हिन्दू समाजमा अवतारवादको धारणा फैलिएको छ, वास्तवमा यो धर्मग्रन्थको बारेमा सही ज्ञान नभएर यस्तो परिणाम सृजना भएको हो। जब कि धार्मिक ग्रन्थले यो प्रमाण सिद्ध गरेको छ कि ईश्वरको कोही साझेदार छैन र उहाँलाई कुनै चीजको आवश्यकता नै पर्दैन भने फेरि उहाँलाई किन मानवरुप धारण गरेर जन्म हुनु आवश्यक पर्छ त ? हिन्दू धर्मानुसार ईश्वरको दस अवतार छन् भन्ने धारणा मानिन्छ । ति हुन् -मत्स्य, कूर्म, बराह, नृसिंह, वामन, परसुराम, राम, कृष्ण, बुद्ध र कल्कि अवतार हुन।
यस सम्बन्धमा महा भारतमा श्रीकृष्णले अर्जुनलाई भन्नु भयो- यदा यदा ही धर्मस्य ग्लानिर्भवति भारत, अभ्युथानम् अधर्मस्य तदात्मानं सृजाम्यहम् | परित्राणाय साधुनाम विनाशाय च: दुष्कृताम, धर्मं संस्थापनार्थाय सम्भावामी युगे युगे ||
अर्थ- हे भारत ! जब-जब धर्मको हानि र अधर्मको वृद्धि हुने छ, तब-तब म आफ्नो रूपको सृजन गर्दछु अर्थात साकार रूपबाट भक्त समक्ष प्रकट हुने छु. साधुजन (सज्जन) को उद्धार गर्नका लागि, पापकर्म गर्नेवालालाई विनाश गर्नका लागि र धर्मलाई राम्रोसँग स्थापना गर्नका लागि म युग-युगमा प्रकट हुने छु !
अब हामीलाई यो कुरामा अपत्यारिलो महशुस हुन्छ। जस्तै माथि प्रकट भनेको छ, प्रकटको मतलब हो, एक्कासी उपस्थित हुनु, जन्मिनु होइन, तर राम, कृष्ण, बुद्ध जन्मिएका हुन्। यस कारणले हामीले कुन कुरामा विश्वास गर्ने ?
अवतारको यो कल्पना स्वयं वेदको सिद्धान्त विपरित छ। ऋग्वेदका टिप्पणीकर्ता आशोराम आर्य टिप्पणी गर्नु हुन्छ- “जो मनुष्य ईश्वरको अनेक अवतार मान्दछन् तिनीहरु सबैभन्दा ठूला मूर्ख हून्”। (ऋग्वेदको खण्ड १ सुक्त ७ मंन्त्र १०)
गान्धीजी लेख्नु हुन्छ- “मनुष्य ईश्वर मनुष्य हुनै सक्दैन। यसैले उहाँ कुनै मनुष्यको रुपमा अवतार लिनु हुन्न।” (प्रार्थनाको महत्व पृष्ट संख्या ६७ )
अवतारको सही अर्थ के हो ?
अवतारको सही अर्थ हो ईश्वर मानवरुप धारण गरेर जन्म लिनु हुन्न तर मनुष्यहरु मध्ये नै कुनै व्यक्तिलाई सन्देष्टाको रुपमा चुन्नु हुन्छ, जसले मानवलाई मार्गदर्शन गर्दछन्। श्रीराम शर्माजीले कल्किपुराणको पृष्ट नं २७८ मा प्रष्ट पार्दै भन्नु हुन्छ। “समाजको गिर्दो अवस्थालाई उन्नति तिर लैजानेवाला “महामानव” अर्थात् मानव मध्ये “महामानव नेता” जसलाई ईश्वरले मानव मार्गदर्शनको लागि संदेशवहाक चुन्नुहुन्छ”।
डा० एम०ए० श्रीवास्तवको आफ्नो पुस्तक मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम र भारतीय धर्मग्रन्थ पृष्ट ५ मा उल्लेख छ
“अवतारको अर्थ यो हो कि ईश्वर स्वयं यस धर्तिमा स-शरीर आउनु हुन्न तर वास्तवमा सत्य यो हो कि उहाँ आफ्नो पैगम्बर(संदेशवहाक) पठाउनु हुन्छ।”
यसबाट हामीलाई यो ज्ञात भयो कि ईश्वरको तर्फबाट उपदेश दिनेवाला मनुष्य नै हुन्थे, जसलाई अरबी भाषामा रसूल, अंग्रेजीमा प्राफेट र संस्कृत भाषामा अवतार भनिन्छ।
प्रिय मित्र ! हामी धार्मिक पक्षपातबाट अलग भएर सोचौं जो परमेश्वर यत्ति ठूलो महान संसारको स्रष्टा, पालनहार, स्वामी, शासक र संरक्षक हुनुहुन्छ। जसले पृथ्वी, आकाश, सूर्य, चन्द्रमा, तारा, विभिन्न नक्षत्र, मानव, जिन्न, फरिश्ता, जल, वायु, जीव-जन्तु वनस्पति र किटाणु आदि यस ब्रह्माण्डमा भएका सबै चीजहरु सृष्टि गर्नु भयो। उहाँको आदेशानुसार विभिन्न ग्रह तथा उपग्रहरु ठीक-ठीक गतिमा चल्दछन्। तिनीहरुलाई एक रौं बराबर पनि फरक नचल्ने व्यवस्था मिलाउनु भएकोछ भने यस्तो महान् ईश्वरको सम्बन्धमा हामी कसरी सोच्न सक्छौं कि मानवको मार्गदशर्नको लागि स्वयं आफैले सृष्टि गरेको कुनै मानिसको वीर्य बनेर नौ महिनासम्म गर्भमा शिशु जन्मे झैं जन्मिनु, फेरि वाल्यावस्था देखि किशोरावस्थामा पुग्नु, विवाह गर्नु, सन्तान जन्माउनु, मानवले झैं विभिन्न गाली गलौज, कुटाई खानु, जेल-नेल भोग्नु संसारको पालनकर्ताको लागि स्वभाविक हुन सक्छ त ? कदापि हुन सक्दैन। फेरि के यस्तो पनि हुनसक्छ ? ईश्वर मनुष्यको रुपमा पैदा हुँदा उसलाई मनुष्य नै मान्न सक्छन् कि सक्दैनन् त ? अवश्य मान्न सक्छन्। त्यति मात्र होइन त्यसको साथमा त्यही व्यवहार हुन्छ जो अरु मनुष्यको साथमा गरिन्छ। उहाँलाई पनि झूटा मुद्दामा फसाउँछन्, मतलब मानवले झेल्नुपर्ने हरेक प्रकारको समस्या उहाँले झेल्नुपर्छ। अब तपाई भन्नुहोस् के यस्तो अवस्थामा त्यो महान ईश्वरको अस्तित्व र प्रतिष्ठा लिलाम हुन पुग्छ कि पुग्दैन ?
यदि ईश्वरलाई हामी सर्वशक्तिमान मान्छौ भने यस संसारको पालनकर्तालाई मनुष्यसँग तुलना गर्नु उचित होइन । जब कसैले ईश्वरलाई मानवसँग तुलना गर्छ भने त्यो बुद्धिको दुर्बलताको उपज हो।
हामी हाम्रो दैनिक जीवनमा पनि यस कुराको अनुभव गर्दछौ कि कुनै पनि देशमा केही घटना घट्दछ भने त्यहाँ के स्वयं देशको प्रधानमन्त्री जानु हुन्छ त ? अवश्य पनि जानु हुन्न, कुनै समिति गठन गरेर छानविन गर्ने अनुमति दिनुहुन्छ र जसले घटना स्थलमा गएर सरकारी नियमानुसार आफ्नो कार्य सम्पादन गरेर प्रतिवेदन पेश गर्दछन्। फेरि जसलाई ईश्वरको अवतार मान्दथे, उनको जीवन चरित्रलाई हेर्दा थाह हुन्छ कि उनीहरु सबै मनुष्य थिए। उनीहरु पनि हिंड्-डुल, खानपान गर्दथे, आफू पनि आमाको कोखबाट जन्मिएका थिए भने उनीहरुका पनि छोरा-छोरी थिए। समय अनुसार बच्चा, जवान तथा बुढा हुन्थे, उनीहरु सुखी तथा दुःखी हुन्थे । उनीहरुमा यो कमजोरी तथा गल्ति पनि थियो, कसैलाई मख्खन चोरी त कसैलाई परस्त्रिसँग सम्बन्ध राख्ने आरोप छ त कसैलाई नशालु पदार्थ सेवन गर्ने। जुन ईश्वरले सही मार्गदर्शन गर्नु पर्नेमा आफैले गल्ति गर्नु हुन्छ भने त्यो ईश्वर हुन सक्छ त ? ईश्वरले त हर समय सारा संसारलाई निगरानी गरीरहेको हुन्छ ? जस्लाई कहिल्यै निन्द्रा लाग्दैन ? जसले हर प्राणीको विन्ति सुन्नु हुन्छ ? त्यो ईश्वर कसैको बुबा, आमा, दाजु-भाइ, छोरा-छोरी, पति-पत्नी या नातेदार कसरी हुन सक्छ ? तपाई आफै सोच्नु होस् कि कुनै मानवले यस संसारलाई एकपल पनि चलाउन सक्छ भनेर कसरी विश्वास गर्नु हुन्छ ?
जो व्यक्तिलाई यो संसारमा सृष्टिकर्ताले रसूल तथा नबी चुन्नु भएको थियो तिनीहरु पनि हामी जस्तै सामान्य मानवको कोखबाट जन्मिएका हुन्थे तर अल्लाह (ईश्वर) ले उनीहरुलाई केही चमत्कारी शक्ति दिएका हुन्थे। उनीहरुले एक ईश्वरको नै पूजा गर्न सन्देश दिन्थे, तर उनीहरुको मृत्यु पछि त्यही चमत्कारी शक्तिलाई देखेर मानवले श्रद्धापूर्वक उनीहरुलाई ईश्वरको रुपमा मान्न थाले। उनैलाई ईश्वरको अवतार मान्न थाले। तर इस्लाम धर्म अनुसार उनीहरुको पूजा गर्नु हुँदैन । मानवले नबी तथा रसूलको शिक्षानुसार एक ईश्वर (अल्लाह) को भक्ति गर्नु पर्छ। यिनै रसूल तथा नबीहरुलाई ईश्वरको अवतार मान्थे, इस्लाम धर्मानुसार, अरबी भाषामा नबी तथा रसूल भनिन्छ। अंग्रेजीमा Prophet अर्थात Messenger भनिन्छ। ईसाई तथा यहुदी धर्मालम्बीहरु पनि नुबुवत बारेमा दृढ आस्था राख्दछन्।