Main Menu
New Muslims APP
أكاديمية سبيلي Sabeeli Academy

आमाको हक र स्थान

आमाको हक र स्थान

आमाको हक र स्थान

शुरु गर्दछु अत्यन्तै करुणमय परम दयालु अल्लाहको नामबाट जो सारा संसारका पालनकर्ता हुनुहुन्छ।

अल्लाह तआलाको आदर र सम्मानको हक पछि मानवमा सबैभन्दा बढी आदर र सम्मान योग्य हकको अधिकार आमा बुवाको हुन्छ । यसको तात्पर्य यो हो की अल्लाहले हामीलाई संसारमा ल्याए आमाको माध्यमबाट। यसैकारण इस्लाममा आमाको ठूलो दर्जा छ। महिला तब पूर्ण हुन्छिन जब उनी आमा हुन्छिन। एउटा हदीसमा उल्लेख भए अनुसार एक जना व्यक्तिले मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) सँग सोधे कि म पनि लडाईमा भाग लिन सक्छु ? तब मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) ले सोध्नु भयो, तिम्री आमा जीवितै छिन ? उसले भन्यो ! हजुर ।  त्यसपछि मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) ले भन्नु भयो, त्यसो भए घरमै बसेर आमाको सेवा गर किनकि आमाको खुट्टा मुनी स्वर्ग छ। (तिर्मिज़ी)

अर्को शब्दमा भन्नुपर्दा स्वर्ग त्यो व्यक्तिले पाउँछ जसले आमाको आज्ञा मान्छ र उनलाई खुशी पार्दछ।इस्लाममा आमाको दर्जा बुबाको भन्दा तिन गुना बढी हुन्छ। आमाको भूमिका हाम्रो जीवनमा धेरै महत्वपूर्ण स्थान हुन्छ। आमा बिना हाम्रो जीवन अधुरो हुन्छ। आमाको भूमिका हाम्रो जीवनमा कसैले निभाउन सक्दैन। किनकी अल्लाह तआलाले आमालाई यस्तो गुण दिएका छन् जुन इस्लामिक इतिहासबाट प्रष्ट हुन्छ। ती आमा हुन् हाजिरा (अलैहिस्सलाम), जो इब्राहीम (अलैहिस्सलाम) की पत्नी थिइन्। जब इस्माइल (अलैहिस्सलाम) को जन्म भयो। तब इब्राहीम (अलैहिस्सलाम) लाई अल्लाहबाट आदेश भयो की पत्नी हाजिरा (अलैहिस्सलाम) र प्यारो छोरा इस्माइल  (अलैहिस्सलाम) लाई लिएर मक्कामा छोडेर आउने। अल्लाहको हुकुम मुताविक हाजिरा (अलैहिस्सलाम) र इस्माइल (अलैहिस्सलाम) लाई लिएर मक्काको मरूभूमिमा छोडेर आए। त्यसपछि हाजीरा (अलैहिस्सलाम) को परिक्षा शुरु भयो। त्यसठाउँमा न मानिसको बसोबास थियो, न पानीको कुनै स्रोत नै। अनि बालक इस्माइल (अलैहिस्सलाम) तिर्खाले रुन थाले। तब हाजीरा (अलैहिस्सलाम) आफ्नो बच्चा तिर्खाले छट्पटाएको देखेर आफु पनि पीडित भएर छट्पटिन थालिन। पानीको खोजीमा उनी सफा र मर्वा भन्ने पहाडमा सात पटक दौडिइन। अल्लाहलाई त्यो कार्य अति नै मन पर्यो। यही त्यो कार्यको सम्झनामा हाल हज तथा उमरा गर्नका लागि जाने तिर्थ यात्रीहरुले सफा र मर्वामा सातपटक परिक्रमा गर्ने गर्दछन्। यो उदाहरणबाट हामीलाई प्रष्ट भयो की आमाको ममता आफ्नो सन्तानप्रति कति घनिष्ट हुन्छ भनेर।

तर आमाको महत्व त्यस बच्चालाई मात्र थाहा हुन्छ जो आमाबाट टाढिन्छ। जब हाम्रो जन्म हुन्छ तब हामीलाई खानपीनको कुनै ढंग हुँदैन, न हामीलाई राम्रो नराम्रोको ज्ञान हुन्छ, तर पनि आमाले हाम्रो हेरचाहा कार्यमा मद्दत पुर्याउनु हुन्छ। जब हामी बिमारी हुन्छौं तब हामीलाई कुनै कष्ट नहोस् भनेर रात दिन हाम्रो स्याहार सुसारमा लाग्नु हुन्छ। सानो हुन्जेलसम्म हामी आमालाई छोडेर कतै टाढा जान रुचाउँदैनौं र आमा कै पछि पछि लागि रहन्छौं। तर जति ठूलो-ठूलो हुँन्छौं त्यति-त्यति आमासँग टाढिन्छौं। जब हामी आफ्नो दुनियाँमा मस्त हुन्छौं तब आमाले हामीलाई दिनु भएको माया र ममतालाई बिर्सिन्छौं। आमाको दर्जा कति ठुलो रहेछ भन्ने कुरा थाहा पाउँछौं । आइशा (रजियल्लाहु अन्हा) बाट बर्णन गरिएको हो, मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो “जब म जन्नतमा प्रवेश गरें तब कसैले कुरआन पाठ गरिरहेको थियो, अनि मैले सोधें, यो कुरआन कसले पाठ गरिरहेको छ ? फरिश्ताहरुले भने यो त तपाईको सहाबी हार्सा बिन नोमान हुन्। वहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, ए मेरो सहाबीहरु हो ! हेर, यो हो पुण्य गर्ने र यस्तो हुन्छ राम्रो व्यवहारको फल। (सिलसिला सहिहा, अल्लामा अलबानी, हदीस नं. ९१३)

आमाको काख नै हाम्रो पहिलो पाठशाला हो । आमाले दिएको संस्कारले नै हाम्रो आउने जीवनमा ठूलो भूमिका खेल्दछ, एउटा भनाई छ आमाले आफ्नो बच्चाको भलाईको लागि कति त्याग र वलिदान  दिन्छिन् भन्ने बारे थाहा हुन्छ। यस कथाको शुरुआत एउटा सानो बालकबाट थाहा हुन्छ। जसको नाम हो इमाम बयजीत (रह.)। उनको बुबा उनी सानो छँदै मृत्यु भैसकेको थियो। यसैकारणले आफ्नो तथा छोरा बयजीत (रह.) को जीविकोपार्जनको लागि उनकी आमा अरुको घरमा काम गर्ने गर्थिन। तर उनकी आमालाई आफ्नो बच्चाको चिन्ता लागि रहन्थ्यो। किनकी बच्चाको राम्रो रेखदेख गर्न पाउँदैन थिइन। उनकी आमाको मनमा एउटा डर यो पनि थियो की कंही मेरो छोरा नराम्रो संगतमा लाग्ने हो की ? यसै कारण उनकी आमाले उनलाई एकजना मौलाना साहब कहाँ पढ्नको लागि राखि दिइन्। अनि ती मौलाना साहबलाई उनले भनिन् की बयजित (रह.) जबसम्म पढे लेखेर एउटा राम्रो व्यक्ति बन्दैन तबसम्म घर नपठाउनु होला । त्यसपछि बयजित (रह.) की आमा त्यहाँबाट गइन् । आमाको त्यस कुरा बारे बयजित (रह.) लाई थाहा थिएन। केही महिना पछि बयजित (रह.) लाई आफ्नी आमाको धेरै नै सम्झना आयो, अनि यो कुरा उनले मौलानालाई भने। तर मौलाना साहबले उनकी आमालाई दिएको वचनले बाँधिएका थिए। त्यसैले उनलाई यति धेरै नै कार्य गर्न दिए जसको कारणले उनी आमा भएको ठाउँमा जान नसकुन्। तर बयजित (रह.) ले मौलाना समक्ष एउटा कुरा राखे की आफुलाई दिएको कार्य समाप्त भएपछि आमालाई भेट गर्न जान सक्छु ? मौलानाले उत्तर दिए जान सक्छौ तर यो कार्य समाप्त गरेपछि मात्र । आमाको ममता यस्तो घनिष्ट हुन्छ की जति पनि कठिनाई आएतापनि त्यसबाट मानिस पछि हट्दैन। यसैकारण उनले अल्लाहसँग दुआ गरे अनि आफ्नो कार्य शुरु गरे र केहि समयमा नै काम समाप्त गरे। मौलाना साहबसँग आज्ञा लिएर बयजित (रह.) आफ्नो घरतर्फ लागे । जब बयजित (रह.) घर पुगे, तब आमालाई आवाज दिए, तर आमाले ढोका खोल्नु भएन र भित्रबाट आवाज आयो, “तिमी मेरो छोरा बयजित (रह.) हुन सक्दैनौ किनकी मेरो छोरा एउटा सफल व्यक्ति बनेर मात्र घर फर्किन्छ” यो कुरा सुनेर बयजित (रह.) आफ्नो पहिले कै गन्तव्यतिर लागे। पछि गएर उनी एउटा ठूलो इमाम बन्न पुगे। यो सानो कथाबाट के प्रमाणित हुन्छ भने आमाको त्याग र बलिदानले गर्दा नै बयजित (रह.) इस्लामको लागि एउटा ठूलो उदाहरण साबित भए।

माथि उल्लेखित हदीस र भनाईबाट यो कुरा प्रष्ट हुन्छ की आमाको स्थान इस्लाममा कति ठूलो रहेछ अनि हामीले यो कुरा पनि ध्यानमा राख्नु पर्छ की जब आमा बुढेसकालको समयमा पुग्नु हुन्छ तब हामीले बढी भन्दा बढी उहाँको हेरचाह गर्नुपर्छ जसरी हामीलाई सानो हुँदा उहाँले हामीलाई हेरचाह गर्नु भएको थियो ।

साभारः- मधुर सन्देश मासिक,  जेष्ठ २०७० पेज नं. १७-१८

लेखिका- जास्मीन पोखरेल

Related Post