New Muslims APP

कुरआन मजीद मानव मार्गदर्शन अन्तिमग्रन्थ

 मानव मार्गदर्शन अन्तिमग्रन्थ कुरआन मजीद

सम्पूर्ण मानवजातिको मार्गदर्शन ग्रन्थ

 भाग एक (1)

कुरआन मजीद अन्तिम ईश्वरीय ग्रन्थ र मानव जातिको लागि पूर्ण मार्गदर्शन हो । यसमा जम्मा ११४ वटा सुरह (अध्यायहरू) छन् । जस मध्ये केहि संदेष्टाहरु मुहम्मद सल्लल्लाहु अलैही वसल्लम माथि वहाँ मक्काबाट मदीना प्रस्थान भन्दा अघि अवतरित भएका हुन् भने केहि मदीना प्रस्थान गरी सकेपछि अवतरित भएका हुन् । अवतरणको क्रममा सुरह अलक (९६) को आयत (श्लोक) १–५ सम्म सबैभन्दा पहिले अवतरित हुने आयतहरू हो र सुरह माइदा (५) को आयत ३ सबैभन्दा अन्तमा अवतरित आयत हो । जबकी सिंगो सुरहको रुपमा अवतरित सुरह “फातिहा” कुरआनको सबभन्दा पहिलो हो।

हुन त सिंगै कुरआन आफै सम्पूर्ण मानव जातिको लागि मार्गदर्शन हुने प्रमाण हो तर म तलको पंक्तिहरूमा कुरआनकै केहि आयतहरूद्वारा यसको परिचय गराउन साथ यसको मार्गदर्शन हुने बारे प्रमाण पेश गर्ने प्रयास गर्दछु ।

कुरआन ईश्वरीय ग्रन्थ हुनमा विश्वसनियता

जहाँ सम्म कुरआनको ईश्वरीय ग्रान्थ हुने विश्वासनियताको प्रश्न छ यसको अनेकौ. आयतहरू यसको प्रमाण हुन, जस मध्ये केहि उदाहरण पेश गर्न उपयुक्तहोला । सुरह फुस्सिलत (४१) को आयतहरू २ र ३ मा भनिएको छ। “यो (ग्रन्थ) अत्यन्त करुणामय परम दयालु (अल्लाह) को तर्फबाट अवतरित हो । यो यस्तो ग्रन्थ हो जसका आयतहरूको विस्तृत वर्णन यस्तो कुरआनको रुपमा छ जसको भाषा अरबी हो ती मानिसहरूका लागि जो ज्ञान राख्द छन् ।”

यसै गरी अर्को सुरह शुअरा (२६) को आयतहरू १९२ देखि १९५ सम्ममा उल्लेख छ, र नि:सन्देश यो (कुरआन) सम्पूर्ण जगतका पालनकर्ताको तर्फबाट अवतरण गरिएको हो, यसलाई इमान्दार फरिश्ता (जिब्रइल) ले लिएर तिम्रो हृदय माथि अवतरित भएका हुन ताकि तिमी मानिसहरूलाई सचेत गर्नेहरू मध्ये होऊ । यो स्पष्ट अरबी भाषामा छ ।

कुरआनको ईश्वरीय ग्रान्थ हुने बारे प्रमाणहरु

            यो कुरआन सत्य ईश्वरकै तर्फबाट र उनकै किताब हो । यो कुनै मानवीय रचना होइन किन भने यदि यो मानवीय रचना हुन्थ्यो भने यसको शैली र भाषामा कतिपय रचनाहरू आइसकेका हुन्थे तर यसको अवतरण काल देखि आजसम्म यो प्रयास गर्ने कतिपय साहित्यकारहरू पूर्ण रुपमा विफल भइसकेका छन् र आज पनि यसको चुनौती विद्यमान नै छ । यसको चुनौतीहरू क्रमशः निम्नानुसार आएको छन् ।

सुरह बनी इसराईल (१७) का आयत ८८ मा भनिएको छ: भनिदेऊ यदि मनुष्य तथा जिन्न सबै मिलेर यस कुरआन जस्तै ग्रन्थ ल्याउने प्रयास गरने भए पनि ल्याउन सक्ने छैनन् चाहे यसको लागि तिनीहरू आपसमा एक अर्काको सहयोग नै किन नगरुन

यसमा असफल भए पछि अर्को चरणमा चुनौती दिंदै सुरह हूद (११) को आयत १३ मा उल्लेख छ: के तिनीहरू उनले कुरआन स्वंय रचेका हुन भनेर भनछन् ? भनिदेऊ यदि त्यसो भए तिमीहरू पनि यसरी नै रचिएका दस वटा सुरहहरू ल्याउ र अल्लाह बाहेक जजसलाई तिमीहरू सहायताको लागि बोलाउन सक्छौं भने बोलाऊ यदि तिमीहरू सच्चा हो भने ?”

            यस चुनौतीको पनि जवाफ दिने असफल भए पछि तेस्रो चरणमा अस्वीकार गर्नेहरूलाई भनियो । सुरह बकरह (२) को आयत २३ मा भनिएको छ: “र यदि तिमीहरू हामीले आफ्नो भक्तमाथि अवतरण गरेको ग्रन्थको बारेमा सन्देहमा छौं भने तिमीहरू कुरआनमा भए झैं एउटा सुरह नै (रचना गरी) ल्याऊ र यसको लागि अल्लाह बाहेक आफ्नो सहयोगीहरूलाई पनि बोलाऊ यदि तिमीहरू सच्चा हौ भने ।”

विरोधाभासहरूबाट मुक्त ग्रन्थ

            कुरआनको ईश्वरीय ग्रन्थ हुने बारे मनन गर्ने भन्दै सुरह निसा (४) को आयत ८२ मा उल्लेख छ:  “के तिनीहरू कुरआन माथि सोचविचार गर्दैनन् ? यदि यो अल्लाहबाहेक अन्य कसैको तर्फबाट आएको भए तिनीहरूले यसमा धेरै विरोधाभासहरू पाउने थिए ।”

            यति मात्र होइन यस वाणीको अवतरणको समयमा कतैबाट पनि असत्यको मिसावट हुन सकेको छैन । यस कुराको स्पष्ट शव्दहरूमा सुरह नं ४१ कै आयत ४२ मा उल्लेख भएको छ: असत्य यस नजीक आउनै सक्दैन न सामुन्नेबाट न पछिल्तिरबाट नै । यो त तत्वदर्शी एंव प्रशसंनीय (अल्लाह) को तर्फबाट अवतरण भएको हो ।

सुरक्षाको जिम्मा स्वंम यस ग्रन्थको स्वामी अल्लाहमाथि छ

            यस कुरआनमा असत्यको मिसावट पनि कसरी हुन सक्छ जब कि यसको सुरक्षाको जिम्मा स्वंम अल्लाहले नै लिएका छन् । सुरह हिज्र (१५) को आयत ९ मा सरल वाक्याशंमा भनिएको छ:  “निस्सदेह हामीले नै कुरआनलाई अवतरित गरेका हौं र हामी नै यसको सुरक्षा गर्छौं ।”

अन्तिम र पूर्ण जीवन पद्धति

            आज संसारमा यस्ता धेरै जीवन पद्धतिहरू छन् जसको मूल र स्रोत सत्य ईश्वर अल्लाह नै हुन् तर त्यस मध्ये अन्तिम जीवन पद्धति इस्लाम बाहेक अरुकुनै पनि धर्म मिसावट र फेर बदलबाट सुरक्षित रहन सकेन । यसैका साथ अन्य मानव निर्मित विचारधाराहरू पनि छन् जो मानव निर्मित हुनुका कारण अपूर्ण हुन् । तसर्थ ती मध्ये कुनै पनि मानवलाई लोक तथा परलोकको सोझो मार्ग देखाउनमा सफल हुनसक्ने छैनन् । कुरआन मात्र यस्तो ईशग्रन्थ हो जसले मानवलाई लोक तथा परलोक दुवैको एकदम सोझो मार्ग देखाउंछ । सुरह बनी इस्राइल (१७) को आयत ९ र १० मा पूर्ण विश्वास साथ उल्लेख छ:  “वास्तवमा यस कुरआनले बिल्कुल सीधामार्ग देखाउँछ र सत्कर्म गर्ने आस्थावानहरूलाई महान प्रतिदानको शुभ सुचना दिन्छ र जुन व्यक्तिहरू परलोक माथि आस्था राख्दैनन् तिनीहरूका लागि हामीले दुःखदायी यातना तयार पारेका छौं ।”

सम्पूर्ण मानवजातिको मार्गदर्शन ग्रन्थ

            कुरआन कुनै व्यक्ति वा समुदाय विशेषको मार्ग दर्शन ग्रन्थ मात्र नभई सम्पूर्ण मानवजातिको मार्गदर्शन ग्रन्थ हो । तसर्थ यो सम्पूर्ण मानव जातिको साझा सम्पति पनि हो र हरेक व्यक्ति यसलाई प्राप्त गर्ने र अध्ययन गर्ने समान अधिकार राख्दछ । सुरह बकरह (२) को आयत १८५ मा उल्लेख छ: “रमजानको महिना त्यो महिना हो जसमा कुरआन अवतरित गरियो, यो मानव जातिकोलागि मार्गदर्शन हो र सत्मार्ग र सत्य र असत्य बीच स्पष्ट प्रमाणहरू पनि छ।”

            यही कुरा सुरह आले इम्रान (३) को आयत १३८ मा यी शब्दहरमा बयान गरिएको छः “यो ग्रन्थ मानव जातिकोलागि (सत्यको) वर्णन हो र ईशभय राखनेहरूको निम्ति मार्गदर्शन एंव उपदेश हो।”

नितान्त र सत्य एकेशवरवादको शिक्षा

यो कुरआनले सत्य एकेशवरवादको धारणा यी शब्दहरूमा स्पष्ट पारेको छ,  सुरह ता.हा.को आयत १४ मा उल्लेख छ: “निस्सन्देह म नै अल्लाह हुँ । म बाहेक अन्य कोही पुज्य छैन । अत: मेरै उपासना गर र मलाई स्मरण गर्न नमाज कायम गर ।”

एउटा सिंगो सुरह इख्लास (११२) मा एकेश्वरवादको धारणा यसरी स्पष्ट पारिएको छ: “भनी देऊ: उनी अल्लाह एक्ला छन् अल्लाह आत्म निर्भर र सबैको आश्रय हुन् । उनको कोही सन्तान छैन, न उनी कसैका सन्तान हुन् । र कोही उनको समकक्ष पनि छैन ।”  (पहिलो भाग…..क्रमश…)

लेखक- जुल्फक़ार अली अलिग

शोध तथा अनुसन्धान विभाग, डाईरेक्टर

नेपाल इस्लामिक संघ, काठमाण्डौ, नेपाल

Related Post