मित्रता दिवसः साथी कति प्रकारका हुन्छन् ?

मित्रता दिवसः

मित्रता दिवसः साथी कति प्रकारको हुन्छ ?

मित्रता दिवसःआपसी रिस राग र शत्रुता छ भनें त्यसलाई छोडौं, हामीहरु मध्ये जसले पहिले आफ्नो साथिलाई माफ गर्छ त्यो व्यक्ति नै महान हो। साथी भनेको ऐना हो । ऐनाले आफ्नो अनुहारमा जे छ त्यो स्पष्ट देखाउँछ । असल साथिले त्यो हो, जसले आफ्नो साथिको कमी कमजोरी अर्थात अवगुणहरु एकान्तमा राखेर सम्झाउने कोशिस गर्छ । खराब साथी त्यो हो जसले आफ्नो मित्रको पछाडी कुरा काट्दै हिंड्छ । जसले आफ्नो मित्रको उसको पछाडि कुरा काट्छ, मानौ उसले आफ्नो मरेको भाईको मासु लुछि लुछि खाई रहेको छ।
सुदामाले कृष्णलाई सोधे.. कृष्ण ! मित्रताको मतलब के हो ?
आफ्नो हितैषी मित्र सुदामाको प्रश्न सुनेर कृष्णले उत्तर दिए, “हेर सुदामा जुन कुरामा स्वार्थ लुकेको हुन्छ, त्यो मित्रता होइन र असल मित्र हुनकालागि नि:स्वार्थ भावना हुन जरुरी छ ।”

साथी कति किसिमका हुन्छन् ?

साथीहरु सात किसिमका हुन्छन्,

हेलो साथी,

भलो साथी,

मित साथी,

जीवन साथी वा संगिनी,

बालापनको साथी,

युवा साथी,

वृद्ध साथी ।

हेलो साथीः भेटघाटको समय हाई हेलो भन्ने तर खासै नजिक पनि होइन तर चिनजान भएको साथी हो । कुनै सहयोग पनि नगर्ने र टाढा पनि नहुने र नजिक पनि न रहने हेलो साथी हो ।

भलो साथीः साथीलाई समश्या पर्दा साथ दिने मित्रलाई भलो साथी भनिन्छ। जस्तैः बिमारी पर्दा, आर्थिक संकट पर्दा, दुश्मनको घेरामा पर्दा, अर्थात जीवनको हरेक मोडमा साथीलाई दियो ज्यान दिएर सहयोग गर्ने साथी नै भलो साथी हो । जस्तैः महाभारत युद्धमा अर्जुनलाई, कृष्णजीले साथ दिएका थिए। त्यसैगरी भलो साथीले आफ्नो साथीलाई लडाईमा शत्रुको घेरामा छोडेर आफु पिठ फर्काएर भाग्दैन। उदाहरणको लागि उहुदको युद्धमा आफु मरेर पनि अल्लाहका रसूलको ज्यान जोगाएका थिए। अल्लाहका रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) को मिल्ने साथी अबु बक़र सिद्धिक थिए।

मित साथीः मित साथी र भलो साथी पनि उस्तै उस्तै हो तर केही गुणमा फरक हुन्छ । मित साथीहरु बीच धनी र गरिबको भेदभाव हुँदैन, न जातिय भेदभाव हुन्छ, न वर्ग बीच भेदभाव हुन्छ । जस्तैः कृष्ण र सुदामा मित हुन् तर उनीहरु बीच धेरै गुणहरु फरक छ । कयौं यस्ता महान व्यक्ति पनि छन् तर उनको मित सामान्य परिवारका हुन्छन् । यो यस्तो पवित्र बन्धन हो ।

जीवन साथी वा संगिनीः जीवन साथी भनेको श्रीमान् र श्रीमती हुन् । श्रीमान श्रीमती बीच हरेक व्यवहारिक कुरामा सरसल्लाह र छलफल गर्नुपर्छ । तर हामीहरुमध्ये केही व्यक्ति यस्ता छौं कि श्रीमतिको केही कुरा सुन्न नचाहने तर आफ्नै हरेक कुरा श्रीमतिले मान्नु पर्छ भन्ने घमण्डी स्वाभावको हुन्छौं । यो मानसिकता गलत हो किनभने श्रीमान र श्रीमति भनेको एक रथका दुई पाँग्रा हुन, के एउटा पाँग्राले रथ चल्छ त ? कदापि चल्दैन । श्रीमति श्रीमिनको सेवामा जति धेरै खटेकी हुन्छिन्, उसको श्रीमान आफ्नी श्रीमतिको सेवामा त्यति खटेर सहयोग गरेको पाईदैन त्यसैगरी केही श्रीमान असल हुन्छ त उसकी श्रीमति बदमास हुन्छे। नाठो सित लागेर आफ्नो श्रीमानको हत्या गर्ने खालका पनि हुन्छन् । त्यसैगरी कोही श्रीमान पनि अर्की केटीसँग लागेर घरकी श्रीमतिलाई हेला गर्ने, मानसिक तथा शारिरिक यातना दिएर सताउने गर्छ। कोही कोही मूर्ख श्रीमानले त त्यो केटीको कुरामा लागेर यसलाई पन्छ्याई दिए टन्टै साफ भनेर हत्या गर्न पनि पछि पर्दैन । यसो गर्नु जीवन साथी वा संगिनी बीच प्रेम र मिलनको बीच ठूलो दुर्भाग्य हो ।
श्रीमति श्रीमान मध्ये कोही एक बिमारी या अशक्त हुँदा उनको उपचार, स्याहार र खानपानमा विशेष ध्यान दिएर सहयोग गर्नु परम कर्तव्य हो । उदाहरणको लागि अय्युब अलैहिस्सलाम 18 बर्षसम्म बिमारी हुँदा उनकी श्रीमतिले सेवा गरेकी थिइन। ती हुन् असल जीवन संगिनी । तर बिडम्बना हामी देख्छौं आफ्नी श्रीमति होस् या श्रीमान् केही दिन बिमारी भयो, त्यो विमारीलाई सहानुभूति दिनु स्याहार गर्नु त कता हो कता उल्टै झर्को मान्ने, रिसाउने गरेको देख्छौं ।

बालापनको साथीः बालक कालमा साथमा रमाउने खेल्ने साथीहरु पछि गएर हितैषी साथी पनि बन्न सक्छन् तर कोही साथी उच्च ओहोदा र धनाढ्य भएपछि आफ्नो साथीलाई भुल्न पनि सक्छन् त्यो पद र धनको घमण्डले गर्दा यस्तो भएको हुन्छ । जो धनाढ्य साथी छ उसले त यो कुरा सम्झिदैन कि हामी सानो हुँदा सँगै लुकामारी खेलेको, सँगै पढेको, सँगै खाएको सबै भुल्छ तर त्यो गरिब साथीले भुलेको हुँदैन । नेपालीमा एउटा उखान छः ‘गाँस छाड्नु तर साथ नछाड्नु’ ।

युवा साथीः जब हामी बालपनबाट युवा अवस्थामा पुग्छौ त्यसपछि कोही साथीले आफ्नो युवा साथीलाई छोडेर युवती साथीतर्फ नजिक हुन खोज्छ, अनि आफ्नो साथीलाई भुल्न थाल्छ। त्यही कारणले कहिले काहीं तिनै युवती साथीको प्रेममा फाटो पर्यो भने त्यही साथीलाई गुहार्न जान्छ । यदि साथी विवेकशिल र ज्ञानी छ भने सही मार्ग देखाउँछ तर बुद्धिहिन छ भने हत्या गर्ने योजनामा साथ दिन्छ जसको फलस्वरुप आफु पनि जेलमा जान्छ र साथीलाई पनि जेलमा पुर्याउँछ । खराब साथीको कारणले कुनै आमा बाबाको काख रित्याई दिन्छ। युवक साथीको कारणले मानिस सही बाटो लिन पनि सक्छ र खराब बाटो लिन पनि सक्छ । त्यसकारण हामीले असल साथीको संगत गर्नुपर्छ । साथीको संगतको बारेमा एउटा सानो टुक्रा राख्न चाहें । जसको शब्द रचना चाँदनी शाहले गर्नु भएको हो ।
“एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा
एउटा साथीको साथले कति फरक पार्दछ जिउनुमा”

वृद्ध साथी- जब हामी युवा अवस्थाबाट वृद्ध आवस्थामा पुग्छौ तब हामी होसियार हुन्छौं तर कुनै मित्र वृद्ध अवस्थामा पनि उल्टो बुद्धि सिकाउने गर्छन् भने कोही सुमार्गमा लाग्न प्रेरणा दिने हुन्छन् । खास गरी वृद्ध अवस्थामा पुग्दा हामीलाई साथि नै भए पनि धन सम्पत्ति, जग्गा जमीन र आर्थिक लेनदेनको कारणले साथीको मन दुखाउने काम गरेका हुन्छौं । यो ठूलो भूल हो । हामी मरेर जाँदा हाम्रो साथमा केही जाँदैन तर पनि हामी संसारिक लोभ लालचमा परेर आफ्नो साथी गुमाउन पुग्छौं । त्यही बालापन र युवा अवस्थाका साथी नै वृद्ध अवस्थामा धन घनिष्ट साथी हुनु पर्थ्यो तर बिडम्बना जति वृद्ध अवस्थामा पुग्छौं त्यति नै धन सम्पत्ति प्रति लालच बढ्ने भएको हुनाले मित्रतामा खलल पुग्न जान्छ ।

हरेक वर्षको अगस्त महिनाको पहिलो आइतबार विश्वभर मित्रता दिवसको उपलक्ष्यमा सबैले आ-आफ्ना मित्रहरुलाई सन्देश पठाउने, भेट्ने, सम्बन्ध सुधार्ने अनि केही उपहारहरु साटासाट गर्ने चलन छ ।

नेपालमा पनि विभिन्न प्रकारका कार्यक्रम, भेटघाट गरी उत्साहका साथ मित्रता दिवस मनाइन्छ । संगै पढेका, संगै खेलेका, संगै काम गरेका मित्रहरुलाई आफुबाट केही गल्ति भए क्षमायाचना गर्दै पुरानो रिस राग, झगडा, दुश्मनीलाई मित्रता, माया प्रेममा परिणत गर्नु पर्छ तब मित्रता दिवसले सार्थकता पाउँछ । एक आपसमा माया र सदभाव भयो भने मात्र त्यो घर, काम गर्ने ठाउँ, र त्यो समाज स्वर्गिय झै लाग्नेछ, अन्यथा त्यही ठाउँ नर्क तुल्य महशुस हुन्छ । त्यसैले हामी आजै देखि एक आपसमा झगडा, बैमनस्यता यदी छ भनें त्यसलाई त्यागेर मित्रता दिवसमा पानीको भेलले फोहोरहरु बगाए झैं बगाउनु होस् । तँ भने पनि या तपाई भने पनि या तिमी भने पनि मित्रता कायम राखौं । साथी भनेंको हृदयको ऐना हो । यस सम्बन्धलाई सदैव स्वच्छ र खुल्ला राखियोस् । राम्रो साथी बन्न र बनाउन प्रेरणा मिलोस् यही कामना गर्दछु।

Related Post