Main Menu
New Muslims APP
قناة الجامع لعلوم القرآن - Al-Jami' Channel for Quranic Sciences

तौहीदको महत्व, किसिम र लाभहरु

तौहीदको महत्व, किसिम र लाभहरु

तौहीदको बिना मुस्लिमको इमान बेकार हुन्छ।

तौहीद मानव जीवनको लागि त्यति नै आवश्यक छ जति माछाको लागि पानी, यो सत्य हो कि पानी विना जसरी माछा जीवित रहन सक्दैन, त्यसरी नै मानिस तौहीद विना शान्तिपूर्ण जीवन व्यतीत गर्न सक्दैन। किनभने यस विना मानिसले आफ्नो स्रष्टालाई चिन्न पनि सक्दैन भने उहाँको आज्ञापालन कसरी गर्न सक्छॽ उहाँ नै सम्पूर्ण संसारको स्रष्टा हुनुहुन्छ र उहाँलाई नै राम्ररी थाहा छ कि हामीलाई कुन अवस्थामा कस्तो नियम-कानूनको आवश्यकता छ र के गरेमा हाम्रो कल्याण हुनेछॽ अल्लाहले भन्नुभएको छ; “के जसले सृष्टि गरेका छन् उनैले जान्ने छैनन् त ॽ उनी त सुक्ष्मदर्शी एवं सु-सूचित छन्।” (सूरह अल्-मुल्क/१४)

तौहीद अरबी भाषाको निकै प्रसिद्ध शब्द हो। यो “वह्हद” क्रियाबाट बनाइएको हो। अनि जब कसैले कतिपय छुट्टा-छुट्टै चीज-वस्तुलाई एकत्रित गर्यो भने अरबीमा भनिन्छ “वह्हदश्शैय”, यसै प्रकार मात्र एउटै अल्लाहको उपासना गर्ने शुभ कर्मलाई पनि तौहीद भनिन्छ।

तौहीदको परिभाषाः– अल्लाहलाई उहाँको हक-अधिकारमा एक्लै जान्नु र मान्नु।

आदर्णिय इमाम मुहम्मद बिन अब्दुल वह्हाबले भन्नुभएको छ –“इफ्रादुल्लाहे बिल इबादा”अर्थोत् प्रत्येक प्रकारको उपासना केवल अल्लाहकै लागि गर्नु।

 तौहीद तीन किसिमको हुन्छ:

(1)तौहीदुर्ररुबुबीया(तौहीद रुबुबीयत)अल्लाहलाई उहाँको क्रिया-कलाप तथा कार्य-कर्तब्यमा एक्लै जान्नु र मान्नु। जस्तै जीवन-मरण, संसारको पालन-पोषण उहाँले नै आफ्नो इच्छा अनुसार गर्नुहुन्छ। सृष्टि र सम्पूर्ण ब्रह्माण्डका स्रष्टा, रचियता तथा पालन-पोषणकर्ता एक्लै उहाँ नै  हुनुहुन्छ । सम्पूर्ण मानिस, जिन्न, जीव-जन्तु , वन-जङगल, सूर्य, चन्द्रमा,  आकाश, पृथ्वी, राती टल्किकने तारा, हावा-पानी र यस्तै संसारमा सृष्टि भएका सबैका स्रष्टा तथा संचालनकर्ता एक्लै अल्लाह नै हुनुहुन्छ। अल्लाहको कथन छः-“सम्पूर्ण प्रशंसा अल्लाहकै निम्ति छन् जो सम्पूर्ण संसारका पालनकर्ता हुन्।”(सूरह अल्- फातिहा/१)

तौहीदको यस किसिमलाई मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको समयका नास्तिकहरुले पनि मान्थे। जस्तै अल्लाहको कथन छः- “र यदि यिनीहरुलाई सोध्नु हुन्छ कि यिनीहरुलाई कसले सृष्टि गर्यो भने अवश्य नै भन्ने छन् अल्लाहले फेरि यिनीहरु कता तिर लागिरहेका छन्?” ”(सूरह अज्जुख्रुफ़/८७)

तर मात्र तौहीदरुबुबीयत मान्नाले मनिसलाई मुक्ती प्राप्त हुनेछैन बरु तौहीद उलूहीयत र तौहीद अस्मा वस्सेफातलाई पनि जस्ताका त्यस्तै मन्नुपर्छ।

(2) तौहीदुल्उलूहीया(तौहीद उलूहीयत) इस्लामी सिद्धान्त बमोजिम सबै प्रकारका प्रमाणित भक्ति, उपासना -आराधना मात्र अल्लाहकै लागि गर्नु जस्तैः नमाज पढ्नु ,ब्रत बस्नु,  हज्ज गर्नु र यस्तै अन्य विभिन्न प्रकारका उपासनाहरुलाई मात्र अल्लाह्को प्रसन्नता प्राप्तिका लागि गर्नु ,जस्तै अल्लाहको कथान छः- “भनिदेऊ मेरो नमाज, मेरो कुर्बानी, मेरो जीवन-मरण सबै अल्लाहकै लागि हुन् , जो सम्पूर्ण संसारका पालनकर्ता हुन् , उहाँको कोही साझेदार छैन र मलाई यो नै आदेश दिईएको छ र म सर्वप्रथम आत्मसमर्पण गर्ने मैं हुँ।” (सूरह अल्-अन्आम / १६२-१६३)

 तौहीद उलूहीयतको महत्वः– तौहीद उलूहीयतलाई इस्लाममा ठूलो महत्व प्राप्त छ किनभने खासगरी परलोकमा यस विना कसैलाई मुक्ती प्राप्त हुनेछैन। उदाहरणका लागि देहायमा यसका  महत्वमध्ये केही प्रस्तुत गरिएको छ।

(१)अल्लाहले मानिस तथा जिन्न प्राणीलाई यसैका लागि सृष्टि गर्नु भएको छ, जस्तै उहाँको कथान छः- “र मैंले मानिस तथा जिन्न प्राणीलाई मात्र आफ्नो भक्ति गर्नको लागि सृष्टि गरेको हुँ।” (सूरह अज्जारीयात/५६)

(२) यसैले एउटा आस्थावान व्यक्ति र नस्तिकमा फरक छुट्याईन्छ र यसैको आधारमा मानिसलाई पुण्य-पुरस्कार वा दण्ड-सजाय दिइनेछ।

(३) यसैको प्रचार-प्रसारका लागि अल्लाहले सम्पूर्ण सन्देष्टा तथा सन्देश्वाहकहरुलाई संसारको विभिन्न कुना-काप्चामा पठाउनु भएको थियो र आवश्यक अनुसार उनीहरुमध्ये केही माथि आकाशिय ग्रन्थ पनि अवतरित गर्नु भयो। अल्लाहको कथन छः- “र हामीले प्रत्येक समुदायमा सन्देष्टा पठायौं यो आदेश दिएर कि मात्र अल्लाहको उपासना गर र शिर्कबाट परै रहने गर।” (सुरह अन्नहल/ ३६ )

शिर्कको व्याख्याः–  अल्लाह बाहेक जसको पनि भक्ति गरिन्छ भने त्यसलाई शिर्क भनिन्छ। आदर्णिय इमाम मालिकले यो पनि थप्नु भएको छ कि यदि ऊ मनिस हो भने आफ्नो उपासनाबाट प्रसन्न होस्।

यसर्थ प्रत्येक सन्देष्टा तथा सन्देश्वाहकले आ-आफ्ना समुदायलाई एकेश्वरवादको शिक्षा दिए र मृत्यु नहुञ्जेल यसैमा लागि रहन आदेश पनि गरे। अल्लाहको कथन छः“अल्लाहको उपासना  गर जसबाहेक कोही वास्तिवक पूज्य छैन।  ( सुरह अल्-आराफ/८५)

(४) यो नै तौहीदको सम्बन्धमा सन्देष्टाहरु र उनीहरुको समुदायका मानिसहरु बीच वाद-विवाद भयो। उनीहरु भन्न थाले हामी सबैलाई त्यागेर मात्र एउटै अल्लाहको उपासना कसरी गरौं ॽ जस्तै अल्लाहले कुरआनमा भन्नुभएको छ-“  के यसले यति धेरै उपास्यहरुलाई एउटै उपास्य बनाइदियो ॽ वास्तवमा यो अत्यन्तै आश्चर्यजनक कुरा हो।  (सुरह अस्साद/५)

 केही मानिसहरुको यस्तो विचार-धारा थियो कि यस्तो व्यापक सृष्टिको स्रष्टा एउटै अल्लाह कसरी हुनुहुन्छॽ यसलाई सञ्चालन गर्ने धेरै जसो उपास्यहरु हुनुपर्छ। यसर्थ अल्लाहले पवित्र कुरआनमै यस प्रकारका आस्थाहरुको खण्डन गर्दै भन्नुभएको छः“-यदि आकाश र पृथ्वीमा एक अल्लाह बाहेक धेरै उपास्यहरु हुन्थे भने यी  क्षतिग्रस्त हुने थिए। (सुरह अल्-अंबेया/ २२)

 (3) तौहीदुल अस्मा वस्सेफात (तौहीद अस्मा वस्सेफात)

अल्लाहका अन्य धेरै नामहरु छन् र यसै प्रकार विशेषताहरु पनि, जसमा बिना कुनै परिवर्तन गरि उनलाई जस्ताका त्यस्तै मान्नु, उदाहरणका लागि अल्लाहका नामहरुमध्ये अर्रहमान, अर्रहीम ,अर्रज्जाक आदि हुन्, त्यस्तै अल्लाहको हात, आँखा, खुट्टा आदि छन्, यिनलाई पनि जस्ताका त्यस्तै मान्नु , हातको अर्थ शक्ति हुँदैन, अल्लाह सर्वशक्तिमान हुनुहुन्छ यसमा कुनै दुई  मत छैन तर हातलाई शक्तिको अर्थमा लिनुको तात्पर्य अल्लाहका हातलाई नकार्नु हो। अनि अल्लाहका हात, खुट्टा, आँखा आदि कस्ता खालका छन् ॽ उक्त सम्बन्धमा हामीलाई थाहा छैन।

किनभने संसारमा अल्लाहलाई कसैले देखेको छैन र न यस संसारमा उहाँलाई देख्न नै सम्भव छ। बरु स्वर्गवासीहरु स्वर्गमा प्रवेश गरेपछि उहाँलाई देख्ने छन्।

इमाम मालिकले भन्नुभएको छः- “अल्इस्तेवाओ मअलूमुन्, वल्कैफो मज्हूलुन्, वल ईमानु बेही वाजेबुन्, वस्सुवालो अन्हु बिद्अतुन्।” अल्लाह अर्शमाथि (ईश्वरीय सिंहासन) हुनुहुन्छ। यो थाहा छ, तर कसरी त्यसमाथि हुनुहुन्छ यो थाहा छैन, र यसमा ईमान/आस्था राख्नु अनिवार्य छ र  उक्त सबन्धमा सोध्नु बिद्अत (धर्ममा नवीन अविष्कार) हो। यो नै नियम अल्लाहका सम्पूर्ण सेफातमा लागु हुनेछ।

अस्मा इस्मको बहुबचन हो जसको अर्थ हुन्छ नामहरु र सेफतको बहुबचन हो जसको अर्थ हुन्छ विशेषताहरु।

अल्लाहले भन्नुभएको छ –“अल्लाहका राम्रा नामहरु छन् यसर्थ उनलाई उनकै नामबाट पुकार्ने गर र ती व्यक्तिहरुलाई छोडिदेऊ जो उनका नाममा दुष्टता देखाउँछन् , तिनीहरु आफूले गरेको कार्यको सजाय चाँडै पाउनेछन्।”

(सुरह अल्-आअराफ/ १८०)

एउटा हदीस बमोजिम अल्लाहका ९९ नामहरु छन् तिनलाई गन्नु पुण्यकारीमध्ये आउँछ र त्यसमा यस्तो व्यक्तिको लागि स्वर्गारोहणको सूचना दिइएको छ। तर यो भन्न सकिंदैन कि अल्लाहका यति नै नामहरु छन्। अल्लाह नै सर्वज्ञाता हुनुहुन्छ।

लाइलाह इल्लल्लाह- (अल्लाह बाहेक कोही वास्तविक उपास्य छैन) का लाभहरु-

लाइलाह इल्लल्लाहका धेरै लाभहरु छन् , जसमध्ये केही निम्नमा दिईएका छन्, यसलाई राम्ररी पढी साँच्चीकै कर्म पनि गर्नुहोस्। किनभने मात्र मौखिक भन्नाले मानिसलाई केही प्राप्त हुनेछैन जबसम्म त्यस बमोजिम कर्म पनि गर्न नथालोस् ।

१ – स्वर्गमा प्रवेशिका – हदीसमा छ ; ” जसले  लाइलाह इल्लल्लाह भन्यो अनि त्यसैमाथि उसको  मृत्‍यु भयो भने उ स्वर्गमा जानेछ।”(बुखारी र मुस्लिम)

२- नरकबाट  मुक्ति ; हदीसमा छ “जसले अल्लाहको प्रसन्नता प्राप्तिको लागि लाइलाह इल्लल्लाह भन्यो भने अल्लाहले उसको लागि नरक अवैध गर्न  भएको छ । “( बुखारी र मुस्लिम )

३- यदि आफ्नो अन्य पापले गर्दा (शिर्क बाहेक) नर्कमा गयो भने पापको सजाय भोगेर स्वर्गमा प्रवेश गर्नेछ: जस्तै हदीस कुद्सीमा छ “नर्कबाट उसलाई निकाल जसले लाइलाह इल्लल्लाह भन्यो र उसको हृदयमा राइको दाना समान ईमान छ ( बुखारी र मुस्लिम)

४- परलोकमा मुहम्मद सल्लल्लाहु अलैहे व सल्लमको सिफारिश प्राप्त हुनेछ । हदीसमा छ “जसले साँच्चिकै हृदय देखिनै लाइलाह इल्लल्लाह भन्यो भने त्यसलाई मेरो सिफारिश प्राप्त  हुनेछ। ”  (मुस्लिम)

५- यसले मानिसलाई लोक तथा परलोकमा शान्ति प्राप्त हुन्छ । अल्लाहले कुरआन मजीदमा भन्नु भएको छ ।” जुन मानिसहरुले ईमान ल्याए र आफ्नो ईमानलाई शिर्कसित मिसाएनन् , भने यस्ता मानिसहरुको लागि शान्ति हो र तिनीहरु सत्य-मार्गमा छन्। ” (अल्-अन्आम/८२)

यसर्थ आज हाम्रो सर्वप्रथम आवश्यकता तथा जिम्मेवारी हो कि हामी तौहीद सन्दर्भ सत्य-तथ्य जानकारी प्राप्त गरि त्यस बमोजिम कर्म पनि गरौं अनि नै हाम्रो कल्याण हुनेछ। सबैको कल्याण होस् यो नै हाम्रो मनोकामना ।

लेखकः- करमुल्लाह मंसुर अब्दुर्-रउफ मदनी

Related Post