New Muslims APP

हज़ गर्ने तरीका

खान ए काबा

हाजीहरु काबा (अल्लाह) को घरको सात पटक परिक्रमा गर्छन्

हज़ इस्लामको पाँचौं स्तम्भ हो । हज़ गर्नलाई हिजरीको नवौं बर्षको अन्त तिर अल्लाहको तर्फबाट अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैही वसल्लममा वाह्यद्वारा हुकुम प्रदान गरेको हो। हज़ निम्न व्यक्तिहरुमाथि अनिवार्य छ जस्तैः- बुद्धिमान, बालिग स्वतन्त्र, स्वास्थ्य, आर्थिक क्षमताले सक्षम छन् भने उसले जीवनमा एक पटक हज़ गर्नु पर्दछ । तर जग्गा जमिन विक्री गरेर, ऋण गरेर, ब्याजमा कर्जा लिएर, घरमा खानपिनको अभाव भएमा त्यस्तो व्यक्ति माथि हज अनिवार्य छैन । जसले पूर्ण सही रुपले हज़ गर्दछ अल्लाहले उसलाई स्वर्ग प्रदान गर्नु हुन्छ ।

हज़ गर्ने तरीका  

आठौं जुल हिज्जको बिहान देखि आफ्नो काखी तथा गुप्ताङको रौं खौरेर अनि नुहाएर आफ्नो डेराबाट नै इहरामको लुगा लगाउनुहोस् । इहरामको लुगा लगाए पछि हज़को लागि हृदयमा संकल्प गर्नुहोस् त्यसपछि तलको मन्त्रलाई पढ्नुहोस्……अल्लाहुम्मा लब्बैका हज्जन

अर्थः- “हे अल्लाह म हज़को लागि हाजिर छु”

त्यसपछि तल उल्लेखित दुआ (प्रार्थना) बारम्बार पढ्नु।

लब्बैका अल्लाहुम्मा लब्बैक्। लब्बैक लाशरीका लक लब्बैक्। इन्नल हम्द वन्निअमता लक वल्  मुल्क् लाशरीक लक्

अर्थः- म हाजिर छु, हे अल्लाह म हाजिर छु, तपाईको कोही साझेदारी छैन, म हाजिर छु, निश्चय सम्पूर्ण प्रशंसाहरु तपाईकै लागि हो । अनि सम्पूर्ण उपहारुहरु तपाईकै तर्फबाट प्रदान गरिएको हो । सबै मुलुकका राजा तपाई नै हुनुहुन्छ । तपाईको कोही साझेदार छैन ।

फेरि मिना भन्ने ठाउँमा जानुहोस् र त्यहाँ पुगे पछि जुहर, अस्र, मग्रिव् इशा र फज्रका नमाजहरु एकै पटक नपढी प्रत्येक नमाजलाई त्यसको निर्धारित समय कस्र अर्थात चार रकआत नमाजको सट्टा दुई रकआत पढ्नुहोस् । नवौं जिलहिज्ज देखि सूर्योदय पछि मिनाबाट अर्फाततर्फ हिंड्नुहोस् र त्यहाँ पुगे पछि जुहर तथा अस्रको नमाजलाई कस्र गरेर दुई-दुई रकआत पढ्नुहोस् र अर्फातको मैदानमा सूर्यास्तसम्म पर्खनुहोस् । यस अवसरमा किबलातर्फ हेरेर खुब प्रार्थाना गर्नुहोस् । सूर्यास्त भए पछि अर्फातबाट मुज्दल्फा पुगेर मग्रिब र इशाको नमाज कस्र गरेर पढ्नुहोस् । फेरि फर्ज नमाज पढे पछि सूर्योदय देखि केही समय पर्खनुहोस् त्यस अवस्थामा धेरै प्रार्थना गर्नुहोस् । यदि तपाई बिरामी र कमजोर हुनुहुन्छ र भिडमा कंकरी(स-सानो ढुंगाहरु) हान्न सक्नु हुन्न भने रातको अन्तिम प्रहरमा मिनामा गएर ढुंगा हान्नलाई अनुमति छ किनकि त्यसबेला भिड हुँदैन । जब सूर्योदय हुन्छ तब मिनातर्फ जानुहोस् र त्यहाँ पुगे पछि निम्न लिखित काम गर्नुहोस्-

१. जम्र (ठूलो ढुंङ्गा)- यो मक्का नजिक पर्दछ । यसलाई अल्लाहु अकबर भन्दै लगातार सात कंकरीहरु(स-सानो ढुंगा) हान्नुहोस् ।

२. कुर्बानी गर्नुहोस् त्यसको मासु आफू पनि खानुहोस् र गरिवहरुलाई पनि बितरण गर्नुहोस् (कुर्बानी गर्नु हज्जे तमत्तुअ र हज्जे किरान गर्ने मानिसको लागि अनिवार्य छ) ।

३. टाउकाको केशहरुलाई खौराउनुहोस् या कटाउनुहोस् तर खौराउनु राम्रो हो । स्त्री जातिले औंलाको टुप्पो जति मात्र कटाउनु पर्छ । जम्रलाई कंकडी हान्ने र केश कटाउने या खौराए पछि इहरामको लुगा फुकाल्न सक्नुहुन्छ र दैनिक प्रयोग गर्ने लुगा लागाउन सक्नु हुन्छ । त्यसपछि श्रीमतिसँग सम्भोग बाहेक इहरामको अवस्थामा जुन कार्य तथा चीज अवैध थिए ती सबै कार्यहरु गर्न सकिंन्छ ।

४. यसपछि मक्का गएर खान ए काबाको परिक्रमा गर्नुहोस् साथै सफा व मर्वा भन्ने पहाडको यात्रा गर्नुहोस् । उक्त अवस्थामा माझमा जहाँ हरियो बत्ति बल्छ त्यहाँ बिस्तारै बिस्तारै दौडनुहोस् । त्यसपछि तपाईका लागि प्रत्येक कार्य गर्न जायज हुन्छ जुन इहरामको हालतमा गर्न नजायज थियो। यहाँसम्मकी पत्नीसँग सम्भोग गर्न पनि जायज हुन्छ । यि सबै कार्यहरु सरल हुन्छ भने क्रम मिलाएर गर्नुहोस् जस्तै पहिला कंकरी हान्नु, त्यसपछि कुर्बानी गर्नुहोस् अनि कपाल कटाउनु या खौराउनु त्यसपछि खान ए काबाको परिक्रमा गर्नुहोस् अनि सफा मर्वा पहाडको परिक्रमा गरेर एघारौं जुलहिज्जामा मिनामा जानु र सूर्य ढल्के पछि जम्रालाई कंकरी (स-साना ढुंगा) ले सात पटक अल्लाहु अकबर हान्नुहोस । सबैभन्दा पहिले जुन मक्का देखि टाढा छ त्यहाँबाट शुरु गर्नुहोस् । अल्लाहु अकबर भन्दै सानो र बीचको जम्रलाई कंकरीले हाने पछि किबलातर्फ मोहडा गरेर प्रार्थना गर्नु पर्दछ एघारौं र बाह्रौ जुलहिज्जमा तीनै जम्रालाई कंकरीले हानेपछि तपाई आफ्नो घर जान सक्नुहुन्छ तर सूर्यास्त हुनु भन्दा पहिले गैसक्नु पर्दछ तर उत्तम हो यो कि तेह्रौ तारिखसम्म मिनामा बस्नु र सूर्य ढल्के पछि पहिले दुई दिनमा जस्तै गरि तीनै जम्रलाई क्रमिक रुपले कंकरी हान्नुहोस् । यी सबै कार्य पुरा भएपछि तपाईको हज् पुरा भयो । अब तपाई खान ए काबाको सात पटक परिक्रमा गरेर घर प्रस्थान गर्न सक्नुहुन्छ । महिनावारी भएकी स्त्री र प्रसूती भएकी स्त्रीको लागि परिक्रमा गर्नु जरुरी छैन ।

जरुरी कुराहरु

हज अथवा उम्रः को इहराम लगाउने मानिसको लागि जरुरी निर्देशनहरुः-

१. अल्लाह तआलाले बताएको निर्देशनहरुको पालन गर्नु पर्दछ र पाँच समयको नमाज समूहको साथ पढ्नु पर्दछ

२. अल्लाह तआलाले निर्जल्लता, पाप र व्यर्थकुरा, झुटो कुरा गर्न मनाही गरेको छ । यसैले यी कार्यहरुबाट परहेज गर्नु पर्दछ । अल्लाह तआलाको भनाई छ “कसैले पनि हज वा उम्रको लागि इहरामको लुगा लगाएपछि सम्भोग, पाप र झगडा नगरोस्” ।

३. मुसलमानहरुलाई आफ्नो कुरा र कार्यले कष्ट न देओस । चाहे त्यो यि पवित्र स्थानहरुमा होस् या अर्को ठाउँमा ।

४. इहरामको हालतमा निम्न लिखित निषेधित चीजहरुबाट जोगिनु पर्दछ ।

(क) नङ र कपाल काट्नु हुँदैन तर काँडा बिझेको छ भने निकाल्न सकिन्छ चाहे यसले गर्दा रगत नै किन न निस्क्योस् ।

(ख) इहरामको लुगा लगाए पछि शरीरमा, कपडामा र खानेकुरामा सुगन्धित चीज वा सुगन्धित साबुन प्रयोग गर्नु हुँदैन तर इहरामको कपडा लगाउनु भन्दा पहिलेको छ भने कुनै पाप हुँदैन ।

(ग) शिकार गर्नु हुँदैन र सिकार भन्नाले यस्तो जनावर जुन थलको जङ्गली जनावर हो जसको सिकार जायज थियो ।

(घ) आफ्नी श्रीमतीसँग सम्भोग र चुम्बन वा लसपस गर्नु हुँदैन ।

(ङ) आफै पनि विवाह नगर्नु र अरुको विवाहमा पनि नगराउनुहोस् साथै आफ्नो वा अरु कसैको विवाहको लागि सन्देश पठाउनु हुँदैन ।

(च) हत्केलाहरुमा हत्केला बराबर पनि सिएको कुनै पनि लुगा लगाउनु हुँदैन तर नसिएको कपडा लपेट्न जायज छ । माथि उल्लेखित निषेधित कार्यहरु स्त्री र पुरुष दुवैको लागि हुन तर यसबाहेक केही खास निषेधित कुराहरु छन् ति पुरूषहरुको लागि मात्र लागु हुन्छ ।

(क) पुरुष जातिले आफ्नो टाउको ढाक्नु हुँदैन जस्तै- टोपी, पगरी या रुमाल आदी तर छाता, गाडीको छाना, पालबाट छाया प्राप्त गर्न वा टाउकोमा कुनै सामानको बोझ राख्न सकिंन्छ ­।

(ख) कमिज, पगरी, टोपी, शर्ट, दौरा सुरुवाल र गोलिगाँठो छोपिने फित्ते जुत्ता लगाउनु हुँदैन । यदि च्यादर पाउनु भएन भने सुरुवाल लगाउन सक्छ र चप्पल नपाएमा फित्तादार जुत्ता लगाउन सक्दछ ।

(ग) वभरकोट, टोपी, गञ्जी, कट्टु लगाउन मनाही छ तर गोली गाँठो देखिने कपडाको जुत्ता, औंठी, चश्मा, कानमा एयरफोन लगाउन, घाँटीमा परिचय-पत्र झुण्याउने फित्ता, घडी, अकमा, पैसा, इत्यादी राख्नको लागि पकेट बेल्ट बाँध्न सकिन्छ । यदि त्यो सिलाएको भएपनि साथमा राख्न जायज छ । नुहाउन बास्ना युक्त साबुन प्रयोग गर्न मनाही छ तर साधारण जुन बासना आउँदैन त्यो प्रयोग गर्न सकिंन्छ ।

(घ) स्त्री जातिले इहरामको हालतमा नकाब (आँखा देखि तल अनुहार ढाक्ने कपडा) लगाउन मनाही छ । इहरामको अवस्थामा स्त्री जातीले अनुहार खुल्ला राख्नु पर्दछ तर कोही पुरुषले आफ्नो अनुहारमा हेरी रहन्छन् भने त्यस अवस्थामा मुख छोप्नु अनिवार्य छ ।

मदीना मुनव्वरामा मस्जिद नबवीको भ्रमण 

हज भन्दा पहिले वा पछि मस्जिद नबवीको भ्रमण गर्नु उत्तम हो किनकी त्यहाँ नमाज पढेमा अरु एक मस्जिदहरुको अपेक्षा एक हजार गुणा पुण्य पाइन्छ त्यस्तै मक्काको “खान ए काबा” मस्जिदमा पढेको एक नमाजको पुण्य एक लाख मिल्दछ ।

तपाई जब मस्जिद नब्वीमा पुग्नु हुन्छ तब दुई रकआत तहीयतुल्(मस्जिदको स्वागत नमाज) नमाज पढ्नुहोस् तर फर्ज नमाज शुरु भैसकेको छ भने सामुहिक नमाजमा सामेल हुने । त्यसपछि मुहम्मद सल्लल्लाहु अलैही वसल्लमको कब्र(समाधि) मा जाने र कब्र(समाधि) पटी फर्केर यो प्रार्थना पढ्ने- अस्सलामु अलैक अय्युहन्नबीयु रहमतुल्लाहि व बरकातुहु वसल्लल्लाहु अलैका वजज़ाक अन् उम्मतिका खैरा

त्यसपछि दुई पाईला अघि अबु बक्र (रज़ि) को कब्र(समाधि)को सामुने उभिएर यो दुआ पढ्ने- अस्सलामु अलैका या अबा वकरिन रजियल्लाहु अन्का खलीफता रसूलिल्लाही सल्लल्लाहु अलैही वसल्लम व बस्कातुहु रजियाल्लाहु अन्का वजज़ाका अन् उम्मति मुहम्मदिन खैरा

फेरि दुई पाइला अघि बढेर हजरत उमरको कब्र(समाधि)को सामुन्ने उभिने र यो दुआ पढ्नेअस्सलामु अलैका या उमरू अमिरुल मूमिनीन व रहमतुल्लाहि व वस्कातुहु रजियाल्लाहु अन्का वजज़ाकाअन उम्मति मुहम्मदिन खैरा त्यसपछि बक़ीअको कब्रस्तानमा जाने र हजरत उसमानको कब्र(समाधि)को सामुन्ने उभिएर सलाम पढ्ने– अस्सलामु अलैका या उस्मान अमिरुल मूमिनीन व रहमतुल्लाहि व वस्कातुहु रजियाल्लाहु अन्का वजज़ाकाअन उम्मति मुहम्मदिन खैरा र वक़ीअ भन्ने चिहानमा राखिएको सबै मुसलमान प्रति सलाम पढ्ने । जबले उहुद(उहुद पहाड) तिर जाने र त्यहाँ हजरत हमजा रजियल्लाहु अन्हु  र उनको साथमा शहिद हुने सबैको समाधिहरुमा भ्रमण गर्दै उनीहरुमाथि अल्लाह तआलासँग मुक्तिको, माफी, दयाको लागि दुआ गर्ने ।

हज्ज गर्दा ध्यान  दिनुपर्ने जरुरी कुराहरु

१. मदिना मुनव्वरामा उपरोक्त ठाउँहरुमा बाहेक अरु ठाउँहरुको दर्शन गर्नु पुण्य मिल्दैन।

२. चिहानहरुमा कुनै किसिमको लसपस गर्नु र लाशहरुलाई पुकार्न मनाही छ ।

३. मुहम्मद सल्लल्लाहु अलैही वसल्लमको कब्र(समाधि)को तर्फ मुख गरेर दुआ गर्नु मनाही छ ।

४. तवाफको लागि घुम्दा कुनै खास दुआ छैन । रुक्ने एमानी(हज्रे अस्वद भन्दा पहिलेको कुना हो) र हज्रे अस्वद(स्वर्गीय कालो ढुङ्गा) को बिचमा तलको दुआ पढ्नु सुन्नत छ । रव्बाना आतिना फिदुनीया हसनतन वफिल आखिरती हसनत वकिना अजाबन्नार।

५. सफा मर्वाको प्रत्येक चक्कर भन्दा पहिला तीन चोटी अल्लाहु अकबर भनेर तलको दुआ पढ्नु सुन्नत हो । लाइलाह इल्लल्लाहु वहदहु लाशरीक लहु लहुल मुल्क व लहुल हम्दु युहयी व युमीतु वहुवा अला कुल्ले शैइन कदीर । ला इलाह इल्लल्लाहु वहदहु, अन्जजा वादहु वनसरा अब्दुहु व हजमल अहजवा वहदहू । यस बाहेक सफा मर्वाको कुनै खास दुआ छैन ।

६. टाउकाको केही कपाल मात्र काट्नु राम्रो होइन पुरै कपाल काट्नु उत्तम हो ।

७.अरफातको मैदानमा उपस्थिती हुनु जरुरी छ ।

८. अरफातको मैदानबाट सूर्यास्त भन्दा पहिला बाहिर जानु हुँदैन ।

९. विमारी तथा कमजोर व्यक्तिको सट्टा उसको तर्फबाट अर्को व्यक्तिले ढुङ्गा हान्न जायज छ ।

१०. जम्रः मा ढुङ्गाहरु हान्दा ठूलो ढुङ्गा, जुत्ता र दाउरा आदी प्रयोग गर्न मनाही छ र सबै ढुङ्गाहरु एकै पटक पनि हान्नु हुँदैन यसको सही तरीका हो एक एक गरेर हान्नु ।

अल्लाह तआला हामी सबैलाई सही तरिकाले हज वा उमरा गर्ने ज्ञान प्रदान गरून् । हामी सबैको जो अन्जानमा गरेको गल्ती तथा भुलचुक माफ गरून् । आमीन ।।

 

स्रोतः- हज्ज उम्रः तथा सन्दर्शन कार्यप्रणाली

लेखकः- शैख मोहम्मद बिन स्वालेह अलउसयमीन

अनुवादकः- अबूफैसल आबिद बिन सनीउल्लाह अल मदनी

Related Post