पवित्र कुरआन मानव मार्गदर्शन अन्तिम ग्रन्थ

पवित्र कुरआन

पवित्र कुरआन नै मानव मार्गदर्शनका लागि अन्तिम ईशवाणी

भाग – 2 

सम्पूर्ण मानवजाति एउटै मानव आदमका सन्तान

यो कुरआन एकेशवरवादको धारणा मात्र पेश गर्दैन बरु यो त सम्पूर्ण मानवजाति पनि उनै सृष्टिकर्ता र एउटै मानव महामनु आदमका सन्तान हुन् भन्ने बास्तविकतालाई स्पष्ट पार्दछ। सुरह हुजुरात (४९) को आयत १३ मा छ: हे मानव ! हामीले तिमीहरूलाई एक पुरुष तथा एक स्त्रीबाट सृष्टि गर्यौं र तिमीहरूका विभिन्न जाति तथा बंश बनायौं ताकि तिमीहरू एक अर्कालाई चिन्न सक।”

यही कुरा कुरआनको अर्को सुरह निसा (४) को पहिलो आयतमा उल्लेख छ: हे मानवहरू हो ! आफ्ना पालनकर्ताको भय राख जसले तिमीहरूलाई एउटै ज्यानबाट सृष्टि गरे र त्यसै ज्यानबाट उसको जोडी बनाए र ती दुबैबाट धेरै पुरुष तथा महिलाहरू विस्तार गरे।”

मानव जातिको स्थानको निर्धारण

कुरआनले सृष्टिहरू वीच मानव जातीको स्थान पनि निर्धारण गर्दछ। सुरह बनी इस्राइलको आयत नं ७० मा उल्लेख छर हामीले आदमका सन्तानलाई सम्मानित तुल्याएका छौं र तिनीहरूलाई हामीले थल तथा जलमा सवारी प्रदान गर्यौं । तिनीहरूलाई पवित्र चिजहरूबाट जिविका प्रदान गर्यौं र हामीले आफ्नो धेरै सृष्टिहरू माथि तिनिहरूलाई स्पष्ट प्रधानता प्रदान गर्यौं  त्यसका साथ यो कुरा पनि स्पष्ट पारिएको छः यस धर्ती र जगतका सम्पूर्ण सृष्टि मानवको सेवाको लागि सृष्टि गर्यौं तसर्थ यी सबै मानवको सेवक हुन पुज्य होइनन्। मानव आफ्नो पुज्य एक अल्लाह सत्य इश्वरका भक्त मात्र हुन्। सुरह बकरह (२) को आयत २९ मा स्पष्ट उल्लेख छ: उनै (अल्लाह) हुन जसले तिम्रालागि धर्तिमा रहेका हरेक चिज सृष्टि गरे ।”

वास्तविक उपास्यको उपासनाको आदेश

कुरआन सम्पूर्ण मानव जातिलाई आफ्नो त्यसै उपास्यको उपासना गर्ने आदेश दिन्छ जसले मानवको सेवा गर्नका लागि हरेक चिजको व्यवस्था गरे । सुरह बकरह (२) को आयत २१ र २२ मा उल्लेख छः हे मानव ! आफ्ना त्यस पालनकर्ताको उपासना गर जसले तिमी र तिमी भन्दा अधिका मानिसहरूलाई सृष्टि गरे ताकि तिमीहरू (नरकबाट) बचन सक । जसले तिम्रालागि धर्तीलाई बिछयौंना र आकाशलाई छाना बनाए र आकाशबाट पानी बर्साए अनि त्यसबाट तिमीहरूको भरण पोषणको लागि फलफूलहरू उत्पन्न गरे । अतः तिमीहरू जानी जानी अल्लाहको समकक्षहरू न बनाउ ।”

सुरह जारियात ५१ को आयत ५६ मा लेखिएको छ: मानव तथा जिन्नहरूको सृष्टिको उद्देश्य नै अल्लाहले आफ्नो भक्ति र उपासना निधारित गरेका छन्: र मेले जिन्न तथा मानवलाई केवल आफ्नो उपासनाको लागि सृष्टि गरेको हुँ ।”

वास्तविक मोक्षदाताको बारे जानकारी

एकेश्वरवादलाई त्यागेर बहुदेववादी आस्था राख्नेहरूलाई सम्बोधन गर्दै सत्य इश्वरले भन्दछन्, जुन सुरह अन्आम (६) को आयत ४० र ४१ मा उल्लेख छ: भनिदेऊ (हे काफिरहरू हो !) अलि सोचेर बताऊ, यदि तिमीहरू माथि अल्लाहको प्रकोप आइपरेमा वा महाप्रलय नै घटित भएमा के तिमीहरूले अल्लाहबाहेक अन्य कसैलाई बोलाउने छौं ? बताऊ यदि तिमीहरू सच्चा हौं भने ? बरु तिमीहरूले अल्लाहलाई मात्र पुकार्ने छौं अनि उनले चाहेको खण्डमा त्यो सङ्कट टारिदिने छन् र तिमीहरूले ठहर्याइएका साझेदारहरूलाई बिर्सने छौं ।”

मुहम्मद स. संसार रहुन्जेल सम्मका लागि संदेष्टा

कुरआनमा हरेक युग र समुदायमा संदेष्टाहरू पाठाइएको उल्लेख छ जसले समय समयमा पथभ्रष्ट समुदायहरूलाई सत्य इश्वरको मार्गतर्फ डोर्याए। अन्तमा अल्लाहले मुहम्मद स. लाई आफ्नो सन्देष्टहरूको समापकका रुपमा पठाए र उनलाई तथा उनको सन्देशलाई संसार रहुन्जेल सम्मका लागि निर्धारित गरे । सुरह अअराफ (७) को आयत १५८ मा भनियो, “(हे मुहम्मद !) भनिदेऊ- हे मनुष्यहरू हो ! म तिमीहरू सबैको लागि त्यस अल्लाहको सन्देष्टा हुँ जसको अधीनमा आकाशहरू तथा धर्तीको शासन रहेको छ।

सुरह माईदा (५) को आयत ६७ मा यस सन्देशलाई पूर्ण रुपमा पुर्याउने आदेश दिइदै भनिएको छ, हे सन्देष्टा ! तिम्रो पालनकर्ताको तर्फबाट तिमी माथि जुन सन्देश अवतरित गरिएको त्यसलाई पूर्ण रुपमा पुर्याई देऊ। यदि तिमीले यसो गरेनौं भने तिमीले उनको सन्देशहरूलाई पुर्याएनौं। र अल्लाहले (शत्रु) मानिसहरूबाट तिम्रो रक्षा गर्ने छन् । निःसन्देह अल्लाह अस्वीकार गर्नेहरूलाई मार्गदर्शन दिदैनन् ।”

सरल भाषा र स्पष्ट बयानमा उपदेश

यो कुरआन र यसको सन्देश मानवकै लागि छ र यसको भाषा र बयान पनि सरल बनाईएको छ । सुरह कमर (५४) का आयत १७,२२,३२ र ४० मा यस कुरालाई चार पटक दोहोर्याउँदै भनिएको छ र हामीले यस कुरआनलाई उपदेशको लागि सरल बनाएका छौं । अतः (यसबाट) उपदेश ग्रहण गर्ने कोही छ ?”

यस उपदेशलाई लुकाउनेहरूमाथि धिक्कार

यस्ता उपदेश यस अघिका संदेष्टाहरू पनि ल्याएका थिए । सन्देष्टाहरू पछि जुन मानिसहरूले यसलाई लुकाए ती सबै धिक्कारिए र अपमानित पनि भए । त्यसरी नै यो उपदेश (कुरआनलाई) पनि लुकाउनेहरू धिक्कारिने र अपमानित हुने छन् । सुरह बकरह (२) को आयत १५९ र १६० मा स्पष्ट शव्दहरूमा वर्णन छ। निस्सनदेश जुन व्यक्तिहरू हामीले अवतरण गरेका स्पष्ट आयतहरू र मार्गदर्शनलाई लुकाउँद छन् जबकी त्यसलाई मानिसहरूका लागि, किताबमा स्पष्ट रुपमा बयान गरिदिएका छौं । तिनीहरू माथि अल्लाहको धिक्कार छ र धिक्कारनेहरूको पनि धिक्कार छ । तर जुन व्यक्तिहरूले प्रायश्चित गरे र सुधार गरे र (आयत तथा मार्गदर्शनलाई) स्पष्ट रुपमा वयान गरे म तिनीहरूको प्रायश्चित स्वीकार गर्ने छु, र म अति नै प्रायश्चित स्वीकारकर्ता तथा परम दयालु हुँ ।”

लोक तथा परलोक बारे वास्तविकता

यो कुरआन लोक तथा परलोक दुबैको वास्तविकता वयान गर्दछ र यसको कतिपै स्थानहरूमा यसको विस्तृत वर्णन छ । सुरह अन्कबुत (२९) को आयत ६४ मा उल्लेख छः र यो सांसारिक जीवन त समय बिताउनु र खेलतमासा बाहेक अरु केहि होइन र निस्सन्देह परलोकको घर नै सदा रहने घर हो यदि यिनीहरू जान्ने भएको भए ।”

कुरआनको यस संक्षिप्त चिनारीबाट के स्पष्ट हुन्छ भने कुरआन नै सम्पूर्ण मानवको वास्तविक मार्ग दर्शन ग्रन्थ हो र यसले दिएको बाटो नै वास्तविक सफल्ताको बाटो हो । यस चिनारीबाट बिस्तृत रुपमा यस कुरआनको अध्ययन गर्ने इच्छा जाग्यो भने यी शब्दहरूको उद्देश्य पूरा हुन्छ भन्ने आशाराख्द छु ।  (भाग- 2 समाप्त)

लेखक- जुल्फकार अली

शोध तथा अनुसन्धान विभाग, डाइरेक्टर

नेपाल इस्लाम संघ, काठमाण्डौं, नेपाल

Related Post