महिला हिंसा दिन प्रतिदिन बढ्दै गएको छ, तर समधानको उपाय र त्यस्ता घटनाहरुको न्युनीकरण गर्न राज्यले समयमै नसोचे दिन दुगुना र रात चौगुना अपराध वृद्धि हुँदै जान्छ भन्नु अतिशोयुक्ति नहोला ।
त्यो घटना सम्झिदा “मानिस सर्वश्रेष्ठ प्राणी हो” भन्ने वाक्यमा प्रश्नचिन्ह लागेको आभास हुन्छ । त्यो भयावह घटना देखेर आकाश पनि रोयो होला र यो धर्ती पनि लज्जित भएर मानवलाई आफ्नो पिठ्यूँबाट हटाउन गुहार गर्यो होला । जनावरहरु पनि मानवको त्यस्तो तुच्छतालाई देखेर लज्जित भए होलान् । रावण जिउँदो भएको भए ती पिपाशुहरु सामू आफूलाई एउटा सभ्य मानव भएको महसुस गर्ने थियो होला जसले सीतालाई अपहरण गरेतापनि सुरक्षित राखेको थियो ।
नेपालमा महिला हिंसा विरुद्ध अभियान चलिरहेको थियो तर १६ डिसेम्बरको रात सम्पूर्ण मानव समाजलाई नै लज्जित बनाउने एउटा भयावह घटना लिएर भारतको राजधानी दिल्लीमाथि छायो । त्यो रात मेडिकलकी छात्रा “दामिनी” को दामन यौन पिपाशुहरुद्वारा लुटिन पुग्यो । दिल्लीको एउटा गुडिरहेको बसमा भएको त्यो हृदयविदारक कुकर्मलाई बयान गर्न मेरो कलम असमर्थ भएको छ । अरुको पिडा निको पार्ने प्रण गरेर मेडिकल रोजेकी छात्रा दामिनी आफ्नै पिडालाई थाम्न नसकी २९ डिसेम्बरका दिन सिँगापुरको एक अस्पतालमा यस संसारिक सबै पिडाबाट बिदा भइन् । यस धर्तीमा आँखा खोलेको २० वर्ष भयो तर मेरो कानले यस्तो कहाली लाग्दो र भयावह घटना नसुनेको थियो र न मेरो जिब्रोले कुनै इतिहासको पन्नामा त्यस्तो तुच्छ घटना पढेको थियो ।
दिल्लीमा घटेको उक्त घटनाले यस मुटुले हदसम्मको दुःख महसुस गरेकै थियो, यता नेपालले पनि महिला हिंसा सहनु परेको थियो । नेपालको झापामा एक किशोरी राक्षसहरुको चँगुलमा फसिन् । दमक–९, झापाको चिया बगानमा १९ बर्षीय युवतीको अस्मितामा दाग लगाइयो । उक्त कुकर्ममा सामेल ४ जनामध्ये सचिन भट्टराई, संदिप दर्जी र आशिष दाहाललाई पुलिसले कब्जामा लियो तर यसले घटनामा पूर्ण बिराम लगाउन सकेन । यो घटनाको एक हप्ता नबित्दै दमक कै एउटा जंगलमा अर्की युवतीको अस्मितामाथि हात हालियो ।
हद त तब भयो जब मानवताका सबै सीमा नाघेर एउटा बुबाले आफ्नै छोरीको इज्जतसँग खेलवाड गर्यो । काठमाडौंको सोल्टीमोडमा बस्ने नुवाकोटका ४० वर्षीय इन्द्र बहादुर तामाङ्गको यस लज्जास्पद कुकर्मले मानव र पशुलाई एउटै बिन्दुमा उभ्याएको महसुस गरायो । यस्तै घटना कार्तिक २५ गतेका राति घट्यो । ३५ वर्षीय बाबु मंगलसिंह चेपाङले आफ्नै १६ वर्षीय छोरीलाई नै यौन तृष्णाका सिकार बनायो ।
मिडियामा छाएको एउटा अर्को घटनाले देशलाई नै लज्जित बनाउने काम गर्यो । खाडी मुलुक पुगेर आफ्नो जीवनयापनको जोहो गर्ने सपना बुनेकी सीता राई स्वदेश फर्कदा अध्यागमन विभागका कर्मचारीहरुले पैसा सहित इज्जत पनि लुटे । आफ्ना चेलीहरुलाई दुई छाक जुटाउन नसक्ने नेपालको असमर्थ सरकार कै कर्मचारीहरुले विदेशबाट कमाइ लिएर आएको जीवीकोपार्जन लुट्नु आफैमा घोर अपराध हो । त्यसमा पनि सम्पूर्ण नेपालीको इज्जतको सुरक्षा गर्ने कसम खाएका कर्मचारीहरुले नै एउटा नागरिकको इज्जतमा दाग लगाउनु सम्पूर्ण नेपाल र नेपाली कै लागि लज्जास्पद विषय बनेको छ ।
हरेक वर्ष महिला हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रमका साथ सम्पन्न हुने गर्दछ । सो अभियान चलिरहेकै बेला पश्चिम नेपालको नेपालगंजमा नेपालकी छोरी शिवा हासमीलाई आगोको भेट चढाइयो । काठमाडौंमा उपचार भइरहदाँ यस तुच्छ समाजले दिएको जलन सहन नसकी शिवा हासमी पनि यस संसारमा बाँच्न मानिनन् ।
तथ्याङ्कको कुरा गरौं भने पछिल्लो १ वर्षमा मात्र ३ जिल्लामा ४९ बलात्कारका घटनाहरु बाहिर आएका छन् । मकवानपुरमा २३, भोजपुरमा १४ र बारामा १२ बलात्कारका घटनाहरु रिपोर्ट गरिए । नेपालको सन्दर्भमा प्रत्येक दिन, सप्ताह र महिनैपिच्छे महिलामाथि हुने हिंसा, हत्या, यौनशोषण र बलात्कारका घटनाहरु छ्यापछ्याप्ती प्रकाशमा आइरहेका छन् । एउटा घट्नाको घाउ नपुरिदै अर्को कहाली लाग्दो घटनाले नयाँ घाउ बनाउँदैछ ।
कता जाँदैछ समाज ? बलात्कारका लागि ऐन कानुन हुँदा हुँदै पनि किन बढ्दैछन् यस्ता घटनाहरु ? महिला हिंसाविरुद्ध सभा सेमिनार हुँदा पनि किन उकालो चढ्दैछ महिला हिंसा ? कतै हाम्रै ऐनमा कमजोरी छ की ? हाम्रा युवापुस्तामा चेतनाको कमी छ कि ?
हिंसा महिलामाथि होस् वा पुरुषमाथि, हिंसा निन्दनीय छ । हिंसालाई रोक्न मानव स्वभावलाई समेट्ने गरी कानुन बनाउनु पर्ने देखिन्छ । दिल्ली घट्नापछि भारतको घर–घरबाट बलात्कारीलाई मृत्युदण्ड दिने आवाज नउठेको होइन । अवश्य कडा कानुनले समाजमा यौन अपराधका घटना केही कम भएर जानेछन् तर बढ्दो अश्लिलताले पुरुषको स्वभावलाई दबाउन कठीन हुन्छ । यौनको यो तृष्णा पुरुष र महिलामा बराबरी भएपनि महिलामा सहनशीलता प्रकृतिले केही बढी दिएको छ भने पुरुष बढी उत्तेजक प्रवृतिका हुन्छन् । त्यसमा पनि हाम्रो समाजका युवतीहरुमा लोकप्रिय हुँदै गएको अर्धनग्न पहिरनले आगोमा घिउ थप्ने काम गर्ने गरेको छ । पुरुष र महिला दुवैलाई यस नकारात्मक दिशामा डोर्याउन अहिले बन्ने गरेको फिल्म र अश्लिल भिडियोहरुको पनि कम योगदान छैन । कलाकार नवल खड्काका अनुसार विश्वव्यापी बढ्दो खुल्ला स्वतन्त्र मनोरञ्जनको माध्यमले जथाभावी अश्लिलता छाएको छ । युवा जमातमा अश्लिलता बढ्न थालेको छ ।
बलात्कार बढ्नुमा यौनको खुला निम्तो दिने पहिरनको प्रमुख रोल रहेको छ । त्यही कुरालाई महसुस गरी दिल्ली गैंगरेपपछि भारतभरी महिलाहरुलाई पूरा शरिर ढाकिने गरी लुगा लगाउनमा जोड दिइयो तर यौन अपराधको यो बाटो खुला राख्न “Don’t tell us what to wear but tell your sons not to rape” लेखेको ब्यानर लिएर उल्टै महिलाहरु सडकमा उत्रिए । हाम्रो नेपाली कलाकारहरु पनि कम छैनन् । नायिका नन्दिता केसी भन्छिन्, “कतिपय पुरुष फेसबुक साथीहरुले महिलाले छोटो कपडा नलगाए हिंसा केही न्यूनीकरण गर्न सकिंन्छ भन्ने कमेन्ट गरेको देखें । उनको त्यो विचारबाटै के प्रष्ट हुन्छ भने हामी आधुनिक र शिक्षित समाजको कुरा गरे पनि हाम्रो सोचाई उही पितृसत्तात्मक सोचमा रुमल्लिएको छ । समस्या महिलाको छोटो पहिरनमा होइन हेर्ने नकारात्मक सोचमा छ ।”
नायिका नन्दिता केसीलाई पुरुषको प्राकृतिक उत्तेजक स्वभावको ज्ञान नभएको हो जस्तो लाग्छ । मेरो प्रश्न छ नायिका केसीलाई के छोटो पहिरन नै आधुनिक र शिक्षित समाजको पहिचान हो र ?
एकजना अर्को कलाकार बसुन्धरा भुसाल भन्नुहुन्छ “बरु हाम्रै पालको लाटो जमाना नै ठीक रहेछ भन्ने भएको छ ।” पूरा शरीर ढाकिने गरी लुगा लगाएकै कारण होला विगतका शताब्दीमा महिला हिंसा कम थियो । भारतका एकजना हिन्दु विद्वान अधीनमा मदुराइले पनि महिला हिंसा न्यूनीकरणका निम्ति पर्दा लगाउनमा जोड दिए । जीउ ढाक्ने गरी लुगा लगाउने सल्लाह ती पुरुषबाट नै आएको हो किनभने उनीहरु आफ्नो प्राकृतिक स्वभाव र कमजोरीबाट अवगत छन् र जान्दछन् कि पर्दा नै यस्तो हतियार हो जसले पुरुषको कुदृष्टीबाट सुरक्षित राख्न सफल हुनेछ ।
हिन्दू धार्मिक कानुन पनि पर्दा लगाउन आदेश दिन्छः“ब्रम्हले तिमीलाई नारी बनाएका छन्, यस कारण आफ्नो दृष्टिलाई तल राख, आफ्ना खुट्टाहरुलाई छोपेर राख र यस्तो लुगा लगाऊ जसबाट तिम्रो शरीरलाई कसैले देख्न नसकोस् ।” (ऋग्वेद ८–३३–१९)
जब परशुराम आए, रामले आफ्नी पत्नी सीतालाई भने– “उनी तिम्रो बडा हुन् आफ्नो दृष्टि तल गर र घुम्टो लगाऊ ।”
बाइबलले पनि पर्दाको बारेमा उल्लेख गर्दछ –“यसैगरी म चाहन्छु कि स्त्रीहरुले सरलता र भद्रता साथ सुहाउँदो वस्त्र पहिरिउन्, केशको बढी सिङ्गार गरेर, सुन, हिरा–मोती, र बहुमूल्य वस्त्रहरु पहिरिएर होइन ।” (१ तिमोथी २/९)
सबैको स्वभावबाट अवगत ईश्वरको पनि आदेश सुरक्षित छ । कुरआनमा स्पष्ट भनिएको छ- “हे नबी ! आफ्ना पत्नीहरु, आफ्ना छोरीहरु र आस्थावानहरुका महिलाहरुलाई भनिदेऊ, “उनीहरुले आफूलाई घुम्टोहरुले ढाकुन । यसो गर्नुमा बढी सम्भावना छ कि उनीहरु चिनिनेछन् र सताइने छैनन् ।” (कुरआन ३३/५९)
कुरआनले शरीर ढाक्ने आदेशका साथै त्यसको फाइदाबारे पनि बयान गरेको छ । पूरा शरीर ढाक्ने गरी कपडा लगाउनु सभ्यताको पहिचान हो र यसबाट महिलाहरु सुरक्षित रहन सक्छन् । कुरआनले बलात्कारको सबै ढोका बन्द गर्दै पुरुष र महिला दुबैलाई दृष्टि तल राख्न आदेश दिन्छ । बलात्कारीलाई मृत्युदण्ड दिने माग गरिनु सान्दर्भिक देखिन्छ र यो एउटा राम्रो पक्ष पनि हो । बलात्कारीलाई मृत्युदण्ड दिनु धार्मिक ग्रन्थहरुको पनि आदेश रहेको छ ।
बाइबलमा भनिएको छ- “यदि कुनै मानिसले आफ्नो छिमेकी की पत्नीसित सहवास गरे ती दुवैलाई मार्नुपर्छ कारण ती दुवैजना व्यभिचारका दोषी हुन् ।”(लेवी २०/१०)
“यदि एक जना मानिसले आमा र छोरी दुवैसँग शारीरिक कर्म गर्छ यो व्यभिचार पाप हो । तिमीले मानिसहरुमा यस्तो व्यभिचार हुन दिनु हुँदैन । तिमीले मानिस अनि स्त्री दुवैलाई आगोमा लगाउनुपर्छ ।” (लेवी २०/१४)
कुरआनमा ईश्वर भन्दछन्- “व्यभिचारीणी महिला तथा व्यभिचारी पुरुष दुवैमध्ये प्रत्येकलाई सय कोर्रा लगाऊ । र यदि तिमीहरु अल्लाह तथा अन्तिम दिनमाथि आस्था राख्छन् भने अल्लाहको कानुन लागु गर्दा दुवैको मायामोहले तिमीलाई बाधा नुपूर्याओस् र तिनीहरुको दण्डको समयमा आस्थावानहरुको एउटा जमात त्यहाँ उपस्थित रहोस् ।” (कुरआन २४/२)
यो आदेश अविवाहितको लागि हो तर विवाहित पुरुष वा महिलाले कुकर्म गरेमा ढुँगाले हानेर मार्ने आदेश छ र सजायँ दिंदा खुला ठाउँमा मानिसहरुको उपस्थितीमा दिनु पर्ने आदेश छ ताकि अरु मानिस यस्तो कुकर्म गर्नु पहिला त्यसको सजायँको स्मरण गरुन् ।
बलात्कारी विरुद्ध कठोर कानुन बनाइनु अति नै आवश्यक छ । मृत्युदण्ड नै यस्ता कुकर्मीहरुको सजायँ हुनसक्दछ । तर एउटा पक्षलाई शून्य बनाएर अर्को पक्षलाई मात्र लिनु कति पनि न्यायसंगत हुँदैन । युवा जमातलाई अश्लिलता तर्फ धकेल्दै गरेको अश्लिल भिडियो माथि बन्देज लगाउन सरकारबाटै कडा कदम उठाइनु पर्छ । बलात्कार न्यूनिकरणका लागि महिला संघ संस्थाहरुले पूरा शरिर ढाकिने गरी पहिरन लगाउन नारीहरुलाई प्रेरित गर्नु आवश्यक छ । पश्चिमी पहिरन र छोटा कपडालाई आधुनिकताका रुपमा नेपाली नारी तथा महिला संघ संस्थाहरु स्वीकार्न तयार छन् भने सावधान ! यो तथ्य पनि स्वीकार गर्न तयार हुनुहोस् की पश्चिमी मुलुकमा दिनहु हजारौ महिलाहरु बलात्कृत हुन्छन् ।
लेखकः अजिजुल्लाह अन्सारी
व्हाट्स एपः +9779845042004