छिमेकीको अधिकार

छिमेकीको अधिकार

इस्लाममा छिमेकीको अधिकार

छिमेकीहरुको रेखदेख गर्न आदेश दिएको छ र यस कार्यमा धेरै जोड दिएको छ किनकि कोही मुसलमान आफ्नो छिमेकीलाई दुख र कष्टमा अन्जान नबनोस्। एक अवसरमा वहाँले भन्नुभयो त्यो मोमिन होइन जो आफु पेट भर खान्छ र सुत्छ र उसको नजिकमा रहेको उसको छिमेकी भोकै रहन्छ।

इस्लाममा छिमेकीको साथ असल व्यवहार गर्न जोड दिइएको छ। तर यसको  उद्देश्य यो होइन कि छिमेकीको सहायता गरे बापत छिमेकी पनि कुनै समयमा आफ्नो काम आउन सकुन,  वास्तवमा यो एक मानविय कर्तव्य मानिएको छ। यो  कर्तव्य छिमेकीको लागि मात्र होइन कुनै साधारण मानिसको लागि पनि दुर्व्यवहार नगर्न आदेश दिएको छ ।

पवित्र कुरआनमा लेखिएको छ- अनि, मानिसहरुसँग मुख फर्काएर (घमण्डका साथ) कुरा नगर्नु र धर्तीमा घमण्ड गरी नहिड्नू । निसन्देह अल्लाह कुनै पनि अहंकारी एवं मपाई स्वभावको व्यक्तिलाई मन पराउँदैन्  (कुरआन, ३१:१८) 

छिमेकको साथ राम्रो व्यवहार गर्न आदेश दिएको छ । केवल निकटतम छिमेकको साथ, मात्र होइन टाढाको छिमेकको साथ पनि राम्रो व्यवहार गर्न जोड दिएको छ। सुन्नुहोस्- …अनि माता-पिता, नातेदार, अनाथ, दीन-दुखी, नातेदार छिमेकी, अपरिचित छिमेकी, साथीभाईहरुसँग पनि राम्रो व्यवहार गर ।   (कुरआन, ४:३६)

छिमेकीहरुको साथ राम्रो व्यवहार गर्ने धेरै कारण छन्- एक विशेष कारण यो हो कि मानिसलाई हानी नोक्सानी पुर्याउने काम पनि तिनै नजिकका छिमेकी व्यक्तिबाट हुने धेरै आशंका हुन्छ। यसैले उनीहरुसँग राम्रो र सुमधुर सम्बन्ध बनाई राख्नु एक महत्वपूर्ण धार्मिक कर्तव्य हो ताकि छिमेक सुखी र प्रसन्न रहे आफु पनि उनीहरुबाट दुखित र पीडित  हुने अवस्था आउँदैन ।

छिमेकको साथ राम्रो व्यवहार गर्ने सम्बन्धमा जुन ईश्वरीय आदेश अहिले प्रस्तुत गरिएको छ, त्यसको महत्व पैगम्बर हजरत मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले विभिन्न तरिकाबाट बताउनु भएको थियो साथै वहाँले स्वयं त्यसलाई व्यवहारमा गरेर देखाउनु भएको थियो ।

एक दिन रसूल सल्लल्लाहु अलैहि व सल्लम आफ्नो साथीहरुको साथमा थिए। वहाँले उनीहरुसँग भन्नुभयोः अल्लाहको कसम त्यो मोमिन होइन! अल्लाहको कसम त्यो मोमिन होइन, अल्लाहको कसम त्यो मोमिन होइन !  वहाँले तीन पटक यति जोडले भन्नुभयो, तब सहाबाले सोधे-को हो ए अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ?’ तब वहाँले भन्नुभयो –त्यो व्यक्ति जसको छिमेकी उसको व्यवहारबाट सुरक्षित छैन।

 

एक अर्को अवसरमा वहाँले भन्नुभयोः- जो अल्लाह माथि र महाप्रलयमाथि ईमान राख्दछ, उसले आफ्नो छिमेकीको साथ सद व्यवहार गरोस्।

अर्को ठाउँमा वहाँले भन्नुभएकोछः- अल्लाहको दृष्टिमा त्यो मित्र उत्तम हो, जो आफ्नो मित्रहरुको लागि राम्रो  हुन्छ र  छिमेकीहरुमा त्यो राम्रो हो, जो आफ्नो छिमेकीसँग राम्रो व्यवहार गर्छ।

भनिन्छ कि एक पटक वहाँले आफ्नो श्रीमति हजरत आइशा (रजियल्लाहु अन्हु) लाई शिक्षा दिंदै भन्नुभयोः जिबरील (अलैहिस्सलाम) ले मलाई आफ्नो छिमेकीको अधिकारको बारेमा यदि जोड दिनुभयो कि मैले सोच्न थाले कि कही मेरो विरासत (मानिस मरेपछि उसको हकमा रहेको अंश वा सम्पत्ति) मा उनीहरुलाई हकदार बनाउने हो की।

यसको अर्थ यो हो कि छिमेकीको अधिकार आफ्नो निकटतम नातेदार भन्दा कम हुँदैन। एक पटक एउटा सहाबी हजरत अबू जर (रजियल्लाहु अन्हु) लाई उपदेश दिंदै भन्नुभयोः अबू जर ! जब तरकारी बनाउँछौ भने तरकारीमा पानी बढाई देऊ र यसरी आफ्नो छिमेकीलाई सहायता गर्दै रहनु।

स्त्रिहरु सन्बन्धि धेरै हक़ अधिकार हुन्छ, यसैले आफ्नो स्त्रिहरुलाई सम्बोधित गर्दै विशेष रूपमा भनिएको छ- हे मुसलमानकी श्रीमति ! तिमीहरुलाई कोही छिमेकीले कुनै उपहार दिए भने तुच्छ न सम्झिनु, चाहे त्यो खसीको खुर नै किन नहोस् ।

हजरत मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमले छिमेकीको रेखदेख गर्नलाई विषेश जोड दिनु हुन्थ्यो र यस कुरामा धेरै जोड दिनु हुन्थ्यो कि कोही मुसलमान आफ्नो छिमेकीलाई कष्ट र दुःखमा छ भने बेखबर नहुनु ।

रसूल सल्लल्लाहु अलैहि व सल्लम भन्नुभयोः त्यो मोमिन होइन जो स्वयं पेट भरी खाएर सुत्छ र उसको नजिकमा रहेको छिमेकी भोकै रहन्छ।

एक पटक अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयो-‘व्यभिचार निषेध (हराम) हो, ईश्वर र उनको दूतले यसलाई धेरै घृणित काम भनेका छन्। दस व्यभिचारी भन्दा ठूलो व्यभिचारी त्यो हो जसले आफ्नो छिमेकीको पत्नीसँग व्यभिचार गर्दछ।

चोरी गर्न अवैध (निषेध) गरिएको छ, अल्लाह र उसको पैगम्बरले यस्तो कार्यलाई अवैध ठहर्याएको छ, दस घरमा चोरी गर्नु भन्दा ठूलो अपराध त्यो हो जसले आफ्नो छिमेकीको घरबाट केही चोरी गरेर लिएर जान्छ।

दुई मुसलमान स्त्रीहरुको सम्बन्धमा हामीलाई बताइएको छ कि पहिली मुसलमानकी स्त्री धार्मिक नियमहरु धेरै पालन गर्थिन तर आफ्नो छिमेकीसँग दुर्वचन र दुर्व्यवहार गर्थिन । दोश्री स्त्री साधारण रूपबाट रोजा-नमाज पुरा गर्थिन तर आफ्नो छिमेकीसँग राम्रो व्यवहार गर्थिन । मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम भन्नुभयो- पहिली स्त्री नर्कमा जान्छिन र दोश्री स्त्री स्वर्गमा।

अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले छिमेकको अधिकारहरुमा यति जोड दिनु भएको छ कि शायद कुनै अरु विषयमा दिएको छैन। अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयो- “तिमीहरु मध्ये कोही मोमिन हुन सक्दैनौं जुन चीज आफ्नो लागि मन पराउँछौ त्यही चीज आफ्नो छिमेकीको लागि मन पराउँदैनौ।”

एक अर्को स्थानमा नबि सल्लल्लाहु वसल्लमले भन्नुभयोः- “जसलाई यो प्रिय लाग्छ कि अल्लाह र उसका रसूल उसँग प्रेम गरुन या जसले अल्लाह र उसको  रसूलसँग प्रेम गरेको दावा गर्छ, भने उसले आफ्नो छिमेकीको साथ राम्रो व्यवहार गर्नु र उसको हक पुरा गर्नु।

जसले छिमेकीसँग दया गर्दैन, उसले अल्लाह र रसूलसँग प्रेम गरेका दावा गर्नु पनि झूटो हो र अल्लाह र रसूलसँग प्रेम गरेको आशा गर्नु एक भ्रम मात्र हो। यसैले वहाँले भन्नुभयो कि कियामतको दिन ईश्वरको न्यायालयमा सबैभन्दा पहिले दुई व्यक्ति उपस्थित हुनेछन्, ती दुबै छिमेकी हुन्। उनीहरुसँग एक-अर्काको सम्बन्धमा सोधिनेछ ।

मानिसको सद्व्यवहार र दुर्व्यवहारको सबैभन्दा ठूलो कसौटी यो हो कि उसलाई अर्को व्यक्तिले राम्रो भनोस् जो  उसको धेरै नजीक रहन्छ।

एक दिन नबी सल्लल्लाहु अलैही वसल्लमका केही साथीहरुले वहाँसँग सोधे- हे अल्लाहको रसूल सल्लल्लाहु अलैही वसल्लम ! हामीले कसरी थाहा पाउने कि हामी राम्रो गरिरहेका छौ या नराम्रो ?”

रसूल सल्लल्लाहु अलैही वसल्लमले भन्नुभयो- जब तपाई आफ्नो छिमेकीबाट तिमी आफ्नो बारेमा राम्रो कुरा सुन्छौ तब सम्झ कि तिमीले आफ्नो छिमेकीसँग राम्रो व्यवहार गरिरहेका छौ र जब तिमी आफ्नो छिमेकीबाट जब आफ्नो बारेमा नराम्रो कुरा सुन्छौ तब सम्झ कि तिमी आफ्नो छिमेकीसँग नराम्रो व्यवहार गरिरहेका छौ।

अल्लाहको रसूल सल्लल्लाहु अलैही वसल्लमले इस्लाममा यस विषयमा एक सिमा निर्धारण गरेका छन् । यति मात्र होइन, छिमेकीको विषयमा जोड दिंदै यस्तो भने, “यदि छिमेकीले दुर्व्यवहार गरे पनि बदलामा तिमी पनि उ माथि दुर्व्यवहार नगर, बरु आवश्यक नै परे त्यो छिमेकीलाई छोडेर कहीं अन्य स्थानमा बसाई सर्नु।

एक दिन एउटा मानिसले रसूल सल्लल्लाहु अलैही वसल्लमसँग शिकायत गरे- हे अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लम, मेरो छिमेकीले मलाई धेरै सताउँछ। वहाँले भन्नु भयोः- धैर्य गर। केही दिन पछि फेरी त्यो मानिस आएर शिकायत गर्यो। त्यसपछि वहाँले भन्नुभयो- “घरमा गएर तिमी आफ्नो घरको सामान निकालेर सडकमा फाली देऊ, त्यो मानिसले त्यस्तै नै गर्यो। आउने जाने मानिसहरुले उसँग सोध्न थाले किन तिमीले घरका भाँडा बर्तन बाहिर फ्याकेको ? तब उसले उनीहरुसँग आफ्नो छिमेकीले आफुलाई सताएको हुनाले यस्तो गरेको हुँ भन्यो। यो कुरा सुनेर मानिसहरुले उसको छिमेकीलाई धिक्कारे । उ लज्जित भयो, तब उसले आफ्नो छिमेकीलाई फकाएर उसको घरमा फिर्ता गराई प्रतिज्ञा गर्यो, अब देखी म तपाईलाई कहिले सताउँदिन।

मेरा गैर मुस्लिम भाईहरु यो घटनालाई पढेर चकित हुनु भयो र सोच्नु भयो कि के साँच्चिकै एउटा गैर मुसलमानलाई इस्लाम धर्ममा यति सहनशीलता भएको महशुस गरे । के वास्तवमा यस्तै गर्न सक्छ ! हजुर, निसन्देह इस्लाम धर्म र अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले यस्तै नै गर्न जोड दिनुभएको छ र इस्लामका सच्चा अनुयायीले यसरी इस्लामको नियमहरु पालन गर्नुपर्छ । आज पनि यस्तै पवित्र व्यक्ति इस्लाम धर्मको अनुयायी पाइन्छ जुन यी नियमहरु पूर्ण तरिकाले पालन गर्दछन् ।

मेरा केही भाई यस भ्रममा रहन्छन् कि छिमेकीको अर्थ केवल मुसलमान छिमेकी मात्र हुन, गैर मुस्लिम छिमेकीसँग होइन । उनको यो भ्रमलाई टाढा गर्नको लागि एउटै उदाहरण दिए पर्याप्त होला।

एक दिन हजरत अब्दुल्लाह बिन उमर रजियल्लाहु अन्हुले एउटा बोका जिब्ह गर्नु भयो । उनको छिमेकी मध्ये एकजना यहूदी पनि थियो। उनले आफ्ना घरका परिवारसँग सोधे- के तिमीले मेरो यहूदी छिमेकीलाई मासु पठायौ, किनकि अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमबाट मैले छिमेकीको सम्बन्धमा बारम्बर याद दिलाएको सुनेको थिए कि हरेक छिमेकीको हामीमाथि हक छ।

एक दिन कोही मानिसले केही फलफूल मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको लागि लिएर उनको छेउमा उपहारस्वरूप आयो। वहाँले सबैभन्दा पहिले त्यसबाट एक भाग आफ्नो यहूदी छिमेकीलाई पठाउनु भयो र बाँकी भाग आफ्नो घरका मानिसलाई  दिनुभयो।

निःसन्देह अन्य धर्ममा रहेका मानिसहरुलाई पनि आफ्नो प्राण जति कै माया गर्नुपर्छ, आफ्नो प्राण समान  सम्झिनु पर्छ । सबैको आत्मामा एक ही पवित्र ईश्वरको दर्शन गर्न लेखिएको हुन्छ, तर स्पष्ट रूपबाट आफ्नो छिमेकीको साथ राम्रो व्यवहार गर्न र उसले आफ्नो साथ अत्याचार गरे पनि धैर्यपूर्वक सहने कोशिस गर्नु पर्ने बारेमा जुन शिक्षा अल्लाहका रसूल सल्लल्लाहु अलैहि व सल्लमले स्पष्ट शब्दमा दिनु भएको थियो, त्यो कहीं अरु धर्ममा पाइदैन ।

आफ्नो छिमेकीसँग दुर्व्यवहारको जति अपराध अल्लाहको  रसूल सल्लल्लाहु अलैहि व सल्लमले बयान गर्नु भयो, र यस्तो कार्यलाई यती ठूलो पाप ठहर्याउनु भयो, अरु कुनै अरु धर्ममा त्यसको उदाहरण मिल्दैन। यसैले सत्यता यही हो कि छिमेकीको अधिकारलाई यस प्रकार स्वीकार गरे इस्लामको इज्जत धेरै उच्च हुने देखिन्छ। इस्लामको दर्जा यस सम्बन्धमा धेरै ऊच्च छ। यो शिक्षा इस्लाम धर्मको श्रीपेचमा एउटा चम्कि रहेको मोती समान हो र यसको लागि इस्लामको जति प्रशंसा गरे पनि कम हुन्छ।

परिचयः लाला काशीराम चावला

यो लेख लाला काशीराम चावलाको पुस्तक – ऐ मुस्लिम भाईको हिंदी संस्करण इस्लाम: मानवतापूर्ण ईश्वरीय धर्मबाट लिइएको हो उनले 150 भन्दा धेरै पुस्‍तकहरु लेखेका छन्। लाला काशीराम चावला लुधियानाको डिप्‍टी कमिशनरको कार्यालयमा सुपरिटेंडेंट थिए।

Related Post