New Muslims APP

देउता बोलेनन किन ?

देउताम सानै थिएँ । धेरै कुरो बुझ्ने उमेर पनि भएको थिएन । एकदिन मानिसहरूले देउता ठानेर ढुङ्गो पुजेको थाहा पाएँ । कहिल्यै नदेखिने र नभेटिने यी देवता कस्ता रहेछन्, हेर्नै पर्यो भनेर एक रात मन्दिर छिरेँ । निर्जीव ढुङ्गो अचल भएर ठडिएको थियो, जति बोलाए पनि, जति पुकारे पनि त्यसले आवाज निकालेन । ‘बोल, बोल ! बोल, देउता, बोल’ भन्दै अर्को ढुङ्गाले हान्न थालेँ । हान्दाहान्दै ढुङ्गो फुट्यो तर देवता बोलेनन् । ‘ला, देवता त मरेछन्’ भनेर म आत्तिएँ । हत्त न पत्त लुक्दैलुक्दै घर पुगेँ । चारैतिर सुनसान थियो । बाहिर दलानमा बुबा मस्त निद्रामा हुनुहुन्थ्यो । म उहाँसँगै सिरकमा गुट्मुटिएँ ।

भोलिपल्ट म बिउँझिनुपूर्व नै चारैतिर हल्लाखल्ला मच्चिसकेको थियो । गाउँमा नास्तिकहरूको धर्मविरोधी कार्य बढ्दै गएको कुरा चल्दै थियो । म भने डरले थुरथुरी थिएँ । कतिपयले त देवतालाई टुक्रा पार्न सक्ने तागत कुनै मनुष्यमा नरहेको दाबी गर्दै थिए । लगतै जोखाना हेरियो, धामीझाँक्रीले ढ्याङ्ग्रो ठोक्न थाले । उनीहरूले वनकाली रिसाएर यो उपद्रो गरेकी हुन् भन्दै सात दिनभित्र कालो बोको बली दिनुपर्ने बताए ।

वनकालीले अरू उपद्रो मच्चाउलिन् भनेर गाउँलेहरू चिन्ताले आकुलव्याकुल भए । म भने आफ्नो दोष वनकालीमा सरेकोमा भित्रभित्रै प्रशन्न भएँ ।

लेखक- नन्दलाल आचार्य

तपेश्वरी–१, गल्फडिया, उदयपुर

पत्राचार – लिट्ल फ्लावर मा.वि., राजविराज–९, सप्तरी

Source –  http://www.majheri.com/node/10315?utm_

   (मझेरी डटकम)

Related Post