New Muslims APP

जीवनको उद्देश्य के हो ?

जीवनको उद्देश्य

जीवनको उद्देश्य के हो ?

परम् दयालु तथा अत्यन्त कृपाशील अल्लाहको नामबाट

जब हामी यस संसार माथि विचार गर्छौँ र चारै तिर हेर्छौँ हामी यसमा विभिन्न किसिमका चिज तथा वस्तुहरू फैलिएको देख्छौँ । हाम्रो सामुन्ने यस संसारका प्राकृतिक तथा अप्राकृतिक वस्तुहरू छन् । यसको उद्देश्य र महत्व माथि विचार गर्दा हामीलाई थाहा हुन्छ कि यिनीहरू मध्ये कुनै पनि चिज बिना मतलब तथा उद्देश्यहीन छैनन् ।

थरी थरीका बोटविरुवाहरू छन। जीवजन्तु, मानव, जनावर, चरा, किरा फटयाङगा्रहरू छन् । एकातिर अग्ला अग्ला पहाडहरू छन् भने अर्को तिर समथल जमीन तथा नदी नालाहरू छन्। जमीन मुनि विभिन्न किसिमका खनिजहरू, ग्यास तथा पेट्रोलियम पदार्थहरू छन् । आकाशमा सूर्य, चन्द्रमा तथा ताराहरू छन् । यी मध्ये हरेकले कुनै न कुनै उद्देश्य पूर्ति गर्दै गरेको देख्छौं । त्यो उद्देश्य के हो ? र कसरी पुरा गरी रहेका छन् ? गहन विचार पछि यी सबै मानिसहरूको सेवामा रहिरहेका छन् भन्ने निष्कर्षमा हामी पुग्छौं। साथै हामी यिनलाई सृष्टिकर्ताको आदेशानुसार र त्यही उद्देश्य पुरा गरीरहेका हेर्छौं जसको लागि यिनलाई उनले सृष्टि गरेका छन्। कुनै पनि चिज आफ्नो उद्देश्य विपरित काम गर्दैन । आगो, पानी, हावा सबैले त्यही गर्छन् जसको आदेश उनीहरूलाई दिइएको छ। यस कुराको पुष्टि विज्ञानले पनि गर्छ र यही संदेश हरेक युगमा आएका सन्देष्टाहरू, धार्मिक अगुवाहरू तथा सम्पूर्ण ज्ञानी व्यक्तिहरूले दिएका छन् । यो मात्र होइन हरेक साधारण व्यक्तिसंग प्रश्न गर्दा यसको उत्तरमा अलिकति पनि फरक हुने छैन । यस भन्दा अलि अगाडी बढौं र विचार गरौं के हामी यी कुराहरूबाट अलग्गिएर यस संसारमा बाँच्न सक्छौँ ? कदापि सक्दैनौँ ।

तसर्थ यसबाट यो कुरा स्पष्ट भयो कि यो संसार र यसका हरेक कुराहरू हामी मानवको लागि सृष्टि गरिएको हो र हामी यसलाई उपभोग गरी राखेका छौं । कुरआनमा स्पष्ट शव्दमा भनिएको छ उनी (अल्लाह)ले नै धर्तिका हरेक चिज तिमीहरूका लागि सृष्टि गरेका छन् ।(सुरह २ः२९)

माथि उल्लेखित कुराहरूवाट स्वतः एउटा प्रश्न उठ्छ कि के हाम्रो जीवनको पनि कुनै उद्देश्य छ ?” छोटो चिन्तन मनन् पछि हामी यस निस्कर्षमा पुग्दछौं कि अवश्य हाम्रो यस जीवनको पनि कुनै न कुनै उद्देश्य हुनु पर्छ र हामीले त्यस उद्देश्यको पुर्ति गर्नु अनिवार्य छ । अझ यी प्रश्नहरू जस्तै हामी को हौं ? कहाँबाट आयौं ? कसरी आयौं ? र कहाँ जाने छौं ? हामीलाई कसले पठाएको हो ? र किन पठाएको हो ? यी प्रश्नहरू माथि विचार गर्दा हामीले गम्भिर हुनु जरुरी छ र यी प्रश्नहरूका जवाफ खोज्न पनि आवश्यक छ ।

आउनुहोस् हामी माथि उल्लेखित प्रश्नहरूको जवाफ खोज्ने प्रयास गरौं । यसबाट स्पष्ट हुनेछ कि हाम्रो जीवनको वास्तविक उद्देश्य के हो ? हामी को हौं ? यसको जवाफ स्पष्ट छ हामी सृष्टिहरू मध्ये कै एक प्राणी हौं र सर्वश्रेष्ठ प्राणी हौं । किनभने हामीलाई बुद्धि प्रदान गरेर अन्य सृष्टिहरू माथि प्रभुत्व प्रदान गरिएको छ । बुद्धिका साथै हामीलाई केहि अधिकारका साथ जिम्मेवारी पनि दिइएको छ जसलाई बहन गर्नु हामीले जरुरी छ । जहाँ सम्म हामी कहाँवाट आयौं र कहाँ जाने छौं ? प्रश्न छ यसको जवाफ पनि स्पष्ट नै छ । हामी सृष्टि हौ यसबाट स्पष्ट हुन्छ कि हाम्रो अस्तित्व थिएन हामीलाई अस्तित्व प्रदान गरिएको छ अर्थात हाम्रो सृष्टिकर्ता छन् जसले हामीलाई सृष्टि गरेर जीवन प्रदान गरेका छन् । हाम्रो अस्तित्व थिएन भन्नुको यो पनि अर्थ हो कि हामी मृत अवस्थामा थियौं र हामीलाई अस्तित्वमा ल्याए पछि जीवन प्रदान गरिएको छ। यसवाट यो पनि स्पष्ट हुन्छ कि हामीले एक दिन फेरि मर्नु छ । यो यस्तो स्वंय सिद्ध वास्तविकता हो जसको लागि कुनै प्रमाणको आवश्यक्ता नै छैन। किनभने प्रत्येक दिन मानिसको मृत्यु भई रहेको हामी हेर्छौं । यसबाट यो पनि सिद्ध भयो कि हामी मरे पछि सदाको लागि सखाप वा नष्ट हुने छैनौँ र हाम्रो पूनर्जीवन असम्भव छैन । किन भने एक पटक अस्तित्वमा आए पछि पूनः अस्तित्वमा आउन कसरी असम्भव हुन सक्छ होला ? जहाँसम्म सृष्टिकर्ता को छन् ? भन्ने प्रश्न छ यसको लागि मानिसहरूले आफ्नै विवेकद्वारा उनको वास्तविकताको पत्ता लगाउन वा ज्ञान प्राप्त गर्न सक्दैनन् ।

यसको लागि सृष्टिकर्ता कै तर्फवाट कुनै श्रोत, माध्यम वा ग्रन्थ छ छैन भन्ने वारे जान्नु जरुरी छ । तापनि यस संसारमा कुन यस्तो मानिस छ जसले कुनै आपत वा कठिन समयमा आफ्नो सृष्टिकर्ताको आश्रय खोज्दैन तथा आफनो पालनकर्तालाई स्मरण गर्दैन र उनका सहायता माग्दैन । यो कुरा पनि सर्वविदितै छ कि सृष्टिकर्ताले हरेक युगमा आफ्ना सन्देष्टा तथा दूतहरू पठाउदै आएका छन् र ग्रन्थहरू अवतरित गर्दै आएका छन जस मध्ये महामनु (आदम) अलैहिस्सलाम, नुह अलैहिस्सलाम, इद्रीस अलैहिस्सलाम, इब्राहीम अलैहिस्सलाम, मूसा अलैहिस्सलाम र ईसा अलैहिस्सलामहरू हुन् । ग्रन्थहरू मध्ये इब्राहीम अलैहिस्सलाम, माथि अवतरित ग्रन्थ सहीफाहरू र मूसा अलैहिस्सलाम, र ईसा अलैहिस्सलाम, माथि अवतरित  क्रमशः तौरात तथा इन्जील छन् । केही विद्वानहरूको अनुसार वेद पनि ईशग्रन्थ हो । तर यी सबै ईशग्रन्थहरूको मूल पाठ कि त लोप भयो वा त्यसमा अनुयायीहरूले मिसावट तथा फेरबदल गरिदिए । सन्देष्टाहरू तथा ग्रन्थहरूको क्रममा अन्तिम सदेष्टा हजरत् मुहम्मद (स.) हुन् । र उनीमाथि अवतरित ग्रन्थ कुरआन मजीद हो जुन हरेक मिसावट तथा फेरबदलबाट पूर्ण रूपमा सुरक्षित छ । यसको यथार्थ बुझ्नको लागि कुरआन मजीदको अध्ययन अनिवार्य छ ।

तसर्थ हामीले कुरआनबाट केहि उल्लेखहरू पेश गर्नु अपरिहार्य नै होला । किन भने कुनै पनि वस्तुलाई नदेखिकन र त्यसलाई नजानिकन त्यसको वास्तविकता पत्ता लगाउन सकिदैन । सुरह वाकिआको आयत ५७ देखि ६२ सम्ममा मानव सृष्टि मृत्यु तथा पुनःजन्म बारे अल्लाह भन्दछन्: हामीले नै तिमीहरूलाई सृष्टि गर्यौ फेरि तिमीहरू किन सत्य मान्दैनौ ? के तिमीहरूले विचार गर्यौ जुन वीर्यका थोपा, तिमीहरू चुहाउँछौ  त्यसलाई) तिमीहरू आकार दिन्छौ वा त्यसलाई) आकार दिने हामी हौं ? हामीले नै तिमीहरूबीच मृत्युलाई निर्धारित गरिदिएका छौं र तिमीहरूको स्थानमा तिमीहरूजस्तै अरूलाई सृष्टि गरिदिन र फेरि तिमीहरूलाई एउटा अर्को सृष्टिमा परिणत गरिदिनमा जसलाई तिमीहरू जान्दैनौ हामी विवश छैनौं । तिमीहरू आफ्नो पहिलो सृष्टिलाई त जानिरहेकै छौ, फेरि तिमीहरू किन उपदेश ग्रहण गर्दैनौ” ?

हाम्रो सृष्टिकर्ताको परिचयको लागि कुरआनमा कयौं स्थानहरूमा स्पष्ट शब्दहरूमा उल्लेख छ । म यहाँ दुईवटा मात्र प्रमाण पेश गर्न चाहन्छु । कुरआनको दोस्रो सुरह (बकरह) को आयात २५५ मा उल्लेख छ ।अल्लाह उनी बाहेक कोही उपास्य छैन, जीवन्त एवं चिरस्थायी छन् । उनलाई उंघ पनि लाग्दैन निन्द्राको के कुरा ? आकाश तथा पृथ्वीका सबै चिजहरू उनकै अधिनस्त हुन् । को छ जसले उनको अनुमति विना सिफारिस गर्न सकोस् । उनी तिनीहरूका अगाडी र पछाडीका सबै कुरा राम्ररी जान्दछन् र उनीहरू अल्लाहले चाहे बाहेक अरु कुनै चिज आफ्नो ज्ञानको परिधिमा ल्याउन सक्दैनन् । उनको कुर्सी (सिंहासन) आकाश तथा धर्ति सम्म फैलिएको छ । तिनीहरूको संरक्षणले उनलाई कति पनि थकित तुल्याउँदैनन् । उनी सर्वोच्च तथा महान छन् ।यसै गरी कुरआनको सूरह इख्लास (११२) मा उल्लेख छ: भनि देऊ उनी अल्लाह एउटै छन् । उनी अल समद (आत्म निर्भर तथा अरू सवैको आश्रय) छन् । उनको कोही सन्तान छैन न उनी कसैका सन्तान हुन् । न उनको कोही समकक्ष नै छ ।यो हाम्रो सृष्टिकर्ताको संक्षिप्त परिचय हो । छोटकरीमा यो भन्न सकिन्छ कि उनी नै यस जगतका सृष्टिकर्ता पालनकर्ता तथा मालिक हुन् र यसमा उनको कोही साझेदार छैन ।

अब हामी अगाडी बढौं र यो जान्ने प्रयास गरौं कि हाम्रो सृष्टिकर्ताले हामीलाई कुनै उद्देश्यको पूर्तिका लागि सृष्टि गरेका छन् वा हाम्रो जीवन उद्देश्य विहिन छ ? यो जान्नको लागि पनि कुरआनमा पढदा हामी स्पष्ट शब्दमा पाउछौं कि हामीलाई सृष्टि गर्नुको उद्देश्य हाम्रो सृष्टिकर्ताको भक्ति तथा उपासना हो ।

सूरह जारियात ५१, आ ५६ मा भनिएको छ । मैले मानव तथा जिन्नलाई मात्र आफ्नो भक्तिको उद्देश्यले सृष्टि गरेको छु।यसै कुरालाई सुरह बकरहको आयत २१ र २२ मा हाम्रो सृष्टिकर्ताले आदेश दिदै भनेका छन् । हे मानव तिमीहरू आफ्नो त्यसै सृष्टिकर्ताको उपासना गर जसले तिमीहरूलाई र तिमीहरू भन्दा अघिका मानिसहरूलाई पनि सृष्टि गरेका छन् ताकि तिमीहरू नरकको आगोवाट बच्न सक ।जसले तिमीहरूका लागि धर्तिलाई ओछयान र आकासलाई छाना बनाए तथा आकाशबाट पानी बर्साए अनि त्यसबाट उनले तिमीहरूको जीविका स्वरुप फलफूलहरू उत्पन्न गरे । तसर्थ तिमीहरू जानी जानी अल्लाहसंग अरु कसैलाई साझेदार नबनाउ ।कुरआनमा यस्ता कैयौं आयतहरू छन् जसले मानवको जीवनको उद्देश्य माथि प्रकाश पार्दछ । विस्तारमा नगई म यिनै प्रमाणहरूका साथ तपाईहरूलाई हाम्रो जीवनको उद्देश्य माथि चिन्तन मनन गर्न र त्यसको लागि आवश्यक कदम चाल्न आह्वान गर्दै आफ्नो कलम यहीं रोक्छु ।

आशा छ कि हामी आफ्नो जीवनको उद्देश्य पूरा गर्न तत्पर हुनेछौं किन भने यही नै हाम्रो सफलता अर्थात स्वर्गमा जाने बाटो पनि हो । र यसो नगरेमा कसैले हामीलाई नरकवाट बचाउन सक्दैन । के हामी नरकमा यातना सहन आफु भित्र साहस पाउँछौं यदि होइन र कदापि होइन भने हामी आजै देखि स्वर्गको बाटो अर्थात एक सत्य ईश्वर आफ्नो सृष्टिकर्ताको बाटो रोजौं । यसको लागि कुनै पनि आवश्यक्ता परेको खण्डमा म तपाईहरूको सेवामा अग्रसर रहने छु ।

लेखक- जुल्फकार अली अलीग

मोबाइल नं. – 00977-9842022123

ईमेलः [email protected]

Related Post