New Muslims APP

कुरआनको बारेमा वैज्ञानिक धारणा

कुरआनको बारेमा वैज्ञानिक धारणा

मानव भ्रुणको विकास क्रम

(क) कुरआनमा उल्लेखित चमत्कारहरुका बारेमा वैज्ञानिकहरुको टिप्पणीः कुरआनमा उल्लेखित चमत्कारहरको बारेमा वैज्ञानिकहरु के भन्दछन् त भन्ने सम्बन्धमा केही वैज्ञानिकहरुको भनाईलाई मैले यहाँ पेश गरेको छु ।

१. डा. T.V.N. Persaud- क्यानडाको मानिटोवा विश्व विद्यालयमा शरीर विज्ञान विभागका विभागिय प्रमुख तथा बालरोग र शिशु स्वास्थ्यका प्रोफेसर हुनुहुन्छ । आफ्नो क्षेत्रमा उनको ठूलो ख्याति छ । वहाँ २५ वटा पुस्तकका लेखक तथा सम्पादक हुनुहुन्छ ।

वहाँका १८१ वटा वैज्ञानिक लेखहरु प्रकाशित भैसकेका छन् । क्यानडामा शरीर विज्ञानको क्षेत्रमा दिइने सर्वप्रतिष्ठित पुरस्कार (Association of Anatomists को J.C.B. Grant Award) १९९१ मा वहाँलाई नै प्रदान गरिएको थियो । वहाँले कुरआनका वैज्ञानिक चमत्कारहरुमाथि अनुसन्धान गर्नु भएको थियो । यस सम्बन्धमा प्रश्न गरिंदा वहाँको उत्तर यस्तो थियोः “मलाई लाग्छ मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम एक साधारण व्यक्ति थिए । उनी पढ्न लेख्न जान्दैनथे । हामी आज भन्दा १४०० बर्ष अघिको कुरा गर्दैछौं । एक जना अनपढ व्यक्तिले विद्वत्तापूर्ण घोषणाहरु गरेको र वक्तव्यहरु दिएको पाउँछौं र वैज्ञानिक प्रकृतिका यी तथ्यहरु आश्चार्यपूर्ण ढंगले शुद्ध र सटीक छन् । यो एउटा संयोगको प्रतिफल कदापि हुन सक्तैन । मेरो के विश्वास छ भने यो पक्कै पनि ईश्वरीय प्रेरणा अथवा प्रदर्शन हुनुपर्छ जसद्वारा मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमले यो धार्मिक सन्देश दिन सफल भए” ।

२. डा. Persaud- ले कुरआनका केही श्लोकहरु तथा मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमका कोही उक्तिहरुको उल्लेख आफ्ना केहि पुस्तकहरुमा पनि गर्नु भएको छ । उनले यी श्लोक र उक्तिहरुको चर्चा कतिपय सेमिनारहरुमा पनि गरेका छन् ।

३. डा. Joe Leigh Simpson- संयुक्त राज्य अमेरिकाको Baylor College of Medicine, Houston,Textan मा Obstetrics & Gynecology (स्त्री रोग र प्रसव विधा) विभागको अध्यक्ष र प्रोफेसर पनि रहि सक्नु भएकोछ । अहिले वहाँ American Fertility Society का अध्यक्ष हुनुहुन्छ । १९९२ को Association of Obstetrics & Gynecology Public Recognition Award का साथै अन्य कतिपय पुरस्कारहरु पनि वहाँलाई प्राप्त भैसकेको छ ।

डा. Simpson ले मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमका निम्न दुई उक्तिहरुको अध्ययन गर्नु भयोः “तिमीहरु प्रत्येकको संरचनाका अवयवहरु तिम्रो आमाको कोखमा चालिसौं दिन भित्रमा एकत्रित गरिन्छ, बयालिस रात बितिसकेको भ्रुणमाथि अल्लाहले एउटा फरिश्ता पठाउँछन् जसले उसको स्वरुप निर्धारण गर्छ र उसमा श्रवण, दृष्टि, छाला, माशपेशि र हाडको रचना गर्छ । अनि उसले प्रश्न गर्छ, हे प्रभु । यो पुरूष हो कि स्त्री ? तब तिम्रो प्रभुले आफ्नो ईच्छानुसार निर्णय गर्नु हुन्छ ।”

डा. Simpson ले यी दुई कुराहरुको विस्तृत अध्ययन गरेपछि टिप्पणी गर्नु भयो कि प्रथम चालीस दिन भ्रुण विकास प्रक्रियाको एउटा स्पष्टसंग छुट्टयाउन सकिने चरण हो । मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमका यी उक्तिहरुको सत्य र निश्चयताबाट डा. Simpson निकै प्रभावित भए । एउटा कन्फ्रेन्समा उनले निम्न लिखित विचार व्यक्त गरेः “उपरोक्त दुई हदीसहरुबाट हामीलाई भ्रुणको प्रथम चालिस दिनको विकासका प्रमुख घटनाक्रमको एउटा निश्चित समय तालिका प्राप्त हुन सक्छ । यी दुई हदीसहरुमा निहित ज्ञान तत्कालीन अवस्थामा उपलब्ध वैज्ञानिक सूचनाको आधारमा प्राप्त भएको हुन सक्तैन । मलाई लाग्छ विज्ञान र धर्ममा कुनै विरोधाभास छैन । बरु धर्मले कतिपय परमपरागत वैज्ञानिक विचारहरुमा नयाँ सोच र दर्शनद्वारा विज्ञानको मार्गदर्शन पनि गर्न सक्छ । कुरआनमा व्यक्त उदगारहरुको विज्ञानद्वारा पुष्टि भएबाट के प्रष्ट भएको छ भने कुरआनमा भएको ज्ञान पक्कै पनि ईश्वरद्वारा प्राप्त भएको हुनुपर्छ ” ।

४. डा. E. Marshall Johnson– संयुक्त राज्य अमेरिकाको फिलाडेल्फियाको Thomas Jefferson University मा Anatomy & Devlopmental Biology विभागको प्रोफेसर तथा सभापति र सोही विश्वविद्यालयको Daniel Baugh Institute का निर्देशक हुनुहुन्छ । उनका २०० भन्दा बढी प्रकाशनहरु छन् । उनी एकताका Tetralogy Society का अध्यक्ष थिए । १९८१ मा साउदी अरबको दम्माममा आयोजित सातौं मेडिकल कन्फ्रेन्समा आफ्नो शोधपत्र प्रस्तुत गर्दै डा. E. Marshall Johnson ले भन्नु भयोः “सारंशमा कुरआनले वाह्य स्वरुपको विकासबारे मात्र हैन भ्रुणको भित्रपट्टि भईराखेको विकास प्रकृयाबारे पनि जानकारी दिन्छ र यी जानकारीहरु आजको विज्ञानले सत्य भनेर प्रमाणित गरिराखेको छ। एक वैज्ञानिकको हैसियतले म केवल ती कुराहरु बारे विचार व्यक्त गर्न सक्छु जुन कुराहरु किटानका साथ देख्न सक्छु । तर यदि म त्यसबेला (१४०० बर्ष अघि) भएको भए मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमले जे कुराहरु भने ती कुराहरु पक्कै पनि भन्न सक्दैनथे । मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमले यी जानकारीहरु कुनै विशेष श्रोतबाट पाईराखेको हुनुपर्ने तथ्य नकार्ने कुनै प्रमाण नभएकोले उनको भनाईमा ईश्वरीय दखल थियो भन्ने कुरो निस्संकोच स्वीकार्न सकिन्छ ।”

५. डा. William W. Hay- संयुक्त राज्य अमेरिकाको कोलोराडो विश्वविद्यालयमा Oceanography को प्रोफेसर र एक बहु परिचित Marine Scientist हुनुहुन्छ । हालै मात्र प्रकाशमा आएका सामुन्द्रिक तथ्यहरुको कुरआनमा उल्लेखको सम्बन्धमा वहाँको भनाई छः “यी कुराहरु कुरआनमा छन भन्ने कुरो साह्रै चाख लाग्दो छ । यी तथ्यहरु कुरआनमा कहाँबाट आए भन्ने कुरा जान्न मसँग कुनै साधन छैन । मलाई लाग्छ यो पक्कै पनि ईश्वरीय सन्देश हुनुपर्छ ।”

६. डा. Gerald C. Goeringer- संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डि.सि. मा जर्जटाउन विश्वविद्यालयको School of Medicine को Cell Biology विभागमा Medical Embryology को प्रोफेसर र संयोजक हुनुहुन्छ । रियाधमा आठौं साउदी मेडिकल कन्फ्रेन्समा आफ्नो शोधपत्र प्रस्तुत गर्दै डा. Goeringer ले भन्नु भयोः “कुरआनको धेरै श्लोकहरु मै भ्रुण (Embryo) निर्माणदेखि अंगप्रत्यङ्गको संरचनाका प्रकृया तथा चरणहरुका बारेमा बहुव्यापक विवरण दिइएको छ । मानव विकासको यस्तो परिपूर्ण र स्पष्ट अभिलेख जस्तै वर्गिकरण, शब्दावली र विवरण यसभन्दा अघि भएको भेटिंदैन । यी मध्येका अधिकांश जानकारीहरुको उल्लेख शताब्दियौं पछिको वैज्ञानिक साहित्यमा मात्रै पाउन सकिंन्छ ।”

७. प्रो. Yusudi Kusan- जापानको Tokyo Observatory का निरीक्षक हुनुहुन्छ । वहाँको भनाई छः “कुरआनमा खगोलविद्या सम्बन्धि यथार्थ तथ्यहरु भएको देखेर म निक्कै प्रभावित भएको छु । आधुनिक खगोलशास्त्रीहरु ब्रह्माण्डको एउटा अति सानो अंशको मात्र अध्ययन गरिराखेको छन् । किनभने टेलिस्कोपको माध्यमबाट आकाशका केही भागहरु मात्र देख्न सकिंन्छ, सम्पूर्ण ब्रह्माण्ड देख्न सकिंदैन । कुरआनको अध्ययनबाट यस विषयमा अनुत्तरित प्रश्नहरुको जवाफ खोजेर ब्रह्माण्डको अनुसन्धानमा म राम्रो भविष्य देख्छु ।”

८. डा. Tejatat Tejasen- थाइलैण्डको Chiangmai University को Department of Anatomy का सभापति एवम Faculty of Medicine का भूतपूर्व Dean हुनुहुन्छ । साउदी अरबको रियादमा आयोजित आठौं साउदी मेडिकल कन्फ्रेन्समा वहाँले घोषणा गर्नुभयोः “कुरआनको अध्ययन तथा यस कन्फ्रेन्सबाट पाएको यस जानकारी अनुसार मलाई पूर्ण विश्वास भईसकेको छ कि कुरआनमा जे जति कुराहरु आजभन्दा १४०० बर्ष अघि भनिएका छन् ती सबै पूर्णतया सत्य छन् । यी कुराहरु आज वैज्ञानिक तथ्यहरुबाट प्रमाणित गर्न सकिंन्छ । मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम अनपढ भएका हुनाले उनी पक्कै पनि विधाताका सन्देशवहाक हुनुपर्छ जसबाट यी जानकारीहरु उनलाई प्राप्त हुन्थ्यो र उनी जनसमक्ष ती जानकारीहरु राख्थे र जुन आज कुरआनको रुपमा हाम्रो सामु रहेको छ । यो विधाता पक्कै पनि ईश्वर तथा अल्लाह हुनुपर्छ”

पवित्र कुरआनमा वैज्ञानिक चमत्कारका यी उदाहरणहरु र यस सम्बन्धमा वैज्ञानिकहरुको टिप्पणी पढी सके पछि हामी आफैलाई केही प्रश्नहरु सोधौः

A.हालैका वैज्ञानिक अन्वेषणहरु र आजभन्दा १४०० बर्ष अघि अवतरण भएको कुरआनमा यस्तो सामान्जस्यता र एकरुपताको केवल एउटा संञ्योग हुन सक्छ ?

B. के यो कुरआन मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम अथवा अरु नै कुनै व्यक्तिद्वारा (आफ्नै ज्ञानको आधारमा) लेखिएको हुन सक्ने सम्भावना छ ?

यी प्रश्नहरुको एउटै उत्तर छ र त्यो हो “नाई, यो कदापि सम्भव छैन र कुरआन पक्कै पनि अल्लाह (ईश्वर) कै वाणी (शब्द) हरु हुनुपर्छ जुन उनले एउटा माध्यमद्वारा अवतरण (प्रकट) गराएका हुन्।”

(ख) कुरआनको जस्तै एउटै मात्र अध्याय पनि रचना गरि देखाउन कुरआनको चुनौतिः

अल्लाहले कुरआनमा भन्नु भएको छः “र यदि तिमीहरुलाई हामीले हाम्रो भक्त मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको माध्यम अवतरण गराएको कुरआनमा शंका लाग्छ भने यसको जस्तो एउटै अध्याय बनाएर देखाउ र अल्लाहका अतिरिक्त तिम्रा सबै सहयोगीहरुलाई पनि बोलाएर ल्याऊ यदि तिमीहरु सत्यवादी हौ भने  र यदि तिमीहरु यस्तो गर्न सक्दैनौं, भने नर्कको आगो देखि डराउ, जसको ईन्धन मानिसहरु र ढुंगाहरु हुनेछन् । यो अविश्वासीहरुको लागि तयार पारिएको हो । र (हे मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम)  विश्वासी र सत्कर्मीहरुलाई सुसंवाद सुनाईदेऊ कि उनीहरुका लागि बगैंचाहरु (स्वर्ग) छन् जसमा नदीहरु बग्दछन्……।”(कुरआन, २, २३-२५)

१४०० बर्ष अघि कुरआनको अवतरण भएदेखि आजसम्म कोही पनि कुरआनको जस्तो सुन्दर, वाकपटुता, वैभव, बुद्धिमत्तापूर्ण विधि निर्माण, सत्य सूचना, सटीक भविष्यवाणी आदि जस्ता गुणहरु भएको एउटै अध्याय पनि रचना गर्न सकेका छैनन् । विचार गर्नुहोस् कुरआनको सबैभन्दा सानो अध्याय (सूर) केवल १० वटा शब्दहरु छन् र पनि आजसम्म कसैले कुरआनको यस चुनौतिलाई स्वीकार गर्न सकेका छैनन् । मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमका शत्रु केही अरबका अविश्वासीहरुले उनी अल्लाहका पैगम्बर होइनन् भन्ने कुरा प्रमाणित गर्न यो चुनौति स्वीकार्ने प्रयास गरे तर सफल भएनन् । कुरआन उनीहरुकै भाषा र बोली (Dialect) मा भएता पनि, र । मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको समयमा अरबहरु अति वाकपटुता र सुन्दर कविताहरु लेख्न सिपालु हुँदाहुदै पनि, यो कामचाहीँ कसैले गर्न सकेन ।

(ग) कुरआनका केहि भविष्यवाणीहरु पछि सत्य प्रमाणित भएः

कुरआनका भविष्यवाणीहरु सत्य भएको एउटा प्रमाण रोमनहरुको पर्सियनहरुमाथि विजय हो। पैगम्बर। मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको समयमा रोमनहरुलाई पर्सियनहरुले युद्धमा पराजित गरेका थिए। कुरआनले भविष्यवाणी गर्यो कि रोमनहरुले तीनदेखि नौं बर्ष भित्रै पर्सियनहरुलाई पुनः पराजित गर्नेछन्। नभन्दै त्यही भयो । अल्लाहले कुरआनमा भनेः “निकटवर्ती इलाकामा रोमनहरु पराजित भएका छन् र उनीहरु यस पराजय पश्चात, तीनदेखि नौं बर्षभित्रै विजयी हुनेछन्।” (कुरआन, सूरः ३० आयत नं. २-४)

इतिहासले यी युद्धहरुका बारेमा के भन्दछ त ? History of the Byzantine State भन्ने पुस्तकमा लेखिएको छ, सन् ६१३ मा रोमन सेना (Antion) भन्ने स्थानमा नराम्रोसंग पराजित भएको थियो । जसको फलस्वरुप पर्सियनहरु चारैतिरबाट द्रुतगतिले अगाडि बढे। यस्तो परिस्थितीमा रोमनहरुले पर्सियनहरुलाई फेरि पराजित गर्न सक्लान भनेर कल्पना पनि गर्न सकिंदैन थियो । तर कुरआनले घोषणा गर्यो कि रोमनहरु तीनदेखि नौं बर्ष भित्रमै पुनः विजयी हुनेछन् ।

सन् ६२२ मा, रोमनहरुको उपर्युक्त पराजयको नौं बर्षपछि यी दुई सेनाहरु (रोमन र पर्सियन) बीच आर्मिनियामा पुनः भिडन्त भयो । परिणाम रोमनहरुको निर्णायक विजय । सन् ६१३ को पराजयपछि रोमनहरुको यो प्रथम विजय थियो । कुरआनमा अल्लाहले जे घोषणा गरेको थियो अक्षरशः त्यही भयो ।

यसका अतिरिक्त पनि कुरआनका कतिपय श्लोकहरु एवं मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमका कतिपय भनाईहरु यस्ता छन् जसमा गरिएका भविश्यवाणीहरु कालन्तरमा सत्य प्रमाणित भएर आए ।

स्रोतः इस्लामको वैज्ञानिक विश्लेषण तथा कुरआन मजीद

Related Post