मृत्यु एउटा यस्तो सत्य हो जसलाई अस्वीकार गर्ने सामर्थ्य कसैमा छैन । कुनै समाज, देश, धर्म, सभ्यता वा संस्कार होस् सबैमा केही आपसी मतभेदहरु अवश्यै पाइन्छ तर मृत्युको बारेमा कुनै मतभेद छैन । मृत्युले सबैलाई एक दिन अङ्गालो मार्ने कुरामा सबैजना विश्वस्त छन् । मानव जाति मात्र होइन जनावर तथा चरा चुरुङ्गी पनि यस सत्यताका अपवाद होइनन् । गुडिरहेको गाडी देखेर बाटोमा हिंडिरहेको जनावर पनि भाग्छ । यो हो मृत्युको आतंक ?
सन् २००७ CIA को रिपोर्ट अनुसार प्रत्येक सेकेण्ड २ जना व्यक्तिको मृत्यु हुने गर्दछ । एक दिन हामीहरु पनि यस तथ्याङ्कलाई कायम राख्न मद्दत गरेका हुनेछौ । कुनै पनि उमेरको व्यक्ति होस् धनी वा गरीब, राजा होस् या प्रजा, सामाजिक कार्यकर्ता होस् वा कुकर्मी उच्च–अधिकारी होस् वा पियन हरेकलाई मृत्युको निमन्त्रणा आउने नै छ ।
कहाँ छन् ती राजा महाराजाहरु, अरबपति शक्तिशाली व्यक्तिहरु ? आफैलाई “ईश्वर” भन्न लगाउने फिरऔन, अथाह धन सम्पतिको मालिक कारुन, विश्वमा राज गर्ने सिकन्दर कहाँ गए ? आफ्नो खोजले विश्वलाई चकित बनाईदिने ती बैज्ञानिकहरु कहाँ विलिन भए ? आफ्नो कलाले सबैलाई आकर्षित पार्ने कलाकारहरु के भए ? आफ्नो सुन्दरतामाथि गर्व गर्ने ती विश्व सुन्दरीहरुको के हाल भयो ? ती आँखाहरु जसको बखान गर्न कविहरु थाक्दैन थिए, ती नजरहरु जसका उठ्नासाथ कैयौं मुटुका धड्कन बढेर जान्थ्यो, आज तिनीहरु माटोभित्रका कीराको बलि चढे । उनीहरुको सौन्दर्यले मृत्यु दिने फरिश्ताको आँखालाई लोभी बनाउन सकेन । ज्याक्सनको कलाले मृत्युलाई नचाउन सकेन, हिटलरको क्रुरताले काललाई डराउन सकेन । न्युटनको नियमले कालको चाललाई थाम्न असफल रह्यो । शेक्सपियरको कृतिमा मृत्युले रमाउन मानेन । मृत्युले जातीय तथा रङ्गको भेदभाव नगर्ने कुरालाई पूष्टि गर्दै नेल्शन मण्डेलालाई पनि खुला हृदयका साथ अङ्गालो मार्यो । रक्त संचार प्रकृया पत्ता लगाउने इब्ने नफिसको शरीरको रक्त संचार रोक्न पनि मृत्युलाई दया आएन । मृत्युमाथि पनि शासन गर्ने महान शासक ईश्वरले भनिसकेका छन्- “प्रत्येक प्राणीले मृत्युको स्वाद चाख्नुपर्छ” । (कुरआन ३ / १८५)
यस सत्यलाई अझ प्रगाढ बनाउँदै भनियो, “धर्तीमा बस्ने सबै प्राणीहरु नष्ट हुनेछन् । केवल तिम्रा उच्चतम तथा महानतम् पालनकर्ताको अस्तित्व बाँकी रहेनछ । हे जिन्न र मनुष्य ! तिमीहरु आफ्ना पालनकर्ताका कुन कुन वरदानलाई झुठ्लाउँछौ ।”(कुरआन ५५ /२६–२८)
मृत्युबाट कुनै पनि कवच, कुनै पनि सेनाले कसैलाई पनि बचाउन सक्ने छैन । जहाँ भएपनि मृत्यु आईलाग्ने छ । “तिमीहरु जहाँ सुकै बस, चाहे त्यो मजबुत किल्ला नै किन नहोस् मृत्युले तिमीलाई गाँज्ने नै छ ।” (कुरआन ४ / ७८)
मृत्यु किन ?
मृत्यु जीवनको अन्त्य होइन । यो एउटा नयाँ जीवनको शुरुवात हो । मृत्युले यस जीवनको सही उद्देश्यलाई उजागर गर्दछ । मृत्यु र जीवनको उद्देश्यको बारेमा ईश्वरको घोषणालाई स्मरण गर्नुहोस्- “जसले (ईश्वरले) मृत्यु तथा जीवनको सृष्टि गरे ताकि तिमीहरुको परीक्षा लिएर हेरुन् कि कसले राम्रो काम गर्छ ।” (कुरआन ६७ / २)
मृत्युको क्षण
मृत्युको समय निर्धारित छ र त्यो आफ्नो समय पूरा भएपछि अवश्य आउने छ- “अनि जब त्यो निर्धारित म्याद आईपुग्छ तब तिनिहरु न एकपल पछि हट्न सक्ने छन् र न अघि नै बढ्न सक्नेछन् ।” (कुरआन १६ / ६२)
हामी मृत्युका विभिन्न उदाहरणहरु देख्छौं केहि दुखद हुन्छन् भने केहि सुखद । हामी यही चाहन्छौं कि हाम्रो अन्तिम क्षण सुखद होस्, शान्तिपूर्ण मृत्यु । अरुको मृत्युको अवस्था देखेर अनुमान लगाउने प्रयास पनि गरिन्छ कि यो सुखद मृत्यु हो या दुखद् । तर वास्तविकता हामीले बुझेको जस्तो नहुनसक्छ । मृत्युले आत्मा र शरीरको विछोड गराउँछ तसर्थ शरीरको अवस्थाले आत्माको स्थितिलाई प्रतिबिम्बित नगरेको हुनसक्ला । वास्तवमा मृत्युपछि आत्माको स्थितिले नै कसले कतिसम्म आफ्नो जीवनको उद्देश्यलाई पूरा गरेको छ भन्ने कुराको बोध गराउँनेछ ।
मुहम्मद (स.) ले भन्नुभयो- “जब आस्थावानको मृत्युको समय हुन्छ उज्वल अनुहार भएका दूतहरु स्वर्गबाट कफन र सुगन्धित अत्तरकासाथ आउँछन् । मृत्युका दूत टाउको नजिक आएर बस्छ र भन्छ “हे सत्कर्मी आत्मा ईश्वरको दया तर्फ निस्केर आऊ” र त्यो आत्माबिना कुनै दुःख कष्ट देहत्याग गर्छ । तर पापीहरुका मृत्युको समय क्रुर अनुहार भएका दूतहरु कडा र अति खराब कपडा लिएर आउँछन् । मृत्युका दूत त्यस व्यक्तिको टाउको तिर बसेर भन्छ “हे पापी आत्मा अल्लाहको रीस र क्रोध तर्फ हिड” तर त्यो आत्मा निस्कन चाहदैन । त्यसपछि क्रुरताका साथ अति दुःख कष्ट दिएर आत्मा झिकिन्छ ।” (अहमद)
गरुड पुराणले यस अवस्थालाई यी श्लोकहरुमा बयान गर्दछ- “सयवटा बिच्छुहरुले डंसेको जस्तो पीडा हुन्छ ।” (गरुड पुराण १ / २८) ।
“त्यस समय दुबै हातमा फन्दा र दण्ड धारण गरी नग्न दाँतहरु कटकटाउँदै कोधपूर्ण आँखा भएका यमराजका दुई भयंकर दूत नजिक आउँछन् । आफ्नो पञ्चभौतिक शरीरबाट हाय–हाय गर्दै तथा यमदूतहरुद्वारा समातिएको त्यो अङ्गुष्ठ मात्र प्रमाणको पुरुष आफ्नो घरलाई हेर्दै यमदूतहरुद्वारा यातनादेहले ढाकिएर घाँटीमा बलपूर्वक फन्दा बाँधेर यातनाका लागि लगिन्छ ।” (गरुड पुराण १ / ३०–३३)
दुइजना व्यक्तिहरुको एउटा उदाहरण माथि विचार गरौं जसले त्यस ठाउँमा पुग्नका लागि एकतर्फी टिकट लिए जहाँ उनीहरु कहिल्यै गएका थिएनन् । तिनीहरु मध्ये पहिलोले गन्तव्यको भाषा, संस्कृति, रितिरिवाज, मौसम, मुद्रा तथा अन्य आवश्यक जानकारी हासिल गरी यात्राका लागि तयार भयो । र शान्तिपूर्ण यात्राका साथ गन्तब्य सम्म पुग्यो ।
तर दोस्रो व्यक्तिले तयारीमा अल्छीपन देखायो र प्राप्त समय मोजमस्ती मै बितायो । जब यात्राको समय भयो तब ऊ एउटा अन्जान गन्तब्यमा पुग्यो । यात्रा पनि दुखद भयो र गन्तब्य पनि दुःखद । यस्ता व्यक्तिहरुको बारेमा ईश्वर भन्छन्ः– “यहाँसम्म कि जब तिनीहरु मध्ये कसैको मृत्यु नजिक आउँछ तब उसले भन्छ हे पालनकर्ता ! मलाई फेरी फर्काइदेऊ ताकि आफूले छोडी आएको संसारमा गई केही सत्कर्म गरुँ । कदापि यस्तो हुँदैन । यो त उसले आफ्नो मुखबाट भनेको कुरा मात्र हो । अब यिनीहरुका पछाडि एउटा बरजख (पर्दा) हुनेछ त्यस दिन सम्मकालागि जुन दिन यिनीहरुलाई उठाइने छ ।” (कुरआन २३ / ९९–१००)
जब ती व्यक्तिहरुसँग सोधिने छ – “तिमीहरुलाई के कारणले नरकमा पुर्यायो ?” तिनीहरुले भन्नेछन्– “हामी नमाज पढ्नेहरुमध्येका थिएनौं र अभावग्रस्तहरुलाई खाना ख्वाउँदैनथ्यौं । र सत्यविरुद्ध कुरा गर्नेहरुसँग हामी पनि कुरा गर्थ्यौ । र हामी बदला दिइने दिनलाई झुठो ठहर गर्थ्यौ । यहाँसम्म कि हामी माथि विश्वसनिय चिज (मृत्यु) आयो ।” (कुरआन ७४ / ४२–४७)
सबैको मृत्युको समय निश्चित र निर्धारित छ । आवश्यकता यस कुराको छ कि हामीले यसकोलागि के कति तयारी गरेका छौँ, हामी विचार गरौं र आफ्नो समिक्षा गरौं ।“प्रत्येक व्यक्तिले भोलिका निम्ति के अगाडि पठाएको छ भन्ने कुरामा बिचार गर ।” (कुरआन ५९ / १८)
जीवनको उद्देश्य
“के हामीले तिमीहरुलाई व्यर्थ (बिना कुनै उद्देश्य) मै सृष्टि गरेका छौं ? र तिमीहरु हामी तर्फ फर्केर आउने छैनौं भनी ठानेका छौं ?” (कुरआन २३ / ११५)
यो प्रश्न हाम्रो मस्तिष्कलाई सोंच्न आह्वान गर्दछ कि के यस जीवनको कुनै उद्देश्य पनि छ ? वा यो मात्र केही समयका लागि मनोरञ्जनात्मक रुपमा खेलिने खेल जस्तै हो ? जुन स्वतन्त्रताको कुरा गरिन्छ त्यो स्वतन्त्रता वास्तवमै असिमित छ अथवा कुनै शक्तिले त्यसको सीमा पनि निर्धारण गरेको छ । त्यस सीमा भित्र बस्नै पर्ने बाध्यता छ त ? नबसे कसले के गर्ने सामर्थ्य राख्छ ? अवश्य पनि हामीले नचाहेमा हाम्रो कार्यक्षेत्रलाई कुनै सीमासम्म सीमित पार्ने कसैको सामर्थ्य छैन तर त्यो शक्तिको बारेमा के विचार छ जसलाई सब कुराको सामर्थ्य छ । हो त्यस ईश्वरलाई पनि यो पूर्ण अधिकार छ कि उसको सीमाको उलङ्घन गर्नेलाई नर्कको दन्कदो आगोले स्वागत गरिओस् र उसलाई रोक्ने कोही छैन । त्यही सर्वशक्तिमानले एउटा उद्देश्यका साथ मानवजातिको सृष्टि गरे आफ्नो किताबमा भनेका छन् “र मैले जिन्न र मानवलाई केवल आफ्नो उपासनाकालागि सृष्टि गरेको हूँ ।” (कुरआन ५१ / ५६)
कुनै पनि कार्य ईश्वरले निर्धारित गरेको सीमा र कानुन भित्र रहेर गरियो भने त्यो उपासना होस् या प्रार्थना होस्, व्यापार होस् वा अन्य कुनै पनि क्षेत्रको काम । यो जीवन एउटा परीक्षा हो जुन मृत्युसंगै समाप्त हुन्छ । जसको नतिजा मृत्युपछि पाइनेछ । मृत्यु पछि थप कुनै मौका पाइने छैन । पश्चातापकालागि त्यो समय धेरै ढिलो भइसकेको हुनेछ ।
फैसलाको दिन
“त्यो मृत्यु जसबाट तिमीहरु भाग्दछौ त्यसले तिमीहरुलाई अँठ्याएरै छोड्ने छ । फेरी तिमीहरुलाई अदृश्य एवं दृश्यका ज्ञाता (अल्लाह) समक्ष पेश गरिनेछ । अनि उनले तिमीहरुलाई बताउने छन् कि तिमीहरु के गरिरहेका थियौ ।” (कुरआन ६२ / ८) ।
“र जब चिहानहरु खोलिनेछन् तब प्रत्येक व्यक्तिले अगाडि पठाएको र पछाडि छोडेको (कर्महरु बारे) थाहा पाउनेछन् ।” (कुरआन ८२ / ४–५)
ईश्वरले मानवको सृष्टि गरी स्वतन्त्रता प्रदान गरे साथै असल–खराब छुट्टयाउने विवेक र सामर्थ्य पनि दिए । एउटा सीमा निर्धारण गरिदिए र यसरी हामीलाई हाम्रो कर्मका लागि जिम्मेवार बनाए र एउटा फैसलाको दिन कायम गरे जुन न्यायको माग थियो ताकि सत्कर्म गरी उद्देश्य पुरा गर्नेहरुलाई पुरष्कृत गरियोस् ।
“के हामी आज्ञाकारीहरुसित अपराधीहरु झैं व्यवहार गर्नेछौं त ? आखिर के भएको छ तिमीहरुलाई ? तिमीहरु कस्तो निर्णय गर्दा रहेछौ ?” (कुरआन ६८ / ३५–३६)
सबैले यस संसारमा गरेका कार्य रेकर्ड गरिदैछ र त्यस दिन सबैलाई त्यो रेकर्ड अनुरुप नतिजा पत्र प्रदान गरिनेछ । “र कर्मपत्र (तिमीहरु समक्ष) राखिनेछ । त्यस समय तिमी देख्नेछौ, अपराधीहरु त्यसमा लिखित कुराहरुप्रति डराई रहेका हुनेछन् र भन्नेछन् ‘हाय हाम्रो दुर्भाग्य ! कस्तो अचम्मको कर्म–पत्र ! यसले त हाम्रा साना–ठूला कुनैपनि कार्यलाई नलेखी छोडेकै छैन ।’ र जे जति तिनीहरुले गरेका हुनेछन् ती सबै (त्यसमा) उपस्थित पाउनेछन् । र तिम्रो रबले कसैमाथि अत्याचार गर्ने छैनन् ।” (कुरआन १८ / ४९)
मानव आश्चर्य चकित हुनेछ त्यस किताबको शुद्धता देखेर । यहाँसम्म कि त्यसमा त्यो कुरा पनि हुनेछ जुन हामी बिर्सी सकेका हुनेछौं । “अल्लाहले त्यसलाई सुरक्षित राखेका छन् र तिनीहरुले चाँहि त्यसलाई बिर्सेका छन् ।” (कुरआन ५८ / ६)
गरुड पुराणमा भनिएको छ– “धर्मराज, चित्रगुप्त, श्रवण, र सुर्य आदि मनुष्यको शरीरमा स्थित सम्पूर्ण पाप र पुण्यहरुलाई पूर्णतया हेर्दछन् ।” (गरुड पुराण ३ / १७) ।
“चित्र गुप्तका यस प्रकारका बचनहरु सुनेर ती पापीहरु आफ्नो कर्मको विषयमा सोंच्दै निश्चेष्ट भएर चुपचाप बसिहाल्छन् ।” (गरुड पुराण ३ / ३०)
हाम्रा सम्पूर्ण कर्मको रेकर्ड राखिदैछ र त्यस दिन सम्पूर्ण मानव जाति सामु हाम्रो सम्पूर्ण कार्य प्रस्तुत गरिनेछ । कुनै काम गर्ने बेला हाम्रो ध्यान यसतर्फ पनि गएको भए ?
त्यस फैसलाको दिन माथि शंका गर्ने अथवा विश्वास नराख्ने व्यक्तिहरुको जवाफ ईश्वरले स्वयं दिएका छन् –“यी सडे गलेका (कुहिएका) हाडहरुलाई कसले जीवित पार्न सक्छ ? भनिदेऊ तिनलाई उनैले जीवित पार्नेछन् जसले तिनलाई पहिलो पटक सृष्टि गरेका थिए । उनी प्रत्येक सृष्टिका ज्ञाता हुन् ।” (कुरआन ३६ / ७८–७९)
ईश्वरले जीवित मात्र पार्दैनन् प्रत्येक अंगलाई ठीक ठीक बनाई दिन्छन्, यहाँसम्म कि औंलाका चिन्हहरु पनि “के मानिसले यो ठानेको छ कि हामी उसका हाडहरु एकत्रित गर्ने छैनौं किन नगर्नु हामी त उसका औंलाका जोर्नीहरु समेत जम्मा पार्ने सामर्थ्य राख्छौं ।” (कुरआन ७५ / ३४)
स्वर्ग र नर्क
जो कसैले पनि सत्य ईश्वरको उपासना गर्यो र उनीसँग कसैलाई साझेदार ठहर्याएन तथा सतकर्म गर्यो भने फैसलाका दिन उसलाई स्वर्गमा प्रवेश गराइनेछ ।
मुहम्मद (स.) ले भन्नुभयो कि अल्लाहले भनेका छन् “मैले आफ्ना सत्कर्मी बन्दा (भक्त) हरुका लागि यस्तो तयार पारेको छु जसलाई कुनै आँखाले न देखेको छ, न त्यसको बखान कुनै कानले सुनेको छ र न मानवले त्यसको कल्पना नै गर्न सक्नेछ ।”
कुरआनमा ईश्वर भन्छन्, “स्वर्गका बासिन्दाहरु त साँच्चीकै रमाइलो गर्नमा व्यस्त हुनेछन् । उनीहरु र उनका पत्नीहरु छहारी मुनि उच्च पलङ्गमाथि सिरानीमा अडेस लागेका हुनेछन् । उनीहरुका लागि त्यहाँ हरेक किसिमका फलहरु र तिनीहरुले चाहेका चीजहरु हुनेछन् । उनको दयालु पालनकर्ताको तर्फबाट सलाम भनिने छ ।” (कुरआन ३६ / ५५–५८)
यसको विपरित एकेश्वरवादलाई अस्वीकार गर्ने तथा कुकर्मीहरुलाई नर्कमा प्रविष्ट गराईनेछ “निसन्देह नर्क (उदण्डहरुलाई) होमिरहेकोछ । त्यो उदण्डहरुको बासस्थान हो । जहाँ तिनीहरु युगौंसम्म रहनेछन् । त्यहाँ तिनीहरुले न शीतलताको कुनै स्वाद चाख्नेछन् न कुनै पेय नै, सिवाय उम्लदो पानी र रगत, पीप । यो हो पूर्ण बदला । तिनीहरु हिसाब किताब माथि विश्वास राख्दैनथे, र हाम्रा आयतहरुलाई बिलकुल असत्य ठहर्याउँथे जब कि हामीले प्रत्येक कुरा लेखेर सुरक्षित राखेका छौं । अतः (यातनाको स्वाद) चाख । हामी तिनीहरुको यातनामा नै अभिवृद्धि गर्दै जानेछौं ।” (कुरआन ७८ / २१–३०)
“यहि हो त्यो नर्क जसको बाचा तिमीहरुसित गरिएको थियो । अतः तिमीहरुले गर्दै गरेको अनास्थाले गर्दा आज यस (नर्क) मा जाऊ ।” (कुरआन ३६ / ६३–६४)
जीवनको उद्देश्य प्रष्ट छ । लक्ष्य पनि लुकेको छैन । बाटो निर्धारण गरिसकिएको छ । मृत्युबाट भाग्ने कुरै आएन । छनोट र फैसला हाम्रो हातमा छ । यस जीवनमा एक ईश्वरको आदेश पालना गरी सत्कर्म गरेर सदासर्वदा रहने स्वर्गको छनौट गर्ने अथवा यस संसारमा ईश्वरले निर्धारण गरेका प्रत्येक सीमा उलङ्घन गर्ने र मनलागि गरी सदासर्वदाका लागि कष्ठकर नर्कको छनोट गर्ने ?
लेखकः अजिजुल्लाह अन्सारी
वाट्स एपः +9779845042004