कुरआनको इतिहास र विकासक्रम

पवित्र कुरआन नै ईश्वरिय अन्तिम ग्रन्थ हो ।

पवित्र कुरआन नै ईश्वरिय अन्तिम ग्रन्थ हो ।

कुरआन मजीद अल्लाहद्वारा पठाइएका आकाशीय ग्रन्थहरूमध्ये एक पवित्र धर्मग्रन्थ हो। यो कुरआन सम्पूर्ण मानवजातिहरूको लागि पथप्रदर्शन हो। कुरआन हजरत मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि अल्लाहद्वारा अवतरित गरिएको थियो। कुरआन हजरत जिब्रील (अलैहिस्सलाम) को माध्यमबाट नबी (सल्लल्लाहु अलैहि वसल्लम) माथि अवतरित हुन्थ्यो ।

कुरआनको पहिलो प्रकाशना (वह्यी), “पढ ! आफ्नो ईश्वरको नामबाट जसले सबै कुरा सृष्टि गरेका छन्” हो भने कुरआन रमजान महिनाको २१ तारिखबाट अवतरित हुन प्रारम्भ भएको थियो। त्यसबेला मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को उमेर ४० वर्ष ६ महिना १२ दिन थियो। कुरआन एकै पटक अल्लाहको तर्फबाट पठाइएको होइन समय र परिस्थिति अनुसार यसका आयात (श्लोक) हरू अवतरित भएका हुन् । अन्ततः यसलाई अवतरित हुन २३ वर्ष लागेको थियो ।

कुरआन हजरत मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को रचना होइन। जिब्रील (अलैहिस्सलाम) को माध्यमबाट अवतरित प्रकाशनालाई संकलन गरेर अहिलेको स्वरूपमा यसलाई लिपिबद्ध गरिएको हो । कुरआनको संकलनका लागि मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले केही सहाबीहरूको एउटा कमिटी नै गठन गरेका थिए। यस कमिटीमा हजरत अबू बक्र, हजरत उस्मान, हजरत अली, हजरत मुआवियह, इब्ने अबू सुफियान, हजरत उबय इब्ने कअब, हजरत जैद बिन साबित (रज़ियल्लाहु अन्हुम) लगायतका सहाबीहरू थिए। उनीहरूलाई नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आदेश थियो कि तिमीहरू कुरआन बाहेक मबाट अरु केही नलेख। उनीहरू कुरआनका आयातहरूलाई छाला, काठ, पात र ढुंगामा लेख्ने गर्दथे। लेखिसकेपछि त्यसलाई पढेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) समक्ष सुनाउँथे। यदि त्यसमा केही गल्तिहरू भेटिएमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यसलाई त्यसैबेला सच्याउन लगाउँथे ।

नबी (सल्लल्लाहु अलैहि वसल्लम) समक्ष प्रकाशना अवतरित भएपछि तत्कालै त्यसलाई सहाबीहरूलाई कण्ठष्थ गर्न लगाउँथे। त्यसकारण मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा पनि थुप्रै सहाबीहरूले कुरआनलाई कण्ठष्थ परेका थिए। स्वयं नबी (सल्लल्लाहु अलैहि वसल्लम) कुरआनलाई जिब्रील (अलैहिस्सलाम) को अगाडी प्रत्येक रमजानमा एकचोटी पढेर सुनाउँथे र यो प्रक्रिया उन (सल्लल्लाहु अलैहि वसल्लम) को मृत्यु हुनुभन्दा अगाडीको वर्ष रमजानमा २ चोटी दोहोर्‍याइयो। यसबाट के बुझिन्छ भने कुरआन जो कि ईश्वरीय ग्रन्थ हो यसलाई अन्तिम समयमा जिब्रील (अलैहिस्सलाम) जो यसका बाहक थिए मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई सुनाएर त्यसमा कुनै भुलचुक छैन भन्ने कुरा प्रमाणित गरियो।

नबी (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा आयात (श्लोकहरू) र सूरहहरू संख्याको सम्बन्धमा कुनै विवरण भेटाइदैन। पहिला खलिफा हजरत अबू बक्र (रजियल्लाहु अन्हु) को समयमा लडिएको एक लडाईमा धेरै सहाबाहरू सहिद भए यी सहिद हुनेहरूको धेरै संख्या कुरआनलाई कण्ठष्थ पार्नेहरू (हाफिजहरू) को थियो। त्यसपछि हजरत उमर (रजियल्लाहु अन्हु) ले हजरत अबू बक्र (रजियल्लाहु अन्हु) लाई भने, “अब कुरआनलाई एउटा किताबको स्वरूपमा बिकसित गरौँ “

प्रारम्भमा हजरत अबू बक्र (रजियल्लाहु अन्हु) हिच्किचाए किनभने यो कार्य नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले गरेका थिएनन्। तर कुरआनको महत्वलाई बुझेर उनी तयार भए। त्यसपछि हजरत जैद बिन साबित (रजियल्लाहु अन्हु) को नेतृत्वमा एउटा कमिटी गठन गरियो। कुरआनको हरेक आयतहरूलाई जम्मा गरि एउटा किताबको रुप प्रदान गर्नु यस कमिटीको जिम्मेदारी थियो।

हजरत जैद बिन साबित (रजियल्लाहु अन्हु) आफूले पनि कुरआन कण्ठष्थ गरेका थिए । उनले सबैभन्दा पहिला कुरआन लेखिएका टुक्राहरूलाई संकलन गर्न लगाए। त्यसपछि उनी त्यसको सत्यतालाई आफूले कण्ठ परेका आयतहरुसँग प्रमाणित गर्थे। यस कार्यमा हजरत उमर (रजियल्लाहु अन्हु) ले पनि उनलाई सघाउँथे। त्यसपछि दुईजना साक्षीहरू जरुरी हुन्थ्यो कि यो आयत नबी (सल्लल्लाहु अलैहि वसल्लम) को उपस्थितिमा लेखिएको हो। त्यसपछि मात्र त्यो आयातलाई मान्यता प्राप्त हुन्थ्यो र कुरआनमा सम्मिलित गरिन्थ्यो । यो बिधि अपनाउनुको उद्देश्य के थियो भने अल्लाहद्वारा पठाइएको ग्रन्थमा कुनै मानवीय त्रुटि नरहोस् । यसरी कुरआनलाई एउटा किताबको स्वरूप दिइयो।

त्यतिबेलासम्म पनि कुरआनको आयतहरूको गणनासम्बन्धि कुनै प्रमाण भेटाइदैन। उक्त कमिटीद्वारा तयार पारिएको कुरआनको सो प्रतिलाई अबू बक्र(रजियल्लाहु अन्हु) लाई बुझाइयो । सन् ६३४ मा हजरत अबू बक्र (रजियल्लाहु अन्हु) को मृत्युपछि कुरआनको यो प्रति दोस्रो खलिफा हजरत उमर (रजियल्लाहु अन्हु) को संरक्षणमा आयो। हजरत उमर (रजियल्लाहु अन्हु) को समयमा कुरआनमा आयतहरूको गणना भएको बुझिन्छ। उनको समयमा उनले एउटा नियम बनाएका थिए कि तरावीह (एक प्रकारको नमाज जुन रमजान महिनामा मात्र पढइन्छ) को प्रत्येक रकातमा ३० आयतहरूको तिलावट (बाचन) गर्ने। हजरत उमर (रजियल्लाहु अन्हु) को मृत्युपछि यो कुरआनको पहिलो प्रति उनकी छोरी हफ्सा (रजियल्लाहु अन्हा) को संरक्षणमा आयो।

तेस्रो खलिफा हजरत उस्मान (रजियल्लाहु अन्हु) को समयमा इस्लाम विभिन्न क्षेत्र र विभिन्न भाषाभाषीहरू समक्ष पुग्यो। यसपछि उनीहरू कहाँ कुरआनको उच्चारण र अनुवादमा भिन्नता आउन थाल्यो। यो समस्यालाई बुझेर सन् २५ हिजरीमा हुजैफह इब्ने अल्-यमन हजरत उस्मान कहाँ आए र भने, “हे खलिफा ! मुस्लिम उम्मत (समुदाय) लाई कुरआनमाथि हुने मतभेदबाट बचाउनुहोस्।” त्यसपछि हजरत उस्मान (रजियल्लाहु अन्हु) ले जैद बिन साबित, अब्दुल्लाह इब्ने अल्-जुबैर, अब्दुल्लाह इब्ने अल्-हारिस र सईद इब्ने अल्-आस (रजिय अल्लाहु अन्हुम) सम्मिलित एउटा कमिटी गठन गरे र हजरत हफ्सा (रजियल्लाहु अन्हु) कहाँबाट कुरआनको पहिलो प्रति ल्याइयो।

हजरत उस्मान (रजियल्लाहु अन्हु) ले कमिटीलाई भन्नुभयो, (उक्त कमिटीमा तीन जना कुरैश कबिलाका र जैद बिन साबित अनसार कबिलाका थिए) यदि कुरआन सम्बन्धि कुनै कुरा बाझियो भने कुरैशको उच्चारणमा लेख। उनीहरूले कुरआनको धेरै प्रतिहरू लेखे । त्यतिबेला नै सूरह र आयतहरूलाई क्रम्बन्ध रूपमा लेखियो। त्यसपछि हजरत उस्मान (रजियल्लाहु अन्हु) ले हफ्सा (रजियल्लाहु अन्हा) कहाँबाट ल्याइएको कुरआनको उक्त प्रतिलाई हफ्सा (रजियल्लाहु अन्हा) कहाँ नै फर्काइदिए। विभिन्न ठाउँबाट जम्मा गरि ल्याइएका कुरआनका प्रतिहरूलाई जलाइयो र कमिटीले तयार गरेका नयाँ प्रतिहरू सबै ठाउँमा प्रस्तुत भयो । आज जुन कुरआन हामीसँग छ त्यो त्यहि उस्मानी प्रतिको प्रतिलिपि हो।

सुरुसुरुमा अरबी वर्णमालामा नोकता (थोप्लो) को प्रचलन थिएन तर पनि उहाँहरूले कुरआनको तिलावत (बाचन) गर्दा केही फरक पर्दैन थियो। कारण त्यसबेला हाफिज़को तिलावतबाट नै तिलावत सिकिन्थ्यो। त्यसकारण नै होला हजरत उस्मान (रजियल्लाहु अन्हु) ले कुरआनलाई विभिन्न ठाउँहरूमा पठाए। त्यससँगै एउटा हाफिज पनि पठाए। सुरुसुरुमा यो विधिले काम गर्‍यो। तर पछि गएर नोकताको आवश्यकता मान्छेहरूले महसुस गरे। सबभन्दा पहिला अबुल असद अल्-दोलिले नोकता हाल्ने काम मुआवियह इब्ने अबू सुफियानको समयमा गरे।

जेर, जबर, पेश (अरबीको मात्रा) को लागि अक्षरहरूमा नोकता थप्ने काम नसर इब्ने यासिम र हय इब्ने यामोरले अब्दुल मालिक इब्ने मरवानको समयमा गरे। Diacritical Mark (जबर, जेर र पेश) अल्-खलील इब्ने अहमद अल्-फराहिदीद्वारा पूर्णरूपमा बिकसित गरियो। यसरी कुरआनमा विभिन्न समयमा तिलावतको सहुलियतको लागि अक्षरहरूमा विभिन्न परिवर्तन गरियो। तर यसको मूल भावमा केही फरक परेन। छापाखानाको आविष्कार भएपछि सन् १११३ हिज्रीमा युरोपको हम्बर्गबाट कुरआन पहिलो पटक छापी प्रकाशन गरिएको थियो।

लेखिका- आस्मा हनिफा

शिक्षिका- इस्लामिक दावती अफिस, साउदी अरब

Related Post