खानपिन वैध र अवैध – शिर्षकमा आज म तपाईहरु समक्ष इस्लामिक शिक्षा अनुसार के कस्ता खानपिन र पेय-पदार्थहरु वैध (हलाल) छन्, यस बारेमा कुरआन र हदिसबाट प्रष्ट पार्ने छु,इन्शा अल्लाह । अल्लाहले भन्नु भएको छ- “उहाँले नै पृथ्वीमा भएका सम्पूर्ण वस्तुहरूलाई तिमीहरूका लागि सृष्टि गर्नु भएको छ।” (श्रोत- सूरह अल्-बकरह : २/२९)
खानपिन वैध र अवैध (बोटबिरुवा र फलफूलहरु)
मानिसले उब्जाएको हरेक प्रकारको बोटबिरुवा, साग-सब्जी, फलफूल वा वन-जङ्गलबाट ल्याएका घाँस-पात तथा च्याउ सबै खान वैध (हलाल) छन्। तर शरीर र स्वास्थ्यको लागि हानिकारक वा मानसिक शक्ति भ्रष्ट गर्ने कुराहरूलाई मात्र अवैध गरिएको छ। जस्तै… जाँड, रक्सी र लागूपदार्थहरु।
खानपिन वैध र अवैध (मदिरा र नशालु पदार्थहरु)
मदिराको अर्थ- यी ती वस्तुहरू हुन्, जसले मानिसको मस्तिष्कलाई खलबल्याई दिन्छ वा त्यसलाई वास्तविक दिमाखी हालतबाट कन्ट्रोल भन्दा बाहिर बनाई दिन्छ वा त्यसमा नकारात्मक प्रभाव पार्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “प्रत्येक नशालु पदार्थ मदिरा (खमर) हो र मदिरा अवैध छ।” (श्रोत- मुस्लिम : २००३)
चाहे त्यो फलफूल, जस्तै… अंगुर, किश्मिस, खजुर वा अन्नहरु, जस्तै… गहुँ, जौ, मकै, चामल वा गुलियो पदार्थ, जस्तै… महबाट तयार पारिएको होस्। त्यसले मस्तिष्कलाई छोप्ने हरेक प्रकारको नशालु पदार्थहरू, जुनसुकै नाम र रङ्गमा होस्, यद्यपि जूस, मिठाई र चकलेटमा मिसाइएको होस् सबै अवैध छन्।
बुद्धिको सुरक्षा-
इस्लाम मानिसहरुको भौतिक र आध्यात्मिक दुवै चाहनालाई सुरक्षित गर्दछ। विशेष गरी पाँच आवश्यक कुराहरु; धर्म, ज्यान, बुद्धि, माल तथा बंशको सुरक्षा प्रदान गर्दछ।
मानिस बुद्धि र विवेकले गर्दा नै सक्षम, सर्वश्रेष्ठ प्राणी तथा ईश्वरीय चयन प्राप्त गरेको छ। त्यसैले इस्लामले मानिसको बुद्धि र प्रतिष्ठालाई कमजोर वा बर्बाद पार्ने सम्पूर्ण कुराहरुबाट जोगाउँदछ।
मदिराको बारेमा इस्लामिक हुकुम के छ ?
खानपिन- मदिरा सेवन गर्नु महापाप हो। कुरआन र हादीसले जड्याहालाई ठूलो चेतावनी दिएको छ। तीमध्ये केही यस प्रकार छन्…
- अल्लाहले भन्नु भएको छ… “हे आस्थावानहरु हो ! मदिरा सेवन गर्नु, जुवा खेल्नु, अल्लाह बाहेकको नाममा बलि दिनु तथा पासा खेल्नु अपवित्र र शैतानी कार्यहरू हुन्। त्यसैले यी कुराहरूबाट टाढा बस। यसरी तिमीहरु सफल हुनेछौ।” (श्रोत- (सूरह अल्-माइदा : ५/९०) अल्लाहले यसलाई अपवित्र र शैतानी घृणित कार्यको संज्ञा दिनु भएको छ। यसलाई त्याग्नै पर्छ, नत्र सफलता प्राप्त हुन सक्दैन।
- रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “सम्पूर्ण प्रकारका मदिरा र नशालु पदार्थहरु अवैध छन्। जसको दुनियाँमा मदिरा सेवन गर्दा गर्दै मृत्यु भयो, उसले परलोकमा पवित्र मदिरा सेवन गर्न पाउँदैनन्।” (श्रोत- मुस्लिम : २००३)
- रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले ईमान र मदिरा सेवन गर्नु दुवै एकसाथ हुन सक्दैनन् भन्नु भएको छ… “जुन बेला जड्याहा मदिरा सेवन गर्छ, त्यसबेला ऊ आस्थावान हुँदैन।” (श्रोत- बुखारी : ५२५६, मुस्लिम : ५७)
- इस्लामले जड्याहाको लागि सजाय तोकेको छ, उसको मानवता हिन हुन्छ र समाजमा उसको साक्षी मान्य हुँदैन।
- जसको मृत्यु मदिरा सेवन गर्दा गर्दै तौबा (प्रायश्चित) बिना हुन्छ, उसको लागि कष्टकर यातना छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जो व्यक्ति मदिरा सेवन गर्छ, अल्लाहले उसलाई नरकवासीहरुको मलमूत्र खुवाउनु हुनेछ।” (श्रोत- मुस्लिम : २००२)
- मदिरा बनाउने, खुवाउने, नजिक र टाढाबाट त्यसमा मद्दत पुर्याउनेलाई यो चेतावनी दिइएको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले मदिरा व्यवसाय र यस्ता क्रियाकलापमा संलग्न १० व्यक्तिहरुलाई श्राप दिनु भएको छ… मदिरा बनाउने, जम्मा गर्ने, सेवन गर्ने, बोक्ने, ल्याउने, लैजाने, व्यापार गर्ने, त्यसको मूल्य राख्ने, किन्ने र जसको लागि किनेर ल्याइन्छ।” (श्रोत- तिर्मिजी : १२९५)
खानपिन (अवैध लागू पदार्थहरु)
लागू पदार्थको सेवन-स्थानीय रुपमा बोटबिरुवाबाट तयार पारिएको होस् वा विदेशबाट आयात गरिएको होस्, चाहे नाकद्वारा सुँघेर वा मुखबाट निलेर वा सूईद्वारा लिएर वा जुनसुकै तरिकाले प्रयोग गरियोस् यो महापाप हो। यसले मानिसको बुद्धि र पाचनक्रियालाई बर्बाद पार्नका साथै मांसपेशीका विभिन्न रोगहरुलाई निम्तियाउँछ, यसको लत लागिसकेपछि जीवनभर पछुताउनु पर्दछ र मृत्युले नै यसको समाप्ति हुन्छ। अल्लाहले भन्नु भएको छ… “आफैंले आफ्नो खुट्टामा बन्चरो नहान, वास्तवमा अल्लाह तिमीहरुप्रति अति दयालु हुन्।” (श्रोत- सूरह अन्-निसा : ४/२९)
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali



