New Muslims APP

अन्तर्राष्ट्रिय मजदुर दिवस

मजदुर र्याली

मजदुरको पारिश्रमिक उसको पसिना सुक्नु अगाडी दिनु मालिकको कर्तब्य हो ।

 अन्तर्राष्ट्रिय मजदुर दिवस हरेक वर्ष मे १ तारिखमा मनाइन्छ । ‘संसारका मजदुर एक हौं’ भन्ने मुल नारा बोकेर यो वर्ष १२८औं दिवस नेपालमा पनि भब्यरुपमा मनाइँदैछ । १७औं शताब्दीताका भएको मजदुर संघर्षको स्‍मरण गर्दै यो दिवस मनाइन्छ । सन् १८९० यता प्रत्येक वर्ष मे १ तारिखमा संसारभर मजदुर दिवस मनाउने गरिन्छ । अमेरिकी शहर शिकागोका उद्योग कारखानाहरुमा कार्यरत हजारौं मजदुरहरुले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखी आन्दोलनमा उत्रिएको दिन मे १, १८८६ को स्मरण गर्दै मजदुर दिवस मनाउन थालिएको हो । उक्त आन्दोलन विश्वभर फैलिदै जाँदा सन् १८८७ मा कार्ल मार्क्स र एंगेल्सले श्रमिक दिवसलाई उत्सवका रुपमा मनाउने घोषणा गरेका थिए । त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा मजदुर दिवसको महत्व विस्तार भएको थियो ।

अन्तर्राष्ट्रिय मजदुर दिवसलाई हेमार्केट घटनाको स्मरण स्वरुप पनि मनाउने गरिन्छ । शिकागोमा मजदुरहरुको आन्दोलन चलिरहँदा में ४ का दिन प्रहरीले श्रमिकहरूको शान्तिपुर्ण र्यालीलाई तितरवितर पार्ने क्रममा र्याली माथि अज्ञात व्यक्तिबाट बम प्रहार भएको थियो । उक्त घटनामा मजदुरहरु सहित शिकागो शहरका प्रहरी अधिकारीहरु समेत मारिएको घटनालाई हेमार्केट घटनाका रुपमा स्मरण गरिंदै आएको छ । यिनै घटनाहरु पश्चात आजको दिनलाई विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको दिनका रूपमा मनाउँदै आएको हो ।नेपालमा सन् १९६३ देखि मात्रै अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो । तर सरकारी तहबाट भने सन् २००७ बाट मात्रै मजदुर दिवसलाई आधिकारिक दिनका रुपमा स्विकार गरिएको र उक्त दिन सर्वजनिक विदा दिन थालियो । अन्तर्राष्ट्रिय मजदुर दिवसका दिन विश्वका अन्य ८० राष्ट्रमा पनि सार्वजनिक विदा दिंइदै आएको छ । विश्वमा श्रमिकहरुलाई छुट्टीको अवधारणा सन् १८५६ मा अस्ट्रेलियाबाट शुरु भएको थियो । अधिकांश देशहरु मे १ लाई मजदुर दिवस र मे महिनामा मनाउने भएकाले केहि देशहरूमा मे दिवसका नामले मनाइन्छ । मजदुर दिवसलाई श्रमिक दिवसका नामले समेत मनाउने गरिन्छ । यस दिवसलाई मजदुरहरुको सामाजिक तथा आर्थिक उपलब्धिको एक अन्तर्राष्ट्रिय उत्सवका रुपमा मनाइन्छ । यस दिवसका अवसरमा देशभरका मजदुर संगठनहरुले र्‍याली एवं सभा सम्मेलनहरु गर्दै मजदुर आन्दोलनको स्मरण गर्दछन् ।

हुन त श्रमिक मजदुरको दायरा फराकिलो भए पनि मजदुर भन्नाले काम गर्ने वा अरुको काम गर्ने मानिसलाई बुझिन्छ । न्यून आर्थिकस्तर भएका मानिसहरुले अरुको काम गरिदिएर आफ्नो दैनिक जीवनयापन गर्नुपर्ने अवस्थाको सुरुवात दास युगबाट भएको मानिन्छ । बढ्दो सामाजिक असमानताका कारण गरीव-धनीको दुरी बढेको र मजदुर वर्गको संरचना तयार भएको समाजशास्त्रीय अध्ययनहरुमा उल्लेख छ । दासत्वको अवशेष मानिएका मजदुर एवं श्रमिक वर्गलाई सम्मानित रुपमा स्विकार नगरिएका कारण मजदुरहरु अपहेलित हुँदै आए । त्यसैको परिणामस्वरुप अन्य मानिसहरुलाई झैं मजदुर वर्गलाई पनि क्षमता अनुसारको काम, पर्याप्त आराम र मनोरञ्जनको माग हुनु थाल्यो । यसलाई सजिलै स्विकार नगरिंदा अमेरिका जस्तो प्रजातान्त्रिक देशमै मजदुर आन्दोलित हुनुपर्यो र मजदुर आन्दोलनको जग तयार भयो । हुन त मजदुर दिवसको श्रोत दिनसँग अमेरिकाको भूमि जोडिए पनि अमेरिकामै भने मे १ तारिखलाई वफादारी दिवसका रुपमा मनाइन्छ । उक्त आन्दोलनलाई कम्युनिष्ट शासन रहेको तत्कालिन सोभियत संघले समेत समर्थन गरी मे १ लाई विशेष दिनका रुपमा मनाउनु पर्ने प्रस्ताव तयार पारेका कारण यस्तो भएको अन्तर्राष्ट्रिय कुटनीतिक बुझाई छ ।

मजदुर आन्दोलनलाई चेतनाको आन्दोलनका रुपमा लिने गरिन्छ । नेपालको सन्दर्भमा महत्वपुर्ण राजनीतिक आन्दोलनको शुरुवात मजदुर तहबाट शुरु भएको इतिहाँस छ । वि.सं. २००३ सालमा मोरङको विराटनगर जुट मिलका मजदूरहरुकै आन्दोलनबाट नेपालमा प्रजातान्त्रिक आन्दोलनको बिगुल फुकिएको थियो । यो ऐतिहाँसिक तथ्यसँग मजदुरहरु पनि जोडिएका कारण नेपालको मजदुर आन्दोलन अझ ओझिलो बनेको छ । मजदुरकै तहबाट देशमा प्रजातान्त्रिक आन्दोलनको जग स्थापना भएको थियो । तर विडम्बनाको कुरा चैं यस्तो ऐतिहाँसिक राजनीतिक अवसर हुँदाहुँदै मजदुरहरुको अवस्था भने दयनीय नै छ । मजदुर दिवसलाई राजनीतिक विचारहरुको विरोध जनाउने थलोका रुपमा उपयोग गरिंदैछ । दलैपिच्छे मजदुर संगठन खुल्ने र निकटका व्यक्तिहरुलाई मात्रै सहभागी गराएर औपचारिक कार्यक्रमहरु गरिंदा मजदुर दिवसको मर्म ओझेलमा परेको छ । दिउँसो मजदुर दिवस मनाएर बेलुका घर पुगेको श्रमिक भोकै सुत्नु पर्ने विडम्बना हटेकै छैन । मजदुरहरुले अहिले पनि उचित ज्याला पाएका छैनन् । उनीहरुको समाजिक सुरक्षा छैन । कार्यक्षेत्रमा हुने दुर्घटनामा समेत औषधी उपचार नपाई मृत्युवरण गर्नु परेको छ । सानोतिनो रोजगारीमा संलग्न नागरिक पनि देशभित्र पर्याप्त रोजगारीको अवसर नदेखेर विदेशिएका कथाहरु थपिंदै गएकाछन् । नेपाली मजदुरको क्षमता, ज्ञान, सीप र अनुभवले विदेश जग्जगाएका छन् तर देश उज्यालिनै सकेको छैन ।

 – हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयार पार्नु भएको

Related Post