New Muslims APP

बेनमाजी (नमाज नपढ्ने व्यक्ति) का लागि दिर्घकालीन यातना

बेनमाजी (नमाज नपढ्ने व्यक्ति)

बेनमाजी (नमाज नपढ्ने व्यक्ति) का लागि दिर्घकालीन यातना

बेनमाजी (नमाज नपढ्ने व्यक्ति) का लागि दिर्घकालीन यातना हुन्छ भन्ने विषयमा यस पोष्ट मार्फत जानकारी गराउन चाहन्छु किनभने कतिपय व्यक्तिहरु नमाजलाई बेवास्ता गर्छन् र नमाज छोडि दिन्छन्। इस्लाम धर्ममा नमाजको कति महत्व छ र नमाज नपढ्नेहरुका लागि के कस्तो सजाया हुन्छ भन्ने विषयमा जानकारी गराउने उदेश्यले पाठक समक्ष पेश गर्न लागेका छौं।

जुन मुस्लिम दाजुभाई तथा दिदीबहिनीहरुले जानी बुझिकन बिना कुनै उचित कारणले यसलाई छोड्छन् र निश्चित समयमा पढ्दैनन् यस्ता व्यक्तिहरुका लागि अल्लाहले दिर्धकालीन यातना तयार पार्नु भएको छ।

हदिसमा उल्लेख छः “जसको टाउको पत्थरले फोडिरहेको थियो त्यो कुरआन कण्ठ गरी बिर्सिन्थ्यो र अनिवार्य नमाज नपढिकन सुत्ने गर्दथ्यो। (हदीस-बुखारी)

अर्को हदीसमा छः “जसको अस्रको नमाज छुट्यो त्यसको अवस्था यस्तो व्यक्ति जस्तो हुन्छ जसको घर-परिवार र धन-माल नष्ट भयो। (हदीस- मुत्तफकुन अलैह)

यसबाट पनि नमाजको महत्व प्रष्ट हुन्छ कि स्वर्गवासीहरु स्वर्गमा प्रवेश गरेपछि नर्कवासीहरुसित प्रश्न गर्नेछन् कि के गर्नाले तिमीहरु नर्कमा गयौ ? “उनीहरुले भन्नेछन् हामी नमाज पढ्नेहरुमध्ये थिएनौं।” (कुरआन- अल मुद्दसिर-43)

यसप्रकार अल्लाहको यस कथनबाट पनि ज्ञात हुन्छ कि नमाज नपढ्नेहरुलाई नर्कमा दीर्घकालीन यातना दिइनेछ।

“उनीहरु पश्च्यात यस्ता व्यक्तिहरु जन्म लिए, जसले नमाजको वास्ता गरेनन्-बर्वाद गरिदिए- र जथाभावी रुपले आफ्नो कुअभिलासा र इच्छापुर्तिमा लागि रहे, यसर्थ उनीहरु नर्कमा प्रवेश गर्नेछन्।” (कुरआन-मरयम-59)

बरु यदि कसैले नमाज पढ्छ तर समयमा पढ्दैन । जथाभावी रुपमा आफ्नो इच्छा अनुसार कहिले पढ्छ र कहिले पढ्न ढिलो गर्छ वा नमाजको वास्ता नै गर्दैन यस्ता मानिसहरुको नमाज पनि सर्वनाश हुनेछ।

जस्तैः पवित्र कुरआनमा छः “सर्वनास होस् यस्ता मानिसहरुको जो आफ्ना नमाजप्रति लापर्वाही गर्छन् र देखाउनका लागि नमाज पढ्छन् र स-साना चीज-वस्तु दिनलाई पनि रोक्छन्।” (सूरह- अल माऊन 4-7)

यसर्थ नमाज समयमा नै अल्लाहको प्रसन्नता प्राप्तिका लागि पढ्नुपर्छ । जस्तै वहाँले समयमा नमाज पढ्न आदेश दिनु भएको छः “नमाज पूर्ण विश्वासीहरुमाथि समय-समयमा नै अनिवार्य गरिएको छ।” (सूरह अल निसाः103)

यस्तै सर्वोत्तम कर्महरुमध्ये नबी सल्लल्लाहु अलैहि व सल्लमले समयमा नमाज पढ्नु पनि भन्नुभएको छः “समयमा नमाज पढ्नु।” (हदीस-बुखारी)

नबी सल्लल्लाहु अलैहि व सल्लमको समयमा कपटी मानिसहरु जो नमाज पनि पढ्थे तर पनि उनीहरुको सम्बन्धमा अल्लाहले भन्नुभएको छः “निश्चय नै मुनाफिकहरु अल्लाहसित धोकेबाजी गर्छन् जबकि अल्लाहले तिनीहरुलाई तिनको धोकेबाजीको बदला लिनेवाला छन् । तिनीहरु नमाजका लागि उभिंदा अल्छी गर्दै उभिन्छन् केवल मानिसहरुलाई देखाउनका लागि । अनि तिनीहरु अल्लाहको कमै स्मरण गर्छन्।” (सूरहः निसा-142)

स्रोतः पवित्रता र नमाजको विधि

लेखकः करमुल्लाह मन्सुर (मदनी)

Related Post