New Muslims APP

कुफ्रको परिभाषा र कुफ्र कति किसिमका हुन्छन् ?

कुफ्रको परिभाषा र कुफ्र कति किसिमका हुन्छन् ?

कुफ्रको परिभाषा र कुफ्र कति किसिमका हुन्छन् ?

कुफ्रको शाब्दिक अर्थ हो ढाक्नु वा लुकाउनु र धार्मिक परिभाषामा ईमानको विपरितलाई कुफ्र भनिन्छ । अर्थात अल्लाह र उसको रसूल माथि ईमान नल्याउनुलाई कुफ्र भनिन्छ, चाहे त्यसलाई झुटो ठहर्याओस् या नठहर्याओस् यसबाट कुनै फरक पर्दैन, यहाँसम्म कि सन्देह वा शंका, बेपरवाह वा जलन, घमण्ड वा अहंकार र शारिरिक कामनाहरुको अनुशरण आदीबाट पनि यस हुकुममा कुनै फरक पर्दैन, यद्यपि झुटो ठान्नेवाला (नास्तिक) सबैभन्दा ठूलो काफिर हो, यही समूहमा त्यो झुटो ठान्नेवाला  र अस्वीकार गर्नेवाला पर्छन् । जसले हृदयमा पैगम्बर माथि विश्वास राख्नको बाबजूद केवल ईर्ष्याको कारण कुफ्रलाई अंगाली रहेको छ।

कुफ्र कति प्रकारका हुन्छन् ?

कुफ्र दुई प्रकारका हुन्छन् । एक ठूलो कुफ्र, अर्को सानो कुफ्र ।

ठूलो कुफ्रः- ठूलो कुफ्रको मतलब त्यो कुफ्र हो जुन कार्यबाट मुसलमान इस्लाम धर्मको परिधीबाट बहिरिन्छ ।

ठूलो कुफ्र पाँच प्रकारको हुन्छ ।

(क) कुफ्रे तक्ज़ीब अर्थात झूटो ठहर्याउनेः यसको प्रमाणको लागि अल्लाह तआलाको भनाई छः  “त्यो भन्दा ठूलो अत्याचारी अरु को हुन सक्छ र जो अल्लाहप्रति झुटो गढ्छ र नितान्त सत्यला त्यसको आगमन पश्चात् असत्य ठहर गर्छ ? के यस्ता कृतघ्नहरुको वास नरकमा हुँदैन त ?” (सूरहः अन् कबूत, आयत-६८)

(ख) कुफ्रे तकब्बुर व इन्कार (कुफ्र घमण्ड र अस्वीकार): यसको प्रमाणको लागि अल्लाह तआलाको यो भनाई छः र, त्यस अवसरलाई स्मरण गर जब हामीले फरिश्ताहरुलाई भन्यौ कि आदमलाई ढोग (सज्दा गर)  तब इब्लिस बाहेक सबैले ढोगे । उसले इन्कार एवं घमण्ड गर्यो र काफिरहरुमा सामेल भयो ।

(ग) सन्देह वा शंकाको कुफ्रः यसलाई ज़न(वहम) पनि भनिन्छ । यसको प्रमाणको लागि अल्लाहको भनाई छः र, ऊ स्वयंमाथि अत्याचारी भई आफ्नो बगैंचामा प्रवेश गर्यो । उसले भन्यो- “मेरो विचारमा यो सम्पत्ति कहिल्यै नष्ट हुनेछैन… (सूरह अल कहफ, आयत, ३५)

       र न म परलोक स्थापना हुने कुरालाई नै मान्दछु । र, कुनै दिन म मेरा रब सामु फर्काइए भने अवश्य यो भन्दा पनि उत्तम स्थान पाउनेछ ।” (सूरह अल कहफ, आयत, ३६)

      उसको साथीले कुरा काट्दै भन्यो- “के तिमीले त्यसको इन्कार गर्छौ जसले तिमीलाई माटोबाट र त्यसपछि वीर्यवाट सृष्टि गरे फेरी तिमीलाई पूर्ण मानव बनाएर उभ्याए ।  (सूरह अल कहफ, आयत, ३७)

तर म के विश्वास गर्छु भने उनै अल्लाह मेरो पालनकर्ता हुन् । म आफ्नो रबलाई कसैलाई साझेदार बनाउने छैन । (सूरह अल कहफ, आयत ३८)

(घ) बेपरवाहीको कुफ्रः यसको प्रमाणको बारेमा अल्लाह तआलाको भनाई छः र, काफिरहरुलाई जुन कुराको उपदेश दिइन्छ त्यसबाट तिनीहरु विमुख हुन्छन् । सूरह अल अहकाफः३)

(ङ) कुफ्र निफाक़ः यसको प्रमाणको बारेमा अल्लाह तआलाको भनाई छः यो यसकारणले भएको छ कि तिनीहरुले ईमान ल्याएपछि फेरी कुफ्र गरे तसर्थ तिनीहरका हृदयमाथि मोहर लगाइयो । अब तिनीहरु बुझ्दैनन्।

दोश्रो खालको कुफ्रः कुफ्र अस्गर हो । कुफ्र अस्गरबाट एक मुसलमान दीन(धर्म) को परिधीबाट निस्किंदैन । यसलाई अमली (कार्य) कुफ्र पनि भनिन्छ जस्तैः कुफ्र नेमत, पवित्र कुरआनमा यसको उदाहरण यसरी बयान गरिएको छ- अनि, अल्लाह यस्तो नगरको उदाहरण प्रस्तुत गर्छन् जसलाई शान्ति व सन्तुष्टि प्राप्त थियो, र, प्रत्येक दिशाबाट त्यसको खाद्यन्न सामाग्री प्रसस्त मात्रमा आइरहेको थियो तर त्यसले अल्लाहको वरदानप्रति कृतघ्नता देखायो। अतः अल्लाहले त्यसलाई त्यसको कुकर्मले गर्दा भोक र त्रासको स्वाद चखाए।

मुसलमान मुसलमान बीचमा लडाई पनि यस अन्तरगत पर्छ । नबीको कथन छः मुसलमानलाई गाली गर्नु पनि पाप हो र उसँग लडाई, झगडा गर्नु कुफ्र हो । (हदीस- बुखारी र मुस्लिम)

अर्को ठाउँमा छः म पछि तिमीहरु काफिर न बन्नु । यस्तो नगर्नु कि एक आपसको गर्दनमा हान्न लागौला । (हदीस- बुखारी र मुस्लिम)

यसमा अल्लाह बाहेक अरुको कसम खानु पनि पर्दछ । नबी (सल्ल.) को कथन छः जसले अल्लाह बाहेक अरुको कसम खायो उसले कुफ्र गर्यो या शिर्क गर्यो ।

एक ठाउँमा अल्लाह तआलाले ठूलो पाप गर्नेवालालाई मोमिन भनेका छन् । हे आस्थावानहरु हो ! तिमीहरुमाथि  हत्याको मामलामा हत्या-दण्ड (क़िसास) अनिवार्य गरिएको छ । (कुरआन, सूरह अल बक़राः178)

यहाँ हत्यारालाई मोमिन (आस्थावान) को समूहबाट अलग गरेको छैन तर उसलाई हत्या गर्नेवाला भाई भनिएको छ ।

तर, मृतकका न्धुले हत्यारालाई क्षमा गर्न चाहेमा नियमपूर्वक प्रतिहिंसाको प्रत्स्थापनमा अर्थ-दण्ड लागु गर्नु पर्दछ र हत्याराले राम्रोसँग अर्थ दण्ड तिर्नु पर्दछ । (कुरआन, सूरह अल बक़राः178)

निश्चय नै यहाँ भाईको मतलब दीनी भाई हो । र अर्को एक ठाउँमा अल्लाहको कथन छः  र, यदि आस्थावानहरुका दुईवटा समूह आपसमा लडाई गर्छन् भने तिमीहरुले उनीहरुबीच सम्झौता गराऊ । (पवित्र कुरआन, सूरह अल हुजरातः9)

अर्को ठाउँमा यो पनि भनिएको छः आस्थावानहरु एक अर्काका दाजुभाईहरु हुन् । तसर्थ आफ्ना दुई दाजुभाईहरुबीचको सम्बन्धलाई सुदृढ पार । (पवित्र कुरआन, सूरह अल हुजरातः9)

         तर मानिस मुस्लिम भएर नै जन्मेको हुन्छ, तर जीवन भरी अचेतन रुपमा मुस्लिम रहेको मानिस आफ्ना ज्ञानबुद्धिलाई काममा लाएर अल्लाहलाई चिनेको हुँदैन र आफ्नो स्वतन्त्र क्षेत्रमा उसले अल्लाहको हुकुम मान्न अस्वीकार गरेको हुन्छ । यस्तो मानिसलाई “काफिर” भन्दछन् । ‘कुफ्र’ को मौलिक अर्थ हो लुकाउनु वा पर्दा लाउनु ।

        आफ्नो सहज प्रकृतिलाई नजानेर लुकाएको वा पर्दा लाएको हुनाले उसलाई काफिर भनिएको हो। उसको जन्मजात प्रकृति र स्वभाव इस्लामको प्रकृति जस्तै हुन्छ । उसको सारा शरिरले र शरिरको प्रत्येक भागले इस्लामको प्रकृति अनुसार काम गरिरहेको हुन्छ। उसका चारैतिर सारा संसार इस्लाममा चलिरहेको हुन्छ तर उसको बुद्धिमा भने पर्दा लागेको हुन्छ । उसको आफ्नो प्रकृति र सारा संसारको प्रकृतिदेखि छोपिएको हुन्छ। यसो हुँदा उसले त्यसको विरुद्धमा सोच्दछ र यसरीनै विरुद्धमा हिंड्ने कोशिश गर्दछ । यसबाट काफिर व्यक्ति कत्रो ठूलो भ्रममा परेको हुन्छ त्यसकरण स्पष्ट बुझ्न सकिन्छ ।

कुफ्रबाट हुने हानि

     ‘कुफ्र’ एक प्रकारको अज्ञानता हो तर वास्तविक अज्ञानता ‘कुफ्र’ नै हौ । यो भन्दा ठूलो अज्ञानता अरु के हुन सक्छ कि मानिस ईश्वरदेखि अपरिचित हुन्छ । एक व्यक्ति संसारको यति ठूलो दिनरात चलिरहेको देख्छ तर यो संसार बनाउने र चलाउने को हो सो कुरा उ जान्दैन । अनि उ कुन कारिगर हो जसले कोइला र फलाम तथा क्यालसियम र सोडियम अनि त्यस्तै अरु चीजहरु मिसाएर मानिस जस्तो अनुपम प्राणीको रचना गरिदियो। मानिसले संसारमा यस्ता वस्तुहरु हरदम देख्छ र संसारमा अद्वितीय कार्यकलाप, वस्तुकला, गणित विद्या, रसायन तथा ज्ञान विज्ञानका विभिन्न हाँगा बिगाका चमत्कारपूर्ण प्रतिभाहरु पनि देख्छ तर ती ज्ञान, तत्वज्ञान र बुद्धि भएका सत्ता को हुन् जसले विश्वमा यस्ता कामहरुगरेर देखाए यो कुरा उसला थाहा छैन ।

      विचार गरेर भन्नुहोस् , जसले ज्ञानको पहिलो खुड्किलो नै टेक्न सकेको छैन यस्ता व्यक्तिका निम्ति वास्तविक ज्ञानको कसरी उघ्रन सक्छ ? त्यस्ता व्यक्तिले कति नै सोच विचार गरे तापनि र कतिनै खोजी र अनुसन्धान गरे तापनि उसलाई कुनै विभागको पनि ज्ञानको सोझो र यथार्थ बाटोको पत्ता लाग्ने छैन किनभने शुरुमै उसले अँध्यारो मात्र देख्नेछ र आखिरसम्म उसले अँध्यारो बाहेक अरु केही देख्ने छैन ।

स्रोतः किताबुतौहिद र इस्लाम दर्शन

प्रस्तुतकर्ता- मुहम्मद ईब्राहीम

 

Related Post