विश्व वातावरण दिवसका अवसरमा जनसंख्या तथा वातावरण मन्त्रालयद्वारा यहाँ आज आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भावी पुस्ताका लागि अमूल्य र विशिष्ट जीवजन्तु तथा वनस्पति र वन क्षेत्रको संरक्षण गर्दै सुन्दर भविष्य सुनिश्चित गर्न सबैमा अपिल गरिन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ तथा मनोरम वातावरण र जीवनको पर्याय वन क्षेत्रलाई संरक्षण गर्दै सुन्दर भविष्य सुनिश्चित गर्न मन, वचन र कर्मले लाग्न आह्वान गरेकी छिन् ।
संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९७२ देखि हरेक जुन ५ तारिखलाई विश्व वातावरण दिवसका रूपमा संसारभर मनाइन्छ। आर्थिक, सांस्कृतिक र राजनीतिक उद्देश्यले वातावरणीय र पर्यावरणीय मुद्दाहरुबारे समाजमा जागृति ल्याउने उद्देश्य र एजेन्डा बोकी यो दिवस स्थापना गरिएको हो। विश्व वातावरण दिवसमा प्रत्येक वर्ष एउटा उद्देश्य र एजेन्डा प्रस्तुत गरिन्छ।
प्रथमतः सन् १९७४ मा वातावरण सम्बन्धी ”एक्सपो ७४, नामले अमेरिकाको स्पोकनमा प्रदर्शनी गरिएको थियो भने गत वर्ष सन् २०१३ मा मंगोलियाको सहरमा सोच, खाउ र बचाऊ भन्ने नाराका साथ मनाइएको थियो। जसमा वार्षिकरूपमा विश्वमा भइरहेको खाद्यान्नको ठूलो त्रास र नासको परिणाम, यिनको संरक्षण र ठूलो स्केलमा खाद्यान्न बढाउने, जनचेतना फैलाउने साथै कार्वन उत्सर्जन घटाउने एजेन्डा प्रस्तुत गरिएको थियो। यस वर्ष भने विश्व वातावरण दिवसको नारा साना सामुन्द्रिक द्वीप र जलावायु परिवर्तनमा केन्द्रित भएर आवाज बढाऔँ, सामुन्द्रिक सतह घटाऔँ भन्ने छ।
नेपालको वातावरण दिवसको सन्दर्भ पारेर तय गरिएको नारा भने ‘हिमाल बचाऔं, वातावरण जोगाउँ’ भन्ने छ । यो नारा नेपालको भौगोलिक, धरातलीय र जलवायुको दृष्टिकोणले निकै नै सान्दर्भिक छ। यहाँ हिमाल र हिमाली भेग पर्यायवाची शब्द हुन्, जब हिमाली भेग जोगिन्छ तबमात्र हिमाल जोगिनेछ। नेपालको हिमाली भागमा अतुलनीय प्राकृतिक स्रोतको खानी छन् त्यसैले हिमाल जोगाउन हिमाली भेग जोगाउनु हामी सबैको संकल्प हुनुपर्छ। हिमाली भेग नेपालको ढुकुटी हो। यहाँ वन जंगल, जल, जडीबुटी, जराजुरी, जनावर, खनिजको अथाहा सम्पत्ति छ। साथै प्राकृतिक सौन्दर्यको खानी सेता हिमाली शिखर जुन पर्यटकीय दृष्टिकोणबाट संसारकै सम्भावना बोकेको गन्तव्य स्थल बन्न सक्नेछ।
संसारकै अग्लो शिखर सगरमाथा रहेको यस क्षेत्र अफगानिस्थान, बंगलादेश, भुटान, चीन, भारत, म्यानमार पाकिस्तानलगायत नेपालसहित आठ देशमा लगभग २४०० कि. मी. लम्बाइमा फैलिएको छ। तर यसको क्षेत्रफलको ठूलो हिस्सा भने नेपालमा नै छ। जैविक विविधता रहेको यस हिमाली भेगमा अहिले जलवायु परिवर्तनले पनि असर पारेको छ। हिउँले ढाकिएका सेता भाग काला पत्थर बन्दै गएका छन्। अन्ततोगत्वा पानीको आयतन बढेर समुद्री सतह दिनदिन बढिरहेका छन् भने सामुद्रिक तटीय र द्वीपहरु कालान्तरमा खतरा र डुबानमा पर्ने स्थिति देखिन्छ।
वातावरणको हाम्रो पृथ्वीमा भएको सम्पूर्ण जलमण्डल, वायुमण्डल र भूमण्डलसँग अन्तरसम्बन्ध हुन्छ। यो कुरा हामी पत्रपत्रिका पढ्न सक्ने मानिसले बुझ्न र बुझाउनु जरुरी छ। चाहे त्यो भूमध्य रेखाका इथोपिया होस्, चाहे उत्तरी गोलार्द्ध नर्वे नै किन नहोस्, संसारका जुन कुनामा पर्यावरण र वातावरणलाई असर परे पनि त्यसले अरु भागमा कालान्तरमा पृथ्वीको भूभागमा असर पार्छ। समुद्री सतहबाट बहने मनसुनी वायु हाम्रो हिमाली क्षेत्रमा आएर हुने वर्षा, हिउँले भरिएका अन्टाटिकालगायत हिमाली भागका कारण हुने तापको सन्तुलन आदि प्रत्यक्ष नै यिनीहरुको अन्तरसम्बन्ध छ। अहिले विश्वमा चलिरहेको कार्बन उत्सर्जन र नेपालले पाउने अनुदानको सन्दर्भ पनि यो पूरा पृथ्वीको पर्यावरण र जलवायु समेटेर गरिएको वातावरणीय हिसावकिताब हो। वातावरणीय भाषामा यस्तो पर्यावरणीय सेवा लिनेले सेवा दिनेलाई रकम तिर्नुपर्ने नियम हुन्छ जसले हाम्रो देशको हिमाली क्षेत्रलगायत पहाड र तराईका वन जंगल, जल लगायत प्राकृतिक स्रोत जोगाइराख्ने हो भने भविष्यमा हाम्रो देश पर्यावरणीय सेवा दिनेमा पर्छ। त्यसैले यो अनुदान पाउन योग्य बन्नेछ। यो हामी नेपालीका लागि गौरवको कुरा हो।
विकसित देशहरुले गरेका वातावरणीय उद्देश्य निकै नै सराहनीय छन्। उनीहरु वातावरण, पर्यावरण र जलवायु परिवर्तन सम्बन्धी निकै नै संवेदनशील छन्। विकसित राष्ट्रका वातावरणीय मुद्दाहरुको अर्थशास्त्रीय तथ्यांक हेर्दा उद्योग, कलकारखाना र औद्योगिकीकरणले कार्बन उत्सर्जन गरेर ओजन तहलाई नै पातलो बनाइराखेका छन्। अर्कोतर्फ वातावरणीय प्रदूषणका कारण उनीहरु निकै नै चिन्तित छन्। त्यसैले खोज र अध्ययनमा उनीहरुको आर्थिक र राजनीतिक लगानी निकै नै ठूलो छ। उनीहरुले आफ्ना कार्य तर्जुमा, एजेन्डा र उद्देश्य नियालेर र केलाएर हेर्नुपरेको छ। यी राष्ट्र गोलमेच सम्मेलन साथै वातावरणमैत्री हुने किसिमले उद्देश्य र खाका प्रस्तुत गर्न निकै आतुर छन्। आर्थिक, सामाजिक र राजनीतिक मुद्दाहरुबाट सैद्धान्तिकतवरले व्यावहारिकमा परिणत गराउन उनीहरु निकै नै कस्सिएका छन्। यो सन्दर्भमा भने हामी नेपाली आजको दिनसम्म निकै नै व्यवस्थित छौँ। तर बदलिँदो अस्थिर राजनीतिक परिवेशले गर्दा हामीले केही दशकयता प्राकृतिक स्रोतको निकै नै क्षयीकरण र विनास गरिराखेका छौँ। नदीनालाको पानीको सतह अंक गणितीय रूपमा घटेका छन् भने वन जंगल, पशुपंक्षी र जनावर अनि कृषि भूमिको नाश ज्यामितीयरूपमा भइरहेका छन्। अव्यवस्थित भवन, बस्ती सडक र शहरहरु डरलाग्दो किसिमबाट अव्यवस्थित रूपमा बढेका छन्।
डलर खर्चेर गरिएका सेमिनार गोष्ठी र शहर केन्द्रित कार्ययोजनाहरुले नेपालको वातावरणीय विकृति रोक्न सकेका छैनन्। वातावरणको नाउँमा गरिएका विध्वंश, भ्रष्टाचार एकातिर छन् भने चिल्ला कागजमा तयार पारिएका प्रतिवेदन अर्कोतिर छन्। जो पढ्ने फुर्सद नै कसैलाई छैन। त्यसैले तारे होटलमा ठूलो रकम खर्चेर भन्दा सानो कामको सुरुवात गर्नु नै बुद्धिमानी हुनेछ। विद्यालयहरुमा वातावरण सम्बन्धी सामग्री पढाएमा पनि निकै राम्रो हुने देखिन्छ। नत्र वर्षमा एक दिन वातावरण दिवस मनाएर मात्रै हुँदैन, आत्मीयताबाट नै समाधान हुने कुरा हुन् यी। त्यसैले आजैबाट प्रण गरौँ कि वातावरणसम्बन्धी सोचौँ, बुझौँ र बुझाऔँ। यो नै वातावरण संरक्षणको अभियान हुनेछ। हामीले वातावरण दिवसका नाउँमा गरिएका क्रियाकलाप धेरै पैसा खर्च गरेर प्रचारप्रसार गर्नुको अर्थ छैन। जुन वातावरणीय समस्या अप्रत्यक्षरूपमा देखिएका छन् र ती भयानक पनि छन्, तिनीहरुका समस्याको समायोजन र रोकथामको उपायतिर लाग्नु नै वेश हुनेछ। नत्र भने विश्व वातावरण दिवसको नारा हुबहु नक्कल गरेर धेरै पटक जप्दैमा यो दिवस सार्थक हुँदैन। उद्देश्य बनाउन मुस्किल हुँदैन तर यसलाई सार्थक बनाउन मुस्किल छ। हाम्रो जस्तो अस्वाभाविक धरातल र अस्थिर राजनीतिका कारण पनि यो क्षेत्रमा हामी अझ बढी सक्रिय हुन जरुरी छ।