New Muslims APP

सन्देशवाहक मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) र उहाँका शिक्षाहरु

फुल

मुहम्मद सल्ल. मुर्खहरुको साथ पनि नरम व्यवहार गर्दथे र अत्याचारीलाई पनि क्षमा गर्दथे।

सन्देशवाहक मुहम्मद (सल्लल्लाहु अलैही व सल्लम) को बारेमा आज मानिसहरु के आरोप लगाउँछन् भने इस्लाम धर्मले आतंकवाद सिकाउँछ, मुसलमानहरु आतंकवादी हुन्छन् र मुहम्मद(सल्लल्लाहु अलैही व सल्लम) ले आतंकवादका शिक्षा दिएका छन्। पश्चिमी समाज यस्तो आरोप लगाउनेहरु मध्ये सबै भन्दा बढी देखिएका छन् । सेप्टेम्बर 11 को घटना पछि त पश्चिमी समाजले मुसलमानहरुलाई आतंकवादी सिद्ध गर्न आफ्नो सम्पूर्ण शक्ति लगाएको थियो । मुहम्मद (सल्लल्लाहु अलैही व सल्लम)लाई अपशब्दले सम्बोधन गर्ने र तथानाम किसिमले गाली गर्ने गर्छन्। केही वर्ष अगाडि नर्वेको एउटा पत्रिकामा मुहम्मद (सल्लल्लाहु अलैही व सल्लम) को कार्टुन छापिएको थियो। जसमा उहाँलाई एउटा आतंकवादीको रुपमा प्रस्तुत गरिएको थियो। मुसलमानहरुले त्यस कार्टुनको विरोध गर्दा युरोपका अन्य कयौं पत्र-पत्रिकाले मुसलमानहरुको भावनामा चोट पुर्याउन पुनः त्यस कार्टुनलाई छापेका थिए। फलस्वरुप त्यसको विरोध प्रदर्शनमा कयौं मुसलमानहरुले ज्यान गुमाउनु पर्यो। युरोपका पत्रकारहरुको भनाई के थियो, यो प्रेश स्वतन्त्रताको अधिकार हो रे। उनीहरुले जे जति पनि छाप्न सक्छन् रे । अब यहाँ प्रश्न के उठ्छ भने के कसैको भावनालाई चोट पुर्याउने खालका कार्टुन वा लेख छापेर प्रेस-स्वतन्त्रताको अधिकार जताउनु उचित कुरा हो त ? तर जे भने पनि कुरा घुमी फिरी त्यहीं पुग्छ अर्थात बलियाले गरेका सबै कुरा ठिक र निर्बलले गरेका सबै कुरा बेठिक । यस घटनाले पनि यसै कुराको पुष्टी गर्दछ कि पश्चिमी समाज जुनसुकै मुल्य र मान्यतामा पनि मुसलमान र इस्लाम धर्मलाई आतंकवादी सिद्ध गर्न लागि परेको छ। म यहाँ मुहम्मद (सल्लल्लाहु अलैही व सल्लम) को जीवनकालको एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु। मुहम्मद (सल्लल्लाहु अलैही व सल्लम) लाई आतंकवादीको रुपमा चित्रण गर्ने व्यक्तिहरुले पनि यसमा विचार गरून् । प्रथम र द्वितीय विश्व युद्ध तथा इराक र इरान एवं अफगानिस्तानको युद्धमा गरी एक करोड भन्दा बढी मानिसहरुको मृत्यु भई सकेको छ । यसको विपरित मुहम्मद (सल्लल्लाहु अलैही व सल्लम) को जीवन कालमा  भएका युद्धहरुमा जम्मा एक हजार अठ्ठार व्यक्तिहरुले ज्यान गुमाएका थिए, जसमध्ये 259 मुस्लिम र 759 गैर मुस्लिम थिए । प्रथम र द्वितीय विश्व युद्धको कुरै छाडौ, इराक र अफगानिस्तानको युद्धलाई मात्रै हेरौं जहाँ एक जनाको गल्तीको निहुमा दुवै राष्टलाई ध्वस्त पारियो । ती राष्ट्रहरुका पुरात्त्विक, ऐतिहासिक, सांस्कृतिक, धार्मिक र अन्य महत्त्वपूर्ण संरचनाहरु ध्वस्त भएका छन् । युद्ध र आर्थिक नाकाबन्दीका कारण दुवै देशमा बालकदेखि वृद्धसम्म लाखौं मानिसहरुको मृत्यु भएको थियो । लाखौं निर्दोष मानिसको ज्यान लिने पश्चिमी समाज आफुलाई चोखो ठान्दछ र मनवताको पाठ सिकाउने मुहम्मद (सल्लल्लाहु अलैही व सल्लम) लाई आतंकवादी सिद्ध गर्न खोज्दछ । वास्तवमा यस्तो आरोपमा कुनै सत्यता छैन । यस्तो आरोप अल्पज्ञान र पूर्वाग्रही भावनाले उत्प्रेरित भएर लगाइएको हो ।

मुहम्मद (सल्लल्लाहु अलैही व सल्लम) दयाको प्रतिमूर्ति हुनुहुन्थ्यो। 23 वर्षको ईशदूतत्व (Prophethood) कालमा उहाँको 13 वर्ष मक्कामा बित्यो र मक्काका काफिरहरुले लगातार 13 वर्षसम्म उहाँ र उहाँका साथीहरुमाथि अन्याय र अत्यचार गरि रहे तापनी उहाँले अहिंसा र धैर्यताको बाटो छोड्नु भएन । अत्याचार हदैसम्म बढेपछि उहाँले मक्का छोडेर जानु पर्यो। तर मक्काका गैर मुस्लिमहरुले मदीनामा पनि उहाँ र मुसलमानहरु विरुद्ध षडयन्त्र गरिरहे । मुहम्मद (सल्लल्लाहु अलैही व सल्लम) ले अन्तिम सिमासम्म धैर्यता अपनाउनु भयो । विवश भएर उहाँले सत्यको रक्षा र स्थापनाको लागि युद्धको बाटो रोज्नु पर्यो। तर उहाँद्वारा गरिएका युद्धहरु आक्रमक नभई रक्षात्मक थिए । ध्यान दिनु पर्ने अति महत्वपूर्ण कुरा के छ भने जुन मक्कावासीहरुले उहाँ र मुसलमानहरुमाथि भयानक अत्यचार गरेका थिए, उहाँद्वारा मक्कामाथि विजय प्राप्त गरेपछि ती मक्कावासीहरु डरले थुर-थुर कामिरहेका थिए कि आज मुहम्मद (सल्लल्लाहु अलैही व सल्लम) ले हामीसँग अत्याचारको बदला लिनेछन् तर उहाँको दयालुता हेर्नुहोस् , उहाँले आफु र मुसलमानहरुमाथि 23 वर्षसम्म भएको अन्याय र अत्याचारलाई सहेर मक्कावासीहरुलाई क्षमा गरी अंगालो हाल्नु भयो। यस्तो उदाहरण कहीं कतै पाइदैन ।

यसबाट के प्रमाणित हुन्छ भने इस्लामको अन्तिम अदेश्य संसारमा शान्ति स्थापना गर्नु र आतंकवादको विरोध गर्नु हो । जसलाई मुहम्मद (सल्लल्लाहु अलैही व सल्लम) ले व्यवहारिक रुपमा गरेर देखाउनु भएको थियो । मुहम्मद (सल्लल्लाहु अलैही व सल्लम) अल्लाहका अन्तिम सन्देशवहाक हुनुहुन्थ्यो । वहाँको सम्पूर्ण जीवनको एक एक कुरा जन्म देखि मृत्युसम्मका क्रियालकापलाई लिपिवद्ध गरिएको छ। उहाँद्वारा भनिएका र गरिएका सम्पूर्ण कुराहरु सङ्ग्रहित छन् जसलाई हदीस भनिन्छ । हदीसका थुप्रै सङ्ग्रहहरु छन् जसमध्ये बुखारी, मुस्लिम, तिर्मिजी, अबूदाऊद, नसाई, इब्नमाजह आदी प्रसिद्ध सङ्ग्रहहरु हुन् । यिनीहरुको प्रमाणिकतामा कुनै प्रकारको सन्देह गर्ने ठाउँ छैन । यी सङ्ग्रहहरुलाई सङ्ग्रहित गर्ने मानिसहरुले आफ्नो सम्पूर्ण जीवन यसै कार्यका लागि समर्पित गरिदिएका थिए । कुनै पनि हदीस सङ्ग्रहित गर्नु भन्दा पहिले त्यो हदीस कुन कुन मानिसहरुको माध्यमबाट वर्णन हुँदै सङ्ग्रहकर्तासम्म पुगेको छ, सङ्ग्रहकर्ताहरुले ती मनिसहरुको चरित्रबारे निक्कै छानविन गर्ने गर्दथे । कुनै व्यक्तिको चरित्रमाथि अलिकति मात्र शंका भएको खण्डमा त्यस्ता हदीसलाई सङ्ग्रहमा सम्मिलित गर्दैनथे । हदीस वर्णन गर्ने मानिसको चरित्र माथि यतिसम्म ध्यान दिइन्थ्यो कि यदि कुनै मानिस कुनै चीज खाँदै बाटोमा हिंड्दै गरेको पाइन्थ्यो भने त्यसले वर्णन गरेको हदीसलाई सत्यताको कसीमा खरो मान्दैनथे किनभने बाटोमा हिंड्दा-हिंड्दै केही कुरा खानु इस्लाम धर्ममा राम्रो आचरणको प्रतिक मानिदैन । हदीस वर्णन गर्ने व्याक्तिहरुको चैनलाई राबी भनिन्छ । राबी भनेको के हो यो उदाहरणबाट प्रष्ट पार्न चाहन्छु । मानौ मुहम्मद (सल्लल्लाहु अलैही व सल्लम) द्वारा भनिएको वा गरिएको कुनै कुरा (हदीस) को वर्णन चारजना मानिसहरु क,ख,ग,घ को माध्यमबाट सङ्ग्रहकर्तासम्म पुग्छ ।-

हदीस- क-ख-ग-घ- हदीसको सङ्ग्रहकर्ता अर्थात मुहम्मद (सल्लल्लाहु अलैही व सल्लम) द्वारा भनिएका वा गरिएका कुरा ‘क’ व्यक्तिले सुन्यो वा देख्यो, त्यसले ‘ख’ व्यक्तिलाई भन्यो,  ‘ख’ ले ‘ग’ लाई भन्यो र ‘ग’ ले ‘घ’ लाई भन्यो तथा ‘घ’ व्यक्तिले हदीस सङ्ग्रह गर्ने व्यक्तिलाई भन्यो । यहाँ हदीस सङ्ग्रह गर्ने व्यक्तिले क, ख, ग, घ, भन्ने व्यक्तिहरुको बारेमा छानविन गर्ने गर्दथे र कुनै एक व्यक्तिको चरित्रमाथि शंका मात्र भएमा त्यस हदीसलाई सङ्ग्रहित गर्दैनथे । यस प्रकार सत्यताको कसीमा प्रमाणित सङ्ग्रह संसारका अन्य कुनै पनि धर्ममा पाइदैन । अतः यदि कसैलाई सन्देशवहाक मुहम्मद (सल्लल्लाहु अलैही व सल्लम) ले दिनुभएको शिक्षामाथि शंका लाग्दछ भने उनको हदीसका सङ्ग्रहहरुको अध्यायन गरे पुग्छ  ।

स्रोतः- इस्लाम र विश्वशान्ति

लेखकः- हिफ्जुर्रहमान(एम.एस्सी.)

Related Post