New Muslims APP

आत्माशुद्धि र मानवताको तालिम रोजा

आत्माशुद्धि र मानवताको तालिम रोजा

आत्माशुद्धि र मानवताको तालिम रोजा

आत्माशुद्धि र मानवताको तालिम रोजा हो । अरबी पात्रो अनुसार २ हिज्रीदेखि अनिवार्य भएको रमजानको रोजा पूनः हामी समक्ष आई पुगेको छ । हि.सं. १४३८ (वि.सं. २०७४) को रमजानको रोजा यसको इतिहास अनुसार १४३६ औं अनिवार्य रोजा हो । यस वर्षको रोजा जेष्ठ महिनाको दोश्रो हप्ता अर्थात जेष्ठ १२ अथवा १३ (शुक्रबार या सनिवार) देखि शुरु हुँदैछ । अंग्रेजी तारिख अनुसार २०१७ में २६ या २७ शुक्रबार या सनिवारको दिनमा पर्ने सम्भावना छ । चन्द्रमाको गतिलाई आधार मानेर अरबी तिथी अनुसार  उदयको आधारमा तय हुने हुनाले एकिन यो दिनमा नै पर्छ भन्न सकिंदैन । सृष्टिकर्ताले बनाएको नियम अनुसार प्रत्येक मौसममा रमजान पर्ने गर्दछ । २८/२९ वर्षको अन्तरालमा यसले यस वर्षका सबै मौसम पार गरेर एक चक्कर लगाउँछ ।

पवित्र महिना रमजानको अनिवार्य रोजा आत्माशुद्धिकरणको लागि उत्कृष्ट तालिम हो । सृष्टिकर्ता अल्लाह तआलाको भय, प्रेम, र आशा मनमा लिएर आस्थावान आफुलाई हरेक प्रकारको पाप र दुष्कर्मबाट टाढा राख्ने प्रयत्न गर्छ र आफ्नो व्यवहार, आचरण र कृयाकलापलाई पवित्र बनाउने प्रयाश गर्छ । आफुले जान अन्जानमा गरेका पापबाट क्षमायाचना गर्दै ती पाप कर्मबाट पवित्र राख्न मृत्युपछिको जीवनमा नर्कको आगोबाट बचाउन आफ्ना पालनहार संरक्षक र मालिक अल्लाह तआलासँग प्रार्थना गर्छ । ठिक समयमा नमाज पढ्ने, अल्लाहको सन्देश कुरआन पढ्ने, र त्यसको अर्थ बुझेर त्यसलाई आफ्नो व्यवहारमा उतार्ने प्रयत्न आस्थावानले विशेष गरी रमजानमा नै बढी गर्ने गर्छ । रोजाको अवस्थामा ऊ अल्लाहको प्यारो भक्त तथा अन्तिम सन्देष्टा मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) को अनुशरण गर्दै आफुलाई पनि उनै अल्लाहको प्यारो उपासक र कृपापात्र तथा मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) को असल अनुयायी बनाउने प्रयाश गर्दछ । यसले गर्दा आचरणमा पवित्रता, व्यवहारमा शुद्धता र निष्पक्षता देखापर्छ । जब आस्थावान आफ्नो हृदयमा तक्वालाई बलियो बनाएर राख्छ तब उसलाई गलत बाटो लगाउन र दुराचारयुक्त बनाउन दुष्टको कुनै तागत चल्दैन । रोजा भित्र भोको पेट रहनु र अरु समयका केही वैध कार्यलाई अवैध गर्नु मात्र होइन नराम्रा र पापपूर्ण कार्यहरु गर्न, भन्न, सुन्न र हेर्नबाट रोक्छ । जस्तैः हातले गलत काम गर्न आफुलाई रोक्ने, मुखले गलत शब्द भन्नबाट आफुलाई रोक्ने, कानबाट नराम्रो कुरा सुन्नबाट आफुलाई रोक्ने र आँखाले नराम्रो चीज हेर्नबाट आफुलाई रोकेर रोजा राखेको हुन्छ । त्यसैले रोजाको एक महिने यस तालिमले मानिसको आत्माशुद्धिकरण गर्छ।

रोजाले मानिसलाई त्याग, समर्पण, धैर्यता, क्षमायाचना र आत्मानियन्त्रण, सहनसिलता र ईशभय जस्ता गुणहरुको वृद्धि र विकास गर्छ । यसले मानिसलाई उदार, हृदयी बनाउनको साथै आफुबाट भए गरेका पाप र दुष्कर्मप्रति लज्जित हुने र त्यसको प्रायश्चित गर्ने क्षमताको विकास गराउँछ ।

रोजा मानवताको तालिम पनि हो। विश्वभरका मानिसहरु जो आफुलाई एक मानव आदम (अलैहिस्सलाम) का सन्तान र एक अल्लाहका उपासक मान्दछन्, उनीहरु सबै एकै साथ रोजा राख्छन् । यसले एकात्मकतालाई मात्र होइन सामुहिकतालाई महत्व दिन्छ। एउटै नियम अनुसार रोजामा रहने, अनिवार्य उपासना गर्ने, सामुहिक रुपमा इफ्तार गर्ने (रोजा खोल्ने) कार्य गर्दछन् । त्यस्तैः दान, सहयोग जस्ता पुण्य कर्महरु गर्न मानिस बढी ध्यान दिन्छन् । गरिब र भोकको अनुभुति रोजाले गराउने भएकाले रोजेदार ती गरिब, भोका र असाहायहरुलाई खाना, कपडा आदी दिएर सहयोग गर्छ । रोजाको महिनामा सबै प्रकारका लडाई, झगडा, वैमनश्यतालाई अवैध ठहराइएको छ । यसले गर्दा रोजेदारहरु मेलमिलाप, पारस्पारिक सहयोग आदन-प्रदान गर्छन् । यसले गर्दा उसको हृदय भित्र भातृत्व, विश्ववन्धुत्व र मानवताको भावनाले वास गर्छ । रमजान महिनामा धनी होस् या गरिब, महिला होस् या पुरुष, अरबी होस् या नेपाली यदि ऊ एक अल्लाहप्रति आस्थावान छ भने हृदयमा एउटै कैफियत लिएर रहेको हुन्छ, त्यो हो तक्वा (अल्लाहसँगको प्रेम, उनको भय र उनीबाट आशा) । यसैलाई मजबुत बनाउन हर सम्भव ऊ प्रयासरत हुन्छ । प्रत्येक धनी व्यक्ति आफ्नो धनमा भएको गरिबको हिस्सा मात्र होइन अझ अघि बढेर गरिबलाई सहयोग गरिरहेको हुन्छ । जसरी अल्लाहका अन्तिम सन्देष्टा मुहम्मद (स.) रमजानमा दान पुण्यमा तेज हावाको गति समान हुनुहुन्थ्यो त्यसरी नै उहाँका अनुयायी पनि दीनदुखी र असाहयहरुको सहायतामा आफ्ना हात अघि बढाई रहेका हुन्छन् ।

एक महिने यस प्रशिक्षणले आस्थावानहरुका व्यावहार र आचरणमा आमूल परिवर्तन गर्न सक्छ र वर्षका बाँकी ११ महिना पनि त्यस्तै सदाचारी भएर रहने प्रेरणा मिल्छ ।

त्यसैले देश भित्र र अन्तराष्ट्रिय जगतमा मेल मिलापको वातावरण बनाउन रमजानको रोजाले सिकाएको पाठको पालन हुनुपर्दछ। यदि रोजाले दिने शिक्षालाई विश्वभर फैल्याउन र मानवतावादी तालिमलाई व्यवहारिक जीवनमा उतार्न सके विश्वमा अवश्य नै दुष्ट्याई, पापकर्म, अन्याय, अत्याचार, असमानता र विभेदको अवस्थाको अन्त्य भई शान्ति र अमन चयन स्थापना हुने थियो, अल्लाह तआलाले हामी सबैलाई यसमा सफल बनाउन् । आमीन् !

 लेखकः इरफान पोखरेल

स्रोतः मधुर सन्देश (मासिक)

अंकः आषाढ २०७१

 

Related Post