इस्लाममा आउनु भन्दा पहिले मेरो नाम दधिराम चुडाली थियो र हाल इस्लामिक नाम दिल्दार चुडाली हो । मेरो जन्म स्थान अर्घाखाँचीको अर्घा- ८ हो । हाल म बेलायत (लण्डन) मा बसोबास गर्छु र नेपालमा भैरहवामा घर छ जहाँ आमा-बाबा तथा भाईहरु बस्नु हुन्छ ।
मेरो जन्म एउटा ब्राह्माणको घरमा भएको हो । भजन गाएर नै आम्दानी गर्ने भजनेको घरमा । म सानै उमेरदेखि धार्मिकग्रन्थहरु जस्तैः रामायण, गीता, चण्डि, स्वस्थानी पढ्ने तथा सो को पूजा आजामा भाग लिने काम भई राख्थ्यो। जसमा मेरो खास रुची डम्फो (खैंजेडी) बजाएर भजन गाउने काम अति नै मन पर्दथ्यो । एस.एल.सी सम्मको शिक्षा हासिल गरेपछि सन् १९९२ सालमा १७ वर्षको उमेरमा बेलायततर्फ लागेपछि पहिले जस्तो धार्मिक कार्य गर्न सम्भव भएन तर धर्मप्रतिको आस्था र रूचीमा कमी आएन।
नेपालमा रहँदा हिन्दू धर्म बाहेक अरु पनि धर्म विश्वमा छन् भन्ने कुराको ज्ञान मलाई थिएन। मेरो एक मात्र यही विश्वास थियो कि, हिन्दु धर्म मात्र सत्य धर्म हो र ब्रह्माण नै सबैभन्दा उच्चकोटीको जात हो । मुस्लिमको बारेमा चुरेटा र चुरेट्नी जो हिन्दुको विरोधी सबै काम उल्टो गर्छन् रे भन्ने बाहेक अरु केही थाहा थिएन। हात मुख उल्टो धुने, खसी उल्टो काट्ने, नेपालमा पश्चिम फर्केर प्रार्थना गर्ने, जस्ता अनेकौं नकरात्मक कुराहरुले मात्र मेरो दिमाख भरिएको थियो।
तर बेलायत पुगेपछि रमजान महिनामा बहुचर्चित सनराइज रेडियोबाट आउने पाँच पटकको आजानको आवाज सुन्दा त्यसको अर्थ जान्ने प्रयासले मेरो मन जीवनलाई अन्धकारबाट उज्यालो बाटोतर्फ डोर्यायो । त्यस आजानको आवाजले इस्लामको अध्ययन गर्न र त्यसबारे जान्न मलाई बाध्य बनायो र मेरो इस्लामको यात्रा शुरु भयो । सत्य धर्मको खोज र अनुसन्धान तथा छानविन गरिरहँदा सत्य ईश्वरतर्फबाट एउटा सपनाको रुपमा भएको घटना र अन्तिम सन्देष्टालाई सपनामा देखेकोले मेरो हृदयमा इस्लाम नै सत्य धर्म रहेछ भन्ने कुरामा कुनै सन्देह नै उठेन । त्यो शुक्रवारको दिन थियो, म लण्डनको सेन्ट्रल मस्जिदमा पुगेर करिब २ घण्टाको बहसपछि कलमा पढेर इस्लाम स्वीकार गरें। इस्लामले मेरो जीवनलाई अन्धविश्वासबाट हटाएर सत्यको बाटो देखायो र मेरो अशान्त जीवनलाई शान्ति र स्वर्गतर्फ मार्गदर्शन गरायो । जीवनको सही उद्देश्यको आभास भयो ।
तर अर्कोतर्फ नेपालको अर्घाखाँची जिल्लामा बाहुनको छोरा मुसलमान भयो भन्ने खबर सन् २००१ मा सबैभन्दा ठूलो बदनामीको विषय बनेको थियो। इस्लाम कबुल गरी गाउँ फर्कंदा मेरो काकाले मलाई मार्ने धम्की दिए। यदि म उनको घरमा गएँ भने मेरो खुट्टा काट्ने भनेका थिए। जवाफमा मैले आफ्नो खुट्टा कटाउन तपाईको घरमा आउँदिन तर तपाई हाम्रो घर आए पहिलेभन्दा बढि स्वागत, आदर र सत्कार पाउनु हुनेछ भनेर सुनाएँ । यदि म कुनै बाहुनको घरमा गएँ भने मुस्लिम आएर घर दुषित भयो भनेर उनीहरु आफ्नो घरको लिपपोत गर्थे। परिवारकै सुरक्षाका लागि भैरहवामा घर किनेर अर्घाखाँचीबाट बसाईं सरेका हौं ।
आमाले पनि यदि तँ हिन्दु केटीसँग विवाह नगरे मलाई आमा नभन् भनेर शर्त राख्नु भयो । आमाकै कुरा राख्न एउटी हिन्दु केटीलाई केही घण्टा इस्लामको बारेमा सम्झाए, अन्तमा उनले इस्लाम धर्म कबुल गरिन र उनैसँग मैले विवाह गरें। तर श्रीमतिले पनि एउटा शर्त राखिन् कि तपाईले सम्झाए अनुसार इस्लाम नै सत्य हो मान्छु तर मैले आफैले अध्ययन गर्दा केही त्रुटी पाएँ भने के गर्ने भनेर सोधिन्। मैले पनि इस्लाममा कुनै त्रुटी भएको प्रमाण दियौ भने म आफ्नो आधा सम्पति तिम्रो नाम गरी दिनेछु र यदि तिमीले चाहेमा सम्बन्ध विच्छेद गरूला र सन्तान भएको खण्डमा सन्तानको पूर्ण अधिकार तिमीलाई नै दिने भनेर जवाफ दिएँ। अल्लाहको कृपाले श्रीमतिले पनि इस्लाम अपनाइन र दुई छोराहरु इस्लाममा छन् । अल्हम्दुलिल्लाह।
आमा बाबालाई र सब परिवारलाई इस्लामको सन्देश दिन प्रत्येक हप्ता चिठी लेख्ने गर्दथें । नेपाल आएको बेला अर्घाखाँचीको घरमा ती चिठीहरु थुप्रै थिए। तर भाईहरुले चिठी पढेझैं गरी इस्लामका सन्देश सुनाउँदा रहेनछन्। बाबा आमालाई ६ महिनाका लागि बेलायत बोलाएर इस्लामको सन्देश दिए। इस्लामको बारेमा धेरै सम्झाई-बुझाई गरेपछि आमाले कलमा पढ्नु भयो र मूर्ति पूजा नगर्ने बाचा समेत गर्नु भयो। बाबालाई नेपाली भाषामा कुरआन र इस्लामको पुस्तकहरु दिन तथा इस्लामको बारेमा थप जानकारी दिनका लागि फेसबुकका साथी अर्श हमिद(Arsh Hameed) र अजिज साम्शी (Aziz Samshi) लाई भैरहवा घरसम्म पठाएको थिएँ। प्रार्थना गर्नुहोस् कि अल्लाहले बाबाको हृदयमा इस्लामको समझ तथा यसलाई स्वीकार गर्ने हौसला प्रदान गरून्। आमीन्।
कुरआन तथा सहिह हदीसको अध्ययन, हारुन यह्या, अहमद दिदात र जाकिर नाइकको भाषण तथा Peace TV को माध्यमले इस्लामको थप जानकारी प्राप्त गर्ने प्रयाश गर्दैछु। प्राप्त जानकारी साथीहरु समक्ष पनि पठाएको छु। साथै लण्डनको मेरो पसलमा इस्लाम सम्बन्धी अंग्रेजी पुस्तकहरु निःशुल्क वितरणको सहुलियत पनि छ।
इस्लाम नै आत्मिक शान्तिको एक मात्र माध्यम यात्रा हो। इस्लाम बिना मेरो जीवन व्यर्थ हुने थियो। इस्लामको यात्रामा हज्जारौं पटक मर्नु परे पनि इस्लाम कबुल गरेकोमा मलाई कुनै पछुतो हुने छैन।
लेखक- दधिराम चुडाली
(लण्डन बेलायतबाट)
साभारः मधुर सन्देश मासिक
अंकः २०७१ आषाढ (तद् अनुसार २०१४ जून)
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


