कुरआनमा मनोविज्ञान शिक्षा

मनोविज्ञान शिक्षा

कुरआनमा मनोविज्ञान शिक्षा

कुरआनमा मनोविज्ञान शिक्षा मार्फत मानवलाई सचेत गर्नकालागि विभिन्न २१ सूरहहरु मध्येबाट ४० आयातहरुबाट दिइएको शिक्षाहरु मध्ये केही सूरह र आयतहरुलाई पाठकहरु समक्ष पेश गरेको छु । जसबाट केही ज्ञान प्राप्त गर्न सक्नु हुनेछ। यो शिक्षालाई अध्यायन र मनन गरी त्यही शिक्षानुसार जीवनयापन गर्नु भयो भने यो संसारिक जीवन, मृत्यु पछिको जीवन र पारलौकिक जीवनमा समेतमा हाम्रो पालनकर्ताकोतर्फको फलदायी हुने अपेक्षा गर्दछु ।

अल्लाहले इसराईलका सन्तानहरुसँग वचन लिएका थिए, हामी अल्लाह बाहेक कसैको पूजा गर्ने छैनौं भनेर तर केही व्यक्ति बाहेक सबैले वाचा र प्रतिज्ञालाई उलंघन गरे, उनीहरुले यो पनि भनेका थिए कि हामी अल्लाहबाहेक अन्य कसैको उपासना गर्ने छैनौ, आमा-बुबा, नातेदारहरु, अनाथ तथा दीन दुःखीहरुसँग सद्व्यवहार गर्ने छौ र, मानिसहरुसित मिठो बोल्ने, नमाज कायम गर्ने र जकात चुक्ता गर्ने छौ तर आफ्नो बचन केही व्यक्ति बाहेक अन्य कसैले पालन गरेनन्। यही कुरा स्मरण गराएका हुन्। कुरआनमा भनिएको छः र, त्यस (कुरा) को स्मरण गर जब हामीले इसराईलका सन्तानहरुसँग वचन लिएका थियौ कि तिमीहरु अल्लाहबाहेक अन्य कसैको उपासना गर्ने छैनौ, आमा-बुबा, नातेदारहरु, अनाथ तथा दीन दुःखीहरुसँग सद्व्यवहार गर्ने छौ र, मानिसहरुसित मिठो बोल्ने, नमाज कायम गर्ने र जकात चुक्ता गर्ने छौ तर तिमीहरुमध्ये कोही व्यक्तिबाहेक सबै बिमुख भयौ र तिमीहरु त विमुख हुनेहरु नै हौ। (सूरह अल बक़रा- आयतः८३)

हामी संसाररिक माया ममता हामी विलासमा अलमलिन्छौं जस्तैः, सन्तानको लोभ माया मोह, गरगहना सवारी साधन, खेती बारी इत्यादी । यो सबै संसारिक चीज हुन् खास गरी मानिस यसैमा भुल्ने गर्छ । तर उत्तम बास स्थान त अल्लाह कहाँ छ । हामीले पुण्य कमाउनु पर्छ पापलाई छोड्नु पर्छ । तब हामी सफल हुन्छौं । सृष्टिकर्ता ईश्वरले सचेत गराउन पवित्र कुरआन मार्फत भनिएको छः मानिसहरुकालागि तिनका मन परेका वस्तुहरु स्त्रीहरु, सन्तान, सुन-चाँदीका थाकहरु, छानिएका घोडाहरु पशुहरु र खेतीको मोह-माया शोभायमान बनाई दिएका छन् । यी त क्षणिक संसारिक जीवनका साधनहरु मात्र हुन् । र, उत्तम बास-स्थान त अल्लाह कहाँ नै रहेको छ। (सूरह आले ईमरान, आयतः १४)

अल्लाहले मानिसलाई पुण्य कार्य गर्न कठिन पारेका छैनन् । आर्थिक क्षमता भएकालाई जकात र हज अनिवार्य गरेका छन् तर जसको आर्थिक अवस्था राम्रो छैन उसले जकात र हज गर्नु पर्दैन । नमाज पढ्न पनि त्यस्तै सजिलो छ । बिरामी हुँदा उभिन नसके बसेर पढ्ने बस्न नसके सुतेर पढ्ने त्यो पनि हुन नसके आँखाको इसाराले पढ्न सहुलियत दिएको छ । जस्तैः कुरआनमा भनिएको छःअल्लाह तिमीहरुको बोझ हलुका गर्न चाहन्छन् किनभने मानवजाति कमजोर सृर्जना गरिएका छन् । (सूरह अन निसा, आयतः २८)

मार्गदर्शन जो कसैले पाउँदैन, जसलाई अल्लाहले सत्मार्ग देखाउन चाहन्छन् उसले मात्र मार्गदर्शन पाउन सक्छ, जसलाई अल्लाहले पथभ्रष्ट गर्न चाहन्छन् उसले मार्गदर्शन पाउँदैन । यससम्बन्धमा पवित्र कुरआनमा भनिएको छः अनि जसलाई अल्लाहले सत्मार्ग देखाउन चाहन्छन्, त्यसको छातीलाई इस्लामको लागि खोल्दछन् र जसलाई अल्लाह पथभ्रष्ट गर्न चाहन्छन् त्यसको छातीलाई संकुचित तथा कष्टमय तुल्याउँदछन् मानौं त्यो त्यो आकाशतर्फ उक्लिरहेछ । यसरी नै अल्लाह अविश्वासी मानिसहरुमाथि (अनास्थाको) फोहर थोपरिदिन्छन् । (सूरह अन आम, आयतः १२५)

अल्लाहले धर्मात्मा व्यक्तिको हृदयबाट रिस-राग, ईर्ष्या निकाली दिएका हुन्छन्, उसको हृदयमा दया, माया, सद्भाव र भलाईको भावना हुन्छ । यस्ता ब्यक्तिलाई स्वर्गमा जसको बासस्थानको तलतिरबाट नहरहरु बगिरहेका हुन्छन् उनीहरु यो स्वर्गिय आनन्दमा बस्न पाएपछि उनीहरुले भन्ने छन् ” सारा प्रशंसा अल्लाहकै निम्ति हुन्, जसले हामीलाई यहाँको बाटो देखाए  र अल्लाहले हामीलाई मार्ग नदेखाएको भए हामीले मार्ग पाउने थिएनौं।” हाम्रो पालनकर्ताले पठाएका ईश्दूतहरु सत्य लिएर आएका थिए ।” जसले यो संसारमा ईश्दूतलाई असत्य ठहर्याए उनीहरु घोर अन्धकार (नर्क) को बास हुने धार्मिक किताबमा उल्लेख छ । पवित्र कुरआनमा भनिएको छः “र, उनीहरुको मनमा भएको रिस रागलाई हामी बाहिर निकाल्ने छौं, उनीहरुको तलतिरबाट नदीहरु बगिरहेको हुनेछ र उनीहरुले भन्ने छन्, ” सारा प्रशंसा अल्लाहकै निम्ति हुन्, जसले हामीलाई यहाँको बाटो देखाए  र अल्लाहले हामीलाई मार्ग नदेखाएको भए हामीले मार्ग पाउने थिएनौं। निसन्देह हाम्रो पालनकर्ताले पठाएका ईश्दूतहरु सत्य लिएर आएका थिए।” र घोषणा गरिनेछ- तिमीहरुले गरेका कर्महरुको प्रतिफलस्वरुप तिमीहरु यस स्वर्गको उत्तराधिकारी बनाइएका छौं। (सूरह अल अराफ, आयतः ४३)

मानिसहरु यसरी कुभलोप्रति लालायित हुन्छ तर उसको चाहना भलाईको लागि हुनुपर्ने थियो । वास्तवमा मानव उत्ताउलो हुन्छ जसले गर्दा उ कुमार्गमा लम्किन्छ, जसले गर्दा अन्तमा नर्कको यातना चाख्न पुग्छ । कुरआनमा भनिएको छः र, मानव त्यसरी कुभलो माग्छ जसरी उसको प्रार्थना भलाईको लागि हुनुपर्ने थियो। र, वास्तवमा मानव उताउलो हुन्छ ! (सूरह बनी इस्राईल, आयतः११)

फेरी अर्को ठाउँमा भनिएको छः मानुष्य उताउलो सृष्टि गरिएको हो। तिमीहरुलाई चाँढै नै आफ्नो निशानीहरु देखाउँनेछु । तसर्थ तिमीहरु मसित हतार नगर। (सूरह अन अम्बियाः ३७)

अल्लाहले आदेश दिएका छन् हे सन्देष्टा आस्थावान पुरुषहरुलाई भन आफ्ना दृष्टिहरुलाई नियन्त्रित राख तथा आफ्ना गुप्तांङ्गहरुको रक्षा गर । अल्लाहले हरेकले के कस्तो कर्म गरी रहेको हुन्छ उनी अनभिग्य छैनन् । पवित्र कुरआनमा भनिएको छः (हे सन्देष्टा !)आस्थावान पुरुषहरुलाई भन आफ्ना दृष्टिहरुलाई नियन्त्रित राख तथा आफ्ना गुप्तांङ्गहरुको रक्षा गर। यो उनीहरुकालागि विशुद्ध तरिका हो । उनीहरुले गर्ने गरेका कार्यसित अल्लाह अवगत छन् । (सूरह नूर, आयत ३०)

पालनकर्ताले मानव पुरुषको पिठको हड्डीबाट स्त्रीजाति मानवलाई बनाउनु भयो, त्यसैले एक अर्कामा सन्तुष्टि प्राप्त गर । एउटै शरिरको हड्डीबाट बनाएको हुनाले एक अर्कामा माया प्रेम तथा दया उत्पन्न गरे । यसमा हामीले सोचविचार गर्यौं भने केही निशानीहरु पाउनेछौं । यस सम्बन्धमा पवित्र कुरआन सूरह रुम, आयत २१ मा भनिएको छः र उनका निशानीहरुमध्ये यो पनि रहेको छ कि उनले तिमीहरुकालागि तिमीहरुकै सहजातिबाट तिमीहरुका जोडी बनाए, ताकि तिमीहरु तिनीहरुबाट सन्तुष्टि प्राप्त गर । र तिमीहरुबीच उनले प्रेम तथा दया उत्पन्न गरे। निःस्सन्देह यसमा सोचविचार गर्ने मानिसहरुकालागि निशानीहरु छन्। (सूरह रुम, आयतः २१)

हरेक मानिसको हृदय एउटै हुन्छ र ती सृष्टिकर्ताले तिमीहरुका ती पत्नीलाई तिम्रो आमा बनाएका छैनन्  र इस्लाम धर्मशास्त्र अनुसार धर्मपुत्र वास्तविक छोरा हुन सक्दैन । यस सम्बन्धमा पवित्र कुरआनमा भनिएको छः अल्लाहले कुनै मानिसको छातीभित्र दुईवटा हृदय बनाएका छैनन् न उनले तिमीहरुका ती पत्नीहरुलाई तिम्रा आमा नै बनाएका छन्,जोसँग तिमीहरु जिहार गर्छौ र न उनले तिमीहरुका धर्मपुत्रलाई तिम्रो वास्तविक छोरा नै बनाएका छन्। यो त तिमीहरुको भनाई मात्र हो। र अल्लाह नितान्त सत्य कुरा गर्छन्। र, उनी नै सिधामार्ग देखाउँछन्। (सूरह अह्जाब, आयतः४)

 

लेखकः मुहम्मद ईब्राहिम

स्रोतः कुरआन

Related Post