रमज़ान पर्वको शुभ कामना तथा रमज़ान विशेष जानकारी

रमजान

रमज़ान पर्वको शुभ कामना तथा रमज़ान विशेष जानकारी

रमज़ान अरबी पात्रो अनुसार नवौं महिनामा पर्छ। अंग्रेजी पात्रो अनुसार रमज़ानको रोजा २०१६ जून ६ तारिख देखि शुरु भएको छ। तर चन्द्रमाको गतिसँग सम्बन्धित तिथी मिति अनुसार एक दिन अघि पनि हुन सक्छ या एक दिन पछि पनि हुन सक्छ। अरबी पात्रोको हिसाबले शअबानको २९ तारिख चन्द्रमा देखियो भने वा यसको कुनै ठोस प्रमाण प्राप्त भयो भने त्यसको भोलि देखि ब्रत शुरु गर्नुपर्छ। तर कुनै पनि सत्यवान मुसलमान व्यक्तिले चन्द्रमा देखेन भने शअबानको महिना ३० दिन पूरा गरेर जून देखि ब्रत बस्नुपर्छ ।

रमज़ानको रोजामा एक महिनासम्म अल्लाहको लागि रोजा (ब्रत) राखिन्छ । जब मुहम्मद सल्लल्लाहु अलैही वसल्लम र वहाँका अनुयायी समेत मक्काबाट मदिनातर्फ हिजरत (प्रस्थान) गरेर गएको दुई बर्ष पछि देखि लागु भएको हो भन्ने प्रमाण कुरआनबाट प्रष्ट हुन्छ। यो महिना दया, क्षमा, नर्कबाट मुक्ति तथा पारस्पारिक सहानुभूतिको महिना हो । यसमा स्वर्गको ढोका खोलिन्छ, नर्कको ढोका बन्द गरिन्छ र शैतानलाई साङ्लामा बाँधिन्छ यसैगरी मानवको प्रगति मार्ग खुल्नेछ र पुण्यकार्य गर्न सजिलो हुनेछ । यस महिनामा पुण्यमा वृद्धि गरिन्छ, नफिल नमाज़को पुण्य फर्ज़ नमाज समान र फर्ज़ नमाजको पुण्य अरु महिना भन्दा सत्तरी फर्ज़ नमाज समान गरिनेछ र नमाजीको प्रार्थाना स्वीकार गरिन्छ । यसै महिनामा पवित्र कुरआन अवतरित भएको थियो जुन सम्पूर्ण संसारको लागि मार्गदर्शक हो । यसै रमज़ानको महिनामा शबे कद्रको रात पर्छ जुन हज्जार महिना अर्थात ८३ बर्ष ४ महिना भन्दा उत्तम हो ।

लैलतुल (शब्बे कद्र) कद्रको दुआः “अल्लाहुम्म इन्न’क अफुव्वुन तोहिब्बुल अफ़’व फ़अफु अन्नी”

अर्थः-“हे अल्लाह तपाई माफ गर्नेवाला हुनुहुन्छ र माफ गर्न चाहनु हुन्छ अतः तपाई मलाई माफ गर्नु होस् ” ।

शबे कद्रको रात निम्न रातहरु हुन् जस्तैः एक्काइसौं रात, तेइसौं रात,पच्चिसौं रात सत्ताइसौं रात र उननतिसौं रातलाई शबे कद्रको रात भन्दछन् । यो महिना अति उत्तम र श्रेष्ठ हो जसमा हर प्रकारको पुण्यको एवं उपकारको वसन्त ऋतु हो पवित्र कुरआनमा अल्लाह तआलाको भनाई छ- “ए आस्थावानहरु ! तिमीलाई रोजा (ब्रत) राख्न अनिवार्य गरिएको छ जसरी तिमी भन्दा पहिलेका मानिसहरुलाई अनिवार्य गरिएको थियो,यसैले कि तिमीहरुमा संयमी बन्न सक” । (सूरः अल बक़रः आयत नं. १८३)

रोजाको परिभाषाः रोजा इस्लाम धर्मको पाँच स्तम्भहरु मध्ये चौथो स्तम्भमा पर्छ । इस्लाम धर्ममा मात्र अल्लाहको उपासना,प्रार्थनाको उदेश्यले बिहान सबेरै देखि लिएर सूर्यास्त नहुँन्जेलसम्म खानु, पिउनु,पत्नीसँग सहवास गर्नु, जुवातास खेल्नु, मदिरा सेवन गर्नु, झूटो बोल्ने,झगडा गर्ने जस्ता गलत कार्यबाट आफूलाई जोगाउनु नै रोजा हो ।

रोजाको महत्वः रोजा एक उपसना हो, अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम भन्नुहुन्छ,-“जसले ईमान र पुण्यको लागि रोजा राख्दछ उसको प्रत्येक पछिल्लो पापहरु क्षमा गरिन्छ” । (मुस्नद अहमद)

एक अर्को ठाउँमा अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम भन्नुहुन्छ, अल्लाह तआलाको भनाई छ,- “आदमको सन्तानलाई उसको पुण्यको बदलामा दस गुना देखि लिएर सात सौ गुणासम्म पुण्य मिल्दछ तर रोजा यो भन्दा फरक छ,किनकि रोजा मेरो लागि हो र म नै यसको बदला दिन्छु । मेरो भक्तले आफ्नो ईच्छा, सम्भोग र खानपिनलाई केवल मेरो लागि छोडेको हुन्छ र रोजादरलाई खुशी दुई अवसरमा हुन्छ, एक इफ्तारको समय, दोश्रो अल्लाहसँग भेटको समय र रोजादारको मुखबाट निस्केको गन्ध अल्लाह तआलाको लागि सुगन्ध भन्दा धेरै प्रिय हुन्छ” । (मुस्लिम)

रोजादारलाई अर्को फाइदा छ त्यो हो अल्लाह तआलाले स्वर्गमा एक ढोका तयार गरेको छ जुन ढोकाबाट रोजादार मात्र प्रवेश गर्न पाउँछन् । हदीसमा छ- “जन्नत (स्वर्ग) मा आठवटा ढोकाहरु छन् त्यसमा एउटाको नाम ‘रय्यान’हो, त्यसमा रोजादार व्यक्ति मात्रै प्रवेश गर्नेछन्”। (बुख़ारी, मुस्लिम)

सहरी (विहानको खाना) खानेः रातको अन्तिम प्रहरमा सहरी (विहान फजरको आजान भन्दा पहिलेको खाना) खाएमा स्वास्थ्य वृद्धी हुन्छ ।

अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैही वसल्लमले भन्नुभयो-“सहरी खाने गर्नु किनकि सहरी खानु उत्तम हो ” (बुखारी, मुस्लिम)

रसूल मुहम्मद सल्लल्लाहु अलैही वसल्लमले भन्नु भएको छ-“सहरी खाएमा स्वास्थ्यमा वृद्धी हुन्छ, यसैले तिमी त्यसलाई नछोड चाहे तिमीहरु मध्ये कोही पनि व्यक्ति पानीको एक घुटको भएपनि पीउनु, किनकि अल्लाह र उसको फरिश्ता सहरी खानेवाला व्यक्तिको लागि सकुसलता प्रदान गर्नु हुन्छ ” (मुस्नद अहमद)

इफ्तार गर्नेः मग्रिबको अजान दिनासाथ इफ्तार गर्नु सुन्नत (मुहम्मद सल्लल्लाहु अलैही वसल्लमको तरिका) हो।

अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैही वसल्लमले भन्नु भएको छ-“इफ्तार (ब्रत समाप्त) गर्नु भन्दा केही पहिले देखि अल्लाहको खुब प्रार्थना गर्नु किनकि त्यो समय दुआ स्वीकार हुने समय हो” ।

मुहम्मद सल्लल्लाहु अलैही वसल्लमले भन्नु भएको छ- “तीन व्यक्तिको प्रार्थना रद्द हुँदैन,रोजादार (ब्रतालु) व्यक्तिको प्रार्थना यहाँसम्म कि इफ्तार (ब्रत समाप्त) गर्ने समयसम्म, न्यायवान शासक र पीडित व्यक्ति” (अहमद)

इफ्तार गर्ने बेला यो दुआ पढ्नु पर्छ-“अल्लाहुम्म ल,क सुम्तु व अला रिज़्क़िक अफ़्तरतु”

अर्थः-“हे अल्लाह मैले तपाईको आज्ञाकारीको लागि रोजा राखें र तपाईले प्रदान गरेको आम्दानीबाट इफ्तार गरें”

इफ्तार पछि यो दुआ पढ्नु पर्छः “ज़,ह,बज़्ज़,मओ वब्बळतिल ओरूकु व स,ब,तल अजरु इंशाअल्लाहु”

अर्थः-“प्यास मेटियो, गला भिज्यो र अल्लाहले चाहनु हुन्छ भने पुण्य पनि प्राप्त हुनेछ”

यदि अरुले इफ्तार गराएमा यो दुआ पढ्नु पर्छ-“अफ्त,र इन्दकुम अस्साएमून वअ,ल,कतआमकुम अल अबरारो व सल्लत अलैकुमुल मलाईकः”

अर्थः-“तिम्रो साथ रोजादारले इफ्तार गरे र तिम्रो खाना पुण्यवान व्यक्तिले खाए र फरिश्ताले तिमीलाई दयालुताको प्रार्थना गरून ” ।

निम्न अवस्थामा रोजा टुट्दैनः 

(१) दाँतमा ब्रश गर्नाले,

(२) गाजल लगाउँदा,

(३) कुल्ला गर्दा या नाकमा पानी हाल्दा विना ईच्छा घाँटीबाट पानी भित्र जानाले,

(४) धेरै गर्मिमा टाउकोमा पानी हाल्नाले,

(५) थुक र खकार भित्र गएमा,

(६) सुगन्ध लगाउनाले,

(७) आँखामा दबाई हाल्नाले,

(८) आवश्यकतानुसार तरकारीको स्वाद चाख्नाले,

(९) साना बच्चालाई केही चीज चपाएर दिनु हुन्छ तर त्यसलाई तुरून्तै थुकिदिनु पर्छ,

(१०) सम्भोग गर्दा फजरको आजनको नजिकको अवस्था हुनु,

(११) नचाहदा नचाहदै पनि उल्टी हुनाले,

(१२) रोजाको समयमा सपनामा वीर्य निस्कनाले,

(१३) गल्तिले खानु या पिउनाले,

(१४) दाँतको गिजाबाट रगत बहनु वा दाँतमा अड्केको खाना निल्नाले,

(१५) दाँत निकाल्दा या आवश्यकतानुसार कुनै रोगीलाई रक्त दान दिनाले, (१६)महिनावारी हुँदा या निफासको रगत बाहेक कुनै रोगको कारण कुनै महिलाको रगत निस्किनाले।

(१७) उपचारको लागि पछाडि गर्दनमा यन्त्रिक विधीले रगत निकाल्नाले,

(१८) कोही इस्लामी विद्वानको भनाई अनुसार दमको विमारीले स्प्रे (Spray)को प्रयोग गर्नाले रोजा भंग हुँदैन,

निम्न अवस्थामा रोजा टुट्छः 

(१) रोजाको अवस्थामा पत्नीसँग सम्भोग गर्नु, यस्तो अवस्थामा रोजा पुरा गर्नुका साथै प्रायश्चित पनि दिनुपर्छ,प्रायश्चित यो हो कि एउटा गुलाम (दास) लाई उसको मालिकबाट पैसा दिएर स्वतन्त्र गराउनु, गुलाम नपाए दुई महिनासम्म लगातार रोजा राख्नु या रोजा राख्न नसके साठी जना गरिबलाई खाना खुवाउनु पर्छ,(२)जानी जानी खाना खानु या बमिट गर्नु,

(३) महिनावारी हुनु या बच्चा पैदा हुँदा रगत आउनु,

(४) वीर्य निकाल्नु चाहे हातले होस् अर्थात कुनै तरिकाले,

(५)रोजा छोड्ने विचार गर्नु चाहे खाना खानु या नखानु,

(६) कुनै चीज निल्नु चाहे खानेकुरामा होस् या अरु कुनै चीज होस्,

(७) हरेक प्रकारको तमाखु (खैनी) को प्रयोग गर्नु,

(८) तागतको ट्याबलेट खानु या तागतको सूई लगाउनु,

रोजामा सावधानीः 

(१)वुज़ूको समयमा कुल्ला गर्न र नाकमा पानी हाल्न धेरै पानीको प्रयोग नगर्नु,

(२)पत्नीलाई सहवासको नियतले न हेर्नु,

(३)कुनै चीज मुखमा हालेर नचपाउनु किनकि त्यो घाटीबाट तल जान सक्छ, सिवाय बच्चालाई दिन,

(४) जसले आफुलाई काबुमा राख्न सक्दैन उसले आफ्नो पत्नीलाई चुम्बन नगरोस् किनकि वीर्य निस्केमा रोजा भंग हुने डर हुन्छ,

रोजा कसको लागि छुट छः यस पावन अवसरमा प्रत्येक वालिग मुसलमानहरु जो बुद्धि, विवेक एवं जस्को दिमागी सन्तुलन बिग्रेको छैन,स्वस्थ्य छ भने उसले रोजा बस्नु अनिवार्य छ तर बालक, विमारी,महिलाहरुमा मासिकश्राव भएको अवस्थामा, सुत्केरी भएको अवस्थामा वा जसलाई अघिपछि पनि भएको समय अलावा रगत बगिरहने छ भने र विमारी तथा बच्चालाई दुध खुवाउने आमालाई बच्चाको लागि दुध नआउने अवस्था छ भने डक्टरले छुट दिएको खण्डमा पनि रोजा बस्नु पर्दैन पछि ठीक भएपछि अर्को रमज़ान अगाडि नै राखि सक्नुपर्छ। त्यस्तै कम्तिमा असी/नब्बे किलोमिटर टाढाको यात्रा गरेको छ भने उसको लागि पनि यात्रा अवधि भर रोजा छुट छ तर राख्न चाहन्छ भने राख्न सक्छ। यदी कहिले पनि राख्न नसक्ने भए एक दिनको खाना गरिवलाई खुवाउनु पर्छ। अरु सबै व्यक्तिको लागि रोजा बस्नु अनिवार्य छ।

रोजाका फाइदाहरुः रोजा राख्नाले मानवलाई पवित्रता, धार्मिकता, शारीरिक एवं मानसिक फाईदा हुन्छ। वैज्ञानिकहरुको भनाई अनुसार रोजा राख्नाले आत्मा सन्तुष्टि, पेटको विमार, पित्तशयको विमार, रगतको विमार, हाईब्लडप्रेशर, मुटुको रोग, कान, आँखा, जोर्नी, बाझोपन, स्मरण शक्तिको कमी, वजन घटाउन, चर्बी घटाउन, जाडोको समयमा जीउ सुनिने बिमार तथा ढाड दुख्ने बिमारको लागि अचुक बाण हो।

डा. एयर सेन- “भोको बस्नुको उत्तम तरीका रोजा हो जो इस्लामी तरीका अनुसार राखिन्छ”।

ईशाई डा. रिचर्ड- “कुनै पनि व्यक्तिले भोको बस्ने विचार भए उसले रोजा राकोस् । म ईशाई मित्रहरुलाई भन्दछु कि भोको बस्नु छ भने मुसलमानको तरीका अनुसार रोजा बस्नु उत्तम हुन्छ”।

रोजा राख्नाले यस लोक र परलोक दुवैमा फाईदा हुन्छ। यो लाभको साथै महत्वपूर्ण कुरा मुसलमानहरु रोजा केवल अल्लाहको प्रशन्नता प्राप्तिको लागि अल्लाहको आज्ञानुसार राख्छन्।

प्रोफेसर बिल्वी- “आफ्नो पुस्तक(१९७६ मा प्रकाशित) “स्वास्थ्यको लागि भोक” मा लेख्नु भएको छ- “प्रायः शहरमा बसोबास गर्ने व्यक्तिहरुको लागि अनिवार्य उसले बर्षमा तीन, चार हप्ताह (जुन इस्लामी रोजाको तरिकाको अवधि बराबर) को लागि खानपिन रोकेर रोजा राख्नु किनकि पुरा जिन्दगी पूर्ण स्वास्थ्यसँग आनन्दित हुन सकोस्” ।

अक्सफोर्ड यूनिवर्सिटीका प्रशिद्ध प्रोफेसर डा॰ मोर पाल्ड भन्नुहुन्छ- “मैले इस्लामी शिक्षाको अध्ययन गरे र जब रोजाको विषयमा पुगे त अचम्म माने किनकि इस्लामले आफ्नो अनुयायीलाई अरु केही दिन नसके पनि केवल रोजाको तरिका नै उनको लागि काफी थियो” (सुन्नते नबवी र आधुनिक विज्ञान १/१६५)

रमजान महिनामा गर्नु पर्ने केही पुण्य कार्यः-नबी स.अ.व.सँग साहबीले प्रश्न गर्नु भयो, सर्वश्रेष्ठ दान के हो ? त वहाँले भन्नुभयो- “रमज़ानमा दान गर्नु” (तिर्मिज़ी)

हज़रत अब्दुल्लाह बिन अब्बास रज़ि. ले भन्नुभयो- “अल्लाहको रसूल स.अ.व. अरु बेलामा पनि दान गर्न सबैभन्दा अघि थिए भने जब हज़रत जिब्रील अलैहीस्सलामसँग रमज़ानको महिनामा भेट गर्नु हुँन्थ्यो अझ वहाँको दानशिलतामा बृद्धि हुन्थ्यो साथै त्यस समयमा वहाँ हरेक प्रकारको पुण्य कार्यको लागि तेज हावा भन्दा पनि धेरै दानशील बन्नु हुन्थ्यो” । (बुख़ारी,मुस्लिम)

“अल्लाहले ब्याजलाई घटाउनु हुन्छ तथा मेटाउनु हुन्छ र दान गर्नेवालालाई बढाउनु हुन्छ”। ( कुरआन सूरः २/२७६)

नबी स.अ.व.को भनाई छ-“जो व्यक्ति रमज़ानमा कुनै व्यक्तिलाई खाना खुवाउँछ भने अल्लाहले उसको पापलाई माफ गर्नु हुन्छ, उसलाई नर्कको आगोबाट मुक्ति प्रदान गर्नु हुन्छ र इफ्तार (भोजन)गराउनेवालालाई रोजादार बराबर पुण्य मिल्दछ र रोजादारको उसको पुण्यमा कुनै कमी हुँदैन” ।

फेरी नबी स.अ.व.संग भने हे अल्लाहको रसूल हामीसँग के छ र यसरी खाना खुवाउन सक्छौ तब नबी स.अ.व.भन्नु हुन्छ-“मात्र एक खजुरबाट या दुधबाट र पानीको एक घुटकोले इफ्तार (भोजन) गराउनु पनि काफी छ” । (इब्ने ख़ुज़ैमः)

नबी स.अ.व.को भनाई छ-“रोजा र कुरआनले मानवको लागि महाप्रलयको दिन सिफारिस गर्दै भन्दछ ‘हे अल्लाह ! मैले उसलाई दिनमा खान र पिउन रोकेको थिए’ र कुरआन भन्दछ‘मैले उसलाई रातमा सुत्नलाई रोकेको थिए’ तपाई उसको लागि मेरो सिफारिस स्वीकार गर्नु होस् ”(निसाई, अहमद)

नबी स.अ.व.ले भन्नुहुन्छ-“रमज़ानमा उमरा गर्नुको पुण्य हज्ज गर्नु समान हो ”।(बुख़ारी,मुस्लिम)

नबी सल्ल.ले बयान गर्नु हुन्छ-“जुन व्यक्तिले फर्ज़को नमाज़ पुरा गरेर सोही स्थानमा बस्छ र जब सूर्य उदय हुन्छ फेरि दुई रकअत नमाज पढ्छ भने उसलाई एक उमरा र एक हज्जको पुरा पुण्य मिल्दछ ” । (तिर्मिज़ी)

तरावीहको नमाज़ः रमज़ानमा तरावीहको नमाज नबी स.अ.व.को सुन्नत (नियम) हो, यसको महत्वको बारेमा नबी स.अ.व.ले बयान गर्नु हुन्छ-“जुन व्यक्तिले पुण्यको संकल्प गरेर रमज़ान महिनामा रोज़ा राख्दछ उसको पहिलेका सम्पूर्ण पापहरु क्षमा गरिदिनेछ ” । (ब़ुखारी, मुस्लिम)

सही हदीसमा उल्लेख भए अनुसार तरावीह नमाज र वित्र सहित एघार रकअत पढ्नु प्रमाणित छ, आठ रकअत तरावीह र तीन रकअत वित्र।

रमज़ानको अन्तिम दश रातमा मस्जिदमै बसेर अल्लाहको उपासना गर्नुलाई एतकाफ भन्दछन्। यस अवस्थामा विवाहमा जन्ति, शबको मलामी र रोगीलाई भेट्न जान पाइदैन। एतकाफ एक दिन या त्यो भन्दा कम पनि गर्न सकिन्छ । एतकाफमा बस्नेले उपासनाको नियतले एक्काइसौं रमज़ानको विहान देखि बस्नु र ईदको चन्द्रमा देखे पछि वहाँबाट निस्किनु पर्छ। यस अवस्थामा कुरआन पढ्नु, नफिल नमाज पढ्नु र अल्लाहको नाम जपी रहनु पर्छ।

ईदको नमाज़ शुरु हुनु अगाडि नै सद्कातुल फित्र दिनु पर्छ। यसको खास उदेश्य हो रोजामा भएको कमि कमजोरीलाई पुरा गर्नु र गरीव तथा निर्धनहरुलाई ईदको खुशीमा सामेल गर्नु हो।

सद्कातुल फित्र सबा दुई किलो अन्न याने गहुँ, चामल र खजुर आदी चीज दिन सकिन्छ यदी यस्ता चीज नभए सो बराबर मुल्यको पैसा पनि दिन सकिन्छ। यो हरेक व्यक्तिलाई अनिवार्य छ चाहे भर्खरै जन्मेको बच्चा किन नहोस् ।

ईदुल फित्रः रोजा समाप्तिको खुशीयाली मनाउन अल्लाह तआलाले मुसलमानहरुको लागि हर्ष र उल्लासको एक दिन निर्धारण गर्नु भएको छ जसलाई ईदुल फित्र भनिन्छ। वास्तवमा रमज़ानमा अल्लाह तआलाको आज्ञाकारीता पालना गर्ने क्षमता प्रदान गर्नु भएकोमा धन्यवाद ज्ञापन हो। यसैले शव्वलको चन्द्रमा देख्नासाथ यो तकबीर पढ्नु पर्छ-“अल्लाहु अकबर,अल्लाहु अकबर, लाईला’ह इल्लल्लाहु, अल्लाहु अकबर, अल्लाहु अकबर, व लिल्लाहिल हम्द”

अर्थः-“अल्लाह सबैभन्दा महान हो,अल्लाह सबैभन्दा महान हो, अल्लाहको सिवाय कुनै सच्चा पूज्य छैनन्। अल्लाह सबैभन्दा महान हो। अल्लाह सबैभन्दा महान हो र सबै प्रशंसा वहाँकै लागि हो”

ईदको दिन नुहाएर सफा एवं राम्रो कपडामा,सुगन्ध लगाएर,केही खाना खाएर ईजगाहमा जानु पर्दछ र फर्किदा अर्को बाटो आउनु पर्दछ। ईदको नमाज़ दुई रकअत हुन्छ प्रथम रकअतमा तक्बीरे तहरीमा सात पटक भने पछि “अल्लाहु अकबर”भनेर सूर फातिहा पढ्नु र सूर आला पढ्नु पर्दछ र दोश्रो रकअतमा पाँच पटक तक्बीरे तहरीमा पढेर सूर फातिहा पढेर सूर गाशिया पढ्नु पर्छ अनि सलाम फेर्नु पर्दछ अनि खतिबले खुत्बा दिन्छन् । ईदुल फित्र पछि कुनै पनि मुस्लिमले शव्वलको ६ रोजा राख्दछ भने उसलाई एक बर्षको रोजा राखेको पुण्य मिल्दछ ।

मुहम्मद सल्ल.ले भन्नुभयो-“जसले रमजानको रोजा राख्यो र शव्वलको ६ रोजा राख्दछ भने उसले एक बर्षको रोजा बसेको पुण्य मिल्दछ” । (मुस्लिम)

रोजा नराख्नेवाला व्यक्तिको परिणामः जानी बुझि रमज़ानको रोजा नराख्नु महापाप हो । हज़रत अबू उमामा रजि० भन्नुहुन्छ,-मैले अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैही वसल्लमले भनेको सुनेको थिए-“म सुतेको थिए स्वप्नमा मेरो नजिक दुई जना फरिश्ता आए जसले मेरो पाखुरामा समातेर उठाए र एक कठिन पहाडमा लगेर मलाई त्यसमा चढ्नु भने। मैले भनेः म त्यसमा चढ्न सक्दिन। उनिहरुले भनेः तपाई प्रयाश गर्नुहोस् हामी तपाईको मद्दत गर्छौं। मैले त्यसमा चढ्न शुरु गरे,यहाँसम्म कि त्यो पहाडको टाकुरामा पुगें त मैले त्यहाँ चिच्याउने र रुने आवाज सुने । मैले सोधेः यो रुने र चिच्याउने आवाज कस्को हो ? उनीहरुले उत्तर दिएः यो नर्क (जहन्नम) वासीको रुने र चिच्याउने आवाज हो। फेरि मलाई अगाडि लगे जहाँ मैले केही व्यक्तिलाई उधोमुन्टो पारेर झुण्ड्याएको देखे, जसको नाकको नाथ्री चिरिएको थियो त्यसबाट रगत बगिरहेको थियो । मैले सोधेः यी कस्ता व्यक्ति हुन ? उनले उत्तर दिएः यिनीहरु यी व्यक्ति हुन जसले रोजाको दिनमा खानपीन गर्दथे ”। (सहीह अत्तरगीब वत्तरहीब)

अन्तमा यस रमज़ान पर्वको सुवर्ण अवसरमा सम्पूर्ण नेपाली दाजु-भाई तथा दिदी बहिनीहरुमा रमज़ानको रोजा राखि अल्लाहको प्रशन्नता प्राप्ति गर्न सकुन। आमीन्

Related Post