवश्य गर्छ, तर प्रार्थनाबारे परिपूर्ण जानकारी न हुनाले कदाचित प्रार्थना स्वीकार्य हुनुमा बाधा आई पुग्छ, यो सानो धार्मिक शिक्षा मैले यसै जिज्ञासाको साथ पोष्ट गरेको छु कि यदि कसैलाई पनि यसबाट लाभ पुग्यो भने मेरो यो सानो प्रयास सफल हुनेछ ।

हे प्रिय पाठकहरू ! हामी सबै अल्लाह समक्ष भिक्षुक हौ उहाँ नै सबैलाई प्रदान गर्नु हुन्छ तसर्थ उहाँसित माग्नु, कुनै मूर्ति, फोटो, गुरू, पीर, वली, नबी, आदिहरूमा कुनै वस्तु दिने शक्ति छैन । दाता केवल अल्लाह हो, र जुन समय सबै निदाएका हुन्छन् त्यसै बखत आफ्नो पालनहारलाई गुहार्नु मलाई विश्वास छ तपाईको प्रत्येक मनोकामना पूर्ण हुनेछ । अल्लाह हामी सबैको प्रार्थना स्वीकार गरुन् (आमीन)

Source:  http://www.islamhouse.com/

लेखक- अतीकुर्रहमान मो. इदरीस खान मक्की

कपिलवस्तु नगरपनलिका महुवा वार्ड न.९ तौलिहवा कपिलवस्तु नेपाल

प्रस्तुतकर्ता- मुहम्मद इब्राहीम खरेल

Related Post