Main Menu
New Muslims APP
قناة الجامع لعلوم القرآن - Al-Jami' Channel for Quranic Sciences

दाइजो प्रथा वर्तमानको जटिल समस्या

दाइजो

दाइजो प्रथा वर्तमानको जटिल समस्या

दाइजो प्रथाले वर्तमान समाजमा जटिल समस्या सृर्जना गरेको छ, यो समश्याबाट हरेक समुदाय पीडित छन् । विवाह हाम्रो जीवनको एउटा प्रमुख अंग हो जसबाट व्यक्तिगत र सामाजिक जीवनको आरम्भ हुन्छ । विवाहबाट नै मानव अस्तित्वलाई बचाई राख्न सहयोग पुग्दछ । अझ इस्लाम धर्मले त विवाहलाई सुन्नतको संज्ञा दिएको छ ।

मुहम्मद (स.) को भनाइ छ– विवाह मेरो सुन्नत हो जो मेरो सुन्नतबाट मुख फेर्छ त्यो हामीबाट हैन ” 

विवाहलाई इस्लामले सरल, सहज र अति नै सादा बनाएको छ तर आज हाम्रो समाजको समिक्षात्मक अध्ययन गर्दा थाहा हुन्छ कि हामीले आज विवाहलाई कति जटिल र मुश्किल बनाएका छौं । जन्तीको लाम, भोज भतेर, अनावश्यक सजावट लगायतका कार्यहरुले विवाहलाई एउटा जटिल समस्या बनाइ दिएको छ । यसमा पनि केटी पक्षको ढाड भाच्ने काम गरेको छ दाइजो प्रथाले ।

आज हामी आफ्नो मानव समाजलाई एउटा सभ्य, शिक्षित र विकसित समाज भन्दछौं तर के हामी वास्तवमा शिक्षित भनिने अधिकार राख्दछौ ?  के हाम्रो सोच साच्चै नै राम्रो हुदैछ ? के हाम्रो सोच्ने तरिका बदलिदै छ ? के हामी सहीलाई सही र गलतलाई गलत भन्न सक्षम भएका  छौं ? के हामी कुरितीहरु विरुद्ध आवाज उठाउने क्षमता राख्दछौं ? के हाम्रो समाजबाट कुरिती, कुप्रवृतिहरु कम  हुदै गएका छन् ? यदि होइन भने याद राख्नुहोस् हामीहरु शिक्षित भएका छैनौं । हामीहरु अहिले पनि एउटा  अन्धकार बाटोमा फसेका छौ र यसले हाम्रो बुद्धिमत्ता, सभ्यता र सोचमाथि प्रश्न चिन्ह उठाउदछ ।

       “दहेज अर्थात दाइजो” जसको अर्थ विवाहको बेला केटी पक्षले केटा पक्षलाई दिने सरसामान, गरगहना तथा नगद रुपैयाँ पैसा हो । आज हाम्रो यस शिक्षित समाजका कैयौं नारीहरु विवाहको पर्खाइमा बुढेसकाललाई छोएका छन्  भने कयौं आफ्नो मनमा विवाह र हातमा मेहन्दी  लगाउने सपना सहित यस जीवनबाट विदा भई रहेका छन् किनकी तिनीहरुका अभिभावकहरु दाइजो दिन असमर्थ छन् ।

      कुरआन र हदीस (मुहम्मद (स.) ले भनेका र गरेका  कुराहरु) मा “दाइजो” शब्द पाउन सकिंदैन । हजरत मुहम्मद (स.) ले जति पनि विवाह गराउनु भयो दाइजोको रुपमा कुनै पनि वस्तु दिनुभएन र न लिनु नै भयो । यहाँसम्म कि आफ्नो छोरीहरुको विवाह गर्दा पनि कुनै पनि वस्तु दाइजोको रुपमा दिनु भएन । हजरत मुहम्मद (स.) का सहाबाहरुमा समेत दाइजो प्रथाको अस्तित्व पाइदैन । दाइजो र इस्लाम बीच कुनै सम्बन्ध छैन यो एउटा कुप्रबृति हो जुन गैर इस्लामी समाजबाट फैली आएर हाम्रो समाजमा पनि भित्रिएको छ ।

      संसारको सुन्दरतामानव बगैचाको बसन्त बहारममताको गर्मीइमान (आस्था) पछिको सबैभन्दा ठुलो इश्वरीय वरदान नारी माथि शताब्दीयौं देखि दुव्र्यवहार हुदै आएको इतिहास साक्षी नारीहरुको पहिले पनि हत्या हुन्थ्यो आज पनि हुन्छ फरक यति मात्र कि पहिला जिउँदै माटोमा दफनाइन्थ्यो भने आज विज्ञानको विकासले गर्भ अवस्थामै नारीको अस्तित्वलाई मेटाइन्छ इस्लामभन्दा पहिले नारीहरुलाई आफ्नो मान प्रतिष्ठाको लागि मारिन्थ्यो तर इस्लामको उदयले नारीहरुलाई तिनीहरुले गुमाएका आफ्नो वास्तविक हक अधिकार मान प्रतिष्ठा पुनः प्रदान गरायो

      समय बदलियो, अवस्था बदलियो, मानिसहरुको सोच बदलियो र पहिलेको विकृतिले एउटा नयाँ रुप लिएर यस मानव समाजमा पुनः प्रवेश गर्यो । दिन प्रतिदिन रेडियो तथा टेलिभिजनले हाम्रा कानसम्म यो खबर आवश्य पुर्याउँछ कि दाइजो नल्याएको आरोपमा कैयौं महिलाहरु आफ्नो बाच्ने अधिकारबाट बञ्चित हुँदैछन् । हाम्रा कैयौं दिदीबहिनीहरुलाई छुरा प्रहार गरेर हत्या गरिन्छ भने कैयौंलाई जिउदै अग्निको भेट चढाइन्छ । कैयौं दिदीबहिनीहरु त दाइजोको चक्रव्युहमा फंसेर शारीरिक तथा मानसिक यातना सहन नसकी आत्महत्या गर्न बाध्य हुन्छन् ।

     दाइजो प्रथा कानुनी रुपमा अपराध भएपनि हाम्रो कमजोर कानुनले यसलाई थाम्न सकेको छैन । केही राक्षस र शैतानी स्वभावका मानिसहरुले कुरितीको जरो मजबुत पार्दै गरेका छन् ।

        आज हाम्रो समाज सभ्य र युवावर्ग शिक्षित छन् भने हाम्रो देशका युवा वर्गले दाइजो विरुद्ध अभियान चलाउन किन कम्मर कसेका छैनन् ? शिक्षा र वैदेशिक रोजगारको सिलसिलामा कैयौं नेपाली युवाहरु खाडी मुलुक देखि पश्चिमी मुलुकहरुसम्म धाउने गरेका छन् । त्यहा  त यस किसिमको कुनै रिती तथा परम्परा छैन । विदेशी रिती अपनाउने युवाहरु दाइजो नलिने यो प्रथालाई किन अपनाउदैनन् ? यो युवावर्ग दाइजो दिनु र दिनु विरुद्ध एक जुट भई आवाज किन उठाउदैनन् ? यी लोभी युवाहरुलाई दाइजो लिई आफुलाई बिक्री गर्दा किन लाज  लाग्दैन ? अहिलेका युवाहरुले आफु भन्दा ती दिदीबहिनीहरुको ख्याल गर्नुपर्छ जसले दाइजोको फन्दामा परेर मृत्युलाई  अंगालेका छन् । दिनहु  हुने असंख्य नारीहरुको हत्यालाई युवावर्ग नै रोक्न सक्दछन् र यसका लागि युवाले आफ्नो घरबाट दाइजो प्रथाको अन्त्य गर्ने अठोट गर्नु पर्छ । यदि हामीले यो गर्न सकेनौ भने याद राख्नुहोस् कि ज्यान गुमाएका ती निर्दोष नारीहरुका हत्यारा हामी ठहरिने छौ ।

        सबै अभिभावकहरु चाहन्छन् कि उनीहरुका  छोराछारीले सुखमय जीवन बिताउन् । यस अवस्थामा अभिभावकहरुले यो सोच्नुपर्छ कि शिक्षा  बिनाकोही पनि आत्मनिर्भर हुन सक्दैन । त्यसकारण यदि अभिभावकहरु आफ्ना छोराछारीको उत्तम भविष्य चाहन्छन भने उनीहरुलाई असल शिक्षा दिनुपर्दछ जसबाट उनीहरु जीवनमा आइपर्ने समस्याहरुसंग लड्न सकुन् । विवाह गर्न लागेका युवाले दाइजो भन्दा पनि एउटा शिक्षित र सभ्य केटीलाई प्राथमिकता दिनुपर्छ र देखाउनु पर्छ कि हामीहरु धनका लोभी र भोका होइनौ ।  यस्तोमा केटीहरुले पनि दाइजोको सिकार बनेका केटीहरुको ख्याल गर्दै साहस देखाउनु पर्छ र ती केटाहरुसग विवाह गर्न अस्वीकार गर्नुपर्छ जसले दाइजोको माग गर्दछन् । जबसम्म यो साहस नारीहरुमा आउदैन दाइजो प्रथालाई रोक्न सकिदैन र दाइजो विरुद्ध उठाइएका सम्पुर्ण कदमहरु अप्रभावकारी साबित हुनेछन् ।

                केही युवाहरुले दाइजो विरुद्ध आवाज उठाए पनि अभिभावकको दवाबले उनीहरुको आवाज मधुरो हुँदैजान्छ । “दिने बेलामा नगद तथा सामानहरु दिए र आज लिने समय आउदा कसरी दाइजो नलिने” भन्ने अभिभावकको तर्कमा युवाहरु चुप लागेर बस्नु पर्छ भने केही अभिभावकले दाइजोलाई आफ्नो मान र प्रतिष्ठासंग जोडेर हेर्दछन् । यदि छोरीलाई सरसामान दिएन भने समाजले के भन्ना ? समाजमा मेरो के इज्जत  रहनेछ ? यस्तो सोच भएका अभिभावकहरुसंग म आग्रह गर्न चाहन्छु कि तपाईहरु आफुबाट यो भ्रम निकाल्नुहोस् र आ“खा उठाएर संसारलाई हेर्नुहोस्, आज त्यो व्यक्तिको मान प्रतिष्ठा समाजमा बढी हुन्छ जसले विवाहमा दाइजोको लेनदेन गरेको हुँदैन र विवाह सादा रुपमा सम्पन्न  हुन्छ । दाइजो बिनाको विवाहलाई नमुनाको रुपमा प्रस्तुत् गरिन्छ र पत्रपत्रिकाले पनि यसलाई मुख्य खबर बनाउँदछन् । दाइजो प्रथा बढ्नुको एउटा प्रमुख कारण इस्लामले निर्धारण गरेको नारीहरुको पैतृक सम्पतिमा अधिकार नदिनु हो । यदि नारीहरुले आफ्नो अंश पाएको भए दाइजो दिने अवस्था नै सृजना हुने थिएन । अभिभावकवर्गहरु याद राख्नुहोस्, दाइजो दिंदैमा नारीहरुलाई तिनीहरुको अधिकारबाट बञ्चित गर्न सकिंदैन पैतृक सम्पतिमा अंश उनीहरुको अधिकार हो दिएन भने अल्लाह समक्ष जवाफदेही हुनु पर्नेछ दाइजोको न्यूनीकरणको लागि धर्मगुरुहरुले समेत कडा कदम उठाउनु आवश्यक धर्मगुरुहरुले त्यो विवाह गराउन अस्वीकार गर्नुपर्छ जसमा दाइजोको लेनदेन भएको हुन्छ

                                                                                                                 लेखकः अजिजुल्लाह अन्सारी                                                                                                                                                                  वाट्स एपः +9779845042004

 

Related Post