इस्रा तथा मेराज

इस्रा तथा मेराज

इस्रा तथा मेराज

“इस्रा तथा मेराज” को परिभाषा
इस्राको परिभाषाः ” अल्लाह तआलाको आज्ञाबाट जिबरील फरिश्तेको साथ रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को शरीरको साथ बुराक़मा बसेर मस्जिद हरामबाट लिएर मस्जिद अक्सा तकको यात्रालाई इस्रा भनिन्छ।
मेराजको परिभाषाः ” अल्लाह तआलाको आज्ञाबाट जिबरील फरिश्ताको साथ रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई शरीरको साथ मस्जिद अक्साबाट लिएर आकाशमा लेिएर गए ”जहां रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई धेरै नबीहरु र रसूलहरुसँग भेट गराएको थियो, फेरी अल्लाहसँग कुनै माध्यम बिना कुराकानी गर्ने शुभ अवसर प्राप्त भयो र जहाँ अल्लाह तआलाको धेरै निशानीहरुको दर्शन गराइएको थियो। यसलाई मेराज भनिन्छ ।नबीको जीवनमा कहिले कहिले यस्तो अवसर पनि आउँछ जब अल्लाह उनलाई आफ्नो ब्राह्माण्डको केही गोप्य रहस्यलाई अवगत गराउन चाहनु हुन्छ जसको कारण नबिको आत्मा विश्वास र उनी माथि जुन उत्तरदायित्व दिएको छ त्यसलाई पूर्ण तरीकाले पूरा गर्न सकुन । यिनै रहस्यमा एक “इस्रा तथा मेराज”पनि हो ।इस्राको बर्णन त स्वयं कुरआनमा छ तर मेराजको बर्णन कुरआनमा छैन, तर धेरै हदीसमा पाइन्छ । जसको बारेमा तीस भन्दा धेरै साहबाले बर्णन गरेका छन् ।

अल्लामा सफीउर्रहमान मुबारकपुरीले आफ्नो बहुचर्चित पुस्तक अर्रहीक़ुल मख्तूममा इस्रा व मेराजको घटनाको तारिखको इतिहासकारहरुको मतभेत यसप्रकार बयान गरिएको छ।

  • इस्रा व मेराजको घटना त्यही वर्ष भयो, जुन वर्ष अल्लाहले नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई नबी बनाया। (इमाम तबरी)
  • इस्रा व मेराजको घटना नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई नबी बनाएको पाँचौं वर्षमा भएको थियो। (इमाम क़ुरतुबी व इमाम नववी)
  • इस्रा व मेराजको घटना 27 रजब सन् 10 नुबुव्वतमा भएको थियो। (अल्लामा मन्सूर पूरी)
  • इस्रा व मेराजको घटना हिजरत भन्दा 16 महीना पहिले भएको थियो। अर्थातः रमज़ान सन् 12 नुबुव्वतमा भएको थियो।
  • इस्रा व मेराजको घटना हिजरत भन्दा 14 महीना पहिले भएको थियो। अर्थातः मुहर्रम सन् 13 नुबुव्वतमा भयो।
  • इस्रा व मेराजको घटना हिजरत भन्दा एक वर्ष पहिले भएको थियो। अर्थातः रबीउल अव्वल सन् 13 नुबुव्वतमा भएको थियो।

यी सबै इतिहासकारहरुको तर्कको बयान गरेपछि मुबारकपूरी आफ्नो बहुचर्चित पुस्तकमा लेख्नु हुन्छ।

प्रथम तीन कुरालाई अस्वीकार गरिन्छ किनकि रमज़ान सन् 10 नुबुव्वतमा खदीजा (रज़ियल्लाहु अन्हा) को देहान्त भएको थियो। निःसन्देह पांच समयको नमाज़को अनिवार्य हुनु भन्दा पहिले नौ खदीजा (रज़ियल्लाहु अन्हा) को देहान्त भएको थियो र सबै इतिहासकारहरुको सहमति छ कि पांच समयको नमाज़हरु इस्रा व मेराजमा नै अनिवार्य भएको थियो।

पछिको तीनै रायप्रति कुनै एउटा प्रमाणमा कोही पनि सहमत छैनन् कुनै सन् र कुनै तिथि इस्रा व मेराजको घटना घटित भएको भन्ने बारेमा तर सुरतुल इस्राको अवतरित यही स्पष्ट हुन्छ कि इस्रा व मेराजको घटना हिजरत भन्दा केही पहिले घटित भएको हो। (अर्रहीक़ुल मख्तूमः 208)

इस्रा तथा मेराज” को घटना कसरी भयो ?

           नबीको जीवनमा कहिले कहिले यस्तो अवसर पनि आउँछ जब अल्लाह उनलाई आफ्नो ब्राह्माण्डको केही गोप्य रहस्यलाई अवगत गराउन चाहनु हुन्छ जसको कारण नबिको आत्मा विश्वास र उनी माथि जुन उत्तरदायित्व दिएको छ त्यसलाई पूर्ण तरीकाले पूरा गर्न सकुन । यिनै रहस्यमा एक इस्रा तथा मेराजपनि हो । इस्राको बर्णन त स्वयं कुरआनमा छ तर मेराजको बर्णन कुरआनमा छैन, तर धेरै हदीसमा पाइन्छ ।जसको बारेमा तीस भन्दा धेरै साहबाले बर्णन गरेका छन् । इस्राको अर्थ हुन्छ रातमा यात्रा गर्नु, जसको संकेत सूरतुल इस्रामा छ । यस सूरः लाई बनी-इसराईल पनि भनिन्छ ।

अल्लाहको भनाई-“त्यो अल्लाह अत्यन्त पवित्र हुनुहुन्छ, जसले एकै रातमा आफ्नो भक्तलाई मस्जिदे हराम (काबा) बाट मस्जिदे अक्सा (बैतुल मक्दस) सम्म लिएर जानुभयो, जसको चारैतिर हामीले बरकत दिई राखेको छ यसका लागि कि हामीले उसलाई आफ्नो केही निशानीहरु देखाउन सकौं । निसन्देह अल्लाह नै धेरै सुन्नेवाला र देख्नेवाला हो”।    (सूरा-17, इस्रा (बनी इसराईल, आयत-१)

यसपछि नबी (सल्लल्लाहु अलैही वसल्लम) लाई सातौं आकाशको यात्रा गराइएको थियो, जहाँ उहाँले विभिन्न प्रकारको चमत्कारहरु देख्नु भयो। जसको केही बर्णन सूरः नज़्ममा आएको छ। कुरआनमा यस बाहेक यस विषयमा केही आएको छैन। तर वहाँको जीवनमा जुन किताब लेखिएको छ त्यसबाट थाहा हुन्छ कि इस्राको यो चमत्कार पूर्ण घटना मक्काबाट मदीनातर्फ हिजरत (प्रवाश) जानु भन्दा एक बर्ष पहिले भएको हो।

रसूल (सल्लल्लाहु अलैही वसल्लम) त्यसै समय ताइफवालालाई इस्लामको सन्देश सुनाएर आएका थिए, जसले वहाँको सन्देश अस्वीकार गरे र वहाँलाई ढुंगाले हानी रक्ताम्य पारेका थिए र जुत्तामा रगत जमेको थियो । यस अवस्थामा वहाँ निक्कै दुखित हुनुहुन्थ्यो, ठिक त्यसैबेला इस्राको घटना घटेको थियो। यसकारण अल्लाह वहाँको दुःखलाई छुटकारा गराउन चाहनु हुन्थ्यो तथा वहाँलाई अनौठो चमत्कार पनि अवगत गराउन चाहनु हुन्थ्यो ताकि निराश नहुनु र संयमको साथ आफ्नो काम गर्दै रहनु। अब आउनु होस् हेरौं कि यस यात्रामा वहाँले के देख्नु भयो।

१. नबी (सल्लल्लाहु अलैही वसल्लम) आफ्नो घर मस्जिदे-हराम (काबा) को नजिक विश्राम गरि रहनु भएको थियो, जिबरील अलैहिस्सलाम आउनु भयो। वहाँ (सल्लल्लाहु अलैही वसल्लम) लाई उठाउनु भयो  र नबी (सल्लल्लाहु अलैही वसल्लम) को छातीमा चक्कुले चिर्नु भयो र नबी (सल्लल्लाहु अलैही वसल्लम) को मुटु निकाल्नु भयो, त्यसलाई जमजमको पानीले धुनुभयो फेरि सुनको थालमा राख्नु भयो जसमा ज्ञान र बुद्धि भरिएको थियो। फेरि सोही ठाउँमा राख्नु भयो जहाँबाट निकालेको थियो। मुटु निकाल्ने घटना नबी (सल्लल्लाहु अलैही वसल्लम) को बालक अवस्थामा पनि भएको थियो।

२. फेरि जिबरील अलैहिस्सलामले एउटा सवारी लिएर आउनु भयो जसलाई बुराक भन्दछन्। त्यसको रंग सेतो थियो, जुन गधा भन्दा केही ठूलो र खच्चर भन्दा केही सानो थियो। जसको गति अति तिब्र थियो। जहाँसम्म आँखाले देखिन्छ त्यहाँ सम्म एक फड्कामा पुग्थ्यो।

३. केही क्षणमा नबी (सल्लल्लाहु अलैही वसल्लम) लाई लिएर बैतुल्लाहबाट बैतुल- मकदिस पुगे जुन ठाउँ त्यस समयका यात्रुहरुको लागि चालिस दिनको यात्रा थियो। नबी (सल्लल्लाहु अलैही वसल्लम) ले बैतुल-मकदिसमा नबीहरुलाई नमाज पढाउनु भयो।

४. त्यसपछि जिबरील अलैहिस्सलामले दुई वटा कचौरा लिएर आउनु भयो, एउटामा दुध थियो र अर्कोमा शराब थियो। वहाँले दुधवाला कचौरा लिनु भयो। यस सम्बन्धमा जिबरील अलैहिस्सलामले भन्नु भयो

“तपाईले  स्वभाविक  चीजलाई  रोज्नु  भयो।  यदि  तपाई  मदिरावाला  रोज्नु  हुन्थ्यो  भने  तपाईका अनुयायीहरु पथभ्रष्ट हुन्थे”। (सही बुखारी हदीस नं.-४७०९)

५. त्यसपछि जिबरील अलैहिस्सलामले नबी (सल्लल्लाहु अलैही वसल्लम) लाई लिएर आकाशतर्फ लाग्नु भयो। पहिलो आकाशमा आदम अलैहिस्सलामलाई भेट्नु भयो, दोस्रो आकाशमा ईसा तथा यह्या, तेस्रोमा यूसुफ, चौथोमा इदरीस, पाँचौंमा हारुन, छैठौंमा मूसा र सातौंमा इबराहीम अलैहिस्सलामसंग भेट गर्नु भयो र जिबरील अलैहिस्सलामले परिचय गराउनु हुन्थ्यो। सबैले वहाँलाई स्वागत गर्नु भयो। हरेक तहमा त्यही प्रश्न सोधिन्थ्यो जिबरील अलैहिस्सलाम तपाईको साथमा को आएको छ ? जिबरील अलैहिस्सलामले भन्नु हुन्थ्यो, रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) आउनु भएको छ, तब ति नबीले भन्थे, हामीलाई अल्लाहबाट यही हुकुम भएको थियो कि रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) आउनु हुन्छ वहाँको लागि ढोका खोल्नु ।

६. नबी (सल्लल्लाहु अलैही वसल्लम) यस यात्रामा सिदरतुल-मुन्तहासम्म पुग्नु भयो, त्यहाँ अरु कोही प्राणी पुग्न सक्दैन। त्यहाँ नबी (सल्लल्लाहु अलैही वसल्लम) ले भाग्य लेख्ने फरिश्ताहरुको कलम चलेको आवाज सुन्नु भएको थियो जो संसारको भाग्य लेख्न व्यस्त थिए।

७. नबी (सल्लल्लाहु अलैही वसल्लम) र वहाँका अनुयायीको लागि अल्लाहबाट एक दिनमा पचास पटक नमाज पढ्ने हुकुम भयो तर नबी (सल्लल्लाहु अलैही वसल्लम) ले विन्ती गरेर कम गर्न भनेपछि पाँच पटक अनिवार्य गरिएको हो तर अल्लाह तआलाले त्यसको पुण्य पचास नमाजको बराबर नै दिनु भयो ।

८. नबी (सल्लल्लाहु अलैही वसल्लम) सँग प्रश्न गरिएका थिए के तपाईले अल्लाहलाई देख्नु भयो ? नबी (सल्लल्लाहु अलैही वसल्लम) ले भन्नु भयो,

 वहाँ त एक प्रकाश हो, कसरी देख्न सकिन्छ” 

  (सही मुस्लिम-१७८)

९. नबी (सल्लल्लाहु अलैही वसल्लम) ले यस यात्रामा जिबरील अलैहिस्सलामलाई प्रत्यक्ष देख्नु भयो। वहाँको ६०० पखेटा थिए पुरा ब्रह्माण्डलाई ढाकेको थियो-

यस यात्रामा नबी (सल्लल्लाहु अलैही वसल्लमले अल्लाहको महान निशानीहरु (दृश्य) देख्नु भयो । ( कुरआन सूरः अन नज्म आयत नं. १८)

ति निशानीहरु यसप्रकार छ।

क) त्यहाँ एउटा यस्तो नदी देख्नु भयो जसको किनारमा एक यस्तो भवन देख्नु भयो जसको एक ईटा र ढुंगाहरु हिरा जवाहिरको थियो । नबी (सल्लल्लाहु अलैही वसल्लम) ले जिबरील अलैहिस्सलामसँग त्यस भवनको बारेमा सोध्नु भयो, तब वहाँले भन्नु भयो, यो कौसर नदी हो र त्यो भवन जुन तपाईले देख्नु भएको छ तपाईलाई तपाईको पालनकर्ताले तपाईको लागि बनाएको हो ।

ख) नबी (सल्लल्लाहु अलैही वसल्लम) ले त्यहाँ बैतुल-मामुर पनि देख्नु भयोजसमा हरेक दिन सत्तरी हजार फरिश्ता नमाज़ पढ्दथे जो एक पटक नमाज़ पढेर निस्किन्थे उनीहरुको अर्को पटक पालो आउँदैनथ्यो अर्थात फेरी अर्को सत्तरी हज्जार आउँथे। (सही बुखारी-३२०७)

ग) वहाँ नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले वहाँ चारवटा नदि देख्नु भयो, दुईवटा स्वर्गतर्फ बगेको थियो र दुईवटा संसारतर्फ बग्दथ्यो, जसलाई नील र फ़ुरात भन्दछन्।

घ) त्यहाँ  केही  यस्ता  मानिस  पनि  देख्नु  भयो  जसले  आफ्नो  नग्राले  आफ्नो  मुख  चिथरी रहेका थिएयस सम्बन्धमा नबी (सल्लल्लाहु अलैही वसल्लम) ले जिबरील अलैहिस्सलामसँग सोध्नु भयो तब वहाँले भन्नु भयो यिनीहरु ति मानिसहरु हुन जसले एक अर्काको चुक्लीया चम्चागिरी गर्दथे

(अबू दाउद ५/१९४)

ङ) नबी (सल्लल्लाहु अलैही वसल्लम) ले त्यहाँ स्वर्ग र नर्क पनि देख्नु भयो। त्यहाँ रहनेवाला र भविश्यमा जानेवाला पनि देख्नु भयो। अर्थात अल्लाह आफ्नो नबी (सल्लल्लाहु अलैही वसल्लम) लाई इसरा तथा मेराज को यात्रा गराएर यो संदेश दिन चाहनु हुन्थ्यो कि वहाँ धेरै महान शक्तिशाली हुनुहुन्छ । वहाँ जे चाहनु हुन्छ गर्न सक्नु हुन्छ तर मानिस यो कुरा बुझ्दैनन् जो आस्थावान थिएनन् । यसैले जब नबी (सल्लल्लाहु अलैही वसल्लम) ले आफ्नो यात्राको बर्णन मक्कावालासँग गरे त उनीहरुले वहाँको मजाक गरेर उडाउन थाले ।     (सही बुखारी- ४७१०)

त्यसबेला अल्लाहले बैतुलमकदिस लाई नबी (सल्लल्लाहु अलैही वसल्लम) को सामने गरि दिनुभयो र नबी (सल्लल्लाहु अलैही वसल्लम) ले त्यस विषयमा सबै बताउन लाग्नु भयो जस्तै वहाँले सामने देखे जस्तै गरी बताउनु भयो ।

यो यस्तो कठिन समय थियो जब मक्काका इस्लाम विरोधीहरुले अबू बक्र (रज़ियल्लाहु अन्हु) लाई शर्मिन्दा गर्नलाई भने,- के तिमीले आफ्नो मित्रको बारेमा सुन्यौ, उ भन्छ एक रातमा बैतुल-मकदिस पुगेर आयो रे ? अबू बक्र (रज़ियल्लाहु अन्हु) ले भन्नु भयो,- यदि यस्तो वहाँले भन्नु भएको भए यसमा आश्चार्यको कुरा के छ ? हामी त यस कुरामा विश्वास गर्दछौं, आकाशबाट उनलाई वह्य आउँछ। यदि वहाँले बैतुल-मक़दिसमा एक रातमा जाने आउने कुरा गरेका भए म पुरा विश्वास गर्दछु यस्तै भयो होला। यो कुरा सुनेर मक्काका इस्लाम विरोधि चकित भए। त्यसपछि नबी (सल्लल्लाहु अलैही वसल्लम) अबू बक्र (रज़ियल्लाहु अन्हु) लाई सिद्धिक(पुष्टी गर्नेवाला) को उपाधी दिनुभयो।

     यदि आज पनि कोही यस कुरामा शंका गर्दछ भने त्यसले अल्लाहको महान शक्तिलाई जान्न सकेन। सबैभन्दा पहिले नबी (सल्लल्लाहु अलैही वसल्लम) लाई सत्य हुन भनेर विश्वास गर्नु पर्दछ, जब तपाई वहाँलाई नबी मान्नु हुन्छ भने वहाँको कुरामा शंका पनि गर्नु हुँदैन। जो व्यक्ति वहाँलाई नबी मान्दैनन् हामी उनीहरुसँग विनम्र अनुरोध गर्दछौं कि तपाई इस्लाम धर्मको बारेमा अध्ययन गर्नुहोस्।

केही व्यक्ति यसमा शंका गर्दछन् । यो यात्रा केवल आत्माको मात्र थियो कि या शरीर र आत्मा दुवैको थियो। कुरआनको वर्णन शैलीबाट यो जानकारी मिल्दछ। नबी (सल्लल्लाहु अलैही वसल्लम) को यो यात्रा आत्मा र शरीर दुवैको थियो । अल्लाहको कथन छ,

“पवित्र  हुनुहुन्छ  अल्लाह जसले आफ्नो  भक्तलाई  मस्जिद हराम देखि 

मस्जिद अक्सासम्म लिएर जानु भयो”।    (सूरः बनी इसराईल,-१)

यो घटनाबाट यो अन्दाज गर्न सकिंन्छ कि कुनै महान घटनातर्फ संकेत गर्दछ। यदि यो यात्रा आत्माको थियो भने सपनामा हुन्थ्यो कुन आश्चार्यको कुरा हो र ? यस प्रकारको सपना त कोही पनि देख्न सक्छ। फेरि मक्काको इस्लाम विरोधिहरुलाई यसलाई अस्वीकार गर्न के आवश्यकता थियो ? अल्लाहको कथन छ,- जुन दृष्य हामीले तिमीलाई देखायौंत्यो त बस हामीले मानिसको लागि परिक्षा बनाएका थियौं

(सूरः बनी-इसराईल,-६०)

यसबाट पनि प्रमाणित हुन्छ की यो घटना केवल सपनामा आत्माको मात्र यात्रा नभएर, स-शरीरको यात्रा थियो। किनकि यदि यो केवल एक सपना थियो भने यसमा मानवको लागि के परिक्षा थियो । आश्चार्यजनक सपना त हामी एक से एक देख्छौं । कुरआनमा रूया”  शब्दको प्रयोग भएको छ। जसको अर्थ “सपना” हुन्छ। तर जब त्यसको साथै परिक्षा भन्ने शब्दको प्रयोग भएको हुनाले यो प्रत्यक्ष देखेको प्रमाण मिल्छ।

     यो रूया शब्दमा केही विद्वान भ्रममा परेका छन्। यसैले उनीहरु भन्दछन् यो सपनाको यात्रा हो। तर जब सूरतुल-इसराको शुरुको पहिलो आयत र ६० नं. आयतसँग मिलाएर विचार गर्ने हो भने प्रष्ट हुन्छ यो जीवित आत्माको यात्रा थियो। नबी (सल्लल्लाहु अलैही वसल्लम) ले यो सबै दृष्य आफ्नो आँखाले देख्नु भएको छ।

     यो सबै घटना हामी यसैले सत्य मान्दछौं कि यो यात्रा नबी (सल्लल्लाहु अलैही वसल्लम) लाई अल्लाहले गराउनु भयो। जो महान हुनुहुन्छ। जसले संसारको कण-कण निरक्षण गर्नु हुन्छ। जसले आदम अलै.लाई माटोबाट सृष्टि गर्नु भयो, इबराहीम अलै. लाई आगोबाट जीवित निकाल्नु भयो, मूसा अलै. को लागि समून्द्रलाई दुई भागमा छुट्याई निकाशको बाटो बनाई दिनु भयो, ईसा अलैहिस्सलामलाई असंख्य चमत्कार प्रदान गर्नु भयो अल्लाहले नबी (सल्लल्लाहु अलैही वसल्लम) लाई यो यात्रा गराउन कसरी असम्भव होला त ?

अब विचार गर्नुहोस् । सबैभन्दा छिट्टो गतिमा पुग्ने चीज मध्ये प्रकाश हो। जो प्रति सेकण्ड छयासी हज्जार मिल गतिमा पुग्छ। यस्तै सौर्य परिवारबाट बाहीर जो पृथ्वीको नजिक भएको तारालाई Alpha centaur भन्दछ। त्यहाँसम्म पुग्नलाई हामीलाई ४२४ प्रकाश बर्ष चाहिन्छ। जबकी अहिले हामी पहिलो आकाशमा छौं। नबी (सल्लल्लाहु अलैही वसल्लम) ले इस्रा तथा मेराज मा सातौं आकाशको यात्रा गर्नु भएको छ । जहाँ बैतुल-मामुर छ। त्यो भन्दा अगाडि कोही जान सक्दैन। अब अल्लाहको सत्ता हेर्नुहोस्, वहाँ भन्नु हुन्छ,-  हाम्रो आज्ञा आँखा झपक्क गरे जस्तै हुन्छ (कुरआन सूरः अल कमर-५०)

जस्तै आँखा झपक्क हुन केही समय लाग्दैन त्यसैगरी अल्लाहको हुकुम कार्य रुपमा आउन ढिलो हुँदैन । कुनै पनि काम अल्लाह भन्नु हुन्छ कुन (होस्) त्यो भैहाल्छ।

यसैगरी आँखा झपक्क हुँदै नबी (सल्लल्लाहु अलैही वसल्लम) पहिलो आकाशमा पुग्नु भयो। दोस्रो पटक आँखा झपक्क हुँदा दोस्रो आकाश, फेरी तेस्रो गर्दै सातौं आकाशमा पुग्नु भयो। अन्तमा नबी (सल्लल्लाहु अलैही वसल्लम) सिदरातुल-मुन्तहा तक पुग्नु भयो। यहाँ त प्रकाशको गति भन्दा छिट्टो गतिमा वहाँ पुग्नु भएको छ। यो हो अल्लाहको कुन भनेको। यसबाट थाहा हुन्छ की नबी (सल्लल्लाहु अलैही वसल्लम) को इस्रा यात्रा अल्लाहको शब्द कुन भन्ने शब्द जस्तै भएको छ। जसको सामने संसारिक नियम, समय तथा टाढा नजिकको कुनै महत्व हुँदैन। तर यो कुरा उसैले बुझ्दछ जो बुद्धिमान छ।

स्रोतः- कुरआन मजीदको इन्साइक्लोपीडिया

लेखकः- प्रो.डा. मुहम्मद ज़ियाउर्रहमान आज़मी,

मदीना मुनव्वरा-दारुस्सलाम

अनुवादकः- मुहम्मद इब्राहीम खरेल

Related Post