इस्लाम र जिहाद

जिहाद

इस्लाम सम्पूर्ण मानव जातिलाई शान्तिको सन्देश दिन्छ ।

इस्लाम सम्पूर्ण मानव जातिलाई शान्तिको सन्देश दिन्छ । यसको एउटा पनि सिद्धान्त यस्तो छैन जसले मानव विरुद्ध कुरा गरोस् । इस्लाम अतंकवाद र उग्रवादको जुनसुकै रुपलाई नकार्दछ । यसका सिद्धान्तहरु कुरआन र हदीसका शिक्षामा आधारित छन् । केही मानिसहरुमा यो भ्रम रहेको पाइन्छ की इस्लाम धर्म आफ्नो सिद्धान्तले होइन तरवारको जोडले फैलिएको हो, तर उनीहरुले बुझ्नु पर्ने कुरा के हो भने आज पनि संसारको प्रत्येक भागमा मानिसहरु इस्लाम धर्म स्वीकार गरि रहेका छन् । मानवअधिकारको दुहाई दिने अमेरिका र युरोप जस्ता महादेशहरुमा पनि जहाँ तरवार (शक्ति) उनीहरुकै हातमा छ । कुरआनका शिक्षाहरु अत्यन्तै सरल एवं प्रकृति अनुकुल छन् । कुरआनमा कुनै पनि यस्तो कुरा छैन जसले मानिसलाई भयभीत पारेर तरवारको जोडबाट बल तथा जबरजस्ति मुसलमान बनाउने शिक्षा देओस् । इस्लाम सच्चरित्रता, क्षमाभाव, शुद्ध आचर-विचारद्वारा फैलिएको हो । यसको लागि इस्लामको सरलता, पवित्रता र मानवताको प्रमाण स्वयंभा पर्याप्त छन् । कुरआनमा भनिएको छ, “धर्मको मामिलामा कुनै जबरजस्ति छैन” (कुरआन, २, आयत नं. २५६)

यस्तै कुरआनको अर्को सूरह(अध्यायन) मा सन्देशवहाक मुहम्मद (स.) लाई सम्बोधन गरिंदै भनिएको छ,

“(हे मुहम्मद!) यदि उनीहरु (अविश्वासीहरु) ले इस्लाम स्वीकार गर्दछन् भने उनीहरुलाई निश्चय नै सत्मार्ग प्राप्त हुनेछ, तर यदि उनीहरुले पिठ्यु फर्काउँछन् भने तिम्रो कर्तव्य सन्देश पुर्याउनु मात्र हो।” (पवित्र कुरआन-३/२०)

कुरआनमा यस्ता धेरै श्लोकहरु छन् । केही अन्य श्लोकहरुको वर्णन तल दिइएको छ,

“(हे मुहम्मद!) हामीले तिमीमाथि सत्यको परिपूर्ण यो कुरआन मानवजातिको कल्याणका निम्ति अवतरित गरेका हौं। अतः जसले सोझो मार्ग ग्रहण गर्दछ त्यसले आफ्नै भलाईको लागि गर्नेछ र जो व्यक्ति पथभ्रष्ट हुन्छ, त्यसले आफैलाई हानी पुर्याउनेछ। तिमी उनीहरुमाथि संरक्षक स्वरुप रहेका छैनौ।” (कुरआन-३९/४१)

“(हे मुहम्मद!) यदि उनीहरु विमुख हुन्छन् भने तिम्रो जिम्मेवारी त स्पष्ट रुपले सन्देश पुर्याउनु मात्र रहेको छ।” (कुरआन-१६/८२)

“(हे मुहम्मद!)  यदि उनीहरु मुख फर्काउँछन् भने हामीले तिमीलाई उनीहरुमाथि संरक्षक बनाएर पठाएका छैनौ । तिम्रो जिम्मा त सन्देश पुर्याउनु मात्र रहेको छ।” (कुरआन-४२/४८)

जसले सन्देशवहाक (मुहम्मद स.) को आज्ञापालन गर्यो उसले अल्लाहको आज्ञापालन गर्यो तथा जुन व्यक्ति आज्ञापालनबाट मुख फर्काउँछ, तब भने (हे मुहम्मद !) हामी तिमीलाई उनीहरुमाथि संरक्षक बनाएर पठाएका छैनौ।” (४/८०)

यसरी कुरआनमा सन्देशवहाक (मुहम्मद स.) लाई सम्बोधन गरिंदै भनिएको छ, “(हे मुहम्मद स.) तिमी अविश्वासीहरुलाई भनि देऊ, तिमीहरुको धर्म तिमीहरुका निम्ति रहेको छ, तथा मेरो धर्म मेरै निम्ति रहेको छ।” (कुरआन-१०९/६)

उपरोक्त श्लोकबाट स्वतः प्रमाणितहुन्छ कि इस्लाम धर्म तरवारको जोडले फैलिएको होइन । कुरआनमा अल्लाहद्वारा (मुहम्मद स.) लाई स्पष्ट रुपमा आदेश दिइएको छ कि यदि कसैले उहाँको कुरा मान्दैन भने उहाँको काम सन्देश पुर्याउनु मात्र हो। उहाँलाई यस्ता व्यक्तिहरुमाथि संरक्षक बनाएर पठाइएको छैन कि उहाँले आफ्नो कुरा उनीहरुमाथि बलजफ्ती थुपारुन् । यदि सन्देशहाक मुहम्मद(स.) लाई धर्मको मामिलामा जबरजस्ति गर्ने अधिकार थिएन भने साधारण मुस्लिमलाई यसको अधिकार कसरी प्राप्त हुन सक्छ ?

यदि कसैले यस्तो कार्य गर्दछ भने त्यो इस्लाम धर्म विपरित कार्य हो। अब यस्तो अवस्थामा यदि कसैले इस्लाम धर्म आफ्नो सिद्धान्तले होइन तरवारको जोडले फैलिएको हो भन्ने आरोप लगाउँदछ भने त्यो उसको संकृर्ण विचार र इस्लामलाई बदनाम गराउने आरोप मात्र हो । उदाहरणको लागि हामी आफ्नो छिमेकी देश भारतलाई नै लिन सक्छौं जहाँ मुसलमानहरुले सयौं वर्षसम्म शासन गरेका थिए । यदि उनीहरुले चाहेको भए तरवारको वलमा भारतका प्रत्येक व्यक्तिलाई मुसलमान बनाउन सक्दथे । तर आज भारतमा ८० प्रतिशतभन्दा बढी गैर मुस्लिमहरु बढी छन् । यो यस कुराको प्रमाण हो की इस्लाम तरवारको जोडले फैलिएको होइन । यस्तै हामी इन्डोनेसिया र मलेसियालाई लिन सक्छौं जहाँ सबभन्दा बढी मुसलमानहरु बसोबास गर्दछन् । यहाँ प्रश्न के उठ्दछ भने ती मुलुकहरुमा कुन मुस्लिम फौजहरु पुगेका थिए र त्यहाँका बासिन्दाहरुलाई कुन तरवारको जोडमा मुसलमान बनाइएको थियो ?

कुरआनको ऐतिहासिक महत्व यस वास्तविकाको आधारमा बुझ्न सकिन्छ कि जतिबेला यो अवतरित भएको थियो त्यसबेला विश्वमा मानवता आफ्नो नैतिक पतनतिर शीघ्र गतिमा लम्किरहेको थियो। त्यसबेला अरब क्षेत्रमा अज्ञान्ता असभ्यता र बर्बरताको पाप चरम सीमामा पुगिसकेको थियो। त्यस पापको अन्धकारमा कुरआनले चमत्कारी रुपमा प्रकाश फिँजायो र यसको शिक्षाले केही दशकभित्रै पुरै अरब क्षेत्रमा सभ्यताको प्रकाश फिँजाई दियो । इतिहाँसविद् J.W. Draper आफ्नो किताब ‘History of Intellectual Development of Europe’ मा लेख्छन्- “कुरआनको नैतिक उपदेश र सुझाव श्रेष्ठ एवं परिपूर्ण छन्। यसको संरचनामा यति खण्डनहरु छन् कि प्रत्येक पानामा यसको उक्ति र भनाईको सत्यतालाई मानिसले स्वीकार गर्नै पर्छ । पाठ र आदर्श वाक्यसहित यसका खण्ड-खण्ड बनावट आफैमा परिपूर्ण छन् र मानिसको जीवनको प्रत्येक कालखण्डको लागि उपयुक्त रहेका छन्।”

साभारः इस्लाम र विश्वशान्ति

लेखकः हिफ्जुर्रहमान (एम.एस्सी.)

 

Related Post