हज इस्लामको पाचौं आधार स्तम्भ हो । इस्लामी क्यालेन्डरको बाह्रौं महिनाको 8 देखि 13औं दिनसम्म मक्काको विशेष स्थानहरुमा विशेष कृयाकलापद्वारा सम्पन्न गरिने कर्म हरूलाई हज वा सजिलो भाषामा तिर्थ भनिन्छ।
हजको अनिवार्यता:
मक्कासम्म यात्रा गर्न सक्ने हरेक सामर्थ्यवान मुस्लिममाथि जीवनमा 1 चोटि हज अनिवार्य छ। (सहीह मुस्लिम)
हजको आध्यात्मिक लाभ:
सही तरिकाले हज गर्ने ब्यक्ति समस्त पापबाट मुक्त भई नवजात शिशु सरह पवित्र भइहाल्छ। (सहीह बुखारी)
हज सालमा मात्र तीन महिना (शौव्वाल, जिल्कादा र जिल्हिज्जा) मा नै हुन सक्छ। बाँकी नौ महिनामा हज हुंदैन। तर उमरा वर्षभरि जहिले पनि हुन सक्छ।
हजका पत्रकारहरु:
हज तीन प्रकारका छन् जस्मध्ये हजे तमत्तु बिशेष किसिमको हज हो। हजे तमत्तुमा उमरा गरिसकेपछि एहराम (विशेष पहिरन) फुकालेर फेरि 8 जिलहिज्जाको दिन हजको नियतले एहराम बाँधी मिना जानु पर्छ। मिनामा जोहरदेखि लिएर फज्रसम्म पांच समयको नमाज उनको आफ्नै समयमै कस्र (चार रक्अतको नमाजलाई दुई रक्अत गरी) पढ्नु पर्छ।
त्यस नवौं तारिखमा अरफात जानु पर्छ। त्यहाँ जोहर र अस्रको नमाज अग्रिम कस्र (दुई दुई रक्अत गरी दुई सलामद्वारा) जोहरकै समयमा पढ्नुपर्छ। नमाज पछि सूर्यास्त नहुन्जेल दुआ, जिक्र (स्तुति) र कुरआनपाठमा व्यस्त रहनुपर्छ। सूर्यास्त हुने बित्तिकै मग्रिबको नमाज पढे बिना नै विस्तारै विस्तारै मुज्दलफाको तर्फ प्रस्थान गर्नुपर्छ।
मुज्दलफा पुगेपछि मग्रिब र ईशाको नमाज कस्र र जम्मा गरी क्रमशः मग्रिबको तीन रक्अत र अर्को इकामतद्वारा ईशाको दुई रक्अत पढ्नुपर्छ। वित्र पढेपछि रातभरी अरु कुनै उपासना (नमाज) नपढी आराम गर्नु उत्तम हो।
बिहान फज्रको नमाज पछि पूर्ण प्रभातसम्म बढी भन्दा बढी दुआ र जिक्र गर्नुपर्छ र सूर्योदय हुनु भन्दा अघि नै मिनाको लागि प्रस्थान गर्नुपर्छ।
10 जिलहिज्जामा मिना पुगिसके पछि चारवटा कार्यहरु गर्नु अनिवार्य छ :
- ठूलो जमरा अकबा (सांकेतिक स्तम्भ) लाई चना जति साइजको ढुंगाले सात चोटि मुखबाट निस्कने स्वरमा अल्लाहु अक्बर भन्दै रमी (हिर्काउनु) गर्नु ।
- कुर्बानी (बलिदान) गर्नु।
- कपाल काट्नु।
- काबाको तवाफे जियारत (परिक्रमा) र त्यस पछि सफा र मर्वा बीच सात चक्कर सई (आवागमन) गर्नु।
तवाफको तरिका:
एहरामको माथिल्लो कपडा (चादरलाई) दाहिने कांधलाई खुल्ला राख्नेगरी जिउमा बेर्ने तर महिलाहरुले यस्तो गर्नु हुँदैन। हज्रे अस्वदलाई छुदै वा कम्तिमा हातले इशारा गर्दै बिस्मिल्लाह भनेर तवाफ शुरु गर्ने। हज्रे अस्वदको सामुन्नेबाट त्यसलाई बायाँ पट्टी राखेर तवाफ शुरु गर्ने र त्यहीं अन्त गरेर अर्को तवाफ गर्ने।
तवाफको दौरानमा बढी भन्दा बढी दुआ गरि राख्ने। सात चोटि तवाफ गर्ने त्यसपछि मुल्तजम नजिक उभिएर धेरै दुआ गर्ने त्यसपछि मकामे इब्राहिम नजिक दुई रक्अत नमाज पढ्ने। त्यसपछि नअघाउन्जेल जमजम पानी पिउने।
सईको तरिका:
हज्रे अस्वदलाई चुम्बन-गर्दै वा हातले इशारा गर्दै सफा पहाडीमाथि जाने र अब्दउ बिमा बदअ अल्लाहु बिही भन्दै सई शुरु गर्ने र मर्वासम्म पुग्ने यो ए चक्कर भयो। फेरि त्यहाँबाट सफा पुग्ने यो अर्को चक्कर भयो। यसरी चक्कर सात पूरा गर्ने। सई गर्दा सफा र मर्वाको बिचमा रहेको दुई हरियो लाइट भएको ठाउँमा पुगेपछि तेज रफ्तारमा चल्ने।
दुवै पहाडीमाथि पुगेर त्यहाँ दुआ गर्ने। तवाफ र सई गर्दा अनावश्यक कुराकानीबाट बच्ने। त्यसपछि फेरि फर्केर मिना आउनु र 11,12 तारिखको रात्री मिनामा बिताउनु अनिवार्य छ र 13 तारिखमा सुर्य अस्ताउनु अधि नै मिनाबाट प्रस्थान गर्न सकेन भने त्यो राती पनि त्यही बिताउनु पर्छ। न बिताएमा जरिवाना (बलिको रूपमा) दिनुपर्छ, र दिनमा मात्र 11,12 र प्रस्थान गर्न नसकेको खण्डमा 13औं तारिखमा पनि तिनवटै जमरात (सांकेतिक स्तम्भहरू) लाई सानोदेखि आरम्भ गरी ठूलो सम्म सिलसिलावार सात सात चोटि ढुंगाले रमी (हिर्काउनु) गर्नुपर्छ।
यस प्रकार अब तपाईको हज पूरा भयो। अब यसपछि जति दिन संभव छ भने मक्कामा बस्नु र भ्याएसम्म मदिनामा पनि बस्नु र हरमे काबामा सक्दो नमाज र तवाफमा व्यस्त रहनु। अन्तमा आफ्नो घर फर्कनु भन्दा अघि हरमे काबाको तवाफे विदाअ (बिदाई तवाफ) अवश्य गर्नुहोस् किनभने यो पनि वाजिब (अनिवार्य) छ।यदि छुट्यो भने जरिवाना स्वरुप मक्कामा एउटा जनावरको बलि दिनुपर्छ र त्यहींको गरिबहरूमा वितरण गर्नुपर्छ।
अल्लाह तआलाले हामी सबैलाई आफ्नो घरको दर्शन अर्थात् हज र उमरा गर्ने मौका प्रदान गरुन् र हाजीहरुको हज र पुण्य स्वीकार गरुन् भने मेरो प्रार्थना छ।
लेखकः जुल्फकार अली
संयोजक तथा निर्देशक दावा विभाग
इस्लामी संघ नेपाल
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


