अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस-हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रुपमा मनाउने निर्णय संयूक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको रहेछ। यस दिनको एउटा मात्र उदेश्य भनेको विश्व समुदायलाई लागुऔषधको असर र कारोवारबाट मुक्त गराउनु हो। यस वर्षको नारा भनें यूवा र बालबालिकाका कुरा सुन्नु नै उनीहरुलाई स्वास्थ र सुरक्षित राख्ने प्रथम चरण हो भनेर उल्लेख गरिएको छ। वास्तवमा घर परिवार अनि समाजले आफ्नो कुरा र आवाज नसुनिदिएकाले नै धेरै यूवाहरु लागुऔषधको दलदलमा परेको पाइन्छ, तसर्थ यूवाहरुको अनि बालबालिकाको पनि कुरा सुनिदिने वातावरणको आवश्यक्ता धेरै छ।
कहिले यति लागु औषधका साथ यति जना समातिए अनि कहिले यति जनालाई यो साम्रगी बनाँउदा बनाँउदै पक्राउ लगायत बिभिन्न अन्य समाचारहरु हामीले नेपाल अनि विश्व परिपेक्ष्यमा सुन्दै आएका छौं, झन यसपाली त सुन तस्करको लर्कोले नेपाललाई नै काले र गोरेको बिभिन्न बयान अनि उत्खननसंग नजिक लगेको छ। यसै परिपेक्ष्यमा आज हामी अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको बारेमा केही जानकारी गराउनेछौं।
विश्वमा अधिकांश लागुऔषधका प्रयोगकर्ता अनि कारोवारीहरु यूवा नै छन् किनभने यो उमेरमा मान्छेहरु अत्यन्त जोखिम अनि तरल अवस्थामा हुने गर्दछन् भनेर मनोविज्ञहरुले बताँउदछन्। अझ थोरै समयमा धेरै पैसो कमाउने लालसा अनि नशाको लतले त झन यूवाहरुलाई जोखिमको घेरामा राखिरहेको पाइन्छ। विश्वमा गएको शताव्दीबाट लागुऔषधको कारोवारको गुणा धेरै बढेको पाइन्छ, लागुऔषधको असन्तुलित प्रयोगले मात्र विश्वमा हरेक वर्ष १९०००० मान्छे मर्ने गर्दछन् भने यसको प्रयोग गर्ने मान्छेहरुको सख्याँ यकिन गर्न सक्ने अवस्थामै छैन्। सन् २००१ मा भारतमा सरकार अनि अल ईण्डिया मेडिकल स्कुलको संयूक्त सर्भेक्षणले करिब ७ करोड २५ लाख मान्छे लागुऔषध प्रयोग गर्ने पाइएको थियो भने यो सख्याँ अहिले आएर १७ वर्षपछि दोब्बर भन्दा धेरै भएको अनुमान छ। खुल्ला सिमाना अनि प्रत्यक्ष प्रभावका कारण नेपाल पनि यस समस्याबाट अछुतो छैन्, लागु औषध कारोवारले अपराध र अराजकता निम्त्याउने पक्का त छ नै साथै बिभिन्न रोगहरु जस्तै एचआईभी, हेपाटाईटीस लगायतहरु पनि यसैकारणले पनि सर्ने गर्दछ।
नेपालमा पनि लागुऔषधको कारोवार र प्रयोग सन् १९६० पछि देखि बढ्दै गएको पाइन्छ, गाँजाको अनाधिकृत खेती र प्रयोग अनि भारतबाट सहजै आयात गर्न मिल्ने पदार्थ र फितलो राज्यव्यवस्थाका कारणले अहिले नेपाल पनि लागुऔषधको कार्यभूमि बन्दै आएको बताइन्छ । उता ओखती अनि डाक्टरी कागजको उपयोग गरेर बिभिन्न लागुऔषध किनेर खाने र सुई हान्नेको जमात पनि नेपालमा बढ्दो छ जुन अत्यन्त दुख्खलाग्दो कुरा हो। सडक बालबालिकाले डेन्ड्राइट नामक सुँघेर नशा लाग्ने तत्वको प्रयोग खुलेयाम गरिहँदा पनि प्रशासन लगभग मौननै देखिंन्छ। नेपालका बिभिन्न शहरहरुमा व्यवसायिक रुपमै खोलिएका दुव्र्यसन सुधार केन्द्रहरु अनि तिनको व्यवसायिक सफलताले हाम्रो वास्तविक अवस्था बयान गरिरहेको छ। अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध नेपाली सरकार, समुदाय अनि सरोकारवालाले यस विषयमा संवेदन शिलताका साथ हातेमालो गर्नुपर्ने देखिंन्छ।
लागु औषधको सेवनले हिरो हैन जीरो बनाँउदछ भन्ने कुराहरु आउँदा नेपाली पुस्तालाई दिन जरुरी छ। चुरोटका ठुटाबाट खोक्दै शुरु गरेको नशायात्रा गएर कहाँ अनि कति खेर सकिंन्छ थाहा हुँदैन्, जीवनमा रस खोजौं नशा हैन भन्ने कुराको जानकारी सबैलाई गराउन पर्ने देखिन्छ।
उता नेपालमा कमजोर राज्यव्यबस्थाको उपयोग गर्दै लागुऔषध तस्करका ठुलै सञ्जाल सक्रिय रहेको पनि बताइन्छ। उनीहरुको सञ्जाल बिमानस्थल, भन्सार, सिमा अनि आयात-निर्यात केन्द्रमा प्रभावशाली रहेको पाइन्छ। सामान्य बैदेशिक कामदारले ल्याएको टिभीको पनि खोलेर तलाशी लिने अनि दुःख दिने सरकार अनि कर्मचारीको नाकैमुनीबाट हजारौं किलो लागुऔषध ल्याइन्छ तर त्यो भने देखिन्न। आजको दिन हामी सबैले लागुऔषधको कारोवार र तस्करका बिरुद्ध एक हुनपर्ने अनि त्यसै अनुसारको कानुन र त्यसको प्रभावकारी पालनका लागि पैरवी गर्नुपर्ने देखिन्छ। अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसमा सबैको यसतर्फ ध्यान जाओस्।
लेखकः सुयोग ढकाल
ब्लग स्रोतः हाम्रो पात्रो
प्रस्तुतकर्ताः मुहम्मद इब्राहीम