सूरतुल-कुरैश-१०६ (मक्की, आयतहरु-४)
शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
(१) कुरैशको हेलमेलको कारणले…
(२) जाडो र गर्मीको यात्रासित हेलमेल हुनुको कारणले
(३) तिनीहरुले यस घरका मालिकको उपासना गरुन्….
(४) जसले तिनीहरुलाई भोकमरीबाट बचाएर खाना खुवाएर र भयबाट बचाएर शान्ति प्रदान गरे।
संक्षेपमा ब्याख्याः
कुरैश मक्काको सर्वश्रेष्ठ मानिने खान्दान वंशको नाम थियो । यसै खान्दानमा अन्तिम सन्देष्टा मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को शुभ जन्म भएको थियो ।
जाडो र गर्मीको अभिप्रायः व्यापारिक यात्रा हो । गर्मीमा कुरैशका व्यापारीहरु सिरिया र प्यालेस्टाइनतर्फ र जाडोमा अरबको दक्षिणतर्फ व्यापारको लागि जाने गर्थे । यसै यात्राको कारण तिनीहरु सु-सम्पन्न बनेका थिए ।
यस घर भनेको काबालाई भनिएको हो । मक्का हरम (प्रतिष्ठित भूमि) हुनुको कारणले यसमा कुरैशलाई कुनै किसिमको आक्रमणको खतरा थिएन । साथै कुरैश कअ्बाको प्रबन्धक हुनाले उनका ब्यापारिक यात्रुदलहरु अरबका सबै क्षेत्रहरुमा बिना रोक टोक आवत जावत गर्ने गर्थे । कुरैशलाई ‘कअ्बा र इब्राहीम (अलैहिस्सलाम) को मिहिनेत तथा दुअ (प्रार्थना) को कारणले जुन केन्द्रियता, सुरक्षा, निश्चिन्तता तथा शान्ति प्राप्त भयो त्यो अल्लाहको विशेष कृपाले भयो। यस घरसँग आफ्नो अभ्यस्ततालाई कुरैशले बिर्सनु हुँदैन । साथै यसै घरको निर्माण इब्राहीम (अलैहिस्सलाम) ले जुन उद्देश्यले गरेका थिए त्यसलाई पनि कुरैशले याद राख्नु पर्छ। इब्राहीम (अलैहिस्सलाम) ले कुनै देवी देवता राख्न होइन केवल एक अल्लाहको भक्तिको लागि यसको निर्माण गरेका थिए । तसर्थ कुरैश पनि केवल एक अल्लाहको भक्ति गरून् र शिर्क त्यागुन् ।
ऐतिहासिक पृष्टभूमि
अन्तिम संन्देश मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को वंशधर कुरैश आफ्नो प्रमुख पूर्वज कुसई बिन किलाबको समयसम्म हिजाजका बिभिन्न स्थानहरुमा छरिएर बसेका थिए । सर्वप्रथम कुसईले तिनीहरुलाई मक्कामा एकत्रित गरेका थिए। उनीहरु अन्तराष्ट्रिय व्यापारमा संलग्न थिए जसले गर्दा कुरैशको ज्ञान, बुद्धि, धनमा निक्कै वृद्धि भयो । कुरैशको उन्नती देखेर यमनका शासक अब्रहाले मक्का माथि आक्रमण गर्यो तर अल्लाहले कअ्बाको कारण अब्रहा र उनको सैन्यहरुलाई नष्ट पारिदिए र कुरैशलाई सुरक्षित राखे । अब्रहाको विनाशले गर्दा अरबवासीहरुको कअ्बा अल्लाहको घर हो भने कुरामा झन् विश्वास बढ्यो र साथै कुरैशको धाक पनि समस्त क्षेत्रमा बढ्यो ।
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


