गरिबी निवारणको अर्को नाम जकात

जकात

सदका (दान) दिएर माल घट्दैन । (तिर्मिज़ी)

सिमा खान,

 इस्लाम धर्मावलम्बीहरूको ठूलो दुई पर्वहरु छन् जसमा एउटा पर्व रमजान महिना हो र यसको साथमा रहेको ईद उल फित्र हो र अर्को बक़र ईद हो। रमजान महिनामा मुस्लिम धर्मालम्बीहरु एक महिनासम्म (रोजा) उपवास राख्छन् । फजरको आजान पछि देखि रोजा भंग गर्ने हरेक कृयाकलापबाट आफुलाई जोगाएर मग्रिबको आजान दिएपछि इफ्तारी गरिन्छ। रमजानको रोजालाई मुस्लिम धर्मालम्बीहरूले धेरै सम्मान, श्रदा तथा पुण्य प्राप्तिको ठूलो अवसरको रूपमा लिने गर्छन् ।

रमजानको महिनामा रोजा राख्दा एक पुण्य कयौं गुणा पुण्य बराबर हुनेगर्छ। यस महिनामा अल्लाह धेरै कृपालु हुन्छन् र आकाशबाट अल्लाहको विशेष कृपाको वर्षा हुने गर्छ । त्यसैले झुटो नबोल्ने, कुकर्म नगर्ने, दान दक्षिणा धेरै गर्ने, पाठ गर्ने, धेरै समय अल्लाहको यादमा बिताउने र बढीभन्दा बढी पुण्य कमाउने प्रयाश गरिन्छ । इस्लामिक क्यालेन्डर चन्द्रमाको गती अनुसार तय गरिन्छ। रमजानको रोजा सकिना साथ इद उल फित्र पर्व मनाइन्छ। यो पर्व मुस्लिम समुदायहरूको महान चाड हो, जो विश्वभरि हर्षोल्लाससाथ मनाइन्छ ।

रमजानसँग जोडिएको जकात पनि एक अत्यन्त महत्त्वपूर्ण र अनिवार्य विषय हो, जो इस्लामको ५ वटा आधारस्तम्भ (अल्लाह माथि आस्था, नमाज, रोजा, जकात तथा हज) मध्ये एक रहेको छ। जकातको अर्थ हरेक मुसलमानको आफ्नो चल सम्पत्ति जो साढे सात तोला सुन वा ५२ तोला चाँदी वा सोही मूल्य बराबर भएपछि कुल सम्पत्तिबाट त्यसको २.५ प्रतिशत छुट्याई विपन्नलाई अनिवार्य दिनुपर्छ। जकात ननिकालेको सम्पत्ति अपवित्र हुन्छ र त्यो व्यक्ति पापको भागिदार हुन्छ । जकातले गरिबको आवश्यकता पुरा गर्नुका साथै धनी र गरिब बीचको सम्बन्धलाई पनि राम्रो बनाउन सघाउँछ। जकात दिनेसँग अल्लाह प्रसन्न हुन्छन् । जकात हरेक प्रकारको आम्दानी र चल सम्पत्तिको मूल्यांकन गरी निकाल्नुपर्छ । सुन, चाँदी, बैंक व्यालेन्स, अन्नबाली, फलफूल खेती, चौपाया र आयआर्जनको स्रोत रहेको अन्य व्यवसाय व्यापारहरूको पनि दिनुपर्छ । जकात दिनु कति जरुरी छ, यो हरेक मुसलमानले बुझ्नु अनिवार्य छ।

हादिसको संग्रह अबु दाउद र तिर्मिज़ीमा उल्लेख भए अनुसार अन्तिम सन्देष्टा हजरत मुहम्मद (सल्ल.) ले एक महिलाकी छोरीको हातमा सुनका चुरा देखे र प्रश्न गरे, ‘तिमीले यसको जकात दिने गरेकी छौ?’ उनले भनिन् ‘छैन’। सन्देष्टाले भन्नुभयो, ‘यदि यसको ठाउँमा आगोको चुरा लगाइदिएको भए तिमी खुसी हुन्थ्यौ ?’ ती महिलाले छोरीको हातको चुरा तुरुन्त फुकाली दिइन् । जकात दिन लागु हुने रकम पनि स्पष्ट रूपले किटान गरिएको हुन्छ। साढे सात तोला अर्थात सुन (८५ ग्राम) वा चाँदी (५९५ ग्राम) सो बराबर बैंक व्यालेन्स भएमा जकात दिनुपर्छ । यसैगरी खेतीपाती तथा जमिनबाट भएको उब्जनीमा ६५३ किलोग्राम तोकिएको छ। यदि खेतीमा बर्षाको पानी, पोखरीको पानी या खोलाको पानीबाट सिंचाई भएको खण्डमा जब ६५३ किलो ग्राम अन्न उब्जिएको छ भने त्यस अन्नबाट जकात बिसौं भागमा एक भाग निकाल्नुपर्छ। यदि तपाईले पम्पिसेट या टयुबेलबाट पानी पठाउनु भएको छ भने त्यस अन्नबाट १० सौं भागमा एक भाग जकात दिनुपर्छ। अन्न तथा फ्रिजमा स्टोर गरेर राख्न सकिने चीजमा जकात लागु हुन्छ तर छिट्टै सडेर जाने चीजमा जकात लाग्दैन। जस्तै सागपातमा जकात लाग्दैन। अन्न बालीमा हरेक उब्जनीमा जकात दिनुपर्छ । व्यापारिक फाइदामा २.५ प्रतिशत नै जकात तोकिएको छ । यो वार्षिक रूपमा छुट्याउनुपर्छ । हरेक वर्षको अन्त्यमा मूल्यांकन गरी जकात अनिवार्य दिनुपर्छ । एक वर्षको अन्तरालमा पनि खरिद दर र बिक्री दर बराबरै किन नहोस्, जकात अनिवार्य दिनैपर्छ । तर अचल सम्पत्ति भवन, गाडी, जग्गा, मेसिन इत्यादिको जकात दिनु पर्दैन । तर यसबाट हुने फाइदाको चाहिँ जकात दिनुपर्छ । भवनबाट आएको भाडा, गाडीको भाडा अर्थात कुनै पनि व्यापारबाट भएको लाभको वार्षिक मूल्यांकन गरी २.५ जकात अनिवार्य हुन्छ ।

जतिसुकै जरुरी कामको लागि किन नहोस्, त्यही मूल्य बराबरको रकम चाहे त्यो ऋण तिर्नको लागि नै किन नहोस्, त्यसको जकात अनिवार्य हुन्छ । सम्पन्नको पुँजीमा गरिबको अधिकारको यो व्यवस्था गरिबी निवारणमा सहयोगी सिद्ध हुनसक्छ । संसारका सबै सम्पन्न व्यक्तिले आफ्नो सम्पत्तिमा गरिबको अधिकारको यस व्यवस्थालाई बुझिदिए भने गरिबी नियन्त्रणमा अवश्य नै ठूलो टेवा पुग्नेछ ।

http://bit.ly/29tzfPS

 

Related Post