New Muslims APP

महिला हिंसा, अधिकार र इस्लाम

महिला हिंसा

महिला हिंसा, अधिकार र इस्लाम

महिला हिंसा, अधिकारको बारेमा इस्लामिक धर्मग्रन्थ कुरआनमा के सन्देश दिएको छ र गैर इस्लामिक समाजमा महिला हिंसा, अधिकारको बारेमा के कस्तो उपलब्धि भएका छन् हामी निस्पक्ष ढंगले तुलनात्मक रुपमा अध्ययान गरौं।

विश्वमा दुई जात महिला अनि पुरुष छन् । सृष्टि सञ्चालन र यसलाई निरन्तरता दिन यी दुवैको आवश्यकता पर्छ । आजको विश्वमा प्राय सबैभन्दा बढि सुनिने शब्द, रेडियो, टि.भि.बाट धेरै बज्ने शब्द, अखबारमा धेरै पढ्न पाइने शब्द ‘महिला’ अनि यहि महिलाको पछि आउने  शब्द अधिकार, हिंसा, समान्ता, स-शक्तिकरण आदि इत्यादि । लिङ्गका आधारमा २ जात छन् महिला अनि पुरुष, अनि यहि लिङ्गका आधारमा महिलामाथि समाजका बुजरुकहरुले गर्ने कुनै पनि किसिमको कार्य जुन निजी जीवनमा घट्ने गर्दछ । जसले महिलाको शारीरिक, मानसिक वा यौनिक हानी पुर्याउँछ । यसलाई नै भनिन्छ महिला  हिंसा । विश्वमा आधा आकाश ओगटेका महिलाहरु घर, छिमेक, राज्य, जहाँ सुकै पनि हिंसामा परेका छन् । आजको २१ औं शताब्दि अनि विज्ञान, प्रविधिको युगमा आइपुग्दा पनि नारीहरु आफ्नो हक र अधिकारका लागि भैतारिहरनु परेको छ । पृथ्वीमा बस्ने सम्पूर्ण जनावर, चराचुरुङ्गीहरु बासस्थानमा राती पुगेपछि अनि आफ्नो साथी, परिवार भेटेपछि सुरक्षित महसुस गर्छन् तर आज २१ औं शताब्दीको नारी जो आफ्नै घरमा अनि आफ्नै मानव जातिसँग पनि सुरक्षित महसुस गर्न सकेका छैनन् ।

मानव सभ्यताको उषाकालमा महिला र पुरूषबीच भेदभाव थिएन । जब समाज शिकारी युग, दास युग, कृषि युग हुँदै सामन्ति, पुँजीवादी युगमा आइपुग्यो तब महिला र पुरुषको भूमिका तथा दुवैलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आयो । महिलालाई आमाका रुपमा, छोरीको रुपमा,  ममताको खानीको रुपमा व्याख्या गरिन्छ, तर महिलालाई महिलाको रुपमा कहिल्यै पनि व्याख्या गरिदैन । आजको २१ औं शताब्दिमा आइपुग्दा पनि महिलामाथिको हिंसा, पीडादायक, कष्टकर र जटिल बन्दै गइरहेको छ । विवाह एउटा रमाइलो, ठट्टाको अनि वैवाहिक बलात्कारको अनुमति पत्र बन्दैछ । समाजमा हिंसा, भेदभाव, दमनको नयाँनयाँ रुपहरु देखा पर्दैछन् । पहिला जिस्क्याउने, हल्का कुटपिट गर्ने, हिंडडुल गर्न नदिने, मन दुखाउने कुरा गर्ने, होच्याउने जस्ता विकृति हाल सुन्न पनि लाज, घृणा र मर्माहित हुने भएको छ । आफ्नै बुबाबाट ५ वर्षको छोरीको करणी भएको छ । ९० वर्षको हजुरआमाको आफ्नै नाति वा नाति सरहको व्यक्तिबाट बलात्कार भएको छ । जुनी जुनी बाँच्ने र साथ दिने कसम खाएर विवाह बन्धनमा बाधिएको नारी आफ्नै पतिबाट मृत्युवरण गर्न बाँध्य छे । आज एउटी नारी निर्धक्क बाटामा हिँड्न सक्दिनन्, सुविधारहित यात्रा गर्न सक्दिनन्, नोकरीमा सुरक्षित छैनन् । यहिँबाट प्रष्ट हुन्छ समाजमा कति विकृति छ भन्ने कुरा मान्छे कति कलङ्कित् हुँदैछ । महिलाको आफ्नै शरिरमाथि कुनै हक, अधिकार हुदैन, नीति निर्णयमा सहभागिता न्युन हुन्छ । आफ्नो नाममा सम्पति हुँदैन अनि भएको सम्पति पनि पतिलाई या बाबुलाई नसोधी उपयोग गर्न पाउदिनन् । छोरी जन्माउनु महिलाकै कमजोरी ठानिन्छ । महिलाहरु धर्तिमा मात्र होइन आमाको कोखबाट नै हिंसाका शिकार भएका छन् । गर्भमा छोरी भए भ्रुण हत्या गरिन्छ तर छोरा भए भ्रुण हत्या वा गर्भपतन गराएको घटना छैन । यदि जन्मिहाले भने पनि पलपल, क्षणक्षण विभेद, दमनमा बाँच्न बाध्य हुन्छे । जब उ बढ्दै जान्छे पालनपोषणमा विभेद हुन्छ । छोरो बोडिङ्ग स्कुल पढ्न  जान्छ तर छोरी घरको सबै काम सकेर मात्र पढ्न पाउँछे । बेलुका घर आएपछि छोरा खाजा खाएर पढ्न वा खेल्न थाल्छ तर छोरी घर भित्र पस्न नपाउदै ऊ माथि कामको सूचि अगाडि आइपुग्छ । हाम्रो घर, परिवारमा त छोरीलाई सम्मान, कदर गरिदैन भने घरबाहिरको अवस्था झनै कल्पना गर्न गाह्रो छ ।

एउटा विद्यालयमा गएकी छोरी शिक्षकबाट विभिन्न बहानामा दुर्व्यवहार सहन बाध्य हुन्छिन् । कहिले स्याबासी पाउने नाममा अनि कहिले ट्यूसन पढाउने नाममा अनि कहिले लेख्न सिकाउने नाममा उ माथि शिक्षण संस्थामा शिक्षक जस्तो पवित्र स्थान अनि पवित्र व्यक्तिबाट कुदृष्टि र नराम्रो काम हुने गर्दछ । आफैसँग पढ्ने सहकर्मी साथीबाट समेत ऊ अछुतो रहन पाउँदिन । ऊ यस्तै यस्तै वातावरणमा कष्टकर जीवन व्यथित गरिरहेकी हुन्छिन् । जब रजस्वला हुन्छ फेरि त्यहाँ अर्कै प्रकारको कष्टकर जीवन सुरु हुन्छ । कसैलाई हेर्न नहुने, छुन नहुने, दही, दुध जस्ता पोषिला खाना खान नहुने अझ नेपालको सुदुरपश्चिमा छाउपडि प्रथा जहाँ महिलाहरुलाई रजस्वला भएको बेला छुट्टै घर वा गोठमा राखिन्छ । न त समयमा खान पाउँछे, न त त्यहाँ सफा वातावरण नै हुन्छ । यस्तै छाउपडी बसेकै स्थानमा मृत्यु हुन्छ । अनि नेवारी समुदायमा गुफा राख्दा पनि कतिपयको ज्यान जाने खतरा प्रबल हुन्छ ।

यौवन अवस्थामा ऊ झनै हिंसाकृदृष्टि अनि दूर्व्यवहार भोग्न वाध्य हुन्छे । प्राकृतिक रुपमानै विपरित लिङ्ग एक अर्कामा आकर्षित हुन्छन् तर संयमित हुन नसक्दा त्यो आकषर्णले यौनको रुप लिन्छ । अनि विवाह अगाडि नै आफ्नो कुमारीत्वअस्तित्व सदाका लागि गायब हुन्छ ।

हाम्रो समाजमा महिलाको स्तर बढाउन, महिला अधिकारका नाममा हुने विभिन्न प्रतियोगिता तथा स्वतन्त्रताले झनै महिलाको यौन शोषण हुने गर्दछ, । सुन्दरी प्रतियोगिता, मिस नेपाल केवल ठूला उद्योगबाट उत्पादित वस्तुहरुको बिक्री वितरण बढाउनका लागि गरिने विज्ञापनमा बाहेक अन्य यसको कुनै उद्देश्य छैन । विभिन्न Skin Test का लागि नङ्ग्याइन्छ अनि अङ्ग प्रदर्शन गर्दागर्दा शुरु हुन्छ धनाढ्य व्यक्तिबाट यौन शोषण अनि त्यहि Skin Test मा लिइएका फोटोहरु फोहोरी फिल्म बन्नमा मद्दत पुग्छ । अनि मेटिन्छ एउटा नारीको कुमारीत्व, अस्तित्व अनि इज्जत सदाका लागि । विवाह कसैको जबर्जस्तीमा हुन्छ भने कसैको मञ्जुरीमा नै हुन्छ । जसरी भएपनि एउटा महिला जुन धर्ति, आँगनमा जन्मेकी हुन्छे त्यो पराईको हुन्छे । जुन कुल, वंशकी हुन्छे त्यो कुल वंश उसको अब हुँदैन । आफ्नो नामको पछाडि अर्कैको थर राख्नुपर्छ । म विवाहित नारी हुँ भनेर चिनाउने पहिरन, श्रृंगार गर्नुपर्छ तर पुरुषले गर्नु पर्दैन । पुरुषको कामवासनाको साधन बन्नुपर्छ नारी । श्रृंगार गरेर राम्री भएर बस्नु, लोग्नेका लागि व्रत बस्नु, घरको सबै काम गर्नु, खेतवारीको काम गर्नु, बालबच्चाको पालनपोषण गर्नु अनि नशामा मातेर आएको लोग्नेलाई रिझाउनु उसको दिनचर्या बन्न पुग्छ । घरको, बच्चाको निर्णय प्रक्रियामा उसको भूमिका अपरिहार्य महसुस गरिंदैन । दाइजो नल्याएको या कम ल्याएको निहुँमा उसको शारिरमाथि कुटपिट हुन थाल्छ आफ्नै पति, सासुससुराबाट । अनि कोहिलाई मट्टितेल हालेर मारिन्छ, कहिले कोहिलाई धारिलो हतियार प्रयोग गरेर मारिन्छ । स–साना कुरामा निहुँ खोज्दै ऊ माथि अत्याचार सुरु हुन्छ । यदि पत्नीको मृत्यु भएमा त्यहि दिनदेखि नै अर्को विवाहको कुरा सुरु हुन्छ तर पतिको मृत्यु भएमा विवाहको कुरा हैन उसलाई समाज, परिवारमा पति टोकुवा भन्दै शिर ठाडो पारेर हिड्न नहुने बनाइन्छ । अझ पहिलाको समाजमा पतिसँगै सती जानुपर्ने हुन्थ्यो ।

जहिले पनि जो आर्थिक रुपमा कमजोर छ अनि विधुवा छ उसलाई लाग्छ बोक्सीको आरोप। बोक्सीको आरोपमा मलमुत्र खुवाइन्छ, बोक्सी चिन्ने नाममा तातो वस्तुले डामिन्छ। अनि जब बुढेसकाल लाग्छ उमेर ढल्दै जान्छ उसको नाममा सम्पति हुँदैन भएको सम्पति पनि छोराछोरीको पालन-पोषणमा सकिन्छ। आजको हाम्रो समाजका बुजरुकहरु सम्पति छउञ्जेल मात्र बुढी रोगी आमालाई पालिरहेका हुन्छन् तर जब सम्पति सकिन्छ घृणा, अपमान  बाहेक अरु केहि दिंदैन यो समाज, घर, परिवारले। यसरी एउटा महिला आमाको कोखबाट हुँदै मृत्युवरण नगरुञ्जेलसम्म हिंसा, पिडा, दमन, शोषणमा हुकिर्दै, बढ्दै उसको जीवनको अन्त्य हुन्छ । आजको समाजमा व्यक्तिले ओछ्यान पायो तर निन्द्रा पाएन, औषधी पायो तर रोग निको भएन त्यस्तै नेपालमा नियमकानुन बनाइयो तर कार्यान्वयन भएन । महिलाको विषयमा धेरै सवालहरु उठे, महिला अधिकार, हिंसा शोषणका विषयमा धेरै प्रश्नहरु तथा बहसहरु भए तर एउटा अपराधी जो महिलामाथि दुव्र्यवहार गरेर कानुनको कठघरामा उभ्याइन्छ, चारछाक खुवाएर राखिन्छ अनि शक्ति र पैसाको भरमा फेरि त्यहि कार्य सुरु गर्न थाल्छ फेरि महिलाको अस्मिता लुट्दै हिड्छ । यहाँको कानुन, प्रशासन सबै फितलो छ । उत्कृष्ट कानूनको कमि छ र भएका कानून पनि व्यवहारमा लागु भएको छैन । पहिलो, दोस्रो, तेस्रो, चौथो महिला सम्मेलनमा नेपालले सहभागिता जनायो । विभिन्न घोषणा पत्र, सिड आदिमा बिना शर्त हस्ताक्षर गर्यो तर विडम्बना यति लामो समय भैसक्दा पनि त्यस कार्य-पत्र र घोषणा-पत्रका बुँदाहरुलाई कार्यान्वयन गर्न सकेको छैन । महिलाको पक्षमा काम गर्ने धेरै NGO, INGO हरु खुले पनि केवल आफ्नो विकास गर्न अनि बजेट आफै कुम्ल्याउनु बाहेक अन्य काम भएको छैन ।

आज अधिकार माग्नेहरु नै के मागिरहेका छन् र उनीहरुलाई नै थाहा छैन । आज सुन्दरी प्रतियोगिता स्वयं मोडलिङ जस्ता कार्यलाई अधिकार पाएको र यसको उपयोग गर्नुपर्छ भन्ने सोचका कारण समाज नाङ्गिदै छ । आज एउटा महिला हिंसामा परे न्याय चाहियो भनेर न्याय र अपराधीलाई सजायँ खोज्दै हिँड्छन् तर न्याय दिने पुलिस प्रसाशनबाटै लुटिदै छे । विज्ञान, प्रविधि, शिक्षामा अग्रपंक्तिमा आउने मुलुक अमेरिकामा झन् महिला हिंसा धेरै देख्न सकिन्छ । सम्बन्ध विच्छेदका धेरै घटना त्यहि मुलुकमा हुन्छ । आज हाम्रो समाज त्यहि पश्चिमाकरणको माग गर्दैछ । हाम्रो देशका नेताहरुले महिलाको मुद्दालाई उठाए पनि त्यो केवल लोकप्रियताका लागि मात्र हो । यदि उनीहरुले साँचो रुपमा यो मुद्दालाई उठाएका भए उनीहरुले आफू र आफ्नो परिवारबाटै यो कुरालाई लागु गर्नुपथ्र्यो कि उनीहरुको परिवारमा महिलामाथि कुनै थिचोमिचो हुँदैन, महिलाको नाममा पनि सम्पति, निर्णय प्रक्रियामा महिलाको पनि  सहभागिता हुन्छ । समाजमा यति धेरै विभेद, यति धेरै घटना अनि अधिकारका लागि संघर्ष हुँदैछ । आजको नेपाली समाज महिलाको सम्पत्तिमा पनि अधिकार हुनुपर्छ भनेर लडाइ लड्दै छ ।

इस्लामिक धर्मग्रन्थको आदेश र इस्लामिक समाजमा महिलाको सम्मान

पवित्र ग्रन्थ कुरआनमा महिलाको सवालमा के भनेको छ एक पटक कुरआनको चर्चा गरौं जुन आज भन्दा १४ सय वर्ष पहिले अवतरित भएको कुरआनमा स्पष्ट लेखिएको छ- अल्लाह तिम्रो सन्तानहरुको सम्बन्धमा तिमीहरुलाई निर्देशन दिन्छन्- एक जना पुरूषको अंश दुई जना महिलाको बराबर हुन्छ। यदि दुई भन्दा बढी छोरीहरु नै छन् भने उनीहरुले छोडिएको सम्पत्तिको दुई तिहाई पाउनेछन् । र, एउटी मात्र छोरी छिन् भने उसको लागि आधा सम्पत्ति रहेको छ । मृतकको कुनै सन्तान छ भने मृतकका मातापितामध्ये प्रत्येकलाई मृतकले छोडेको सम्पत्तिको छैठौं भाग प्राप्त हुनेछ । तर, सन्तान छैन र उत्तराधिकारी केवल आमा-बुबा नै हुन भने आमाको अंश एक तिहाई हुनेछ बाकी दुई तिहाई बुबाको हुनेछ । मृतकको दाजुभाई तथा दिदीबहिनी छन् भने आमाको अंश सम्पत्तिको छैठौ भाग हुनेछ । यी अंशबण्डा मृतकको वसीयत अन्तिम आदेश पुरा गरेपछि र उसमाथि रहेको ऋण चुक्ता भएपछि मात्र कार्यान्वयन हुनेछ । तिमीहरुका मातापिता र सन्तानहरुमध्ये तिम्रोलागि को बढी लाभदायक हुनेछ भन्ने कुरा तिमीहरुलाई थाहा छैन । यी अल्लाहद्वारा निर्धारित अंशहरु हुन् । निःस्सन्देह अल्लाह सर्वज्ञ एवं ततवदर्शी छन् । (सूरह अन्-निसा, आयत-११)

फेरी अर्को ठाउँमा भनिएको छ- तिम्रा पत्नीले छोडेको सम्पत्तिमा उनीहरुको कुनै सन्तान नभएमा तिमीहरुलाई आधा अंश प्राफ्त हुनेछ तर उनीहरुको सन्तान भएमा उनीहरुले छोडेको सम्पत्तिमध्ये तिमीहरुलाई चौथाई भाग प्राप्त हुनेछ । यो उनीहरुले गरेको वसीयत पुरा गरेपछि र उनीहरुमाथि रहेको ऋण चुक्ता भएपछि मात्र कार्यान्वयन हुनेछ । यदि तिमी (पुरुष) हरुको कुनै सन्तान नभएमा तिमीहरुले छोडेको सम्पत्तिमा तिम्रा पत्नीहरुलाई एक चौथाई भाग प्राप्त हुनेछ । तर सन्तान रहेको खण्डमा उनीहरुलाई आठौं भाग प्राप्त हुनेछ । यो तिमीहरुले गरेको वसियत पूरा भएपछि र तिमीहरुमाथि रहेको ऋण चुक्ता भएपछि मात्र कार्यान्वयन हुनेछ । यदि कुनै पुरुष वा महिलाको मातापिता वा सन्तान (जिवीत) छैन तर एक जना दाजु या भाई अथवा एक जना दिदी या बहिनी मात्र छ भने यस्तो स्थितीमा दाजुभाई वा दिदीबहिनी हरेकलाई छैठौं भाग प्राप्त हुनेछ । तर दाजुभाई तथा दिदी बहिनीको संख्या एक भन्दा बढी छ भने उनीहरु सबैले एक तिहाईमध्येबाट अंश पाउनेछन् । यो वसियत पुरा गरेपछि र ऋण चुक्ता भएपछि मात्र कार्यान्वयन हुनेछ । कसैलाई हानी नपुगोस् । यो अल्लाहको आदेश हो र अल्लाह सर्वज्ञ एवं सहनशील छन् । (सूरह अन्-निसा, आयत-१२)

 

कुरआनमा लेखिएको छ कि बुढाबुढीको सेवा गर्नाले स्वर्गमा वास हुन्छ । बुढाबुढीलाई हेला गर्नु हुँदैन, राम्रो मिठो वचन बोल्नुपर्छ तर अफसोच आजको २१ औं शताब्दिमा मानिसहरु बुढाबुढीलाई मन पराउँदैनन्, उनीहरुको कुरा सुन्न र वरिपरी पर्न समेत हिचकिचाउँछन् । उनी छोरी र छोरी जन्माउने आमालाई अमानवीय व्यवहार गर्छन् । अन्य थुप्रै दुर्यवहार र हिंसा जसको माथि चर्चा गरिसकिएको छ  तर हदीसमा आज भन्दा १४ सय वर्ष अगाडि नै लेखिएको छ कि छोरी पाउने आमा संसारकी भाग्यमानीमा गनिन्छे । अनि आमाको पैतालामुनि स्वर्ग हुन्छ । छोरीको पालनपोषणबाट स्वर्गको हकदार हुन्छ अनि त्यहि छोरी स्वर्गबाट उसलाई बचाउने माध्यम बन्न सक्छे । इस्लाम धर्ममा आमा र छोरीलाई जुन दर्जा दिएको छ त्यो बाबु र छोरालाई दिइएको छैन । न त यस धर्ममा कतै लेखिएको छ कि महिनावारी भएकी एउटी नारीले कसैलाई छुनु हुँदैन, केहि सामान बनाउनु हुँदैन । महिनावारी भएकी एउटी नारी परिवारसँगै उठबस गर्न सक्छे अनि यौन सम्पर्क बोहक घरका अन्य सबै काम गर्न सक्छे । आज सुदुरपश्चिममा जस्तो छाउपडि प्रथाका कारण कैयौंको ज्यान जाने वाध्यात्मक परिस्थिति इस्लामा धर्ममा छैन । पोइटोकुवा, बोक्सीको आरोपमा मलमुत्र खुवाउने, डाम्ने, सुत्केरी हुँदा घर छाडेर असुरक्षित र फोहार ओडार वा गोठमा बस्नुपर्ने कुरा कुरआनमा कतै भेटिदैन । छोराछोरीको भेदभाव, दाइजोको लेनदेनमा बुहारीलाई सताउने आदि कार्य जसले पुरुष वा महिलाहरुले महिलामाथि गरे पनि त्यो कार्य जघन्य अपराध हो । जुन कार्य अल्लाहको लागि असह्य हुनेछ र परीक्षाको घडिमा तिनीहरुलाई नरकमा होमिने छ ।

सबैभन्दा बढि हिंसा र यौन शोषण हुने गरेको छ आजको समाजमा । जुवा, तास, मदिरा सेवन गरेर मातेको सुरमा होश गुमाइ झगडा तथा बलात्कार भएका घटना कैयौं सुन्नमा आउँछन् तर कुरआनमा स्पष्ट लेखिएको छ कि जुवा, तास, मदिरा पूर्ण रुपमा निषेध छ । फुटपाथको चियापसलबाट पाँचतारे होटलसम्म मदिराको लतमा मातेकाहरु पाइन्छ । अनि घरमा विहान, बेलुका छाक टार्न नसक्ने परिवारमा स्वास्नीले दिनभर ज्याला गरेको पैसाले नुन, तेलको सट्टामा लोग्नेलाई रक्सी लैजानु पर्ने वाध्यता छ । जुन कार्य अल्लाहले अवैध घोषित गरेका छन् ।

हाम्रो समाजमा महिलाहरु यौन शोषणमा पर्ने प्रमुख कारणमध्ये एउटा कारण हो छोटो कपडा पहिरिनु, भड्किलो लुगा लगाउनु  । महिला अधिकारकर्मिबाट यो कुराको खण्डन गर्दै यसले मात्र हिंसा ननिम्त्याउने कुरा जाहेर गरेका छन् र भन्छन् “त्यो भए ५ वर्षकी बच्चा र ९० वर्षकी हजुरआमा किन बलात्कारमा पर्छन् त ?” तर एउटा बाटो हिडिरहेकी महिला जसले लामो कपडा लगाएकी छे अनि अर्कोले शरिरका अंग देखिने छोटो कपडा लगाएकी छे भने पक्कै पनि सबैको नजर छोटो कपडा लागाउनेमा पर्छ र उसलाई जिस्क्याउने, दुर्व्यवहार गर्ने कार्य हुन्छ । अनि उसले जसलाई भेट्छ उसलाई बलात्कार गर्छ ।

आज हामी जुन नारी समानता, स्वतन्त्रताको आवाज उठाइरहेका छौं आजभन्दा १४ सय वर्ष पहिले अवतरित भएको ईश्वरीय ग्रन्थ कुरआनमा प्रायः सबै अधिकारहरुको व्याख्या गरिएको छ । आजको जुन अमानवीय व्यवहार समाजमा व्यस्त छ र दण्ड दिइन्छ त्यसलाई पनि अल्लाहले पहिले  त्यस्ता कार्य अवैध गरेका छन् र त्यस्ता कार्य गर्ने व्यक्तिलाई अल्लाहले नरकमा होम्ने छन् । कुरआनमा लेखिएको कुरा एकपटक सबैले अध्ययन गर्ने र यसको पालना गर्ने हो भने हाम्रो समाजबाट प्राय सबै किसिमका भेदभाव तथा हिंसाहरुको अन्त्य हुने थियो । कतिपय देशमा भएका कानुनमा लेखिएका नियम पालना भएका छैनन् र पालना नगर्नेलाई राज्यले दण्ड दिने गर्छ । हाम्रो समाजमा पनि कतिपय कानुनलाई कार्यान्वयन गर्न कठिन भैरहेको छ र बुझेकाहरुले पनि त्यसको कार्यान्वयन र व्यवहारमा उतारेको पाइदैन । त्यस्तै इस्लाम धर्ममा पनि यसै समुदायका केहि मानिसहरुले कुरआनमा लेखिएको कुरा नियम विपरित गएका छन् । पक्कै पनि त्यस्ता व्यक्तिलाई अल्लाहले कदापि छाड्ने छैनन् । आशा गरौ यस संसार तथा हाम्रा मुलुकमा हुने गरेका सबै किसिमका हिंसा, अत्याचार, दमन अन्त्य हुनेछ र सबै मानिसमा मानवीय व्यवहार गर्नुपर्ने धारणा विकास हुँदै जानेछ । अनि सुन्दर, समुन्नत, हिंसा भेदभाव रहित समाजको निर्माण हुनेछ । ईश्वरले सबैमा सद्धवृद्धि, विवेक प्रदान गर्नु गरुन् । आमिन् ।

लेखकः रोजिता दङ्गाल

हेटौडा, मकवानपुर

Related Post