यो सारा ब्रह्माण्डमा जे-जति चीजहरु विध्यमान छन् सबैको सृष्टिकर्ता, पालनकर्ता, सञ्चालनकर्ता, दाता, न्यायकर्ता, परम दयालु, दयावान, कृपावान, क्षमावान केवल एउटै हुनुहुन्छ । उनैलाई विभिन्न भाषा अनुसार अलग- अलग नामले बोल्ने गरिन्छ । उनै दाताको भक्ति गर्ने हामीलाई एक छिन पनि समय हुँदैन ?
निश्चय पनि हामी सबैको मृत्यु एक दिन हुनेछ त्यस समय हाम्रो साथमा केवल पाप र पुण्य मात्र जान्छ । यो धन, सम्पति, र यहाँको पद र इज्जत सम्मानले हामीलाई जोगाउन सक्दैन । तर त्यो दिन आफुले गरेको पुण्य कर्मले जोगाउन सक्छ अन्यथा त्यो व्यक्ति अपमानिस भएर नर्कमा होमिनु पर्ने छ ।
कोही व्यक्ति भन्दछन् मरे पछि के हुन्छ कसलाई थाहा हुन्छ ? एक छिनको लागि मानौं स्वर्गको सुविधा र नर्कको यातना कसैले देखेको हुँदैन, तर स्वर्ग र नर्क हुंँदै हुँदैन भन्न सक्दैन नी । एक जना पुण्यवान व्यक्ति छ र अर्को एक जना हत्यारा, बलात्कारी र पापी व्यक्ति भने ती दुवैलाई तपाई समान ठान्नु हुन्छ ? त्यसैगरी एक जना व्यक्तिले कहिल्यै हवाई जहाज देखेको छैन र ऊ दृढताको साथ भन्छ हवाई जहाज भन्ने चीज हुँदै हुँदैन, तर तपाईले हवाई जहाज देख्नु भएको छ त्यसैले दृढतापूर्वक भन्न सक्नु हुन्छ हवाई जहाज भन्ने चीज हुन्छ ! अब तपाई त्यो व्यक्तिलाई के भन्नु हुन्छ, यो मानिस घमण्डी र मूर्ख छ । यही संसारमा हेर्नुहोस् प्रहरी थाना पनि छ, जेल पनि छ, राम्रो दरबार पनि छ तर किन सबै मानिसले त्यो दरबारमा बस्न पाउँदैन, र फेरि सबै मानिस किन जेल-नेलको सजायको भागिदार बन्दैनन् ? किनकि सबै मानिसले गलत गरेका हुँदैनन् । त्यसैले कर्म अनुसारको फल त सबैले भोग्नु पर्छ भने आखिरतको जीवनमा बिना हिसाब किताब, बिना न्याय र फैसला कसरी दण्ड र पुरस्कार दिने ? त्यही दिनलाई न्यायको दिन पनि भनिन्छ । कसैले कण बराबर पुण्य गरेको छ भने पनि त्यसको उत्तम बदला पाउने छ र कसैले कण बराबर पनि पाप गरेको छ भने पनि उसले त्यसको बदला सजायको भागिदार बन्ने छ ।
पवित्र कुरआन सूरह निसा, आयत नं. 56 मा भनिएको छ- जसले हाम्रो आयतहरुलाई इन्कार गरे तिनीहरुलाई चाँडै नै आगोमा हाली दिने छौं । जब-जब तिनीहरुका छाला डढ्नेछन् तब-तब हामी त्यसको ठाउँमा अर्को छाला उत्पन्न गर्नेछौं ताकि तिनीहरुले यातनाको स्वाद चाखून् । निश्चय नै अल्लाह सर्वशक्तिमान एवं तत्वदर्शी छन् ।
पवित्र कुरआन सूरह निसा, आयत नं. 57 मा भनिएको छ- र, जसले इमान ल्याए अनि सत्कर्म गरे तिनीहरुलाई हामी यस्ता बगैंचाहरुमा प्रवेश गराउने छौं जसको तर तिरबाट नहरहरु कलकल बगिरहेका हुनेछन् र हामी उनीहरुलाई छहारीमा राख्नेछौं।
धेरै दुःखको कुरा यो पनि छ कि कोही यस्ता पनि छन् कहिले पनि आफ्नो सृष्टिकर्ताको आरधना, उपासना, भक्ति गर्दैनन्, कोही यस्ता पनि छन् जो सृष्टिकर्तालाई छोडेर सृष्टि गरिएको चीजको पूजा गर्दछन्, कोही यस्ता पनि छन् जसले हम्मेशा आफुलाई आफ्नो पालनकर्ताको उपासनामा लगाई रहन्छ । के ती सबैलाई एउटै पुरस्कार प्राप्त होला त ? कदापी हुँदैन । त्यसैले दैनिक रुपमा हामीले आफ्ना पालनकर्ताको उपासनामा केही समय निकालेर उपासना गरौं । पुण्यको तिरहत्तर दर्जा मध्ये बाटामा भएको जसले मानवलाई हानी पुर्याउन सक्छ, त्यस्तो चीजलाई हटाउँछ भने सबै भन्दा कम दर्जाको पुण्य हो । सबै भन्दा ठुलो पुण्य भनेको आफ्नो पालनकर्ताको उपासना गर्नु हो । भक्ति तिन किसिमले गर्न सकिंन्छ त्यो निम्न प्रकारका छन्- मन, वचन र कर्म । कसैलाई सही मार्गदर्शन गर्नु पनि पुण्य हो भने कसैलाई पाप कर्मबाट रोक्नु पनि पुण्यकार्य हो । अन्धा व्यक्तिलाई बाटो पार गराई दिनु पनि पुण्य कार्य हो र जनावर माथि दया गर्नु पनि पुण्य हो ।
अबू अब्बास अब्दुल्लाह बिन अब्बास रज़ियल्लाहु अन्हु भन्नुहुन्छ,- “एक दिन म नबी (सल्लल्लाहु अलैहि वसल्लम) को पछि थिए, वहाँले भन्नुभयो, ए बाबु । म तिमीलाई केही कुराको तालिम दिन्छु । अल्लाहलाई याद गर, अल्लाह तिम्रो सुरक्षा गर्नु हुन्छ । अल्लाहलाई याद गर, तिमी अल्लाहलाई आफ्नो सामु पाउने छौ । जब माग्छौ त अल्लाहसँग माग, जब मदत माग्छौ त अल्लाहसँग मदत माग, याद राख ! यदि मानिसहरु मिलेर तिमीलाई कुनै लाभ पुर्याउन चाहे पनि उनीहरु तिमीलाई कुनै लाभ पुर्याउन सक्दैनन् सिवाय यति जुन अल्लाहले तिम्रो लागि लेखनु भएको छ र यदि मानिसहरु जम्मा भएर तिमीलाई कुनै हानी पुर्याउन चाहे पनि तिमीलाई हानी पुर्याउन सक्दैनन् सिवाय जति अल्लाह तआलाले तिम्रो भाग्यमा लेखिदिएको छ । कलम उठायो लेख्दै गयो पाना सुक्दै गयो।”यसलाई तिर्मिज़ीले बयान गर्नु भएको छ र यसलाई हसन सही भन्नु भएको छ ।
तिर्मिज़ी बाहेक अर्को बयानमा छ,- “अल्लाहलाई याद गर, तिमी अल्लाहलाई आफ्नो सामु पाउने छौ, यदि धनवान हुँदा तिमी अल्लाहलाई याद गर्छौ भने तिमी गरीब हुँदा अल्लाहले तिम्रो मदत गर्नु हुन्छ । याद गर ! जुन दुःख तिमीले पाएनौ भने त्यो तिमीले पाउने थिएनौ र जुन दुःख तिमीले पायौ त्यो अवश्य नै तिमीले पाउने थियौ । जानी राख मदत धैर्यपछि प्राप्त हुन्छ र हरेक दुःखपछि सुख हुन्छ । र दु:ख सुखको साथी हो ।”
त्यसैले हामी आज देखि नै पाप कर्म छोडी पुण्य कर्म गर्न लाग्ने प्रण गरौं किनभने आफुलाई मृत्युपछि त्यो भयानक आगोबाट जोगाउन सकोस् ।