Main Menu
New Muslims APP
أكاديمية سبيلي Sabeeli Academy

पाँच सय वर्ष पुरानो जामे मस्जिद

jamey masjid

एकाबिहानै मस्जिदमा फजरको नमाज (बिहानको प्रार्थना) पढ्न मुसलमानको भीड भाड लाग्छ। बिहान साढे चार बजे फजरको नमाज पढिन्छ ।

      रत्न मल्लको पालामा बनेको नेपाली जामे मस्जिद पाँच सय वर्ष पुरानो मानिन्छ । यो जामे मस्जिद काठमाण्डौको बागबजारमा अवस्थित छ। नेपाली जामे मस्जिदको मुख्य द्वार बिहान चार बजे  खोलिन्छ । यो जिम्मेवारी मस्जिदका सुरक्षागार्ड केशव कार्कीलाई दिइएको छ। एकाबिहानै मस्जिदमा फजरको नमाज (बिहानको प्रार्थना) पढ्न मुसलमानको भीड भाड लाग्छ। बिहान साढे चार बजे फजरको नमाज पढिन्छ । नमाज पढ्नु आधा घन्टा अगाडि मोअजिन अब्दुल वाहिदले माइकमा अजान (नमाजका लागि दिइने सूचना) दिन्छन्।

     अजान भएको ३० मिनेटभित्र नमाजी अनिवार्य भेला भइसक्नुपर्ने हुन्छ । नमाजी भेला भएपछि उनीहरू उजु (हात, मुख, खुट्टा धुने) गर्छन् । उजुका लागि मुख्य मस्जिदको भुइँतलामा ३० धारा व्यवस्था गरिएको छ । कोही त्यतै लाग्छन् । कोही मस्जिद परिसरभित्र रहेको तलाउमा गएर हातखुट्टा पखाल्छन् । साढे चार बजे प्रार्थना सुरु हुन्छ । इमाम (गुरु) मोहसिनले बिहानको नमाज पढाउँछन् । उनी अगुवा भएर उभिन्छन् । नमाजी भने उनका पछाडि उभिएर उनको सिको गर्न थाल्छन् । बिहानको नमाजमा ५० जना मुसलमान भेला हुन्छन् । उनीहरू मस्जिदछेउछाउमा बसोबास गर्ने मुसलमान हुन् । काठमाडौँको बागबजार, असन, सुन्धारा जमलका मुसलमान बिहानको नमाज पढ्न जामे मस्जिद पुग्छन् । नमाज पढ्न आउनेमा सबै उमेर समूहका हुन्छन् । तर, महिला भने हुँदैनन् ।

       मस्जिद परिसरभित्र एउटा होस्टल छ । जहाँ केटाहरू मात्र बस्छन् । नमाज पढ्न होस्टलमा बस्ने बच्चा र मौलाना (गुरु) पनि जम्मा हुन्छन् । होस्टलमा २५ जना बालक बस्छन् । उनीहरू हिब्स (कुरान कण्ठस्थ) गर्न त्यहाँ बसेका हुन्छन् ।

        करिब १५ मिनेटमा बिहानको नमाज पढेर भ्याइन्छ । त्यसपछि कुरान पढ्न थाल्छन् । लामबद्ध भएर मुसलमान कुरान पाठ गर्छन् । भेला भएका जति सबैलाई मस्जिद व्यवस्थापन समितिले नै कुरान उपलब्ध गराउँछ । बिहान कुरान पढ्नुलाई इस्लाम धर्ममा शुभ मानिन्छ । करिब दुई घन्टाको कुरान पाठपछि मस्जिदबाट बाहिरिन्छन् । त्यसपछि मस्जिद सरसफाइ गरिन्छ । दुई महिला र दुई पुरुषलाई मस्जिद सरसफाइ गर्ने जिम्मा दिइएको छ । बिहान नौ बजेभित्र मस्जिद परिसरभित्रका सबै द्वार खुलिसक्छन् । त्यस्तै, स्कुल र कार्यालय खुलिसक्छन् । १० बजे स्कुलको घन्टी बज्छ । मदरसा इस्लामियाँ स्कुलमा पढाइ सुरु हुन्छ । मदरसामा माध्यमिक तहसम्मको पढाइ हुन्छ । त्यहाँ दुई सय ७५ मुस्लिम विद्यार्थी अध्ययनरत छन् ।

          नमाज सकिए लगत्तै जामे मार्केट भित्रका होटल तथा रेष्टुराँ भरिभराउ हुन्छ । मस्जिदमा कार्यरत कर्मचारी र नमाज पढ्न आएका मुसलमानका लागि खाना त्यहीँ पाक्छ । इस्लाम धर्मावलम्बी दिउँसोको नमाजपछि मात्रै खाना खान्छन् ।

         दिउँसो नमाजीबाहेक अन्यको पनि मस्जिदभित्र आवत–जावत हुन्छ । कोही घुम्न आउँछन्, कोही कामविशेषले त कोही मस्जिद, मदरसासम्बन्धी अध्ययन अनुसन्धान गर्न । सबै जातजातिलाई मस्जिद परिसरभित्र प्रवेश गर्न पाउँछन् । धर्म र लिंगका आधारमा मस्जिदभित्र पस्न कसैलाई छेकबार छैन । मस्जिद परिसरभित्र रहुन्जेलसम्म आगन्तुकले मस्जिदकै नीति नियम पालना गर्नुपर्ने हुन्छ । खुला कपडा लगाएर मस्जिदभित्र पस्न पाइँदैन । हाफपाइन्ट, गन्जी लगाएका पुरुषलाई मुख्य द्वारमै रोकिन्छ । त्यस्तै, छोटा कपडा लगाएका र सल नओढेका महिलालाई मस्जिद प्रवेश निषेध गरिएको छ । मस्जिद परिसरभित्र रहुन्जेलका लागि महिलालाई मस्जिदले नै बुर्का उपलब्ध गराउँछ । मादक पदार्थ पिएकालाई समेत मस्जिद प्रवेशमा रोक लगाइएको छ ।

         साँझ पाँच बजे फेरि नमाजको समय हुन्छ । जसलाई मुसलमानहरू ‘असर’ को नमाज भन्छन् । यसैगरी, अजान दिएर नमाजीलाई डाकिन्छ । एकैछिनमा नमाजी भेला हुन्छन् । साँझको नमाज छोटो हुन्छ । नमाज पढ्नेको भीड लाग्छ । इस्लाम धर्मावलम्बीको एकमहिने व्रत नजिकिइरहेकाले हिजोआज मस्जिदमै पुगेर नमाज पढ्नेको उल्लेख्य सहभागिता छ ।

         साँझ पर्दै जाँदा मस्जिदमा चहल–पहल पातलिँदै जान्छ । मदरसा चार बजे नै छुटिसक्छ । जामे मार्केटभित्र सञ्चालित पसलका सटर थुनिन्छन् । होटलका ढोका ढप्किन्छन् । अनि फेरि बेलुकाको नमाज पढ्ने समय हुन्छ । बेलुकाको नमाजलाई मुसलमानहरू ‘मग्रिब’ भन्छन् । नमाजीहरु बेलुकाको नमाजपछि इमामले प्रवचन सुरु गर्छन् । कुरानका श्लोक र कथा सुनाउँछन् । मुसलमान भेला भएर प्रवचन सुन्छन् ।

         रात परेपछि मार्केट थुन्ने काम पनि जामे मस्जिद व्यवस्थापन समितिकै जिम्मामा छ । रातको नौ बजेसम्म मार्केट खुला हुन्छ । कर्मचारी रुङ्दै बस्छन् । रातको नौ नबज्दै अन्तिम नमाजको तयारी हुन्छ । रातिको समयमा मुसलमानको सहभागिता कमै हुन्छ । मस्जिदका कर्मचारी र आसपास घर भएका केही मुसलमानको सहभागितामा रातको नमाज सम्पन्न गरिन्छ । कर्मचारी र नमाजी आ–आफ्नो गन्तव्यतिर लाग्छन्। मस्जिदको रेखदेख र सुरक्षाको जिम्मा दुई सुरक्षागार्डले गर्छन् । यसरी रातको ११ बजेमात्रै मस्जिदको मुख्य द्वार बन्द हुन्छ ।

http://www.ratopati.com/news/50983/

 

Related Post